'हिरण्यगर्भ' को नामाकरण: सृष्टि भन्दा पहिले र संहार भन्दा पछि गर्भमा धारण गर्ने विश्राम अवस्था
श्रावण १४, २०७९

   कस्माच्च ते न नमेरन्महात्मन्
    गरीयसे ब्रम्हणोऽप्यादिकत्र्रे ।

    अनन्त देवेश जगन्निवास
    त्वमक्षरं सदसत्तत् परं यत् ।। ३७ ।।

अन्वय र अर्थ – महात्मन् = हे महात्मन् ! अनन्त = हे अनन्त ! देवेश = हे देवेश ! जगन्निवास = हे  जगन्निवास ! ब्रम्हणः (हिरयण्यर्भस्य) = ब्रम्हका अपि = पनि, गरीयसे (गुरुतराय) = गुरुतर  हुनुहुन्छ, आदिकत्र्रे च (ब्रम्हणोऽपि वनकाय) = ब्रम्हाका पनि जनक, ते (तुभ्यं) = तपाईलाई, कस्मात् (हेतोः) = के कारणले, न नमेरन् = नमस्कार नगरून् ? त्वं = तपाई, अक्षरं (कूटस्थं) = परब्रम्ह अक्षर, सत् = व्यक्त, असत् = अव्यक्त, तत्परं = सत् र असत् भन्दा पर, यत् (अवाङ्मनसोगोचरः यत् तत् असि) = मन वचन इन्द्रियहरूभन्दा पर जे छ त्यो हुनुहुन्छ ।

भावार्थ – हे महात्मन् ! हे अनन्त ! हे देवेश ! हे जगन्निवास ! ब्रह्माजी भन्दा पनि गुरु तर अनि आदि कर्ता तपाई हुनुहुन्छ, तपाईलाई सबैले किन नमस्कार नगरून् ? तपाई अक्षर, सत्, असत् र त्यसभन्दा पनि अतीत जो छ त्यो पनि हुनुहुन्छ ।

विशिष्टार्थ – माकुरोले आफ्नो शरीरबाट जालको विस्तार गर्दछ । त्यसमा कीरा, पुतली, लामखुट्टे, झिँगा आदि पर्दछन्, कुनै फुत्कन सफल हुन्छन् कुनै त्यसैमा मर्दछन् । पुनः त्यस विस्तारित जाललाई माकुरोले आफ्नो शरीरमा समेटेर लिन्छ । परन्तु जाल विस्तार भन्दा पहिले र जाल समेट्नु भन्दा पछिको विश्राम नामक माकुरोको एक अवस्था हुन्छ ।

जगत् स्रष्टा ब्रह्माजीको पनि त्यस्तै अवस्था हुन्छ, सृष्टि भन्दा पहिलेको र संहार पछि जुन एक विश्राम अवस्था हो त्यसैलाई हिरण्यगर्भ नाम दिइएको छ । हिरण्य रूपको राजा हो, सुनदेखि मोहित हुनु पर्छ त्यसरी नै यो विश्व पनि रूपराशि सुवर्णले भरिएको छ । जता तिर हेर्छौ त्यसैले तिमीलाई मोहित गर्नेछ । जुन देवले माकुरोको जाल जस्तै यस विश्वलाई सृष्टि भन्दा पहिले र संहार भन्दा पछि आफ्नो गर्भमा धारण गरिराख्छन् उनै देवको नाम हिरण्यगर्भ वा ब्रह्मा हो ।

यो जुन यति ठूलो विश्व देख्दैछौ, मनले पनि सीमा निर्धारण गर्न नसकेर हार खान्छ, यो सुबृहत् विश्व पनि ब्रह्माजीको पेट भित्र रहेको छ । यसैबाट सम्झ ब्रह्माको आकार कति ठूलो होला ! अनि विश्राम कालमा ब्रह्माजी जसमाथि विश्राम गर्नुहुन्छ, त्यो विश्राम भूमि वा ब्रह्माजीले विश्राम गर्ने आधार कति ठूलो र कस्तो होला ? हाम्रो मन, बुद्धि र चित्तको त कुरै छोडौं,  ब्रम्ह देवको  धारणाबाट पनि अतीत छ । त्यसै हुनाले  त्यो ब्रह्मा भन्दा पनि गरियस छ । आधार माथि आधेयको उत्पत्ति र स्थिति (जस्तो पृथ्वीमा स्वेदज, अण्डज, उद्भिज र जरायुज प्रजा छन्)  हुनाले आधार आधेयको आदि र कर्ता हो । विश्वको उत्पादक र धारक विष्णु (कृष्ण) हुनाले जगत्का देवता ब्रह्मा हुनुहुन्छ त्यसकारण उहाँले ब्रम्हाका आधार देवेश नाम पाउनु भएको छ ।

