पूर्व अर्थमन्त्री जनार्दन शर्मा 'निर्दाेष' ! दोषी प्रमाणित गर्न अन्तिम अस्त्र  फुटेज 'रिकभर' मात्र बाँकी

पूर्व अर्थमन्त्री जनार्दन शर्मा 'निर्दाेष' ! दोषी प्रमाणित गर्न अन्तिम अस्त्र  फुटेज 'रिकभर' मात्र बाँकी

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ६, २०७९

बजेट वक्तव्यको अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेरको आरोप लागेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बिहीबार संसदीय छानविन समितिमा उपस्थित भएर बयान दिएका छन् ।

शर्मासँग समितिले करिब साढे ३ घन्टा बयान लिएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्रीले अनधिकृत व्यक्ति प्रवेश गराएर करका दर हेरफेर गरेको भन्दै निरन्तर संसद बैठकमा कुरा उठाएपछि सभामुख अग्नि सापकोटाले घटना छानबिनका लागि समिति गठन गरेका थिए । 

समितिले छानबिनका लागि अर्थ मन्त्रालयमा 'डिलिट' भएको सीसीटीभी फुटेज 'रिकभर' गराउन ७ दिनको समय पाएको छ । समितिले अहिलेसम्म बजेट निर्माणमा कुनै अनधिकृत व्यक्तिको संलग्नता पत्ता लगाउन सकेको छैन । त्यसैले अब फरेन्सिक ल्याबबाट सीसीटीभी क्यामराको फुटेज रिकभर भएर आउने रिपोर्टको पर्खाईमा छ । करका दर हेरफेर गरेको र अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिहरुलाई बजेट निर्माणका क्रममा प्रवेश दिएको भन्दै अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति असार २२ गते बनेको थियो । 

सो समितिको म्याद ५ गते नै सकिने भएपछि बिहीबारको संसद बैठकले ७ दिनको समय थपेको हो । समितिले लिखित आग्रह गरेपछि सभामुख सापकोटामार्फत संसदलाई म्यान थप गर्न लिखित आग्रह गरेको थियो । समितिले यसअघि दिइएको समयभित्र छानबिन सक्ने दाबी गरेको थियो । १० दिनमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा, पूर्वअर्थसचिव शिशिरकुमार ढुंगाना, सचिवहरु मधु कुमार मरासिनी र कृष्णहरि पुस्करका साथै राजस्व महाशाखा प्रमुख भुपाल बराल, आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश शाक्य र भन्सार विभागका महानिर्देशक कमल भट्टराईसहित सो विषयमा समाचार लेख्ने दुई पत्रकारलाई समेत बयान लिएको थियो । 

सभामुखलाई लेखेको पत्रमा म्याद उल्लेख नगरिए पनि मौखिक रुपमा फरेन्सिक ल्याबका प्रहरीले कम्तीमा ७ दिन लाग्ने जानकारी दिएपछि सोही अनुसार म्याद थप भएको हो । गृहमन्त्री बालकृष्ण खाँणले ५ दिनमा 'रिकभर' गरेर दिन निर्देशन दिएका छन् । 

'डिलिट' भएको भनिएको सीसीटीभी फुटेजको हार्डडिस्क विशेष समितिले ३१ असारमै पाएको थियो। तर, सबैसँगको बयान र अर्थ मन्त्रालयले दिएको हार्डडिस्कबाट पनि जनार्दन शर्माले बजेट निर्माणमा कुनै गलत नगरेको ठहर भएपछि समिति 'डिलिट' भएको भनिएको सिसिटिभी फुटेज 'रिकभर' गर्ने निष्कर्षमा पुगेको हो । जसका लागि म्याद थप गर्न सभामुखलाई आग्रह गरेको थियो ।

बिहीबारै बिहान सभामुख सापकोटालाई भेटेर समिति संयोजक लक्ष्मणलाल कर्णले म्याद थप गर्नुपर्ने निष्कर्षसहितको कारण ब्रिफिङ गरेका थिए । फरेन्सिक ल्याबका प्रहरीले दिएको जानकारी सुनाएपछि सभामुख म्याद थप्न राजी भएका थिए । 

