डा.चिन्तामणिनाथ योगी: एक रुपैयाँ खर्च नगरी आचार्य र अमेरिकी सिनेटलाई सम्बोधन गर्ने पहिलो नेपाली गुरु
श्रावण १४, २०७९

हुर्काइ, बढाइ र पढाइले महत्व नराख्ने होइन, अवश्य नै महत्व राख्छ । तर, यो भन्दा पनि एक कदम अघि बढेर उसले आफू जन्मिएको देश, समाज र सक्छ भने संसारमा नै केही योगदान दियो कि दिएन यसले भने मानिसको समग्र जीवनमा केही महत्व राख्छ । यस अर्थमा नेपालले गर्व गर्नु पर्ने एउटा नाम हो  डा. चिन्तामणिनाथ योगी । 

वि.सं २०२० साल दाङको पर्सा घोराही नगरपालिका त्यस बेलाको शौडियार गाविसमा कार्तिकको हरिबोधिनी एकादशीको दिनमा जन्मिनुभएका योगीको बाल्यकाल कसरी बित्यो उहाँलाई नै खास हेक्का छैन । हेक्का यस मानेमा छैन कि ७ वर्षको कलिलो उमेरमा दाजुलाई दिल्ली पढाउन पठाउन थालेको थाहा पाएर दिल्ली जाने हठ पाल्नु भएका योगीको बाल्यकाल दिल्लीको संस्कृत गुरुकुलमा बित्यो । 

उहाँको बुवा, आमा भने जमिन्दार परम्पराको हुनुहुन्थ्यो । बुवा, आमा दुवै साधुसन्त स्वभाव भएका कारण त्यसको प्रभाव उहाँमा पनि पर्यो । फलस्वरुप उहाँले बुवाबाट ज्ञानयोग भने आमाबाट भक्तियोगको दरिलो जग बनाउने मौका प्राप्त गर्नुभयो । यसबाटै कर्मयोगको यात्रा गर्ने मार्ग प्रशस्त भयो ।

उहाँको बुवा आमाले त्यसबेला दाङमा थारु परिवारसँग बिताएको सामञ्जस्यपूर्ण, सेवापूर्ण हार्दिक सम्बन्ध थियो त्यसले जीवनमा अगाडि बढ्दा सेवा गर्नुपर्छ भन्ने भावको विकास भयो । जसको ज्वलन्त उदाहरण उहाँले सञ्चालन गर्नु भएको हिन्दु विद्यापीठ, शान्ति सेवा आश्रम, बाल शान्ति गृहलगायत दर्जनौं संस्थाबाट उहाँले गर्नुभएको सेवाले पनि प्रष्ट हुन्छ । 

०००
उहाँका पाँच दाजुभाई तथा पाँचै दिदी बहिनी हुनुहुन्छ । जसमा भाई तर्फको उहाँ माइलो सन्तान । जेठा दाजु भोलानाथ योगीलाई पढ्न दिल्ली पठाउने कुरो भएपछि दिल्ली भनेको मामाघर, फूपुको घर वा खेल्ने मैदान के हो भन्ने थाहा नभए पनि उहाँले दिल्ली जान रोइ कराइ गरेपछि उहाँलाई फकाउन भने पनि 'दिल्ली तँ पनि जाने हो भनियो' र उहाँ दिल्ली पुग्नु भयो । उहाँ कसरी र किन दिल्ली पुग्नुभयो त्यसको स्पष्ट उत्तर उहाँको मानसपटलमा अहिले पनि छैन । उहाँलाई लाग्छ बच्चो रोइ, कराइ गरेपछि शान्त बनाउन दुई दिन पैदल अनि दुई दिन बस तथा रेलको यात्राबाट उहाँलाई दिल्ली लगियो । यहीँबाट उहाँको जीवनको प्रारुप फेरिन्छ । 

उहाँ दिल्लीको रमेश नगर मोतीनाथ संस्कृत महाविद्यालयमा ८ वर्ष बस्नुभयो । गुरुकुल आर्थिक रुपमा विपन्न थियो । अर्थका हिसाबले पिछडिएको थियो । जसका कारण भोजन तथा आवास एकदमै दयनीय अवस्थामा थियो । सुरु सुरुमा एउटा जमिन्दार तथा सम्पन्न परिवारबाट गएको मानिसलाई यो कुरा स्वीकार्न गाह्रो भयो । तर, यथार्थ यही थियो । बदलिने वाला थिएन । 

रोटी र झोलमात्र खाएर निर्वाह गनुपर्ने कष्टकर पक्ष थियो । यसले दिने मानसिक बल तथा खुराक भने अत्यन्त बलियो थियो । बिहान ४ बजे उठेर गुरुहरूको सेवा गर्दै, संस्कृत पढ्दै जुन कठोर अनुशासन पालन गरेर शिक्षा अगाडि बढाउने अवसर मिल्यो त्यसैको प्रतिफल हो आजको डा. चिन्तामणि योगी। 

