फोहोर व्यवस्थापनका नाममा स्थानीयवासीसँग १७ वर्षमा १७४ पटक सम्झौता: समस्या जस्ताको तस्तै

फोहोर व्यवस्थापनका नाममा स्थानीयवासीसँग १७ वर्षमा १७४ पटक सम्झौता: समस्या जस्ताको तस्तै

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १२, २०७९

काठमाडौँ ।   सहरी विकास मन्त्री मेटमणि चौधरीले फोहोर दिए बापत जनतालाई पैसा तिर्ने गरि काम थाल्न लागेको बताएका छन् ।  

मन्त्रालय सम्हालेको महिना दिन पुगेको अवसरमा बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले एक महिने उपलब्धि र आगामी योजना सार्वजनिक गरेका छन् ।

स्थानीयवासीसँग १७ वर्षमा १७४ पटक सम्झौता भएको तर समस्या जस्ताको तस्तै रहेकाे उल्लेख गर्दै  अब नयाँ ढंगले फोहोर व्यवस्थापन हुने उनले बताए । फोहोरबाट मल, ग्याँस र बिजुली निकाल्ने गरी काम सुरु गर्ने मन्त्री चौधरीको भनाई थियो । 

फोहर बापत जनताले मासिक पैसा तिर्नु परेकोमा फोहर दिएबापत जनतालाई उल्टै पैसा पाउनु पर्ने गरी काम थाल्न निर्देशन दिएको बताए । मुलक बनाउने जिम्मा हामी सबैको हो भन्दै मन्त्री चौधरीले बन्चरे डाँडामा फोहोर फाल्न दैनिक करिब २५० ट्रक कुद्ने, फोहोर फाल्न जाँदा बाटोमै खसाल्ने कुरा, सिसडोल र बन्चरे डाँडाका जनतालाई हेयका दृष्टिले हेर्ने कुरालाई अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन  । 

मन्त्रालयको समग्र प्रगति ७०.१४ रहेकोमा असाढ महिनामा मात्र २६.२८ प्रतिशत वित्तिय प्रगति हासिल भएको सहरी मन्त्री चौधरीको भनाई थियो । विद्यमान राष्ट्रिय सहरी नीति, २०६४ लाई परिमार्जन गरि राष्ट्रिय सहरी नीति २०७९ मन्त्रिपरिषदमा पेश भएको, जनकपुर उपमहानगरपालिकामा अस्तव्यस्त रहेको बसपार्कलाई व्यवस्थित गर्न २० करोडको लागतमा आधुनिक बसपार्कको शिलन्यास भएको, पोखरामा करिब १ अर्ब र तिलोत्तमा नगरपालिकामा करिब ७८ करोडको लागतमा सडक निर्माण कार्यको सम्झौता भएको, उर्लाबारीमा करिब ५१ करोड र बिर्तामोडमा करिब ७६ करोड लागतमा सडक निर्माण कार्यको लागि बोलपत्र आव्हान गरेको, सहरी विकासमा सुझाव संकलन गर्न स्कुले विद्यार्थी देखि इन्जिनियरिङ कलेजसम्मका विद्यार्थीसँग छलफल सम्पन्न गरेको, ठुला र विशेष आयोजनामा अनुगमन र समयमै काम सम्पन्न गर्न निर्देशन दिएको समेत मन्त्री चौधरीले बताए ।