नेकपा कालीन ५ नेताको बैठक: गठबन्धनमा 'बार्गेनिङ' कि एमाले बाहेकको वाम गठबन्धनको कसरत ?

लोकसंवाद टिप्पणी

नेकपा कालीन ५ नेताको बैठक: गठबन्धनमा 'बार्गेनिङ' कि एमाले बाहेकको वाम गठबन्धनको कसरत ?

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ४, २०७९

नेपाली राजनीतिक यतिबेला ठूलो सकस र अन्योलबाट अघि बढिरहेको छ । स्थायी सरकारका लागि जनताले तत्कालीन एमाले र माओवादी केन्द्रलाई दिएको दुई तिहाई नजिकको जनमतको अपमानबाट सुरु भएको नेपाली राजनीतिको अधोगतिको यात्रा अझै लिकमा फर्किन सकेको छैन ।

केपी ओलीको निरंकुश शैली र स्वेच्छाचारिता अन्त्यका लागि एक काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी एक ठाउँमा उभिए पनि यो गठबन्धन लामो समय मिलाएर लैजान कठिन मोडमा  देखिएको छ ।

गठबन्धनको सहारामा सत्ता हत्याउने र ५ वर्ष शासन गर्ने सपना देखेको काँग्रेस र गठबन्धनमा सम्मानजनक भागका साथै पाँच वर्षे शासनमा समान सहभागिताको आशा गरेका अन्य दलहरुबीच यतिबेला स्वार्थ मिलिरहेको छैन ।

नेपाली काँग्रेसको सोमबार मात्रै सकिएको केन्द्रीय समिति बैठकले आगामी प्रदेश र संघीय संसदको निर्वाचनमा गठबन्धन गर्ने तर पाँच वर्ष आफ्नै नेतृत्वमा सरकार चलाउने निर्णय गरेको छ । हेर्दा काँग्रेस सत्ता सहयात्री दलहरूसँगै रहन चाहेको जस्तो देखिने तर सत्ताको नेतृत्वमा सहयात्री दलमा पुग्न नदिने काँग्रेसको यो निर्णयबारे गठबन्धनको भावना विपरीत रहको  दलहरुले खुलेर प्रतिक्रिया नदिए पनि यसलाई अन्य दलले सहजै स्वीकार गर्ने सम्भावना कम छ ।

नेपाली कांग्रेसले आउँदो चुनावमा आफ्नो बहुमत आउने गरी १०० सिट राखेर गठबन्धनका अन्य दललाई ६५ सिट बाँडेर दिने स्तरमा छलफल सुरु भए पनि अन्य दलहरु पनि एक हुनुपर्ने अवस्थामा आइपुगेका छन् । काँग्रेसले उम्मेदवारी दिएका सयमध्ये ८० सिट जित्ने, समानुपातिक प्रणालीबाट ४० देखि ४५ सांसद जितेर सरकार बनाउने सपना देखेको छ । त्यस्तो अवस्था भएन भने मधेसवादी दलसँग मिलेर सरकार चलाउने गरी सिट जित्ने काँग्रेसको दोस्रो रणनीति छ ।

पछिल्लो एक वर्षमा संघीय सरकार बाहेक अन्य सबैजसो प्रदेश सरकारमा भागबण्डा र आलोपालो गरेका दलहरुले पाँच वर्ष काँग्रेसकै नेतृत्वमा मात्र नजाने निश्चित छ । मंगलबार नेकपा एकीकृत समाजवादीले गठबन्धनलाई कायमै राख्ने र र वाम एकताका लागि कोशिस गर्ने निर्णय गरेको छ । यसको अर्थ अबको सत्ता गठबन्धन भित्रबाट नयाँ गठबन्धन जन्मिने सम्भावनाको संकेत गर्दछ । 

मंगलबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनता समाजवादी पार्टीबाट अलग हुने पूर्व तयारीमा रहेका डा. बाबुराम भट्टराईसँग छलफल गरे भने तत्कालीन नेकपा कालमा पाँच जना सचिवालय सदस्यहरु प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच अलग छलफल भए । 

छलफलपछि प्रतिक्रिया दिँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा कालीन बहुमत सदस्यहरूबीच पार्टी एकीकरणसहितका विषयमा कुरा भएको बताए । यतिमात्रै होइन उनीहरुले वर्तमान ५ दलीय गठबन्धनलाई पनि जोगाएर लैजाने सहमति गरेको जानकारी दिएका छन् । 