दिल्लीमा साथीभाइसँग डण्डी बियो खेल्दै, कपर्दी खेल्दै, मारपिट गर्दै गर्दै बित्यो उहाँको बाल्यकाल । यसमा कस्ले धेरै श्लोक कण्ठ गर्नेदेखि कस्ले धेरै खानेसम्मका प्रतिस्पर्धा भए । बाल्यकालमा मानिसले पाउनुपर्ने प्रेम, आत्मीयता पूर्ण सम्बन्धको अभाव रहे पनि परिस्थितिले सिकाएको पाठमा रमाउने र सामञ्जस्य गर्ने बानीले जीवनको जग भने मजबुत भयो उहाँको । 

००० 
प्युठानको मित्रनाथ योगी दिल्लीको मोतीनाथ संस्कृत महाविद्यालयको प्रधानाचार्य भएका कारण उहाँ दिल्लीमा संस्कृत पढ्न पुग्नु भएको थियो । महाविद्यालयको त्यस बेलाको दरिद्र अवस्था अहिले पनि उस्तै हुनुले भने उहाँ आश्चर्यमा पर्नुहुन्छ । यसले समाज तथा राष्ट्रको ध्यान संस्कृत शिक्षामा नभएको प्रमाण पनि हो यो । 

तर, पनि उहाँ खुशी हुनुहुन्छ यस मानेमा कि संस्कृत पढ्ने अवसर त त्यस महाविद्यालयले दियो । महाविद्यालयले पढ्ने अवसर मात्र दिएन, कठोर अनुशासनमा बस्ने अवसर दियो, गुरु सेवाले सेवाको भाव जगायो, दुःख, संघर्ष, कष्टलाई आत्मसात गर्न सिकायो । जुन अहिलेका आधुनिक विद्यालयले नदिने शिक्षा दियो । 

पढाइमा उहाँ तेज भएका कारण उहाँले कक्षाहरु फड्केर धेरै पढ्नुभयो । उहाँले यसरी झण्डै ४ वटा कक्षा फड्किनु भयो । ७ वर्षमा गएको बालक १६ वर्षमा नेपाल फर्केर शास्त्री अर्थात स्नातक पढ्न दाङ बिजाैरीको संस्कृत विद्यापीठमा भर्ना हुन पनि उहाँलाई कम्ता संघर्ष गर्नुपरेन । कारण यहाँ त १६ वर्षमा एसएलसी दिने प्रचलन थियो । 

शास्त्रीमा पढ्नका लागि उहाँले गुरुहरूसँग एक प्रकारको विद्रोह, रोइ, कराइ र प्रवेश परीक्षा लिने चुनौती पनि दिनुपर्यो । उमेरका हिसाबले उहाँ आफ्नो पढाइभन्दा जहिले पनि ४ वर्ष  जति अगाडि हुनुहुन्थ्यो । यसमा केही आफ्ना वैयक्तिक गुणहरू छँदै थिए । तर, यसमा संस्कृत पढाइ नै प्रमुख रहेको उहाँको ठम्याइ छ । कारण संस्कृतले मान्छेलाई मेधावी बनाउने कुरा नासाको अनुसन्धानलेसमेत पुष्टि भएको कुरो उहाँ प्रमाणका रुपमा अघि सार्नुहुन्छ । संस्कृत पढ्नेको स्मरण शक्ति तेज हुनुको साथै अल्जाइमर नहुने, डिमेन्सिया नहुने, तथा मानसिक असन्तुलनको समस्या नहुने कुरा पनि नासाको अनुसन्धानले पुष्टि गरेको विषय हो । 

०००

नेपाल फर्केर उहाँ दाङको संस्कृत विद्यापीठमा शास्त्रीको ३ वर्षे कक्षामा भर्ना हुनुभयो । यो २०३५ सालको कुरा हो । २०३६ सालको विद्यार्थी आन्दोलनमा पनि उहाँ सहभागी हुनुभयो । विद्यार्थी हकहित, प्रजातन्त्र र स्वतन्त्र विद्यार्थी युनियनको आन्दोलनमा उहाँले जेलनेल पनि भोग्नुभएको छ । 

उहाँले शास्त्री, आचार्य सबै प्रथम श्रेणीमा उत्तीर्ण गर्नुभएको हो । आचार्यको अन्तिम वर्ष भने दाङमा भन्दा पनि काठमाण्डौमा गएर पढ्नु पर्छ भन्ने लागेर उहाँ वाल्मीकि क्याम्पसमा आएर भर्ना हुनुभयो । 

