चाणक्य सूत्र राजनीतिको मूल मन्त्र: आगोले भन्दा बढी पोल्ने ती बोली, दुर्बलको आश्रय लिँदा दुःख मात्र !
श्रावण ११, २०७९

विद्वान् चाणक्यका बारेमा धेरै मानिसले जानेका छन् । अर्थशास्त्र र नीति शास्त्रमा चाणक्यको नाम बडो सम्मानका साथ लिइन्छ । करिब दुई सहस्राब्दी पूर्व जन्मेका चाणक्य नन्द सम्राटका विनाशक र चन्द्र गुप्त मौर्यका गुरु मानिन्छन् । राजा नन्दलाई सिंहासनबाट च्युत गराएर चन्द्र गुप्ताको नेतृत्वमा मौर्य साम्राज्यलाई सुदृढ गराउन चाणक्यले आफ्नो बुद्धि र वर्कतलाई कुशलतापूर्वक प्रयोग गरेका थिए । चणकको सन्तान भएकाले उनको नाम चाणक्य रहेको हो । कुट वा कुटिल नीतिका ज्ञाता भएकाले उनलाई कौटिल्य भनिएको हो भन्ने तर्क पनि रहिआएको छ । विष्णु गुप्तका नामले पनि चाणक्य परिचित छन् ।  

चाणक्य उद्भट विद्वान् त थिए नै दृढ प्रतिज्ञ पनि थिए । उनको जीवन अत्यन्त विसङ्गत तरिकाले बितेको थियो । मगध नरेश नन्दले उनका पिता चणकको हत्या गरिदिए । त्यसपछि क्रुद्ध बनेका चाणक्यले नन्दको समूल अन्त्य नगरेसम्म आफ्नो शिखा(टुप्पी) नबाँध्ने प्रतिज्ञा गरे । पछि उनी आफ्नो प्रतिज्ञामा सफलता समेत हात पारेका थिए ।  

चणक्यले आफ्ना ग्रन्थहरू वेद, पुराण, महाभारत आदि विभिन्न वाङ्मयको मन्थन गरेर रचना गरेका हुन् । त्यसैले उनका कृतिहरूमा सम्पूर्ण शास्त्रको सार खिचिएको छ । ती तथ्यहरू मानव जीवनका अकाट्य सत्यको उद्‍घाटित छन् । उत्प्रेरणा र सिर्जनाका अमोघ बीज हुन् । त्यसैले चाणक्य विश्व प्रसिद्ध नीतिज्ञ हुन् । नीति शास्त्रका क्षेत्रमा चाणक्य नीति र चाणक्य सूत्र गरी दुइ ओटा शास्त्र प्रसिद्ध छन् । तिनले राजनीति, कूटनीति, शासन व्यवस्था, समाज व्यवस्था, मानवीय प्रवृत्तिजस्ता विषयलाई स्पष्ट तया व्याख्या गरेका छन् । 

यो सामान्य आलेखमा चाणक्यका बारेमा सम्पूर्ण कुरा उल्लेख गर्न सम्भव छैन । उनका बारेमा विभिन्न खोज अनुसन्धान भएका छन् । कृतिहरू रचना गरिएका छन् । उनका भनाइहरूले हाम्रा साहित्यका सहस्र पत्र रङ्गिएका छन् । यहाँ चाणक्यका केही सूत्रलाई अगाडि राखेर नेपाली राजनीतिका केही चित्र चरित्रको विमर्श गर्न खोजिएको छ । 

हेतुतः शत्रु मित्रे भविष्यतः । यस सूत्रको सामान्य आशय ‘कुनै कारण वश शत्रु पनि मित्र बन्न पुग्दछ,’ हो । अहिलेको नेपाली राजनीतिको मूल चरित्र नै यही हो । जसलाई हामी गठबन्धन भनिरहेका छौँ । गठबन्धनमा काङ्ग्रेस कम्युनिस्ट सहभागी छन् । सिद्धान्ततः यी दलहरू मिल्ने कुनै पोयो छैन । तर पनि गठबन्धनको मेलो चलेकै छ । यसको कारण भनेको प्रयोजन वा हेतु हो । माओवादी, समाजवादी र काङ्ग्रेस सबैको एउटै प्रयोजन भनेको एमालेलाई कमजोर बनाएर बागडोर आफ्नो हातमा लिने । यसलाई चाणक्यको अर्काे सूत्रले पुष्टि गर्न खोजेको छ । 

