महेश प्रसाई: साहित्य र प्राध्यापनमा अभाव र दुःखले स्थापित नाम
श्रावण ७, २०७९

नेपाली साहित्यका भाषाशास्त्री महानन्द सापकोटाको त्यस बेला धरान तथा विराटनगरमा भाषा, साहित्य, शिक्षा तथा राजनीतिमासमेत प्रशस्त नाम थियो । उहाँको नाम पूर्वाञ्चलमा मात्र नभएर आसाम, मेघालय, दार्जिलिङ, डुअर्समा समेत थियो ।  धरान तथा विराटनगरलाई शैक्षिक केन्द्रको रुपमा स्थापित गर्न लागिपर्नु भएको थियो । 

उहाँको पिताजी गणेशप्रसाद प्रसाई ताप्लेजुङबाट अलि सम्पन्न तथा हुनेखाने नै हुनुहुन्थ्यो । पिताजी ताप्लेजुङबाट धरान आउँदा महानन्द सापकोटाको कान्छी छोरी धरणी देवी त्यस बेला पढे लेखेकी केवल १७ वर्षकी तथा म्याट्रिकसम्म गरेकीलाई शायद  मन पर्‍यो उहाँलाई ! 

मन पर्‍यो भन्दा पनि महानन्द सापकोटाको नाम तथा प्रभावका कारण पनि हुन्छ उहाँको पिताजी गणेशप्रसाद प्रसाईले गुरुले छोरी दिए बिहे गर्छु भन्नुभएछ । उहाँले आफू कन्ने केटो भएको भनेर ढाँट्नु भएछ । तर, उहाँको पहिले नै बिहे गरेर जेठी श्रीमतीबाट पाँच भाइ छोरा तथा पाँच भाइ छोरी समेत भइसकेका रहेछन् । 

महानन्द गुरु यायावर जस्तो मान्छे । शायद राम्रै केटो मिल्यो भनेर छोरी जिम्मा लगाउनुभयो । उहाँको पिताजी भारतको मणिपुरमा अवसरको खोजीमा जानुभएको थियो । उहाँ किसान, पशुपालन तथा राजनीति पनि गर्नुहुन्थ्यो । 

बिहेपछि उहाँको पिताजीले कान्छी श्रीमतीलाई पनि मणिपुर लिएर जानुभयो । पिताजीले मणिपुरको काला पहाडमा बसाउनु भएको प्रसाई बस्ती यद्यपि छँदैछ ।  उहाँको जन्म उतै मणिपुरमा भयो । तर, सम्पन्न परिवारमा हुर्कनु भएकी उहाँ उता मणिपुरमा बस्न सक्नु भएन । त्यसमाथि सौतामाथि बिहे भएको थाहा पनि थिएन । अनि उहाँ फर्केर माइती धरान आउनुभयो । 

यसरी शुरु हुन्छ सर्जक महेश प्रसाईको जीवनको कथा । 

०००
उहाँको जन्म २०१३ साल असोज १ गते मणिपुरमा भएको हो । उहाँको हुर्काइ बढाइ, बढाइ तथा पढाइ सबै मामाघरमै भयो । अर्थात मामाघरकी हजुरआमा रत्न माया सापकोटाले गर्नुभयो । उहाँको आमा भने त्यसपछि सुनसरीको हालको गढी गाउँपालिकाको स्कूलमा शिक्षिका भएर बस्नुभयो । उहाँको आमा तथा उहाँको पनि त्यसपछि पिताजीसँग कहिले पनि भेट भएन ।

उहाँको हुर्काइ विशेष गरी धरानको विजयपुर जहाँ उहाँको हजुर आमा जेठा मामा जगदिश सापकोटासँग बस्नुहुन्थ्यो त्यहीँ भयो । जगदिश सापकोटा जसले २००७ सालको क्रान्तिमा आफूलाई अरु समान देखाउन सापकोटा हटाएर नेपाली राख्नु भएको थियो । 

जगदिश नेपाली पूर्वाञ्चलको शिक्षाविद्, समाजसेवी, यातायात व्यवसायी, राजनीतिक चिन्तक तथा प्रसिद्ध लघु कथाकारसमेत हुनुहुन्थ्यो । 

उहाँको बाल्यकाल नजिकैको जंगलमा खेल्दै, रमाउँदै साथीभाइसँग लुकामारी खेल्दै बित्यो । डण्डी बियो, भोगटेको पिटी, गोल बगैँचा पनि प्रशस्त खेल्नुभयो । मामाघरबाट गाई चराउन जंगलमा गएका बेला सर्दु खोलमा पौडी खेलेको अनि आँप, बयर र तित्री खाएको पनि उहाँले बिर्सनु भएको छैन । 