सत् = जो विद्यमान छ, असत् = जो अविद्यमान छ, अक्षर = जसको क्षय व्यय केही हुँदैन । तत् = विष्णुको परमपद, अनि परं = ब्रम्ह हो । हेरौं ! विद्यमान – तिम्रो ज्ञानमा जे छ, अविद्यमान– तिम्रो अज्ञानमा जे छ, त्यो सबै ब्रम्हामा र उहाँको गर्भस्थ हिरण्यमा अर्थात् विश्वमा र विश्वको कोष स्वरूप हिरण्य गर्भमा रह्यो । परन्तु उहाँको त्यो आधार जसको परिमाण मात्रको अभाव छ–जसमाथि सबै छ, त्यो क्षय व्यय शून्य त्यस्तै छ, त्यो नै तपाईको अद्वितीय  'त्वं' हो । सबै देवताको वासस्थान हिरण्य गर्भ हो, त्यस हिरण्यगर्भको वासस्थान उही  'त्वं' हो । अतः त्यो त्वं वासुदेव हो । अतएव भनिन्छ – हे महात्मन् ! हे अनन्त ! हे देवेश ! हे जगन्निवास ! जब यस्ता तपाई हुनुहुन्छ, तब तपाईलाई प्रणाम नगरेर अरू कसलाई प्रणाम गरौं, प्रभो ?

    त्वमादिदेवः पुरुषः पुराण
    स्त्वमस्य विश्वस्य परं निधानम् ।
    वेत्तासि वेद्यञ्च परञ्च धाम
    त्वया ततं विश्वमनन्तरूप ।। ३८ ।।

अन्वय र अर्थ – अनन्तरूप = हे अनन्तरूप ! त्वं = तपाई, आदिदेव = जगत्का रचियता आदिदेव, पुराणः = चिरन्तन, पुरुषः = पुरुष, त्वं = तपाई, अस्य = यस, विश्वस्य = संसारका, परं = परम, निधानं (लयस्थानं) = लयस्थान, (त्वं = तपाई), बेत्ता = ज्ञाता, वेद्यं च = जान्न योग्य पनि, परं च धाम = वैष्णव परम पद पनि, असि = हुनुहुन्छ, त्वया = तपाईद्वारा, विश्वं = विश्व, ततं = व्याप्त छ ।

जीव, संसारका कर्ता, जनयिता वा पिता जसद्वारा प्रजा उत्पन्न हुन्छन्, जस्तै – दक्ष, कर्दम, कश्यप, आदि यो पनि तपाई नै हुनुहुन्छ । यी सबैका पिता ब्रम्हाजी हुनुहुन्छ, फेरि ब्रम्हाजी पनि तपाईको नाभिकमलदेखि उत्पन्न हुनु भएको हो, अतएव तपाई प्रपितामह हुनुहुन्छ ।

भावार्थ – हे अनन्त रूप ! तपाई आदि देव र पुराण पुरुष हुनुहुन्छ, तपाई यस विश्वका लय स्थान हुनुहुन्छ । तपाई नै वेत्ता, वेद्य र परमधाम हुनुहुन्छ, तपाईँद्वारा विश्व व्याप्त छ ।

विशिष्टार्थ – पहिले साधकले आधारमा विश्व रूप देखिसके, अब विश्व रूपमा आधारलाई देख्दछन् ।

