‘टोका टोक र ठोकाठोक’को दिक्दार पूर्ण शृङ्खला: मर्यादाको धज्जीदेखि दुर्लभ दृश्यसम्म संसद्मा

लोकसंवाद टिप्पणी

‘टोका टोक र ठोकाठोक’को दिक्दार पूर्ण शृङ्खला:  मर्यादाको धज्जीदेखि दुर्लभ दृश्यसम्म संसद्मा

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ५, २०७९

‘राजनीति फोहोरी खेल हो’ भन्ने भनाई सत्य भए त्यो नेपालकै लागि बनेको वाक्यको चरितार्थ  हुन थालेको छ ।   नेपालका राजनीतिक दलहरुले यसलाई पटक पटक प्रमाणित गरिरहेका छन् । बुधबार एकै दिन राजनीतिमा चर्चा कमाएका, पटक पटक मन्त्री भएका र एक जना पूर्वप्रधानमन्त्रीसम्म भइसकेका नेताहरुका भाषण आए । 

सबैभन्दा बढी चर्चामा एमालेका सांसद भीम रावल देखिए । उनी एक्लैले २० मिनेट संसदको रोष्ट्रम जबर्जस्ती कब्जा गरे । उनी एमालेका नेता मात्रै होइनन्, पूर्व उपप्रधानमन्त्री, पूर्वगृहमन्त्री र पूर्वपरराष्ट्रमन्त्री समेत भएका व्यक्ति हुन् । उनले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पत्र अमेरिकालाई पठाउने मन्त्रिपरिषदको निर्णयअनुसार अमेरिकालाई पत्र नपठाएको भन्दै उनले सभामुख समक्ष रुलिङ को माग गरे । एमालेका सांसद भीम रावल रुलिङ नगरेसम्म रोष्ट्रम नछोड्ने अडान राख्दै उनले २० मिनेट संसद अवरुद्ध पारे । पटक पटक सभामुखले विषयान्तर भएको विषयमा रुलिङ गर्न नमिल्ने र सम्बन्धित मन्त्रीलाई जवाफ दिन लगाउने बताए पनि रावलले रोस्ट्रममा छाडेनन् र सभामुखले २० मिनेटपछि बैठक रोक्न बाध्य भए । नेपाली संसदमा एक जना सांसदले रोस्ट्रम कब्जा गरेर संसद नै अवरुद्ध पारेको दुर्लभ दृश्य बुधबार देखियो । 

संसदमा नै एमाले सांसद नविना लामालाई शल्यक्रिया शब्द उच्चारण गर्न नआएको दृश्य पनि उत्तिकै टिठलाग्दो थियो । उनले पटक पटक शल्यक्रिया भन्न खोज्दा पनि ‘सलानकिरा’ भनिन् र बोल्ने भाँती नपुग्दा अन्तिममा आफ्नो भनाई नै नटुंग्याई बसिन् । संसदमा सांसदहरुले बोल्न हैन, लेखेको कुरा पढ्न समेत नजानेका धेरै उदाहरण विगतदेखि देखिँदै आएका छन् । 

एमालेका अर्का एक सांसद नरबहादुर धामीको पढाई भने निकै तगडा थियो । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध संसदमै ‘गालीगलौज’ पूर्ण शब्दावली प्रयोग गरेका उनले देउवालाई सुदूरपश्चिमका जनताले ३१ वर्षदेखि मत हालेर थारो भैंसी पालेको भन्नेसम्मका अभिव्यक्ति दिए । 

संसद मुख्यतः जनप्रतिनिधिका आवाज उठाउने, कानुन निर्माण गर्ने थलो हो । यहाँ बस्ने सांसदको आवाज मात्रै होइन, त्यो आवाजमा मर्यादा समेत खोजिन्छ । तर पार्टीको अमुक तावेदारी गरेर संसदमा पुगेकाहरुले सत्तामा हुँदा मस्तीले निदाउने र सत्ताको कुर्सीबाट धकेलिएपछि ब्यूँझने प्रवृत्ति निकै खतरनाक र डरलाग्दो देखिँदै आएको  छ । 

