पर्यटन मन्त्री श्रेष्ठ र पोल्यान्डका राजदूत बीच भेट: भिसा र आवागमन प्रकृयामा सरलीकरणबारे छलफल

पर्यटन मन्त्री श्रेष्ठ र पोल्यान्डका राजदूत बीच भेट: भिसा र आवागमन प्रकृयामा सरलीकरणबारे छलफल

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १३, २०७९

१३ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि गणतन्त्र पोल्याण्डका गैरआवासीय राजदूत आडम बुराकोव्स्कीले शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल र पोल्याण्डबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो। मन्त्री श्रेष्ठले नेपाल र पोल्याण्डबीच कुटनीतिक सम्वन्ध स्थापित भएको ६३ बर्षसम्म सुमधुर सम्वन्ध रहिआएको चर्चा गर्नुहुँदै यसलाई अझ मजवुत बनाउनुपर्नेमा जोड दिनुभयो । पर्वतारोहणमा पोल्याण्डका जनताको रुची रहेको र त्यसका लागि नेपाल आकर्षक गन्तव्य रहेको मन्त्री श्रेष्ठले बताउनुभयो । 

मन्त्री श्रेष्ठले कोरोना भाइरस महामारीपछि नेपालले अहिले पर्यटन पुनरुत्थानका कार्ययोजना अनुसार पर्यटकलाई सुविधा तथा सहुलियतका कार्यक्रम अघि बढाएको जानकारी गराउनुभयो । पोल्याण्डमा उच्च अध्ययन र  रोजगारीको सिलसिलामा नेपालीहरु जाने गरेको तथा नेपालमा रहेका पोल्याण्डका जनताको भिसा र आवागमन प्रकृयामा सरलीकरण गर्ने बारेमा पनि उहाँहरुबीच छलफल भएको थियो । 

मन्त्री श्रेष्ठले नेपाली उड्डयन क्षेत्रलाई अन्तराष्ट्रिय उड्डयन संगठन आइकाओले प्रतिबन्ध फुकुवा गरिसकेको अवस्थामा ईयुले सुरक्षा सम्बन्धि सुचीमा राख्न नहुने धारणा राख्नुभयो । आइकाओको सुरक्षा इन्डेक्सले नेपाली आकाश तथा कम्पनीहरु सुरक्षित रहेको पुष्टी भइसकेको अवस्थामा नेपाली उड्डयन क्षेत्रलाई युरोपमा सिधा उडानको व्यवस्था गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभयो । 

राजदूत बुराकोव्स्कीले सन् १९९२ मा कञ्चनजंघा हिमाल आरोहणका क्रममा हराएकी पोल्याण्डकी नागरिक वान्डा रुटकिविजको स्मृति कार्यक्रम आगामी अक्टुवरमा नेपालमा गर्ने तयारी गरिएको जानकारी दिनुभएको थियो । रुटकिविज युरोपबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला आरोही हुन् भने केटु हिमाल आरोहण गर्ने पहिलो महिला आरोही हुन् । भेटवार्तामा उहाँहरुबीच नेपालको पर्यटन प्रवर्द्धनका उपायहरूबारे छलफल भएको थियो । 

भेटमा मन्त्रालयका निमित्त सचिव बुद्धिसागर लामिछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी तथा नेपालका लागि गणतन्त्र पोल्याण्डका महावाणिज्यदूत लोकमान्य गोल्छाको सहभागिता थियो ।