चर्चित क्यान्टिन आन्दोलन: अनायासमा प्राप्त मध्यस्थताले जोगाएको विद्यार्थी आन्दोलनको साख

फर्कलान् र ती दिनहरु

चर्चित क्यान्टिन आन्दोलन: अनायासमा प्राप्त मध्यस्थताले जोगाएको विद्यार्थी आन्दोलनको साख

हरिविनोद अधिकारी  |  साहित्य  |  श्रावण १४, २०७९

हामीले सिकेका कुराहरु विन्दुको पनि महा विन्दुमा पर्दोरहेछ । के पो जानेका रहेछौँ र हामीले ? के पो सिकेका रहेछौँ र हामीले ? भन्छन् नि, परेर  सिक्ने पो सिक्ने, पढेर त के पो सिकिन्छ र ?

मलाई ठ्याक्कै थाहा त छैन तर कुनै कुनै विश्व विद्यालयहरु पनि छन् रे ! यो विश्वमा जसले उमेरको एउटा सीमा पार गरेका वरिष्ठ नागरिकहरुलाई कुनै पनि विषयमा पढ्न र पढाउने स्वागत गर्छ रे ! सुनेको हो ।

सायद कसैलाई त्यो थाहा होला यदि छ कतै भने । तर अमेरिकामा पनि कति विश्व विद्यालय यस्ता पनि रहेछन् जसले स्नातक तहको प्रमाणपत्रका आधारमा पनि विद्यावारिधिमा भर्ना हुन दिन्छन् । अर्थात् विद्यावारिधि शोध हो, जीवनका लागि आवश्यक अनुसन्धान हो जसले पनि गर्न सक्छ , गर्दा हुन्छ भन्ने धारणा हुनुपर्छ । अनुभवको बारेमा मेरा आदरणीय गुरु राजेन्द्रकुमार रोंगोंग भन्नुहुन्थ्यो-औपचारिक पाठ्यक्रमभन्दा शक्तिशाली त अनुभवले तिखारेर सिकाउने कुरा हुन्छ र जहिले पनि उहाँले हिँडेन करिकुलम अर्थात् समाजमा रहेको जब्बर संस्कृति अनि परेर सिक्ने अनि त्यसबाट आउने परिणामप्रति सचेत हुनु नै सिकाइ हो ।

गुरुले पनि हामीलाई यही पृथ्वीमा छोडेर जानुभएको पनि ४ वर्ष बितिसकेको छ र पनि शिक्षाको कुरा गर्दा, सिक्ने सिकाउने कुराको प्रसङ्ग आउँदा उहाँको सम्झना आउँछ । त्यसैपनि गुरु नेपाली शिक्षाको एउटा सान्दर्भिक व्यक्ति पनि हुनुहुन्थ्यो, नेपालमा खुलेको कलेज अफ एजुकेसनको पहिलो शिक्षा विषयको स्नातक ।

नेपालमा अमेरिकी सहयोगमा खुलेको शिक्षक शिक्षाको पहिलो समूहमा उहाँमात्र बी एड पास गर्नुहुने हुनुभएछ । तर नेपालमा त्यो बेलामा विश्व विद्यालय नभएकाले त्यो डिग्रीको समकक्षता कसरी वैध गराउने भन्ने कुराले सताएको शिक्षा मन्त्रालयले उहाँलाई दिल्ली विश्व विद्यालयमा एम एड पढ्न पठाएको रहेछ जसले उहाँको डिग्रीको मान्यता दिँदै नेपालको शिक्षाको तालिमलाई शैक्षिक मान्यता दिने र पढाइलाई माथिल्लो तहमा भर्ना लिने मान्यता दिएको बुझिन्छ । 

हामीले जब एउटा शिक्षक शिक्षाका लागि संस्था खोल्ने विचार गर्‍यौँ, अनि म र प्रेम नारायण अर्याल जी गुरुको सल्लाह लिन गयौँ र  सोध्यौँ - गुरु, हजुरको विचारमा निजी स्तरमा(पछि गएर सामुदायिक भन्ने नामाकरण गरेका हौँ तर अहिले पनि त्रिविको नीतिमा सामुदायिक र निजीको बिचमा खासै सीमाङ्कन गरेको जस्तो लाग्दैन) शिक्षक तालिम तथा शैक्षिक तह समेतको प्रमाणपत्र पाउने गरी बी एड का दुई बर्से र एक बर्से कक्षा सञ्चालन गर्दा कस्तो हुन्छ होला ? उहाँ त्यो बेलामा त्रिविको पाठ्यक्रम विकास केन्द्रमा निर्देशक हुनुहुन्थ्यो या त्यहाँ नै हुनुहुन्थ्यो विशेषज्ञको रुपमा ।

