पर्यटन जीवनराम श्रेष्ठको योजन : सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको स्थापना

पर्यटन जीवनराम श्रेष्ठको योजन : सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको स्थापना

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३, २०७९

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी प्रतिष्ठान स्थापना गर्ने बताउनुभएको छ ।

मन्त्रालय अन्तर्गत सञ्चालित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले सञ्चालन गरिरहेका विभिन्न शैक्षिक कार्यक्रम र तालिमबारे जानकारी लिन काठमाडौंको रवि भवनस्थित प्रतिष्ठान कार्यालय पुग्नुभएका मन्त्री श्रेष्ठले प्रतिष्ठानका सेवा मुलुकका सातै प्रदेशमा विस्तार गरिने बताउनुभयो । 

पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सीपमूलक जनशक्ति तयार गर्नुपर्ने आवश्यकता रहेको बताउनुहुँदै उहाँले होटल व्यवस्थापन र पर्यटक आतिथ्य सम्वन्धी शिक्षा र तालीम कार्यक्रमहरु विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । सबै प्रदेशमा प्रतिष्ठानका शाखा विस्तार गरी सञ्चालनमा ल्याउने र यसबाट पर्यटनको विकास र विस्तारमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । होटल व्यवस्थापन र पर्यटक आतिथ्यता सम्वन्धी शिक्षा र तालीम प्रदान गर्ने एक मात्र सरकारी निकायका रुपमा रहेको प्रतिष्ठानले गुणस्तरीय प्राविधिक शिक्षा प्रवाह गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । 

पर्यटन उद्योगका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न, उच्चस्तरीय शैक्षिक कार्यक्रम, तालिम र अनुसन्धानका कार्यक्रम अघि बढाउन सवै प्रदेशमा प्रतिष्ठानका शाखा कार्यालय विस्तार गर्नुपर्ने उहाँले बताउनुभयो । गत आर्थिक बर्षमा झापा, महोत्तरी र बाँकेमा प्रतिष्ठानका शाखा कार्यालयहरु स्थापना भएका छन् । सो अवसरमा मन्त्री श्रेष्ठले प्रतिष्ठानको भौतिक पूर्वाधार, शिक्षाको गुणस्तर र सञ्चालन भइरहेका तालिमका सम्वन्धमा जानकारी लिनुभएको थियो । 

प्रतिष्ठानबाट उत्पादित जनशक्ति मध्ये ९० प्रतिशत बढी रोजगारीमा आवद्ध भएका छन् । प्रतिष्ठानले हालसम्म ५७ हजार ५ सय ७२ जना दक्ष जनशक्ती उत्पादन गरिसकेको छ भने गत आर्थिक बर्षमा मात्र करिव १५ सय जना शैक्षिक कार्यक्रममा सामेल भएका छन् । प्रतिष्ठानले पर्यटन उद्योगका लागि चाहिने जनशक्ती तयार गर्न उच्चस्तरीय शैक्षिक कार्यक्रम, तालिम कार्यक्रम तथा परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।