‘अक्युपञ्चर उपचार पद्धति भरपर्दाे छ’
जेठ १२, २०७६
अनुशा नेपाल, अक्युपञ्चरिस्ट ।

अक्युपञ्चर उपचार पद्धति चिनियाँ चिकित्सामा आधारित २५ सय वर्ष पुरानो उपचार पद्धति हो । विश्व स्वास्थ्य संगठनका अनुसार यो उपचार पद्धतिबाट करिब दुई सय रोगको निदान गर्न सकिन्छ । तीमध्ये टाउको, पेट, अनुहार, गर्धन, काँध, घुँडा, जोर्नी तथा कम्मर दुख्ने समस्या, हड्डी खिइएको, नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, बाथ, क्यान्सर, पित्तसम्बन्धी समस्या, अनिद्रा, पिनास, माइग्रेन लगायत प्रमुख छन् । तर, नेपालमा हड्डी खिइएको, नसा च्यापिएको, बाथ, प्यारालाइसिस, गर्धन, काँध, घुँडा, जोर्नी तथा कम्मर दुख्ने समस्याका बिरामी यो पद्धतिबाट उपचार गराउन आउँछन् ।

यो पद्धतिअनुसार शरीरमा रहेका अक्युपञ्चर प्वाइन्टमा सुई (निडिल) घोपेर उपचार गराइन्छ । उपचारका क्रममा औषधी खानुपर्दैन । त्यसैले यसबाट साइड इफेक्ट छैन । र, अरुभन्दा भरपर्दाे पनि छ । यो पद्धतिमा उपचारको प्रभावकारिता पनि राम्रो छ । त्यसैकारण पछिल्लो समय यो पद्धतिमा बिरामीको आकर्षण बढेको छ । मैले सञ्चालन गरेको आयुष हेल्थ केयर सेन्टरमा दैनिक ३०-३५ बिरामी उपचारका लागि आउँछन् । तीमध्ये अधिकांश दुखाईसम्बन्धी र नसा च्यापिएका छन् ।

जटिल अवस्थाको नसा च्यापिएका बिरामीलाई त यो एकदमै प्रभावकारी देखिएको छ । एलोपेथिक उपचार पद्धतिमा अप्रेसन गर्नुपर्ने अवस्थामा रहेको केसमा यो पद्धतिबाट बिनाअप्रेसन उपचार भइरहेको छ । उपचारबाट बिरामी पनि सन्तुष्ठ छन् ।

बिरामीको आकर्षणका कारण पछिल्लो समय नेपालमा पनि यो पद्धतिबाट उपचार गराउने स्वास्थ्य संस्था बढेका छन् ।

(कुराकानीमा आधारित)