उहाँ खुसी हुनुभयो किनभने त्यो क्याम्पस स्थापनाका लागि प्रशासनिक प्रक्रियाको थालनी जो गर्नु थियो । त्यो बेलामा प्रेम जी त्रिविको प्रोक्टर हुनुहुन्थ्यो जसले गर्दा हामीलाई त्यहाँ अपनाउने प्रशासनिक प्रक्रिया र स्वयंसेवी साथीहरुको खोजीमा सहज भएको थियो । तिनै स्वयंसेवी साथीहरुको सहयोगमा खुलेकोले नै हामीले निजी क्याम्पसका लागि राख्नुपर्ने धरौटी राख्नु परेको थिएन ।

त्यसका लागि तत्कालीन उपकुलपति बीसी मल्ल सर र उहाँको सल्लाहकारका रुपमा रहनु भएका सौभाग्य जंग कार्की दाइको सहयोगलाई हामीले कहिल्यै बिर्सन सक्दैनौ । त्यही क्याम्पस काठमाडौँ शिक्षा क्याम्पसको रुपमा स्थापना भएको हो र त्यसको स्वीकृतिको मिति २०४८साल वैशाख १५ गते भएकाले क्याम्पसको जन्म मितिको रुपमा वैशाख १५लाई मान्नुपर्ने हुन्छ ।

तर त्यसको लागि पहिलो धारणा बनेको जहिले जुनसुकै बेलामा भएको भए पनि २०४७साल साउन ६गते दिउँसो मातातीर्थको जंगलमा भएको हो । हामी म र प्रेम जी बीपी स्मृति दिवसमा बृक्षारोपण गर्न मातातीर्थको जंगलमा उत्सवको रुपमा मनाउने बृक्ष रोपणको भेलामा त्यहाँ बेग्ल बेग्लै रुपमा पुगेका भए पनि अचानक हाम्रा कुराहरु किन शिक्षा क्याम्पस नखोल्ने भन्नेमा केन्द्रित हुन पुग्यो ।

अनि हामीलाई लाग्यो, यो काम किन आजैबाट सुरु नगर्ने र ? अनि दुई जना उहाँको मोटर बाइकमा नै संस्कृत छात्राबास, तीनधारा पाकशालामा आयौँ । आज पनि त्यो क्याम्पस बहुमुखी क्याम्पसका रुपमा आफ्नै भवनमा विष्णु देवी मन्दिरको पश्चिमपट्टि भव्य रुपमा सञ्चालन भइरहेको छ मानविकी तथा समाजशास्त्र, व्यवस्थापन र शिक्षा विषयमा उच्चशिक्षा प्रदान गर्ने प्रतिष्ठित संस्थाको रुपमा र चन्द्रागिरि नगरपालिकाको एउटा गौरवको संस्थाको रुपमा पनि ।

त्यो संस्थाको १७वर्षसम्म अध्यक्षता गरेर गुरुले स्वेच्छाले पदत्याग गर्नु भएको थियो । अहिले पनि नेपालको पाठ्यक्रमको कुरा आउँदा सधैँ स्मरण गरिने नाम भनेको रोंगोंग सरको हो र राष्ट्रिय विकास सेवाको स्थापनाकालको निर्देशक र कडामा कडा, नरममा नरम निर्देशकको रुपमा उहाँलाई अहिले पनि त्यस बेलाका स्नातकोत्तर उत्तीर्ण गरिसकेका तर ग्रामीण सेवा गर्नका लागि राविसेमा जाने विद्यार्थीहरुले सम्झन्छन् ।

उहाँलाई नेपाली स्काउटको पनि अविस्मरणीय गुरुको रुपमा र नेपालका प्रहरीहरूको विद्यालय स्थापनाको संस्थापक प्रिन्सिपलको रुपमा लिन्छन् जस्तो लाग्छ । त्यसो त उहाँले लेबोरेटरी विद्यालयको प्रधानाध्यापकको रुपमा र पछिल्लो अवस्थामा विद्यालय व्यवस्थापन समितिको अध्यक्षको रुपमा पनि सेवा दिनु भएको थियो । वास्तवमा उहाँ आफ्नो क्षमतामा विश्वास गर्ने गुरु हुनुहुन्थ्यो र हामीलाई जहिले पनि आफ्नो क्षमता वृद्धि गर्न र अध्ययनशील हुन उत्प्रेरणा दिनु हुन्थ्यो ।

सहरबाट आउने विद्यार्थीहरु पनि कुपन किनेर राख्थे, विहान खान आउँथे, बेलुका खाएर मात्र शहरतिर जान्थे । कारण थियो , प्रति छाक २रुपयाँ ५०पैसाको सस्तो भाउका कारणले होला । अनि विद्यार्थीको भन्दा पनि बाहिरी चापले त्रिविले महिनाको लाखौँ रुपैयाँ तिर्नु पर्थ्यो क्षतिपूर्तिमा, सोध भर्नामा । आम्दानीले त के पुग्नु र ? 