‘२ टेराबाइट स्टोरेज क्षमता भएको दृश्य सबै 'रिकभर' गर्न १० देखि १५ दिन लाग्ने र अर्थमन्त्रालयमा १२ वटा सीसीटीभी जडान गरिएकाले सबैले रेकर्ड गरेका दृश्य 'रिकभर' गर्न  समय लाग्ने भएका कारण म्याद थपका लागि सभामुखलाई समितिले म्याद थपको प्रस्ताव गरेको थियो ।

सभामुखलाई लेखेको पत्रमा म्याद उल्लेख नगरिए पनि मौखिक रुपमा फरेन्सिक ल्याबका प्रहरीले कम्तीमा ७ दिन लाग्ने जानकारी दिएपछि सोही अनुसार म्याद थप भएको हो । गृहमन्त्री बालकृष्ण खाँणले ५ दिनमा 'रिकभर'  गरेर दिन निर्देशन दिएका छन् । 

कर्णको ब्रिफिङ लगत्तै बसेको संसद बैठकमा सभामुख सापकोटाले कार्यसूचीमा समितिको म्याद थपको विषय राखेका थिए । सोही अनुसार संसदले स्वीकृति दिएपछि म्याद ७ दिन थप भएको हो । 

समितिले १० दिनसम्म लगातार भएको छानबिनका क्रममा अहिलेसम्म अर्थमन्त्रीले गलत काम गरेको प्रमाणित गर्ने आधार भेट्टाएको छैन । त्यसैले समितिको अब एकमात्रै आधार यही 'रिकभर' गर्न लागिएको फुटेजलाई पर्खिएको छ । यसपछि प्रतिवेदन तयार परी पेश गरिनेछ । 

बिहीबार समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिएको थियो । उनले समितिमा के बयान दिए भन्ने बाहिर आएको छैन । करिब ३ घन्टा लामो छलफलबारे शर्माले केही सेकेण्ड लामो प्रतिक्रिया दिए । जसमा उनले आफूले समितिले सोधेका सबै प्रश्नको उत्तर दिएको बताए । त्यसभन्दा बढी कुनै जवाफ नदिएका उनले बाँकी कुरा पनि समितिका सदस्यहरुले नै भन्ने बताए । 

यद्यपि बयानका क्रममा उनले बजेट निर्माणमा कसैलाई संलग्न गराएको भन्ने कुरा अस्वीकार मात्र गरेनन्, सुरक्षा निकायलाई समेत बुझ्न चुनौति नै दिए । सीसीटीभी फुटेज बारे आफूलाई कुनै जानकारी नभएको शर्माको जवाफ थियो । यसअघि राजीनामा दिँदै उनले आफूलाई सीसीटीभीको क्षमता थाहा नभएको बताएका थिए । 

जवाफका क्रममा उनले आफूले बजेट निर्माणमा कसैलाई संलग्न नगराएको भन्दै नेपालको कानुन मिच्ने काम आफूले नगर्ने पनि बताए । 

उनले आफूलाई सीसीटीभी फुटेज र त्यसको क्षमताबारे जानकारी नभएको दोहोर्‍याए । जवाफका क्रममा उनी निकै आत्मविश्वासी रुपमा प्रस्तुत भएका थिए । अब आगामी बुधबार समितिको म्याद सकिएपछि छानबिनबारे थप विषय बाहिर आउने अनुमान गरिएको छ । अहिलेसम्मको अवस्थामा शर्माले संसदीय समितिले कुनै दोषी देखिएका छैनन् अर्थात् 'निर्दोष देखिन्छन्' समितिमा रहेका एक सांसदको भनाइ  छ । समितिले दोषी प्रमाणित गर्न  अब सीसीटीभी फुटेज 'रिकभर' नै यसको अन्तिम अस्त्रका रुपमा पर्खि रहेका छौं ती सांसदको भनाइ थियो ।