सत्तारुढ गठबन्धनमा कांग्रेसी 'उदण्ड' को त्रास: वामपन्थी वा कांग्रेस एमाले बाहेकको मोर्चामा 'एक स्वर' !

लोकसंवाद टिप्पणी

सत्तारुढ गठबन्धनमा कांग्रेसी 'उदण्ड' को त्रास: वामपन्थी वा कांग्रेस एमाले बाहेकको मोर्चामा 'एक स्वर' !

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ८, २०७९

केपी ओलीको उदण्ड रवैया, दम्भ र अहङ्कारसँगै टुक्रिएका कम्युनिस्ट पार्टीहरु कांग्रेसको दम्भसँगै फेरि एक पटक आत्म समीक्षा गर्ने अवस्थामा आइपुगेका छन् । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा देशभर सत्तारुढ गठबन्धनलाई सिट मिलाउन ठूलै पापड पेल्नुपर्यो ।

यसको प्रमुख कारण थियो, कांग्रेस भित्रको विवाद र पदीय व्यवस्थापन । कांग्रेसको सभापतिमा पराजित भएका शेखर कोइराला समूह स्थानीय तहमा गठबन्धन गर्न नहुने पक्षमा थियो । त्यसका बाबजुद पनि देशका कतिपय स्थानीय तहमा गठबन्धन भयो । तर काँग्रेस भित्रको एक पक्षले असहयोग गर्दा कांग्रेसका उम्मेदवार विजयी हुने र गठबन्धनका उम्मेदवार पराजित हुने अवस्था देखियो ।

यो चुनावी गठबन्धनबाट कांग्रेसले भने राम्रो लाभ लियो । अघिल्लो स्थानीय तहको निर्वाचनमा २६६ स्थानीय तह जितेको कांग्रेसले गठबन्धनका सहाराले यसपटक ३२९ स्थानीय तहमा जित हात पार्‍यो भने ३०१ स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्ष जित्यो । 

यो परिणामबाट हौसिएको कांग्रेसले हालै सम्पन्न  केन्द्रीय समितिको बैठकबाट सत्ता गठबन्धनबीच तालमेल गर्ने निर्णय गरेको छ । गत चुनावको उत्साहजनक मत परिणामबाट हौसिएको काँग्रेस अब सत्ता गठबन्धनलाई पनि निरन्तरता दिने, आफूले एक्लै बहुमत ल्याउने र पाँच वर्ष सरकार चलाउने निर्णय सार्वजनिक गरेको छ ।  कांग्रेसका नेताहरुले पार्टीको यही निर्णय भएको अभिव्यक्ति समेत दिइरहेका छन् ।

यो भनेको अब कांग्रेस यसै पनि ठूलो पार्टी बन्छ र अरुलाई धेरै स्थान दिने भन्दा पनि पराजित हुने स्थानमा गठबन्धनको सहारामा जित्ने र गठबन्धन दलहरुलाई केही सिट दिएर फकाउने कांग्रेसको रणनीतिमा छ। गठबन्धनमा कांग्रेसले आफू शक्तिशाली र अन्य दल जनमत नभएका कमजोर दलको रुपमा व्यवहार गर्दा आगामी निर्वाचनमा कांग्रेस सँगको गठबन्धनबारे अन्य दललाई भने सोच्नुपर्ने अवस्थामा धकेलिदिएको छ ।

 यतिबेला गठबन्धनका कांग्रेस बाहेकका दलले काँग्रेससँग गठबन्धन कायम रहे पनि त्यहाँ भित्रै नयाँ गठबन्धनको तयारी  थालेको सन्देश दिइरहेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, जनमोर्चा लगायतका पार्टीले वामदेव गौतमको नेकपा एकता राष्ट्रिय अभियानसहित आगामी निर्वाचनमा एउटै घोषणापत्र तयार पारेर एउटै चुनाव चिन्हबाट चुनाव लड्ने गरी तयारी थालेको सन्देश दिइरहेका छन् । 