अर्थतन्त्रलाई सम्हाल्न सबै राजनीतिक दल र सरकारले सामूहिक प्रयत्न गर्नुपर्ने, देशका आवश्यक क्षेत्रमा बजेट सदुपयोग गर्ने र अत्यावश्यक नभएका संरचनाको बजेट कटौती गर्नुपर्ने, आयात प्रतिस्थापन, स्वदेशमा उद्योगको प्रवद्र्धन र रोजगारीको सिर्जना, उत्पादित वस्तुको निर्यातका माध्यमबाट व्यापार सन्तुलन र वैदेशिक मुद्रा सञ्चिती लाई बढाउन पहल गर्नुपर्ने बेला दलहरुको ‘टोका टोक र ठोकाठोक’ एउटा दिक्दारी पूर्ण शृङ्खला बनेको छ ।

संसदका पछिल्लो एक वर्षका गतिविधि र त्यहाँ पोखिने अधिकांश आक्रोश सत्ता बहिर्गमन तीतो पोखाई मा सीमित देखिँदै आएको छ । एमाले अध्यक्ष केपी ओलीले करिब दुई तिहाई नजिकको सत्ताको नेतृत्व साढे तीन वर्षसम्म गरे । आफ्नै हठ, दम्भले सत्ताको कुर्सीबाट गल हत्याइएका ओलीले बुधबार एमाले कार्यकर्तालाई लोकतन्त्र र विधिको शासनको पाठ पढाए । सरकार कस्तो हुनुपर्छ, लोकतान्त्रिक शासन व्यवस्था के हो जस्ता धेरै कुरा पढाएका उनले दिएको अभिव्यक्तिजस्तो उनको कार्यकाल भइदिएको भए सत्ताबाट हट्नुपर्ने अवस्था आउने थिएन । आफू सत्तामा हुँदा निरंकुशताको सबै सीमा नाघ्ने र विपक्षमा पुगेपछि लोकतन्त्र सम्झिने ओलीको पुरानै रोग यसपटक पनि देखिएको छ । 

त्यतिमात्रै होइन ओलीले एमाले बाहेकका कम्युनिस्ट पार्टीबीच वामपन्थी मोर्चा र पार्टी एकताको विषयमा कुराकानी सुरु भएकोमा समेत आक्रोश पोखे । उनले फेरि अर्को फुटका लागि एकताको अभ्यास सुरु भएको आरोप लगाउन भ्याए भने गत वैशाखमा भएको स्थानीय चुनावमा दोस्रो पार्टीमा खुम्चिएपछि रन्थनाएका उनले प्रचण्ड र माधवकुमार नेपाललाई लक्षित गर्दै अर्काको पात भेला गरेर डोकामा हालेर एमालेको वन्ने सखाप पार्‍यौं भन्ने अभिव्यक्ति दिएको टिप्पणी गरे । उनी त्यसमा मात्रै रोकिएनन् उनले एमालेको वडा कमिटिमा ३९ जना बस्ने, जनवर्गीय संगठनहरुमा बस्न हानथाप हुने तर भोट भने २४ मात्रै आएको भन्दै आफ्नै कार्यकर्तामाथि पनि खनिन भ्याए । 