उहाँ २०४१ सालमा काठमाण्डौ आउनु भएको हो । त्यस बेला नेविसंघ तथा अखिलको झण्डा बोक्ने हजारौं थिए । तर, संस्कृतको, सँस्कृतिको, धर्मको, अध्यात्मको, नैतिकताको, राष्ट्र भक्तिको झण्डा बोक्ने कोही नदेखेपछि उहाँ धर्म, सँस्कृति, राष्ट्र भक्तिको झण्डा समाउनु पर्छ भनेर अध्यात्मको बाटोमा लाग्नु भएको हो । उहाँले आफ्नो आँखाले विद्यार्थी राजनीतिमा राष्ट्रिय र नैतिक चरित्र नपाइ सकेपछि उहाँले अध्यात्मको बाटो रोज्नु भएको हो । 

न्याय दर्शनमा आचार्य अन्तिम वर्षमा पढ्दै गर्दा कहिले संस्कृतको पढाइ सकिएला भनेर लागेको उहाँ अन्तिम वर्षको परीक्षा सकिएपछि भने उहाँ कोठामा आएर घ्वाँक घ्वाँक रुनुभयो । उहाँलाई संस्कृतसँग नाता टुटेको जस्तो अचानक अनुभूति भएका कारण रहेछ उहाँको  त्यो रुवाइ । 

अर्को कुरा वाल्मीकिमा पढ्दै गर्दा साथीहरुले संस्कृतमा आचार्य गर्दैछु वा पढ्दैछु नभनेर पोलिटिकल साइन्समा एमए गर्दैछु, इकोनोमिक्स मा एमए गर्दैछु, नेपालीमा एमए गर्दैछु भनेर दह्रोसँग हात मिलाउने परम्पराले उहाँलाई ग्लानी भयो । तीनधारा पाठशालामा बस्ने मान्छेले पनि संस्कृतमा आचार्य गर्दैछु भन्न नसक्ने देखेपछि उहाँले नेपालीमा एमए गर्दिन भनेर संकल्प नै गर्नुभयो । यस मानेमा उहाँ आफूलाई केही सन्की पनि हुँ कि जस्तो भन्नु हुन्छ  ।

नेपालको शिक्षाका बारे उहाँको आफ्नै धारणा छ । बोर्डिङ स्कुलले विदेशका लागि जनशक्ति तयार गरिरहेको छ भने सरकारी विद्यालयले राजनीतिक दलहरुका कार्यकर्ता तयार गर्ने काम गरेको छ । एउटाले दोहा र दुबईका लागि जनशक्ति तयार गरिरहेको छ भने अर्कोले युरोप अमेरिका तथा अष्ट्रेलियाका लागि । त्यसैले अहिले नेपालका लागि नेपालको माटो सुहाउँदो मध्यमार्गी सोच सहितको जनशक्ति तयार गर्न लागिपरेको छ हिन्दु विद्यापीठ नेपाल । 

अचानक भित्रबाट कुनै कुराको पुकार आयो भने त्यसलाई उहाँ सम्बोधन गर्नुहुन्छ । त्यस बेला उहाँलाई आफू भावुक भएको भन्ने लाग्थ्यो । तर, अहिले फर्केर हेर्दा उहाँ आफूलाई त्यस्तो निर्णयमा भावुक भएको नभएर आध्यात्मिक भएको भन्ने लाग्छ । 

अहिले उहाँ अन्तर्राष्टिय रुपमा भिजिटिङ प्रोफेसर तथा परामर्शसमेत गरिरहँदा अनहद नाद के हो, भित्रको ह्रृदयको पुकारले के भन्छ त्यसलाई सुन्नुपर्छ भन्ने कुरा अध्यात्मको माध्यमबाट सुनिरहनु भएको छ । 

उहाँले यस्तै ह्रृदयको अर्को पुकार सुन्नुभयो । न्याय दर्शन पढ्ने तथा आचार्य गर्ने त्यस बेलाको एउटा विद्यार्थीलाई वाल्मीकि क्याम्पसले दुई घण्टा पढाइ दे भन्दा पनि उहाँले  संस्कृत जस्तो आध्यात्मिक विद्यालाई बेच्नु हुँदैन र मलाई यो नैतिक अधिकार छैन भन्ने लाग्यो । यसको पछाडि निश्चय पनि कारण थियो । कारण के थियो भन्दा उहाँले आचार्य पढ्दा सम्म संस्कृत पढ्नका लागि भनेर एक रुपैयाँ पनि खर्च गर्नु भएको थिएन । 

दिल्ली, दाङ तथा वाल्मीकिमा पढ्दा उहाँले पैसा तिर्नु परेन । वाल्मीकिमा पढ्दा उहाँले छात्रवृत्ति नपाए पनि उहाँको पढाइ खर्च महिनाको २ सय ५० दाजु भोलानाथ योगीले जिम्मा लिनुभयो । जागिर खानु गलत हो भन्ने उहाँको मान्यता होइन तर एक रुपैयाँ खर्च नगरी त्यसैलाई बेचेर पैसा कमाउनु गलत हो भन्ने उहाँको मान्यता हो । त्यो भन्दा पनि एक रुपैयाँ नतिरी संस्कृत पढेको मान्छेले संस्कृतका लागि के गर्‍यो,  संस्कृतको उद्धारका लागि के गर्यो भन्ने नैतिक प्रश्नले बाँधेको महसुस गर्नुहुन्छ योगी । 

०००

संस्कृतको औपचारिक अध्ययन पश्चात उहाँले मातृभूमि सेवक संघमार्फत जीवन समर्पण गर्ने निधो गर्नुभयो । यसपछि २०४१ सालदेखि संघमार्फत उहाँको स्वयं सेवक जिन्दगी प्रारम्भ भयो । जुन अहिले पनि जारी छ । २०४२ सालमा संघद्वारा स्थापित हिन्दु विद्यापीठमा संस्थापक प्रधानाचार्यका रुपमा १५ जना बालकबाट उहाँले अध्ययन तथा अध्यापनको यात्रा अगाडि बढाउनु भयो । 

अहिले हिन्दु विद्यापीठका काठमाडौँको थली र दाङमा गरेर ३ वटा शाखा छन् । हिन्दु विद्यापीठको विशेषता भनेको अंग्रेजी पढाउने तर अंग्रेज नबनाउने रहेको छ । उहाँको शब्दमा यो संस्कृत बोर्डिङ स्कूल हो । यहाँ आधुनिक सबै विषय पढाइन्छ । तर आध्यात्मिक चिन्तनसहित । बच्चाहरुलाई आधुनिक शिक्षा दिने तर प्राचिन सँस्कारसहित, सारा विश्वको जानकारी दिने तर माटोको अनुभूतिसहित साथै संसारका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्ने तर मातृदेवो भवः, पितृदेवो भवः, आचार्यदेवो भवः, राष्ट्रदेवो भवः को भावनासहित भन्ने विद्यापीठको उद्देश्य रहेको छ । 

नाम हिन्दु विद्यापीठ भए पनि यहाँ जुनसुकै जात, समुदाय तथा सम्प्रदायका मानिसले पढ्न पाउँछन् । विशेषगरी अनाथ तथा गरिब बालबालिका लागि भने छात्रवृत्तिको पनि व्यवस्था छ विद्यापीठमा । विद्यापीठमा भजन, कीर्तन, प्रार्थना, राष्ट्रिय भावनाका गीत सिकाइन्छ । जसका लागि उहाँ आफैँले ४/५ सय गीत तथा भजन लेख्नु भएको छ । 

उहाँको सेवाको क्रम विस्तार भएर अहिले शान्ति सेवा आश्रम, गुरुकुल, अनाथालय तथा वृद्धाश्रम अनि नारी केन्द्रसम्म पुगेको छ । हिन्दु विद्यापीठको प्रेरणाबाट दाङमा शुरु भएको बाल शान्ति गृह नामक अनाथालयका लागि उहाँकाे परिवारले ५ विगाहा पुख्र्यौली जमिन पनि दिएको छ ।

पर्सा दाङमा रहेको बालगृह उहाँको दाजु, भाउजु तथा आमाले हेर्नुहुन्छ । जहाँ अनाथ बालबालिकाले घर–परिवार जस्तो माया, प्रेम पाएका छन् । जहाँ बच्चाहरुलाई बिजुली बनाउने, काठको काम, कृषिको कामलगायतका प्राविधिक शिक्षासमेत दिइन्छ । जहाँ शिक्षा, सीप, संस्कार अनि सदाचार, स्वावलम्बनको ज्ञान दिएर आत्मनिर्भर हुने, ज्ञान दिइन्छ ।

नेपालको शिक्षाका बारे उहाँको आफ्नै धारणा छ । बोर्डिङ स्कुलले विदेशका लागि जनशक्ति तयार गरिरहेको छ भने सरकारी विद्यालयले राजनीतिक दलहरुका कार्यकर्ता तयार गर्ने काम गरेको छ । एउटाले दोहा र दुबईका लागि जनशक्ति तयार गरिरहेको छ भने अर्कोले युरोप अमेरिका तथा अष्ट्रेलियाका लागि । त्यसैले अहिले नेपालका लागि नेपालको माटो सुहाउँदो मध्यमार्गी सोच सहितको जनशक्ति तयार गर्न लागिपरेको छ हिन्दु विद्यापीठ नेपाल । 

०००

सेवा गर्ने उहाँको आफ्नै सोच छ, भन्नुहुन्छ, ‘म धन, मान, प्रतिष्ठाको नाममा कतै खुम्चिएर बस्न चाहन्न । समूह, सम्प्रदाय अनि संस्थाको नाममा पनि खुम्चिएर बस्न चाहन्न । हिन्दुत्व र सनातन धर्म/दर्शन र अध्यात्मलाई राष्ट्रव्यापी/विश्वव्यापी बनाउनु पर्छ ।’

आफूहरु गोरखनाथ परम्पराको, निवृत्ति मार्गकाे भएको हुनाले धर्म, अध्यात्म, दर्शन र चिन्तनको लागि फेरी लगाउँदै सबैलाई जगाउने काममा समर्पित भएको उहाँको भनाइ छ । यसका लागि अमेरिका, युरोप, अष्ट्रेलिया, अक्सफोर्ड युनिभर्सिटी, क्याम्ब्रिज युनिभर्सिटी, संयुक्त राष्ट्र संघलगायत रोटरी क्लब, लायन्स क्लबमासमेत उहाँ यस्तो चिन्तन बाँडिरहनु भएको छ । उहाँको जानकारीमा रहेसम्म उहाँ अमेरिकाको पार्लियामेन्टमा प्रवचन गर्ने नेपालको पहिलो हिन्दु गुरु हुनुहुन्छ । 

०००

विभिन्न देशको भ्रमण तथा सम्बोधनका क्रममा त्यहाँको र यहाँको जीवनको उहाँकाे आफ्नै हेराइ छ । नेपालमा कष्ट छ भने अमेरिकामा दुःख । नेपालमा जीविकाको समस्या प्रधान हो भने अमेरिका जस्ता मुलुकमा जीवनको । अमेरिकामा कुनै जीवन दर्शन नै छैन । त्यहाँ जीवनको रस अनि जीवनको आनन्द छैन । 

हामीसँग घर छैन उनीहरुसँग परिवार छैन । हामीसँग कार छैन । तर, उनीहरुसँग कार र अहंकार दुवै छ । विश्व अतिवादमा बाँचिरहेको छ । त्यसैले यहाँ नेपाल ठिक र अमेरिका बेठिक वा अमेरिका ठिक र नेपाल बेठिक पनि भन्न मिल्दैन । 

अमेरिका अत्यन्तै भौतिकवादी तथा भोगवादी भयो । त्यो पनि गलत भयो । नेपालमा भने खानै समस्या छ । अस्पतालको अभावमा मर्नु परिरहेको छ । त्यसकारण अति सम्पत्ति र अति गरिबी दुवै गलत हुन् । त्यसकारण यी दुवै अतिवादलाई छोडेर मध्य मार्गमा जानुपर्छ भन्ने उहाँको सोच रहेको छ । हाम्रो धर्म पनि त्यही नै हो । 

हाम्रा चार पुरुषार्थ छन् । ती भनेको धर्म, अर्थ काम, मोक्ष हुन् । हामी धर्म र मोक्ष जानि नजानि समातिरहेका छौँ । तर, हामीसँग अर्थ र काम छैन । अर्थ र काम विना मोक्ष पनि हुँदैन । यसर्थ हामी पनि अपुरो छौँ । अमेरिकामा न धर्म छ न नैतिकताको जग छ । न मोक्ष भन्ने जीवनको आर्दश, जीवनको दर्शन, जीवनको खोज छ । अर्थ र काममा समाज डुबेको छ । त्यसकारण दुवै विसंगतितर्फ गइरहेको विश्वलाई बचाउनु पर्छ । 

०००

२० वर्ष जति पहिले स्याण्डी नाम गरेकी अक्सफोर्ड युनिभर्सिटीको प्रोफेसरद्वारा प्रकाशन गरिएको किताब टच्ड बाइ ट्रुथ जसमा विश्वका २१ जना विशिष्ट व्यक्तित्वहरु छानिएका थिए त्यसमा योगीलाई पनि समावेश गरिएको छ । जहाँ उहाँले आफ्नो प्रोफाइल लेख्ने मौका पाउनु भएको थियो । 

आध्यात्मिक चेतनाको विकास र राष्ट्रिय एकताको सम्बर्द्धन सहित दुःखी गरिबको सेवाका लागि बद्रीबिक्रम सेवा गुठी एवं रण अम्बिका शाह सेवा गुठी आदि राष्ट्रिय स्तरका संस्थाहरुका माध्यमबाट पनि उहाँ सेवामा समर्पित हुनुहुन्छ । 

काठमाडौँ युनिभर्सिटी, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालयलगायत संसारका अनेकौँ विश्वविद्यालयमा भ्यालु बेस्ड एजुकेशन, पिस एजुकेशन,  पर्सनल ट्रान्सफर्मेशन,  कन्फ्ल्किट मेनेजमेण्ट लगायत कैयौँ विषयमा उहाँ गेष्ट लेक्चररका रुपमा पनि सेवारत हुनुहुन्छ । 

राष्ट्रगुरु योगी नरहरिनाथ, डा.स्वामी प्रपन्नाचार्यलगायत कैयौँ साधु सन्तको त्याग तपस्या र भावनालाई, उच्चतम जीवन आदर्शलाई यस देशका नेताहरुले र शासकहरुले कहिले पनि बुझ्न नसक्दा देश कताकता गुलाम बनिरहेको छ । गोरु खोज्नका लागि पनि विदेश चाहार्नु पर्ने जस्तो अवनतिको अवस्थामा उहाँ चिन्तित पनि हुनुहुन्छ । 

गोरखनाथको आर्शिवादद्वारा पृथ्वीनारायण शाहद्वारा नेपालको एकीकरण भएको इतिहास घाम जस्तै छर्लङ्ग हुँदा हुँदै पनि नाथ दर्शन र सँस्कृतिलाई विद्वत वर्गले वेवास्ता गरेको र नेपालको संविधानमा नाथहरूको सम्बन्धमा दुई अक्षरसम्म पनि नलेखिएको हुँदा नेपालकै मूल पहिचान मेट्ने अन्तर्राष्ट्रिय षडयन्त्रमा देश गइरहेको कुरामा पनि उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ । 

०००

३८ वर्षको शिक्षा सेवाको अनुभव संगालेका योगी आजभोलि गुरुकुलहरु नै नेपालको इतिहास र पहिचानको मूल आधार भएकोले गर्दा नैमिशारण्य गुरुकुल बनेपा, गोरखनाथ वैदिक गुरुकुल दाङ गर्दै अनेकौँ ठाउँमा गुरुकुलहरुको स्थापना गर्ने काममा समर्पित हुनुहुन्छ । यसका लागि महर्षि वैदिक प्रतिष्ठानसँग पनि निरन्तर सहकार्यमा हुनुहुन्छ उहाँ । 

जातिय समूह र सम्प्रदायको विभेदमा र अनेकौँ प्रकारका परम्पराहरु मन्दिरहरु, आश्रमहरुको पनि आपसमा बढ्दै गएको दूरीलाई ध्यानमा राखि धार्मिक क्षेत्रमासमेत देखिएका विभिन्न प्रकारका कमी कमजोरीहरुसमेतलाई पनि चिन्तन गरी नेपाल सन्त समाजको निर्णयानुसार नेपालका विशिष्ट स्वामीजीहरुको संरक्षण सहित विश्व ॐकार एकता महाभियानको माध्यमबाट वैदिक, बौद्ध, जैन, सिख, किरात, गोरख आदि नेपालको मूल परम्पराको संरक्षणमा समर्पित हुनुहुन्छ योगीजी । 

३८ वर्ष जतिको समाजसेवामा स्व. डा बिहारीलाल श्रेष्ठ, स्व बद्रिबिक्रम थापा जस्ता विशिष्ट व्यक्तित्वहरुसँग सहकार्य गर्न पाएकोमा अहोभाग्य एवं गौरव सम्झने योगीजी आजीवन अविवाहित रही देशका लागि समर्पित हुनुहुन्छ । 

मुलुकका विभिन्न कलेज, स्कूलहरु, विश्व विद्यालयहरुसहित जनपद प्रहरी, सेना, सशस्त्र प्रहरीलगायत प्रशासन, सहकारी तथा बैँकिङ अनि कर्पोरेट क्षेत्रका साथै स्वदेश तथा विदेशमासमेत अहोरात्र प्रवचन गरेर आध्यात्मिकता, राष्ट्रियता र मानवताको प्रचारमा समर्पित हुनुहुन्छ उहाँ ।

वेदोखिलो धर्ममूलम् वसुधैव कुटुम्बकम, कृण्वन्तो विश्वमार्यम, हँसिबा, खेलिबा, धरिबा ध्यानम्, वयं राष्ट्रे जागृयामः, उत्तिष्ठत जाग्रत जस्ता सन्देश लिएर स्वदेशमा, विदेशमा गाउँमा, शहरमा हरेक क्षेत्रमा कतै कुनै धन, मान तथा पद प्रतिष्ठाको आशा आसक्ति नराखी समर्पित योगीज्यू गोरखनाथ परम्पराको जागरणमा गोरखनाथ सेवा संघका माध्यमबाट एवं सनातन सम्पदा संरक्षण समितिका माध्यमबाट नेपालका मठ, मन्दिर चैत्य, गुम्बा, विहार, धुनी, अखाडा, आश्रम, गौशाला, आदिको संरक्षण तथा सम्बद्र्धनमा समर्पित हुनुहुन्छ योगी । 