एकान्तरितं मित्र मिष्यते (दुई ओट शत्रुहरू आपसमा मित्र बन्छन्)। एमालेका विरोधी पक्ष भनेका माओवादी र काङ्ग्रेस हुन् । यिनी दुईमा जुन मित्रता देखिएको छ त्यसको कारण राष्ट्र निर्माण होइन भन्ने कुरा त सामान्य जनले पनि जानेका छन् ।

अहिले विशेषगरी नेताहरुलाई देवत्व करण गर्ने चलन बढ्दो छ । मानवहरू महामानव बन्ने मार्गमा छन् । किलोमा जोखेर माला लागाइदिने प्रतिस्पर्धा छ । जनताले छुनै नसक्नेहरु जननेता होलान् भन्ने पिर छ । अलिकति पनि ब्यहोरा र नैतिकता नभएका मानिसहरु स्तुति प्रशंसाले बेलुन फुले झैँ फुलिरहेका छन् । चाणक्य भन्छन् मानिसले देवताको अनुकरण गर्नुहुन्न । 

आम पात्र आमेन सहविनश्यति (काँचो माटोले बनेको भाँडा आपसमा ठोकिएर फुट्छन्) । हाम्रा राजनीतिक दलका जग गति बलियो छ भन्ने कुरा त यिनीहरुको दिल्ली दौडबाटै थाहा हुन्छ (यसमा पालो अनुसार सबै जान्छन् एउटालाई मात्र आरोप लाउनु वाञ्छनीय छैन) ।  यिनीहरुको वैचारिक र नैतिक जग निकै कमजोर छ त्यसकारण आपसमै झगडा गरेर फुटिरहन्छन् । यहाँ चाणक्य सूत्र प्रमाणित भएको छ । 

शक्तिहीनो बलवन्तमाश्रयेत् (कमजोरले बलवानको आश्रय लिनुपर्छ) । यो सूत्र त हाम्रा नेताले गर्भमै कण्ठ गरेर आएका छन् । दिल्ली दौडलाई यहाँ नदोहोर्‍याऊँ होला । अलि कमजोर भनिएका दलहरू सत्ता रोहणका लागि कसरी ठुला दलको दौराको फेर समाउँछन् भन्ने कुरा चाणक्यले समयमै बताएका थिए त्यसको पुष्टि मात्र अहिले भएको हो । 

सन्धायैकतो वा (सन्धि हुँदैमा ढुक्कले बस्नु हुँदैन) । यो चाहिँ गठबन्धन भयो भन्दैमा शान्त बस्न हुदैन भनेको हो । यस्तो कुरा बुझेकैले गठबन्धनमा सहभागी दलहरू घुर्क्याउने, धम्क्याउने, फुटाउने, अन्तै लाग्ने जस्ता बोली र व्यवहारमा संलग्न छन् । 

दुर्बलाश्रयो दुःखमावहति (दुर्बलको आश्रय लिँदा दुःख मात्र पाइन्छ) । यो कुरा त दलले मात्र होइन दलमा लाग्ने व्यक्ति व्यक्तिले बुझेका छन् । नेताहरू पनि आफूलाई शक्तिशाली बनाउन न्वारन देखिको बल लगाइरहेका छन् । कार्यकर्ता पनि मनी र मासु भातका पछि लागेर गुट गुटमा संलग्न छन् । 

द्वयोरपीष्र्यतोः द्वैधीभावं कुर्वीत (ईर्ष्यालु बिचमा विद्वेष चर्काइ दिनुपर्छ) । यो त अहिलेको सबैभन्दा प्रयोग सिद्ध कुरा हो । पहिला त पार्टीमा अध्यक्ष्य समेत दुइ ओटा बनाइयो । पहिला त तिनीहरू दुबैमा ईर्ष्याको  हलाहल छँदै थियो अवसरवादीले विद्वेषको आगो यसरी बालिदिए कि सत्ता पक्ष र प्रतिपक्षकै कायापलट भयो । 