अध्यक्ष प्रचण्डले भने, ‘आज हामी नेकपा कालीन सचिवालयका बहुमत सदस्यहरु दोस्रो बैठक हामी बस्यौँ । यसअघि पहिलो बैठक असारमा भएको थियो । मुख्यतः सबै पार्टीले गठबन्धन गरेर जाने निर्णय गरेका छन् । गठबन्धन गरेर जाने नै भन्ने भएको छ । त्यसबारे पनि चर्चा गरेका छौँ । गठबन्धनलाई कायमै राखेर जानुपर्छ भन्ने हाम्रो निष्कर्ष हो । तर यसलाई अझै प्रभावकारी बनाउने भन्ने कुरा भएको छ । केही दिनमा नै निर्णयमा पुग्न सकिन्छ ।’

पछिल्लो समय नेपालका वामपन्थी नेता तथा पार्टीका नेताहरुलाई वाम मोर्चा तथा पार्टी एकता गर्न  दिएको चर्काे दबाब कै कारण तत्कालीन नेकपा कालका ५ सचिवालय सदस्यहरु प्रचण्ड, माधवकुमार नेपाल र वामदेव गौतमका अलग अलग पार्टीहरु क्रियाशील रहेको अवस्थामा एउटै पार्टी बनाउने विषयमा कुरा भएको छ भने समाजवादी केन्द्र बनाउने भन्दै डा‍. बाबुराम भट्टराई पनि यो समूहमा आउन तयार देखिएका छन् । 

जसपाबाट अलग भएका र नयाँ पार्टी बनाई नसकेका डा‍. बाबुराम भट्टराई पनि सामेल भएमा यो समूह जुनसुकै गठबन्धनमा सामेल भए पनि त्यसको पल्ला भारी हुने निश्चित छ । हाल कांग्रेसले अन्य दललाई साथ दिएर सत्ता प्राप्त गर्ने चाहाना देखाएको र एमालेले पुरानै हठ कायम राखेको अवस्थामा आगामी निर्वाचनमा सशक्त उपस्थिति र गठबन्धनमा सामेल भएको अवस्थामा पनि बलियो 'बार्गेनिङ' शक्तिका लागि पनि यी पार्टीबीच एकता वा सहकार्य आवश्यक नेताहरुले देखाइ रहेका छन् । 

गठबन्धनमा भागबण्डा मिलेका ठाउँमा मिलेर लड्ने र नभएका स्थानमा वाम गठबन्धन बनाएर चुनाव लड्ने यी दलको दोहोरो रणनीतिमा एमाले बाहेकका बाम नेताहरुको मनस्थिति देखिन्छ । डा‍.भट्टराईसँगको भेट लगत्तै बसेको तत्कालीन नेकपाको सचिवालयका ५ नेताबीचको बैठकको अन्तर्यमा गठबन्धन प्रभावकारी नभएको अवस्थामा वाम गठबन्धन बनाएर जाने कुरा बुझ्न कठिन छैन । 

वाम गठबन्धन अघि बढाउने विषयमा प्रस्ताव तयार पार्न बनेको अनौपचारिक कार्यदलले प्रस्तावको खाका तयार पार्न लागेको छ । जसअनुसार माओवादी केन्द्र र एकीकृत समाजवादी बीच एकता संयोजन समिति बनाएर अन्य दललाई मिलाएर वाममोर्चा निर्माण गरिने प्रस्ताव छ । यी दलहरुबीच आफ्नो शक्ति, काँग्रेससँग मिलेर लड्दा प्राप्त हुने जित र काँग्रेस बाहेकको गठबन्धन गर्दा आउने परिणाम विश्लेषण गरेर नयाँ मोर्चा खडा गर्ने भित्री तयारी रहेको छ । 

जसमा सत्ता गठबन्धनको कांग्रेस बाहेकका जसपा, राष्ट्रिय जनमोर्चा, वामदेव गौतमले नेतृत्व गरिरहेको नेकपा राष्ट्रिय एकता अभियान, डा‍. बाबुराम भट्टराईको नेतृत्वमा बन्ने नयाँ पार्टी पनि सहभागी बन्ने सम्भावना पनि छ । 

नेपाली कांग्रेसले आउँदो चुनावमा आफ्नो बहुमत आउने गरी १०० सिट राखेर गठबन्धनका अन्य दललाई ६५ सिट बाँडेर दिने स्तरमा छलफल सुरु भए पनि अन्य दलहरु पनि एक हुनुपर्ने अवस्थामा आइपुगेका छन् । काँग्रेसले उम्मेदवारी दिएका सयमध्ये ८० सिट जित्ने, समानुपातिक प्रणालीबाट ४० देखि ४५ सांसद जितेर सरकार बनाउने सपना देखेको छ । त्यस्तो अवस्था भएन भने मधेसवादी दलसँग मिलेर सरकार चलाउने गरी सिट जित्ने काँग्रेसको दोस्रो रणनीति छ । काँग्रेसको यसप्रकारको निर्णय बुझेकै कारण अन्य वाम दल एक हुनुपर्ने अवस्थामा कांग्रेसको निर्णयले पुर्‍याएको छ ।