यस विषयमा केही दिनअघि नेताहरुबीच छलफल भएको छ भने प्रचण्ड र बाबुराम भट्टराईबीच समाजवादी केन्द्र निर्माण गर्ने तथा त्यसमा बाबुराम भट्टराई समूह र नेकपा एकीकृत समाजवादी समेत सहभागी हुने वातावरण बनाउने विषयमा छलफल अगाडि बढाइएको देखाइन्छ ।

हाम्रो देशको चुनावी प्रणालीका कारण कुनै एक दलले बहुमत ल्याउन कठिन भएका कारण कांग्रेस सहितको गठबन्धन (हालको सत्ता गठबन्धन), एमाले गठबन्धन वा कांग्रेस एमाले बाहेकको गठबन्धनको  लागि तयारी भइरहेकाे अनुमान गर्न गाह्राे छैन । अतः आगामी निर्वाचनमा कसले बुद्धि मत्ता पूर्वक धेरैलाई समेट्ने हिम्मत गर्छ उसले जित्ने अवस्था छ । 

शनिबार जनकपुरधाम पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम गठबन्धन वा समाजवादी केन्द्र निर्माण गर्ने विषयमा सकारात्मक छलफल भएको बताए । उनले काँग्रेससँगको गठबन्धन कायम रहेको बताए । तर त्यहाँभित्र नयाँ गठबन्धन बन्न लागेको कुरा पनि लुकाएनन् । 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुई तिहाइको फुर्ती देखाउने लाई सडकमा फालेर आफूहरुले इतिहासमा कीर्तिमान बनाएको दाबी गर्दैै  दम्भ र अहङ्कारलाई सडकमा फालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपरेको बताए । सँगै सँगै उनले कांग्रेसमा देखिएको अहंकार प्रति चिन्ता पनि जनाएका छन् ।

पार्टी निकट नेपाल तामाङ संघ समाजवादीको भेलालाई सम्बोधन गर्दै नेपालले भने, ‘इतिहासमा हामीले कीर्तिमान बनायौं । दुईतिहाइको फुर्ती देखाएका सडकमा फालिएको पनि देख्यौं । निर्वाचनमा कम्युनिस्टभन्दा कांग्रेस माथि पुग्यो । चुनाव जितेपछि त्यसले पनि अहंकार देखाउन थाल्यो । हाम्रो बुई चढेर ठूलो पार्टी बन्ने अनि हामीमाथि नै कांग्रेसले बुर्कुसी मार्ने हो कि भन्ने डर छ ।’

शनिबार नै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सम्मानजनक भूमिका नदिए आगामी निर्वाचनमा कुनै दललाई बहुमत प्राप्त हुने गरी तालमेल हुन नसक्ने बताए ।

तालमेलका लागि सम्मानजनक भूमिका दिनुपर्ने उनको भनाई छ । कांग्रेसप्रति लक्षित गर्दै खनालले केही दलले बहुमत आउने गरी चुनावी तालमेलमा जाने निर्णय गरेको भन्दै कसैलाई बहुमत दिलाउन तालमेल नगर्ने स्पष्ट पारे । उनले भने– ‘कोही हाम्रो बहुमत आउने गरी गठबन्धन गर्ने भन्दैछन् । के भनेको त्यो ? बहुमत एउटाको आउँछ भने किन गठबन्धन गर्न जान्छ कोही ? अरुलाई बहुमत दिनका लागि किन हामी गठबन्धनमा जाने ? केको लागि जाने ? दलाल बन्न ? पुच्छर बन्न ? जानु हुँदैन ।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले अहिले वाम एकताको खाँचो रहेको बताउँदै आगामी निर्वाचनमा सम्भव भए वामपन्थी एकता गर्नुपर्ने र यसका लागि एमालेको नेतृत्व तयार हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको बताए । सबै पार्टीलाई सम्मानजनक ढंगले एकता गराउन एमालेले पहल लिए वामपन्थी एकता हुनसक्ने बताए । 

