एमाले पाँचथरमा अन्तर्घात :  दुईवटा पालिका कमिटि नै भंग, चार नेता जिम्मेवारीबाट निलम्बित

एमाले पाँचथरमा अन्तर्घात :  दुईवटा पालिका कमिटि नै भंग, चार नेता जिम्मेवारीबाट निलम्बित

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १२, २०७९

पाँचथर । नेकपा एमाले पाँचथरले स्थानीय निर्वाचनमा अन्तर्घात गर्ने ४ नेतालाई निलम्वन गर्नुका साथै  २ वटा पालिका कमिटी भंग गरेको छ ।

एमाले पाँचथरले जिल्ला कमिटीले  हिलिहाङ र कुम्मायक गाउँपालिकाका स्थानीय कमिटि भंग गरेको जानकारी दिखएको छ ।

पार्टी अध्यक्ष राजकुमार भण्डारीको अध्यक्षतामा साउन १० र ११ गते बसेको एमालेको सचिवालय  बैठकले दुइ वटै कमिटि भंग गरेको हो ।

त्यस अघि एमालेको जिल्ला कमिटि बैठकले बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै हिलिहाङ गाउँपालिकाका  अध्यक्ष मदन गौतम र कुम्मायक गाउँपालिका अध्यक्ष मेघराज निरौलालाई जिम्मेवारीबाट निलम्वन गरेको थियो ।

पछिल्लो  पटक ती दुबै पालिका कमिटि भंग गर्दै अधिवेशन आयोजक कमिटि गठन गर्ने निर्णय गरेको बैठकमा सहभागि एक  सदस्यले जानकारी दिए ।

 स्थानीय तहको निर्वाचनमा अन्तरघात,असहयोग र असमझदारीको बिश्लेषण गर्दै गौतम र निरौला सहित याङवरक गाउँपालिकाका निर्वतमान अध्यक्ष लेखनाथ घिमिरे र अर्का नेता देवी कोइरालालाई जिम्मेवारीबाट निलम्बन गरेको बताइएको छ  ।

निलम्बनमा परेका मध्ये हिलिहाङका पालिका अध्यक्ष मदन गौतमले  निर्णय पुनर्विचार गरियोस भन्दै जवाफ लेखे पनि ‘ उनको स्पष्टिकरण वारे छलफल नै नभएको बताइन्छ ।
 हिलिहाङमा अन्तरघात नभएको भनेर कसैले नभनेकाले निलम्बन यथावत राख्दै पालिका कमिटि नै भंग गरिएको  बताइन्छ ।

निलम्बित नेताहरुले भने जिल्ला कमिटी अध्यक्ष र केहि सचिवालय सदस्यले पूर्वाग्रह भएर आफुहरुलाई कार्वाही गरेको बताउँदै आएका छन्  ।

अघिल्लो निर्वाचनमा सानदार विजय हासिल गरेको एमाले पाँचथरले यस पटकको निर्वाचनमा लज्जास्पद पराजय व्यहोरेपछि कार्यकर्तामाथि त्यसको आरोप लगाएर नेतृत्व पन्छने प्रयास गरेको सरोकारवालाहरुले  आरोप लगाइरहेका छन् ।