त्वमादिदेवः – हे प्रभो  ! देख्दछु– तपाईँ प्रथमाका पनि प्रथम हुनुहुन्छ । यस मायापुरमा शयन गर्ने तपाईले पुरुष नाम धारण गर्नु भएको छ । समस्तको नै परिणाम छ, केवल मात्र अपरिणामी चिरन्तन तपाई हुनुहुन्छ । यस नाम रूपको शेष विश्राम स्थान वा आधार तपाई हुनुहुन्छ । जान्नु पर्ने जे छ त्यो सबै तपाईले मात्र जान्नु हुन्छ । पुनः जान्नु योग्य जो छ त्यो पनि तपाई नै हुनुहुन्छ । 'धाम' निवास स्थान, हरेः पदं तापहरणैक धाम परम वैष्णव पद त्यो पनि तपाई नै हुनुहुन्छ । हे अनन्तरूप ! तपाई यस विश्वमा र यो विश्व तपाईँमा व्याप्त छ, जस्तो–चीनीको सर्वतमा पानी र चीनी । त्यसकारण परं (ब्रम्ह) पनि तपाई नै हुनुहुन्छ ।

    वायुर्यमोऽग्नि र्वरुणः शशांकः
    प्रजापतिस्त्वं प्रपितामह श्च ।

    नमो नमस्तेऽस्तु सहस्रकृत्वः
    पुनश्च भूयोऽपि नमो नमस्ते ।। ३९ ।।

अन्वय र अर्थ – त्वं = तपाई, वायुः = वायु, यमः = यम, अग्निः = अग्नि, वरुणः = वरुण, शशांकः =  चन्द्रमा, प्रजापतिः =  पितामह,  प्रपितामहः च = प्रपितामह पनि हुनुहुन्छ, ते (तुम्यं) = तपाईलाई, सहसकृत्वः = हजार पटक, नमः नमः अस्तु = नमस्कार छ, पुनश्च = फेरि पनि हजार पटक नमस्कार छ, भूयोऽपि = फेरि पनि, ते = तपाईलाई, नमः नमः = बारंबार नमस्कार छ ।

भावार्थ – तपाई नै वायु, यम, अग्नि, वरुण, शशांक, प्रजापति र प्रपितामह हुनुहुन्छ, तपाईलाई हजारौं पटक नमस्कार छ, फेरि पनि हजार पटक नमस्कार छ, फेरि पनि बारम्बार नमस्कार छ ।

विशिष्टार्थ – वाहकलाई वायु भन्दछन् । हे नाथ ! आदि अन्त युक्त जे छ त्यसलाई तपाई आफ्नो शरीरमा धारण गरेर वहन गर्नुहुन्छ, त्यसकारण वायु पनि तपाई हुनुहुन्छ । यम पनि तपाई हुनुहुन्छ, (१० औ अ. को २९ श्लोक), अग्नि पनि तपाई हुनुहुन्छ (९ औ अ. १६ औं श्लोक), वरुण पनि तपाई हुनुहुन्छ (१० ओ अ. को २९ श्लोक) श श शब्दमा लाञ्छन या कलंक (जुन केवल फाल्ने वस्तु) छ र अंक शब्दले काखको बोध हुन्छ । जो प्रकाश नै प्रकाश छ, नित्य नै नित्य छ, उसको क्रोड (काख)मा अनित्य अप्रकाश मायालाई बसालेर मायिकको जुन भ्रम दर्शन हुन्छ, सोही शशाङ्क अवस्था हो । त्यो पनि तपाई नै हुनुहुन्छ, किन कि तपाईँमा नै यी सबै अवस्थाहरू विद्यमान छन् ।

'प्रजापति'– जीव, संसारका कर्ता, जनयिता वा पिता जसद्वारा प्रजा उत्पन्न हुन्छन्, जस्तै – दक्ष, कर्दम, कश्यप, आदि यो पनि तपाई नै हुनुहुन्छ । यी सबैका पिता ब्रम्हाजी हुनुहुन्छ, फेरि ब्रम्हाजी पनि तपाईको नाभिकमलदेखि उत्पन्न हुनु भएको हो, अतएव तपाई प्रपितामह हुनुहुन्छ । त्यसकारण हे पिता ! हे धाता ! हे रक्षयीता ! तपाईलाई नमस्कार, तपाईलाई नमस्कार ! !  फेरि पनि तपाईलाई बारम्बार नमस्कार छ ! ! !

    नमः पुरस्तादथ पृष्ठतस्ते
    नमोऽस्तुते सर्वत एव सर्व ।

    अनन्तवीर्यामित विक्रम स्त्वं
    सर्वं समाप्नोषि ततोऽसि सर्वः ।। ४० ।।

क्रमश: