' संविधानमा उल्लिखित विदेशनीतिका आधारलाई पूर्ण पालना गर्नुपर्छ'

' संविधानमा उल्लिखित विदेशनीतिका आधारलाई पूर्ण पालना गर्नुपर्छ'

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १२, २०७९

 काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेपालको संविधानको निर्देशक सिद्धान्तमा उल्लिखित विदेशनीतिका आधारलाई नै हामीले पूर्ण रूपमा पालना गर्नुपर्ने बताउनुभएको छ ।

समाजवादी पत्रकार सङ्गठन नेपालका प्रतिनिधिसँग आज आफ्नै निवास डल्लुमा भएको भेटमा उहाँले संयुक्त राष्ट्र सङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, विश्व शान्ति र अन्तरराष्ट्रिय कानुनको पालनाका साथै एक चीन नीति र नेपालको भूभाग विदेश राष्ट्र विरुद्ध प्रयोग हुन नदिने विषय नै हाम्रो विदेशनीतिका आधार भएको स्पष्ट गर्नुभयो । 

 पार्टीका सम्मानित नेता खनालले छयालीस सालको आन्दोलनपछि गठित अन्तरिम सरकारका पालामा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले टनकपुर ब्यारेज निर्माणका क्रममा नेपालको विना स्वीकृति नेपाली भूमिमा संरचना बनि रहेकामा रोक्न सकेको स्मरण गराउँदै टङ्कप्रसाद आचार्य, बिपी कोइराला, कीर्तिनिधि विष्ट, मनमोहन अधिकारीका पालामा नेपालको हितमा विदेशनीति सञ्चालन भए पनि पछिल्ला  दिनमा राष्ट्र हितलाई सर्वोपरि राखी विदेशनीति सञ्चालन हुन नसकेको विचार राख्नुभयो । 

'नेकपा सरकारका पालामा सो दलका नेताहरूको बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुरा बारे एक मत निर्णय गरेर नीति तथा कार्यक्रममा सो विषय राख्न सक्यौँ, यस्तो विषय त नेताहरु आफैँले बुझेर सरकारको नीति तथा कार्यक्रममा राख्न सक्नुपर्ने हो', पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो ।

 एक प्रश्नका जवाफमा पार्टी विदेश विभाग प्रमुख खनालले बिआरआई परियोजनाका लागि पहिले ३५ परियोजनाको सूची दिइएकामा पछि नौ वटा दिइए पनि कार्यान्वयन हुन नसकेकामा असन्तोष व्यक्त गर्नुभयो । उहाँले प्रतिनिधिसभाबाट हालै पारित नागरिकता विधेयक विषयमा पार्टीको संस्थागत निर्णय नभएको स्विकार्नुभयो । 

अर्को जिज्ञासामा उहाँले नेपाल भारत प्रबुद्ध व्यक्ति समूहले आफूले तयार गरेको प्रतिवेदन नेपाल सरकारलाई भए पनि बुझाइदिन सकेमा त्यो सार्वजनिक सम्पत्ति बन्ने भई जनता र दुवै सरकारहरूको धारणा आउन सक्ने थियो भन्नुभयो । सो भेटमा सङ्गठनका महासचिव भूपराज खड्का, विभागका प्रमुख  ऋतुराज सुवेदी, सदस्यद्वय श्याम रिमाल  परमेश्वर देवकोटा लगायतको सहभागिता रहको  थियो ।