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी बाध्यात्मक रुपमा स्वीकार गरेको तथा एसपीपी अस्वीकार गर्ने पत्र पठाउने निर्णय भएपनि अझै नपठाएको भन्दै गठबन्धनका नाममा सरकारका यस्ता कदम बाध्यात्मक रुपमा स्वीकार गर्न नसक्ने बताएका छन् ।

उनले भनेका छन्, ‘नेपाली काँग्रेसले गठबन्धनको नाममा निरन्तरको बलजफ्ती हामीलाई सधैं स्वीकार्य हुन सक्दैन भन्ने कुरा समयमै बुझोस् । हाम्रो पार्टीले गठबन्धन र सरकारको नाममा सबै राष्ट्रिय मुद्दामा सम्झौता हुन सक्तैन भनेर गम्भीरतापूर्वक सोच्नै पर्ने भएको छ । गठबन्धन सरकार र भोट हाम्रो साध्य होइन ।’ 

कम्युनिस्ट पार्टीका नेताहरुका यी भनाइबाट पछिल्लो समयमा कांग्रेसभित्र बढ्दो जितको उन्माद र गठबन्धनलाई प्रयोग गरेर चुनाव जित्ने र आफू सत्तामा भाले भएर बस्ने कांग्रेसको मनसायप्रति निर्माण भइरहेको धारणाका रुपमा लिन थालिएकाे छ ।

नेपाली कांग्रेसले आफूलाई फाइदा हुने र गठबन्धनमा रहेका दलहरुको अस्तित्व विस्तारै मेट्दै जाने मनसायबाट जुन प्रकारले अघि बढ्न खोजेको छ, त्यसबाट सत्ता गठबन्धनको दीर्घ जीवनमा प्रश्न उठेको छ । जसरी दुई तिहाईको सरकार हुँदा केपी ओलीले दम्भ प्रदर्शन गरे, त्यसरी नै काँग्रेसले दम्भ प्रदर्शन गर्‍यो र आगामी निर्वाचनमा सबै कम्युनिस्ट एक ठाउँमा मिल्ने अवस्था आयो भने संघीय र प्रदेश संसदमा कांग्रेस अघिल्लो पटक जस्तै खोज्नुपर्ने अवस्था सिर्जना हुनसक्छ ।

साँच्चै सच्चिएर आगामी निर्वाचनमार्फत सत्तामा फर्किने हो भने एमालेले उदार दिलका साथ सबै कम्युनिस्टलाई एक ठाउँमा ल्याउने हिम्मत गर्नु पर्ने भन्दै एमाले इतरका नेताहरु भित्रभित्रै एमालेलाई प्रस्ताव गर्न समेत राख्न थालेका छन् । 

 त्यसो नभएमा एमाले, कांग्रेस एक्लाएक्लै चुनाव लड्ने र अन्य दलले इमान्दारिता साथ गठबन्धन गरेर अघि बढ्ने अवस्था आयो भने पनि आगामी सत्ता यात्रालाई भने चुनौतीपूर्ण पार्न सक्ने क्षमता राखिनु पर्ने धारण समेत विकास भइरहेको बताइन्छ  । हाम्रो देशको चुनावी प्रणालीका कारण कुनै एक दलले बहुमत ल्याउन कठिन भएका कारण कांग्रेस सहितको गठबन्धन (हालको सत्ता गठबन्धन), एमाले गठबन्धन वा कांग्रेस एमाले बाहेकको गठबन्धनको  लागि तयारी भइरहेकाे अनुमान गर्न गाह्राे छैन । अतः आगामी निर्वाचनमा कसले बुद्धि मत्ता पूर्वक धेरैलाई समेट्ने हिम्मत गर्छ उसले जित्ने अवस्था छ । दम्भ र अहङ्कारको  अवस्था नाजुक बन्ने खतरा उत्तिकै छ ।