‘एमडी कुलुङ स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्न अक्षय कोषका लागि रकम हस्तान्तरण

‘एमडी कुलुङ स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्न अक्षय कोषका लागि रकम हस्तान्तरण

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १३, २०७९

राजधानी दैनिकमा श्रमजीवी पत्रकारका रुपमा काम गर्दै गर्दा अल्पायु मै निधन हुनुभएका नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य स्वर्गीय मकर ध्वज कुलङ राई (एमडी कुलुङ) को योगदान र स्मृतिलाई चिरस्थायी बनाउनको लागि एक अक्षयकोष स्थापनाका लागि रकम हस्तान्तरण गरिएको छ । 

नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अन्तर्गत रहने गरी  ‘एमडी कुलुङ स्मृति पत्रकारिता पुरस्कार’ स्थापनाका लागि अक्षय कोष खडा गर्न शाखा अध्यक्ष सूर्य सुवेदीलाई   तीन लाख रुपैयाँ बराबरको चेक पूर्वमन्त्री एवं सांसद  घनश्याम भुसालले एक समारोह बीच हस्तान्तरण गर्नु भएको हो । 

चेक हस्तान्तरणका अलवा अक्षय कोष संयोजन समूह र नेपाल पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाबीच ‘एमडी कुलुङ स्मृति पत्रकारिता पुरस्कार’ स्थापनाका लागि अक्षयकोष खडा गर्ने कार्यका लागि भएको सम्झौतापत्रमा हस्ताक्षर समेत गरिएकाे छ । स्रोत संकलन  संयोजन समूहको तर्फबाट पुर्व बिद्यार्थी नेता थोमस बास्तोला, परिवारको  तर्फबाट स्व‍‍. एमडी कुलुङ पत्नी बिष्णु कुमारी लिम्बु  र नेपाल पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखा अध्यक्ष सूर्य सुवेदीले एक सम्झौतापत्रमा हस्ताक्षर गरी आदन प्रदान समेत गरिएकाे छ । 

सम्झौतापत्रमा नेपाल पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखा हस्ताक्षरसँगै रु. ३,००,०००/– (अक्षेरुपी तीन लाख रुपैयाँ मात्र)को एकाउन्ट पेयी चेक उपलब्ध गराउनेछ । दोस्रो पक्षले सम्झौतापत्र र चेक प्राप्त भएको एक महिनाभित्र बैंकमा अक्षय कोषको खाता खोली उक्त रकम जम्मा गरी त्यसको जानकारी गराउनुका साथै ‘एमडी कुलुङ स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरिएको घोषणा गर्नुपर्नेछ, यसरी घोषणा गरेको ‘एमडी कुलुङ स्मृति पत्रकारिता पुरस्कार’बाट हरेक ३ वर्षमा हुने शाखा अधिवेशनमा ३ जना पत्रकारलाई पुरस्कृत गर्नु पर्ने  । १ जना फोटो पत्रकार र ३ वर्षभित्र उत्कृष्ट खोज मूलक रिपोर्टिङ तयार गर्ने २ जना पत्रकार (समाचार) लाई दिने र  पुरस्कार सिफारिस गर्ने समितिमा संयोजन समूहका संयोजक थोमस बाँस्तोला वा कुलुङको परिवारले तोकेको १ जनालाई सदस्यमा राख्नुपर्ने  उल्लेख छ । 

सम्झौतापत्रमा भनिएको छ- नेपाल पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाले अक्षय कोष रकम घट्नेगरी खर्च गर्न पाउनेछैन । अक्षय कोषको ब्याजबाट बैंकले उपलब्ध गराएको ब्याजलाई बराबरी ३ भाग लागाई उपलब्ध गराउनेछ । कति पैसा बैंकले ब्याज उपलब्ध गराएको हो सोको जानकारी शाखा अधिवेशनलाई दिने दायित्व दोस्रो पक्षको हुनेछ ।

एमडी (मकर ध्वज) कुलुङ, जो संखुवासभाको दुर्गम पहाडी गाउँमा जन्मिएर काठमाडौं छिरेर दुःखका अनेक पापड पेलेर आफूलाई पत्रकारितामा आफूलाई स्थापित गराए, जो जस्तोसुकै कठिन परिस्थितिमा पनि सहकर्मीहरूको समस्यालाई आफ्नै समस्या ठानेर सहयोग गर्थे, एक दशकभन्दा लामो समयसम्म शिक्षा पत्रकारितामा समेत योगदान गरेका कुलुङ, जो पत्रकारिता भुइँ मान्छेहरूको आवाज हुनुपर्छ भन्ने मान्यताका अनुयायी थिए, उनै एमडी कुलुङको ४८ वर्षको उमेरमै (२०७५पुस २१) मा काठमाडौँमा असामयिक निधन भएको थियो  ।

२०२७ कात्तिक १९ मा जन्मिएका उनै एमडी कुलुङको योगदान र स्मृतिलाई चिरस्थायी बनाउन उहाँका विद्यार्थीकालका र राजनीतिका हितैषी थोमस बास्तोलाको संयोजनमा उहाँलगायतका सहकर्मीहरुबाट आर्थिक संकलन गरी ‘एमडी कुलुङ स्मृति पत्रकारिता पुरस्कार’का लागि एक अक्षय कोष स्थापनाको पहल गरिएकाे थियो ।