'वैदेशिक रोजगारको नाममा ठगिनेहरूको संख्या धेरै भयो '

'वैदेशिक रोजगारको नाममा ठगिनेहरूको संख्या धेरै भयो '

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ६, २०७९

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेर बहादुर कुँवरले विदेशमा कमाएको पैसा विलासीतामा खर्च भइरहेकाले त्यसलाई उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्ने बताउनु भएको छ ।

चन्द्रलोक प्रतिष्ठानद्वारा शुक्रबार आयोजित वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या र समाधानका उपाय बिषयक अन्तरक्रिया एंव बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री कुँवरले विदेशमा दुख गरेर कमाएको पैसा स्वदेशमा विलासी ताका सामान किन्नमा खर्च भइरहेकाले त्यसलाई उत्पादनको क्षेत्रमा लगाउनु पर्ने बताएका हुन् ।  

उहाँले विदेशी पुँजी र र सीपलाई देश निर्माणमा लगाउन सबैमा आग्रह समेत गरेका छन् । नेपालीहरुले दुख गरी विदेशमा पैसा कमाउनु हुन्छ तर त्यो पैसा विलासीताका सामान किन्नमा खर्च भइरहेको छ । त्यो रकमलाई उत्पादनका क्षेत्रमा लगाउन सक्यो भने बिस्तारै विदेश जाने बाध्यता पनि हटेर जान्छ र त्यसले रोजगारी पनि सिर्जना गर्छ, मन्त्री कुँवरले बताउनु भयो ।  

नेपालीहरु वैदेशिक रोजगारमा जानु रहर नभई बाध्यता भएकाले विदेशमा कमाएको पैसालाई पनि त्यहीअनुसार उपयोग गर्नमा उहाँले जोड दिनु भयो । 

कार्यक्रममा बोल्दै मन्त्री कुँवरले गैरकानुनी रुपमा विदेश गएका कामदारहरुको शवलाई नेपाल ल्याउन नसकिरहेको अवस्थामा आफुले परराष्ट्र मन्त्रालयसंग आवश्यक छलफल गरिरहेका समेत जानकारी गराउनु भयो ।  

वैदेशिक रोजगारको नाममा ठगिनेहरूको संख्या धेरै भएकाले यसबारे नागरिकहरु आफै सचेत हुनुपर्ने मन्त्री कुँवरको भनाई छ। विदेश जाँदा सबै जानकारी लिएर मात्रै जान उहाँले आग्रह पनि गर्नु भयो । रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै विभिन्न बाहानामा ठगि गर्नेहरुलाई उजुरीका आधारमा सरकारले कार्यवाही गरिरहेको समेत बताउनु भयो ।