०००
धरानको दन्तकाली मन्दिरमा रहेको सानो पाटी अर्थात दन्तकालीको पाटीबाट उहाँको विधिवत अक्षरारम्भ भयो । उहाँले सिलोटमा खरी तथा अंगारले अक्षरारम्भ गर्नु भएको हो । 

उहाँले दन्तकाली स्कुलमा ५ कक्षासम्म पढ्नुभयो । कक्षामा १३/१४ जना विद्यार्थी हुन्थे । त्यसमा महिलाहरु पनि ३/४ जना थिए । बस्नलाई डेस्क बेञ्च नै थियो । त्यसपछि पब्लिक हाइस्कुल धरानमा ६ कक्षादेखि माध्यमिक तहसम्म पढ्ने काम गर्नुभयो । 

उहाँ राम्रै विद्यार्थी हुनुहुन्थ्यो । तेस्रो नम्बरभन्दा पछाडि उहाँको रोल नम्बर कहिल्यै गएन । एउटा कक्षामा विद्यार्थी ३०/४० जना हुन्थे । सह–शिक्षा नभएका कारण छात्राहरु थिएनन् । उहाँको बसाइ भने सधैँ पहिलो बेञ्चमा नै हुने गर्थ्यो । 

अतिरिक्त क्रियाकलापमा खेलकुदका कार्यक्रम धेरै हुन्थे भने साहित्यिक कार्यक्रम कमै हुन्थे । उहाँ आफ्नो ८–१० कक्षासम्मको पढाइलाई स्तरीय शिक्षाको रुपमा लिनुहुन्छ । त्यस बेला अंग्रेजीमा 'वर्डस् वर्थ' का कविता लगायत हुन्थे भने नेपालीमा बदरीनाथ भट्टराई, यदुनाथ खनाल, श्याम दास वैष्णव, भिम निधि तिवारीका रचनाहरू समावेश थिए । त्यसकारण माध्यमिक तहको पाठ्यक्रम निकै स्तरीय थियो । 

उहाँले दन्तकाली स्कूलमा ५ कक्षामा हुँदा नै चिया शीर्षको निबन्ध लेखेर पुरस्कार पाउनु भएको थियो । लक्ष्मीप्रसाद देवकोटाको भिखारी, मुना–मदन पुस्तक पुरस्कारका रुपमा पाउनु भएको थियो । 

माध्यमिक तहमा आइसकेपछि उहाँले कहिले प्रथम, कहिले द्वितीय अनि अहिले सान्त्वना पुरस्कार पाउनु भएको छ । 

उहाँले २०२७ सालमा १४ वर्षको उमेरमा एसएलसी दिनुभएको हो । एसएलसी दिइसकेपछि महेन्द्र कलेज धरानमा पढ्नु भयो । २०२९ सालमा आइए सकाउनु भयो । त्यसबेला बिए /बिकम पढाउने कलेजलाई डिग्री कलेज भनिन्थ्यो । तर, त्यस बेला धरानमा पञ्चायत सरकारले डिग्री कलेजमा पढ्ने धेरै कम्युनिष्ट भए भनेर डिग्री कलेज नै बन्द गरिदियो । 

 सम्झेर दौडँदै जाँदा कोक्रोमा उहाँलाई एउटा सेतो रंगको सर्पले खुट्टादेखि टाउकोसम्म बेरेर राखेको रहेछ । आमा आत्तिएर गाउँका मान्छेलाई बोलाउनु भएछ । अरु मान्छेले मार्नु हुँदैन भन्दा भन्दै एक जनाले भने सर्पलाई समातेर मारिदिएछन् । सर्प मारेको तीन दिनपछि ती व्यक्तिको पनि ज्यान गएकाे सुनेको घटना आफ्नो जीवनको दुर्लभ घट्नाको रुपमा लिनुहुन्छ । 

त्यस बेला राजनीतिक चेत भएका तथा साहित्यकार गिरिराज आचार्यको नेतृत्वमा उहाँसमेत संलग्न विद्यार्थीहरुले धरानमा डिग्री कलेज आवश्यक छ हटाउनु हुँदैन भनेर राजनीतिक आन्दोलन भयो । समर्थन जुटाउन उहाँहरु धरानका हरेक घर–घर पुग्नुभयो । तर, सरकारले सुनेन । उहाँ भने स्नातक तहको पढाइ छुट्ला भनेर विराटनगर आउनु भयो पढ्नका लागि । पछि भने सरकारले महेन्द्र कलेजमा बिए/बिकमको कक्षा संचालन गर्न थाल्यो । 