२०३७ सालमा वीरगञ्जमा प्रथम अन्तर्राष्ट्रिय विश्व हिन्दु सम्मेलन र त्यसपछि २०४० सालमा काठमाण्डौको वनकालीमा प्रथम राष्ट्रिय हिन्दु सम्मेलनमा बारबार प्रवचन गर्ने मौका पाएको र धेरै व्यक्तिबाट आर्शिवाद र हौसला समेत पाएको त्यो आफ्नो कलिलो उमेरलाई सम्झँदा भावुक बन्नुहुन्छ योगीजी ।  
०००
विदेशमा बसेका र जन्मिएका बच्चाबच्चीलाई समेत भाषा, साहित्य, सँस्कृति, संस्कार र सदाचारका माध्यमबाट स्वदेशसँग जोड्नुपर्छ । आफ्नो माटो के हो, मूल के हो, कूल के हो, पुर्खा के हो त्यसको अत्यन्तै सकारात्मक शिक्षा र प्रेरणा दिनुपर्छ भन्ने सोचसहित अमेरिकालगायत विश्वका कैयौँ मुलुकमा समर कल्चरल, स्प्रिचुअल क्याम्प तथा बाल शिविरहरू लगाउनका साथै बच्चाबच्ची र सिंगो परिवारलाई नेपाल, नेपालीपन, नेपाली मन, नेपाली जीवनतर्फ समर्पित गर्न पनि उहाँ अहोरात्र समर्पित हुनुहुन्छ । 

सनातन धर्म र दर्शन समग्रमा मानव दर्शन हो, मानव धर्म हो । यसलाई मात्र जाती, समुदाय र सम्प्रदायमा खुम्च्याएर राख्नु आफ्नै धर्म दर्शनप्रति र आफ्ना पुर्खा र ऋषिहरूप्रति पनि अन्याय गर्नु हो । त्यसकारण यसलाई कसरी विश्वव्यापी गर्ने, विश्वस्तरमा पुर्याउने, सारा विश्वका मानिसलाई पूर्वीय सनातन सन्देशका माध्यामबाट आप्लावित गर्ने, उद्बोधित गर्ने अभियान अन्तर्गत कैयौँ अन्तर्राष्ट्रिय संस्थाहरु, अन्तर धार्मिक संस्थाहरु, अन्तर साँस्कृतिक संस्थाहरुसँग सम्बद्ध भइ कैयौँ अन्तर्राष्ट्रिय सभा, सम्मेलन, गोष्ठी तथा सेमिनारका माध्यमबाट अन्तर्राष्ट्रिय मञ्चहरुमा गएर नेपालको सन्देशलाई पुर्याइ नेपालको हिमालको, नेपाली पुर्खाहरूको, ऋषिहरूको सन्देशलाई जन जनमा पुर्‍याउने कार्यमा समेत उहाँ समर्पित हुनुहुन्छ । 

०००

उहाँको शैक्षिक योग्यताको हकमा स्नातकोत्तर–दर्शनशास्त्र (महेन्द्र संस्कृत विश्वविद्यालय, नेपाल), बी.एड–नेपाली (त्रिभुवन विश्वविद्यालय, नेपाल), एन.डी.(गान्धी नेशनल एकेडेमी अफ नेचुरोपेथी, दिल्ली) रहेको छ । 

त्यस्तै प्रकाशित कृतिहरू भने यस प्रकार रहेका छन् ।

ज्ञान प्रहेलिका (२०४६), हिन्दू धर्म एक चिन्तन (२०४६), अहं पठामि संस्कृतम् (२०४८), हाम्रो वाणी, हाम्रो गीत (२०५०), स्तुति सङ्ग्रह (२०५१), बाललीला (२०५५), ईश वन्दना   (२०५५)
चिन्ता र चिन्तन (२०५७) , धर्म–गंगा (२०५९), चिन्तनका सरल सूत्रहरू (२०६०), म्यान्माको माया (२०६१), सम्झनाका क्षणहरू (२०६४), विचारविम्ब (२०६६), बालज्ञान माला (२०६७) 
सहज जीवनसूत्र (२०६७) आत्म वाणी (२०६७), ‘एकता’ नामक राष्ट्रिय जागृति गीतहरूको सङ्गालो–सी.डी.(२०६७), विचारमाला (२०६८), उत्तिष्ठत जाग्रत (२०६९), ज्ञानगंगा (२०७०) 
‘गोरख वाणी’–५१ श्रृंखलाका प्रवचन सीडी (२०७१), बाल कोपिला (२०७२), विचार विम्ब–‘अडियो सीडी’, बाल बन्दना (२०७५), हाम्रो भाषा (वर्माका लागि–सह लेखन १ देखि १० सम्म), गाेरखवाणी (२०७९)

०००
विभिन्न अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित योगीका सम्मान तथा पुरस्कार यस्ता छन् । 