इन्द्रियवशवर्ती चतुरंगवानपि विनश्यति (इन्द्रीयका नियन्त्रणमा रहने शासक जतिसुकै बलवान्(सेना सम्पन्न) भएपनि सिद्धिन्छ) । यहाँ दुईतिहाइको ध्वाँस छोड्नेहरूको हालत अहिले दयनीय भएको छ । यसमा व्यक्तिगत घमण्ड, अभिमान, राग द्वेष नै प्रमुख कारण हुन् भन्नेहरु छन् । 

न कामासक्तस्य कार्यानुष्ठानम् ( कामी वा वासना तथा कामनाले ग्रस्त मानिसले काम सम्पन्न गर्न सक्दैन) । यस सूत्रले पनि अघिल्लो सूत्रलाई नै बल प्रदान गरेको छ । कामको सम्बन्ध नरनारी बिचको आकर्षण वा त्यसका लागि मरि जानु त हुँदै हो मान सम्मान, पैसाजस्ता क्षणभङ्गुर वस्तुका लागि आफ्नो पद र अधिकारलाई दाउमा लगाउनु पनि हो । यस सूत्रले आम मानिसलाई नि उत्तिकै समातेको छ  तथापि शर्मा, बाँस्कोटा, महरा, स्थापितजस्ता महानुभावहरू यहाँ स्मरणीय हुनुहुन्छ । 

अग्निदाहादपि विशिष्टं वाक्पारूष्यम् ( आगोलेभन्दा पनि बढी बोलीले पोल्छ) । यो त हाम्रो राजनीतिको मूल मन्त्र नै हो । एउटाले अर्कोलाई सरापेर नै राजनीति चलेको छ। तर यस किसिमको वाक्परूषताले एक न एक दिन नपोली छोड्दैन। ढिलोचाँडोको कुरा मात्र हो। हाम्रा केपी बालाई वाक्परूषताको हस्ती मान्छन् उनका विरोधीहरू तर समर्थकहरू बाको वाक्कलाको प्रशंसा गरेर थाक्दैनन् । वाक्परूषताले सुरुमा श्रोतालाई पोल्छ, कालान्तरमा वक्तालाई नै । यस प्रसंगमा प्रदेशका पूर्वमन्त्री स्थापित र  संघका पूर्वमन्त्री तामाङको भोगाइ स्मरणीय छ

अर्थतोषिणं श्रीः परित्यजति (लोभीले प्रतिष्ठा पनि गुमाउँछ) । देशमा यतिबेला अर्थमन्त्रीको अभाव छ । त्यसको पछाडिको कारण लोभै हो कि ! लोभले लाभ लाभले विलाप भन्ने उखान थियो तर यहाँ लाभ विनै विलाप भयो । हिजोका दिनसम्म कमाएको प्रतिष्ठा तथा छवि कति छिटै धुमिल भयो । चाणक्यले भनेका पनि छन् ‘मैले भनेका कुरा कालान्तरमा सत्य हुनेछन् । त्यस्तो भइरहेको पनि छ । 

नदेवचरितं चरेत् (देवताको अनुकरण गर्नुहुन्न) । अहिले विशेषगरी नेताहरुलाई देवत्व करण गर्ने चलन बढ्दो छ । मानवहरू महामानव बन्ने मार्गमा छन् । किलोमा जोखेर माला लागाइदिने प्रतिस्पर्धा छ । जनताले छुनै नसक्नेहरु जननेता होलान् भन्ने पिर छ । अलिकति पनि ब्यहोरा र नैतिकता नभएका मानिसहरु स्तुति प्रशंसाले बेलुन फुले झैँ फुलिरहेका छन् । चाणक्य भन्छन् मानिसले देवताको अनुकरण गर्नुहुन्न । 

चाणक्यका एकएक सूत्र नेपाली समाज, राजनीति र संस्कृतिमा सान्दर्भिक छन् । उनले भनेर भएको होइन । भएको वा हुन सक्ने कुराको विश्लेषण उनले गरेका हुन् । आजभन्दा पहिले पनि राजनीतिमा यस्तो चरित्र नदेखिएको होइन । अब पछि पनि दोहोरिने छन् नै । बेलैमा चिन्तन गरेर आफूलाई सुधार्नु नै समयको माग हो ।  


वेदमा आचार्य तथा नेपाली साहित्यमा स्नातकोत्तर अलङ्कार सामाजिक, वैदिक र साहित्यिक विषयमा लेख्न रुचाउनुहुन्छ ।