उहाँले स्नातक तथा स्नातकोत्तर भने महेन्द्र मोरङ आर्दश कलेज विराटनगरमा गर्नुभयो । 

०००

उहाँले २०३३ सालमा प्राध्यापक गणेश प्रसाद शर्माकी छोरीसँग प्रेम विवाह गर्नुभयो । २०३४ सालमा उहाँले विराटनगर जुट मिलमा कर्ल्कको काम गर्नुभयो । त्यस बेला उहाँको तलब ३ सय ६० रुपैयाँ थियो । महिनाको २६ किलो 'उसीना'  चामल तथा ५ किलो मट्टितेलसमेत दिन्थ्यो । उहाँको पहिलो तलब घर खर्चमै सकियो । 

उहाँ २०३६ सालमा महेन्द्र मोरङ कलेजको नेपाल विद्यार्थी संघको सभापतिसमेत हुनुहुन्थ्यो । अनि जनमत संग्रहमा विश्‍वेश्‍वर प्रसाद कोइरालासँग आन्दोलनमा पनि लाग्नुभयो । २०३७ सालतिर उहाँले राष्ट्रिय बाणिज्य बैकमा पनि काम गर्नुभयो । 

साहित्यिक चेतना पहिलेदेखि नै भएको हुनाले विराटनगरको साहित्यिक समूह, शुक्रबारे भेला आदिमा पनि भाग लिनुहुन्थ्यो । भानु मोरङ साँस्कृतिक संघको आयोजनामा उहाँ लगायत कृष्ण भूषण बल, अशेष मल्ल, विष्णुविभू घिमिरे, प्रमोद प्रधान, मिना कर्ण, नारायण तिवारी, बिक्रम थापा, ऋषिराम अधिकारी सम्मिलित साथीहरुको समूहले साहित्यिक गोष्ठीको पनि आयोजना गर्नुहुन्थ्यो । यसकै कारण अञ्चलाधीश कार्यालयले उहाँहरुलाई स्पष्टीकरण पनि लिएको छ । 

०००

उहाँ २०५१ सालमा काठमाण्डौ आउनु भयो । त्यस बेला उहाँ पशुपति क्याम्पसमा पढाउनुहुन्थ्यो । विश्वशान्ति क्याम्पस तथा सहकारीसमेत चलाउनुहुन्थ्यो उहाँ । २०५५ सालमा भने उहाँ बानेश्वर क्याम्पस पढाउन थाल्नुभयो । यसरी जीवन चल्दै थियो । 

२०५५ सालपछि उहाँले दोस्रो विवाह गर्नुभयो । किताब लेख्ने, प्रकाशन गर्ने, सम्पादन गर्ने, बिक्री गर्ने, डकुमेन्ट्री बनाउने आदि गरेर जडिबुटीमा एउटा घर पनि जोड्नु भयो । 

उहाँले बानेश्वर क्याम्पसमा २४/२५ वर्ष पढाउनुभयो । पशुपति क्याम्पसमा ६/७ वर्ष पढाउनु भयो । विश्वशान्ति क्याम्पसमा २/३ वर्ष पढाउनु भयो । उहाँले बानेश्वर क्याम्पस बाटै अवकाश लिए पनि त्यहाँ रहेको बानेश्वर सर्जक समाजको अध्यक्षको नाताले उहाँको बानेश्वर क्याम्पससँगको सम्बन्ध भने कायम छ । क्याम्पसमा कक्षा नलिए पनि उहाँको क्याम्पससँगको सम्बन्ध टुटेको छैन । र क्याम्पसलाई प्रबर्द्धन गर्नको निमित्त पनि उहाँको भूमिका छँदैछ । 

०००

उहाँको उपहार नामक लघुकथा २०२९ धरानबाट गिरिराज आचार्यको सम्पादनमा निस्कने झलक पत्रिकामा निस्किएको हो । त्यसपछि रुपरेखा, समीक्षा, राष्ट्रपुकार तथा विराटनगरका पत्रिकाहरूमा उहाँका रचनाहरू प्रकाशन हुन थाले । 

त्यसबेला सामूहिक संकलनको प्रचलन थियो । त्यो बेला गरिमा जन्मिएको थिएन । मधुपर्क बल्ल २०३४ सालबाट शुरु भएको हो । 

उहाँको निबन्ध संग्रह ‘शब्द सारथी’, भारतीय नेपाली कविताको सन्दर्भमा समालोचनात्मक कृति, ३ वटा लघुकथा संग्रह, ८/१० वटा कविता संग्रह गरी झण्डै २ दर्जनको हाराहारीमा उहाँका संग्रहहरु प्रकाशन भएका छन् । 

