कामदारको सुरक्षाबारे मन्त्रीको चासो:  श्रममन्त्री कुँवर र नवनियुक्त राजदूतहरूबीच छलफल

कामदारको सुरक्षाबारे मन्त्रीको चासो:  श्रममन्त्री कुँवर र नवनियुक्त राजदूतहरूबीच छलफल

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ५, २०७९

काठमाडौं । श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले नवनियुक्त राजदूतहरुसँग छलफल गर्दै वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुको सुरक्षाका बिषयमा चासो ब्यक्त गरेका छन् । 

बिहीबार मन्त्रालयमा नवनियुक्त साउदीका राजदूत नवराज सुवेदी र दक्षिण अफ्रिकाका राजदूत दान बहादुर तामाङसँगको छलफलमा मन्त्री कुँवरले वैदेशिक रोजगारमा जाने नेपालीहरुले पाउने गरेका दुख, समस्याका बिषयमा चासो ब्यक्त गरेका हुन् । 

उहाँले दुबै राजदूतलाई नेपाली कामदारको कामको ग्यारेन्टी र सुरक्षाका बिषयमा बिशेष ध्यान दिन आग्रह समेत गर्नुभयो । 
यहाँबाट जाने कामदारले उता भनेअनुसार काम नपाउने गुनासाहरु धेरै सुनिन्छन् । पठाउने ब्यक्ति वा कम्पनीले उनिहरुलाई ठग्ने गरेका कारण बिचल्लीमा परेका घटनाहरु आइरहन्छ, यसबारे बिषेश ध्यान दिन म आग्रह गर्न चाहन्छु, मन्त्री कुँवरले भन्नुभयो । 

छलफलका क्रममा उहाँले कामदारलाई परेको समस्या समाधानका लागि दूतावासलाई चाहिने आवश्यक सहयोगका लागि मन्त्रालय तयार रहेको बताउनुभयो । उहाँले विदेशमा नेपाली कामदारहरुको हुने गरेको मृत्युका बिषयमा समेत गम्भिर भएर बुझ्नका लागि पनि मन्त्री कुँवरले राजदुतहरुसँग आग्रह गर्नुभयो । 

छलफलमा बोल्दै मन्त्रालयका सचिव एक नारायण अर्यालले विदेशमा कोमामा, र अंग भंग भएर उपचार गराइरहेका नेपाली कामदारहरुको उद्धारका लागि सरकार गम्भिर रहेको र दुतावासहरुले सोहि अनुसार काम गर्नुपर्ने बताउनुभयो । उहाँअनुसार अहिले साउदीमा मात्रै २५ जना नेपाली कामदारहरु कोमामा उपचारार्थ  छन् । 

त्यस्तै कार्यक्रममा बोल्दै वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले यो आर्थिक बर्षमा मात्रै सबैभन्दा बढि साउदीमा १ लाख ८८ हजार ३९८ जना नेपालीहरु रोजगारका लागि गएको बताउनुभयो । साउदीमा कामदार पठाउन नेपाल र साउदी सरकारबीच श्रम सम्झौता नभएपनि विभिन्न माध्यमहरूबाट नेपालीहरु साउदी जाने संख्या ठुलो रहेको छ । 

कार्यक्रममा बोल्दै मन्त्रालयका उपसचिव एवम् रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजिव पोखरेलले वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली कामदारहरूमा वैधानिकीकरण, स्वास्थ्य, विमा, दोहोरो सम्झौता, प्रमाणिकरण, अवैधानिक रुपमा गएका कामदारको शव उद्धार, महिला कामदारको सुरक्षा र न्युनतम् पारिश्रमिक समेत नपाउने लगायतका समस्याहरु रहेको उल्लेख गर्नुभयो । 

छलफलमा बोल्दै साउदीका लागि नवनियुक्त राजदूत सुवेदीले साउदी सरकार र नेपालबीच श्रम सम्झौताका लागि पहल गर्ने बताउनुभयो । अवैधानिक रुपमा कामदारहरु जाँदा विभिन्न जटिलताहरु रहेकाले दुबै सरकारबीच श्रम सम्झौता भएको खण्डमा त्यो न्युनिकरण हुँदै जाने उहाँको भनाई छ । साउदीमा समस्यामा परेका कामदारहरुको उद्धार र राहतका लागि पहल गर्ने समेत उहाँले प्रतिवद्धता ब्यक्त गर्नुभयो । कामदारले पाउने गरेका समस्याहरुको समाधानका लागि मन्त्रालयसंग आवश्यक सुझाव, सल्लाह र सहयोगका लागि सहकार्य गर्ने समेत उहाँले बताए । 

यस्तै दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत तामाङले दक्षिण अफ्रिकामा नेपाली कामदारहरु समस्यामा परेका खबरहरु खासै नआए पनि कामदारहरूका बिषयमा आफु सचेत रहेको बताउनुभयो । उहाँले दक्षिण अफ्रिकासँगै केन्या, तान्जेनीया, साउथ अफ्रिकामा जेल र अस्पतालमा रहेका नेपालीहरुको उद्धारका लागि पहल गर्ने समेत बताउनुभयो।