राष्ट्रिय संस्कृत युवा गौरव सम्मान–बि.सं. २०५७, कवि रत्न कृष्णप्रसाद घिमिरे स्मृति प्रतिष्ठान, वरिष्ठ शिक्षा शास्त्री एवं समाजसेवी–बि.सं. २०५७, राष्ट्रिय विकास तथा सम्मान केन्द्र–नेपाल 

वासुदेव ढकाल गोरक्ष नाथ पुरस्कार–बि.सं. २०६०, महेन्द्र संस्कृत विश्वविद्यालय, समाज सेवा पुरस्कार–बि.सं. २०६०, समाज कल्याण परिषद्, नेपाल, अभिनन्दन पत्र–बि.सं. २०६० ।

अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक संघ, म्यान्मा, सम्मान पत्र–बि.सं. २०६५, एन.एस.टि.÷एन.एल.सि.टि.÷एन.सि.एस.सि., अमेरिका, सम्मान पत्र–वि.सं. २०६७, शिव योग साधना केन्द्र, भक्तपुर, सम्मान पत्र–बि.सं. २०६७ । 

ए.एन.ए., अमेरिका, शैक्षिक सम्मान –बि.सं. २०६८, आजको आवाज मिडिया, काठमाडौँ, नेपाल सम्मान –बि.सं. २०६८, सगरमाथा प्रतिष्ठान, काठमाडौँ, सम्मान पत्र –बि.सं. २०७१ ।

थेवार्टन सिनियर कलेज, अष्ट्रेलिया, सम्मान –बि.सं. २०७१, थाइ नेपाली समाज, थाइल्याण्ड, सम्मान पत्र –बि.सं. २०७१, शिक्षक विकास बचत तथा ऋण सहकारी लि., ललितपुर, आध्यात्मिक पत्रकारिता सम्मान –बि.सं. २०७१ ।

सभ्यता पब्लिकेसन्स, काभ्रे, सम्मान –बि.सं. २०७१, जया बहुमुखी क्याम्पस तथा मनकामना स्कुल, काठमाडौँ, सम्मान –बि.सं. २०७१, रूप कुमारी अध्यात्म सेवा प्रा.लि., काठमाडौँ, सम्मान –बि.सं. २०७२ । 

योगी नरहरि नाथ ट्रष्ट, काठमाडौँ, सम्मान –बि.सं. २०७२, लायन्स क्लब इन्टरनेशनल, काठमाडौँ, सम्मान –बि.सं. २०७२, श्री बृहत् आध्यात्मिक परिषद्, काठमाडौँ, पुरस्कार।सम्मान –बि.सं. २०७२ ।

मृगेन्द्र संझना चिकित्सा गुठी, काठमाडौँ, सम्मान –बि.सं. २०७२, चेतना प्रतिष्ठान, विराटनगर, सम्मान –बि.सं. २०७२, अष्ट्रेलियन नेपाली समाज, अष्ट्रेलिया, सम्मान –बि.सं. २०७३ ।

जे.पी. प्रतिष्ठान, मैत्री सेवा श्रम, सम्मान/पुरस्कार –बि.सं. २०७४, जनकल्याण परिवार, थापाथली, काठमाडौँ, सु-प्रबल जनसेवाश्री –बि.सं. २०७८, नेपाल सरकार, शान्ति शिक्षा सम्मान २०७८, शान्ति शिक्षा संजाल, काठमाडौँ ।

०००

विभिन्न संस्थासँग आबद्ध उहाँको संस्थागत दायित्व यस्ता छन् । 

संस्थापक प्रधानाचार्य, हिन्दू विद्यापीठ–नेपाल, ललितपुर, वरिष्ठ कार्यकर्ता, मातृभूमि सेवक संघ, ललितपुर, सचिव, बद्री विक्रम सेवा गुठी, ललितपुर, संस्थापक अध्यक्ष, शान्ति सेवा आश्रम, काठमाडौँ, संरक्षक, बाल शान्ति गृह, दाङ, संरक्षक, युवा शान्ति समाज, काठमाडौँ । 

संस्थापक, गोरक्ष नाथ सेवा संघ, काठमाडौँ, प्रमुख संयोजक, विश्व ॐकार एकता महाअभियान, काठमाडौँ, प्रमुख संरक्षक, नैमिषारण्य गुरुकुल, वनेपा, प्रमुख संरक्षक, बनखण्डी गुरुकुल, सप्तरी । 

प्रमुख सल्लाहकार, गोरखनाथ वैदिक गुरुकुल, दाङ, अध्यक्ष, रण–अम्बिका शाह सेवा गुठी–नेपाल, सल्लाहकार, हिकास, काठमाडौँ विश्वविद्यालय, विभिन्न अन्तर्राष्ट्रिय संस्थामा सल्लाहकार/सदस्य ।