२०४२ सालमा विराटनगरबाट दिइने प्रतिभा पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, युवा वर्ष मोती पुरस्कार, व्यथित काव्य पुरस्कारलगायत थुप्रै पुरस्कार र सम्मान समेत प्राप्त गर्नुभएको छ प्रसाईले । उहाँले भारतबाट पनि सम्मानहरू प्राप्त गर्नुभएको छ । 

बानेश्वर क्याम्पसमा पढाउने प्राध्यापकहरु तथा साहित्यकारहरु प्रल्हाद पोखरेल, रमेश शुभेच्छु, डा.केदार न्यौपाने, डा. विष्णु राई, शिवकुमार भट्टराईहरू संलग्न बानेश्वर सर्जक समाजको उहाँ अध्यक्ष हुनुहुन्छ । काठमाडौँ, भक्तपुर र ललितपुरका सर्जकहरू धीर कुमार श्रेष्ठ, दिल पौडेल, दिव्य गिरी लगायतका साथीहरु संलग्न त्रिपुरा साहित्य समाजको पनि उहाँ अध्यक्ष हुनुहुन्छ । नेपाली कांग्रेस निकट नेपाल साँस्कृतिक संघको पनि उहाँ केन्द्रीय प्रवक्ता हुनुहुन्छ ।

०००

उहाँ मामाघरमा बसेर पढेको मान्छे । तर, नियमित स्कूल गए पनि उहाँले शुल्क भने कहिल्यै तिर्नुभएन । त्यो छात्रवृत्ति पाएर नभइ पैसा नभएका कारण हो । १ देखि १० कक्षासम्म उहाँले नियमित स्कूल गए पनि सधैँ प्राइभेट परीक्षा दिनुभयो । कारण मामाहरूको आफ्नै व्यवहार थियो । हजुरआमासँग कमाइ नभएका कारण पैसा हुँदैनथ्यो । त्यसैले एसएलसीको फर्म भर्नका लागि चाहिने ३० रुपैयाँ जुटाउन पनि उहाँकी हजुरआमालाई तीन गाउँ जुटाउनु परेको थियो । 

स्कूल पढ्दा नियमित गए पनि पैसा नतिरेका कारण उहाँको हाजिरी हुँदैनथ्यो । प्राइभेट परीक्षा दिएका कारण अरुको नतिजा निस्केको ३/४ दिनपछि मात्र उहाँको नतिजा आउँथ्यो । 

०००

उहाँ रुख चढ्न असाध्यै सिपालु हुनुहुन्थ्यो । अरु साथीहरुले उक्साउँथे पनि । अनि अरु के चाहियो र ! उहाँ रुख चढेर नरिवल, आँप, लिच्ची, बयर, भोगटे, ज्यामिरलगायतका फलफूल झार्नुहुन्थ्यो । साथीहरुले खान्थे । कहिलेकाहीँ रुख धनीले समात्थे पनि त्यस बेला माफी मागेर भागेका कैयौँ बाल सुलभ घटनाहरु उहाँका स्मरण ताजै छन् । 

०००
यो उहाँ तीन महिनाको हुँदा मणिपुरको घटना हो । उहाँको आमा उहाँलाई दूध खुवाएर गाउँमा केही काममा निस्कनु भएको रहेछ । तर, काम गर्दै जाँदा उहाँले छोरालाई कोक्रोमा सुताएर आएको बिर्सनु भएछ । भर्खर १७ वर्षको अल्लारे उमेरमा आमा भएकीले उहाँलाई त्यति हेक्का भएन पनि होला सायद । पछि दुई/तीन घण्टापछि आफ्नो दूध चर्कँदै जाँदा छोरो सुताएर आएको छु भन्ने उहाँलाई याद भएछ । 

सम्झेर दौडँदै जाँदा कोक्रोमा उहाँलाई एउटा सेतो रंगको सर्पले खुट्टादेखि टाउकोसम्म बेरेर राखेको रहेछ । आमा आत्तिएर गाउँका मान्छेलाई बोलाउनु भएछ । अरु मान्छेले मार्नु हुँदैन भन्दा भन्दै एक जनाले भने सर्पलाई समातेर मारिदिएछन् । सर्प मारेको तीन दिनपछि ती व्यक्तिको पनि ज्यान गएकाे सुनेको घटना आफ्नो जीवनको दुर्लभ घट्नाको रुपमा लिनुहुन्छ ।