पुन्यमाता करिडोर निर्माणमा अवरोध : 'समिति बनाऔँ, एक हप्तामा सहमति गरौँ'

पुन्यमाता करिडोर निर्माणमा अवरोध : 'समिति बनाऔँ, एक हप्तामा सहमति गरौँ'

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ८, २०७९

बनेपा । सहरी विकास मन्त्री मेटमणि चौधरीले विकासको काममा सबै मिल्नुपर्ने बताएका छन् । बनेपा नगरपालिका अन्तर्गत पर्ने पुन्यमाता करिडोर निर्माणमा अवरोध भएको थाहा पाएपछि सरोकारवाला पक्षसँग सिधै संवाद गर्न शनिबार बनेपा पुगेका मन्त्री चौधरीले भने– विकासको काममा सबै मिलौँ । करिडोर नघटाऔँ । पीडित पक्षलाई न्याय दिन सबैले योगदान गरौँ । आजको छलफलले १०० वर्षपछिको बनेपाको कल्पना गरौँ ।

२०७७ साल साउन ४ गते पहिलो चरण अन्तर्गत ६ करोडमा ट्रयाक खोल्ने सम्झौता भएको उक्त परियोजनामा मुआब्जाको कारण देखाई स्थानीय जग्गाधनीहरूले अवरोध गरेकाले १५ मिटर फराकिलो करिडोर खोल्न काम अघि बढ्न सकेको छैन ।

करिडोर रोक्न पीडित पक्षबाट सर्बोच्चमा मुद्दा दर्ता भइ टुङ्गो नलागेसम्म कामकारबाही रोक्ने सर्वोच्चको फैसला बमोजिम काम अघि बढ्न नसकेको हो । पीडित पक्षका संयोजक जगन्नाथ श्रेष्ठले १५ मिटरको करिडोर राख्दा करिब ६०० रोपनी जग्गाको मुआब्जा दिनुपर्ने हुन्छ ।

कतिपयको उठिबास लाग्ने भएकाले उपाय खोजिदिन मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

सरोकारवालाको कुरा सुनिसकेपछि सहरी मन्त्री चौधरीले थपे– नगरपालिका, जिसस र पीडित पक्षबाटै एउटा समिति बनाऔँ । एक हप्तामा सहमति गरौँ । काम तत्काल सुरु गरौँ । एउटै मुद्दामा बर्षौँ अल्झिने हो भने विकास सम्भव हुँदैन ।

सहरी विकास मन्त्रालय अन्तर्गत भवन निर्माण विभागका उपमहानिर्देशक रामचन्द्र दंगालले २०५८ सालको केन्द्रीय सरकारको मापदण्ड अनुुसार खोलाको १५ मिटर आसपास संरचना बनाउन नपाइने कानुनी प्रावधानअनुसार नै पुन्यमाता करिडोर परियोजना मन्त्रालय अघि बढाइएको बताए ।
 
बनेपा नगरपालिको कार्यालयमा भएको छलफलमा जिसस काभ्रेका सभापति दीपक गौतम, मेयर शान्ति रत्न शाक्य, उपमेयर बिमला सापकोटा, वडा अध्यक्ष, पूर्व जनप्रतिनिधिहरुले मन्त्री चौधरीकै कार्यकालमा परियोजना अघि बढ्ने आसा व्यक्त गरे ।