बुधबार सम्पादकहरूलाई बोलाएर एमाले महासचिव शंकर पोखरेलले आफ्ना कुरा राखे । उनले साना कम्युनिस्ट पार्टीलाई लक्षित गर्दै साना पार्टीले देश चलाए देशले नै सही बाटो नसमात्ने दाबी गरे । अर्को प्रसंगमा उनले एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारीको खोजी गरेकोमा समेत आक्रोश पोखे । गभर्नर महाप्रसाद अधिकारीको छोटकरी नाम एम अधिकारी भएको खुल्न आएपछि एमाले अहिले आफ्नो पार्टीका विभागका नेता गभर्नर अधिकारी जोगाउन न्वारान देखिको बल लगाएर लागेको छ । पोखरेलले कालो धनलाई सेतो बनाउन नदिँदा गभर्नरमाथि आक्रमण भएको टिप्पणी गरे । एमालेले न त अर्थ तथा योजना विभागका एम अधिकारी देखाउन सक्छ, न त राजनीतिक दलको कार्यकर्ता भएका व्यक्ति गभर्नर हुनुहुँदैन भन्ने कानुनी व्यवस्थाको नै समर्थन गर्छ । एमालेले आफ्नो पार्टी कार्यकर्ता अधिकारी गभर्नर भएकोमा खुसी नै मानिरहेका बेला एम अधिकारी प्रकरण आएपछि निद्रा बिथोलिएको छ । 

देश यतिबेला ठूलो आर्थिक संकटको अवस्थामा छ । अर्थतन्त्रलाई सम्हाल्न सबै राजनीतिक दल र सरकारले सामूहिक प्रयत्न गर्नुपर्ने, देशका आवश्यक क्षेत्रमा बजेट सदुपयोग गर्ने र अत्यावश्यक नभएका संरचनाको बजेट कटौती गर्नुपर्ने, आयात प्रतिस्थापन, स्वदेशमा उद्योगको प्रवद्र्धन र रोजगारीको सिर्जना, उत्पादित वस्तुको निर्यातका माध्यमबाट व्यापार सन्तुलन र वैदेशिक मुद्रा सञ्चिती लाई बढाउन पहल गर्नुपर्ने बेला दलहरुको ‘टोका टोक र ठोकाठोक’ एउटा दिक्दारी पूर्ण शृङ्खला बनेको छ । यी राजनीतिक दलहरुलाई आफ्नो परिवार, आफ्नो पार्टी र  कार्यकर्ताभन्दा बढी चिन्ता नहुनु दुःखद विषय हो । 

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीबाट बाहिरिँदै गर्दा एक खर्ब, १५ अर्बभन्दा बढी खर्च गरेको देखि कोभिड नियन्त्रणका नाममा ९२ अर्ब खर्च हुँदा ६२ अर्बको हिसाब किताब नै नभएको तथ्य हालै महालेखाले सार्वजनिक गरेको छ । ओली कार्यकालमा भएको अनियमितताका यी त साना उदाहरण मात्रै हुन् । ओलीको तीन वर्षे कार्यकाल कार्यकर्ता पोस्ने बाहेक अन्य कुनै उपलब्धिमूलक काम नगरी बित्यो । त्यसको ढाकछोप गर्न अहिले एमालेले राजनीतिका नाममा गरिरहेको तिकडम बाजी अनौठो छ ।

सांसदका आवाजको मुख्य विषय स्वास्थ्य क्षेत्रका जटिल समस्या, अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा लामो समयदेखि ब्याप्त बेथिति, महंगी, भ्रष्टाचार नियन्त्रणमा केन्द्रित हुनुपर्ने हो । तर नेताहरुका घरमा चुल्हो बल्दा सम्म यिनीहरुको चेतनाको दियो बल्ने सम्भावना देखिदैन । जनताका मुद्दाबाट सर्वसाधारणसम्मको ध्यान अन्यत्र मोड्न यी दलहरुले कस्ता कुरालाई उठाउँछन्, ‘साइबर स्याल’ हरुले कस्ता र कसका एजेण्डा बोकेर हिँड्छन् भन्ने उदाहरण हुन् यी घटना । सत्तामा पुग्दा दम्भ र हठ, सत्ताबाट बाहिरिएपछि फेरि जनता सम्झिनेलाई जनताले सबक नसिकाएसम्म नेपाली राजनीतिको दुर्गन्धित फोहोर सफा हुने अवस्था देखिएकाे छैन ।