उहाँमा एउटा दिक्दारी चाहिँ देखिन्थ्यो, त्रिभुवन विश्व विद्यालयको व्यवस्थापनमा केही सुधार गर्नु जरुरी थियो र आफू रजिस्ट्रार , रेक्टर वा उप कुलपति केही कार्यकारी पदमा नियुक्त हुन पाए अलि सुधार गर्थेँ भन्ने थियो र आफू धर्मको रुपमा क्रिस्चियन भएकाले विभेद गरिएको भन्ने गुनासो सुनिन्थ्यो । अनि हामी भन्थ्यौँ- रणधीर सुब्बा जी उपकुलपति हुँदा या मन्त्री हुँदा किन तपाईँलाई सहयोग गर्नु भएन त ? उहाँ हाँस्नुहुन्थ्यो र भन्नुहुन्थ्यो , नेपालको दरबारले हामीलाई विश्वास नै गर्दैन , विश्व विद्यालय दरबारको पञ्जाबाट बाहिर आउनै सकेन । पछि बहुदलीय व्यवस्थामा पनि धेरै दरबार बने , उहाँको इच्छा पूरा गर्न सकिएन भन्नु पर्‍यो । 

विश्व विद्यालयको कुरा गर्दा मैले आइ कम राराव क्याम्पस, जनकपुरबाट उत्तीर्ण गरेँ, व्यवसाय शिक्षामा डिप्लोमा ( बी एड) र एम एड विस्तार क्याम्पस तर पछि महेन्द्र रत्न क्याम्पसमा गाभिएपछि त्यहाँ बाटै उत्तीर्ण गरेँ । अर्थात् आफ्नो पढाइका लागि त्रिवि नै विश्व विद्यालय रह्यो । कुनै बेलामा त्रिविको केन्द्रीय क्याम्पसमा एम बी ए मा भर्ना पनि भएको थिएँ तर नियमितरुपमा पढ्न सकिन र मात्र त्रिविको विद्यार्थी युनियनको निर्वाचनमा मतदाताको रुपमा रहेँ ।

त्यसो त नवीन्द्रराज जोशीको प्रेरणाले भर्ना भएको थिएँ तर नियमित रुपमा कक्षा लिन नसकेपछि जाँच दिइँन । तर आजको स्मरणमा अर्को प्रसङ्ग आएको छ मेरो मनमा । धेरै विद्यार्थीहरुलाई अहिले अचम्म लाग्ने कुरा थियो, त्रिविको केन्द्रीय क्याम्पसमा एउटा क्यान्टिन थियो जहाँ २ रुपैयाँ ५० पैसामा खान दिन्थ्यो एकछाकको । विद्यार्थीहरुको लागि कुपनको व्यवस्था थियो । कुपन लिनेहरूले नै कुपन बुझाएर खान्थे । हुन त त्यो विद्यार्थीहरुको लागि मात्र थियो किनभने छात्रावासमा व्यक्तिगतरुपमा खाना बनाउन नपाइने भएकाले क्यान्टिनको व्यवस्था गरिएको थियो होला तर त्यहाँ त्यो खाना खाने जो पनि जान्थे भन्ने हल्ला थियो ।

बस चालक, सह चालक, मजदुरहरु र जो पनि खाना खान जान्थे भन्ने थियो । पक्कै पनि एकछाकको २ रुपैयाँ ५०पैसाले त्यहाँको खर्च धान्ने कुरै थिएन , त्यसका लागि त्रिविले सोध भर्नाको व्यवस्था गरेकोले हुन्थ्यो  जसमा लाखौँ रुपैयाँ त्रिविले दिनु पर्थ्यो । त्रिविमा एउटा समस्या थियो, न त त्यो व्यवस्था बन्द गर्न सक्थ्यो, न त नियमित रुपमा सञ्चालन गर्न नै सक्ने अवस्था थियो ।

विद्यार्थीहरुले मात्र खाना खाँदा त्यति घाटा सायद पर्दैन थियो तर कसले रोक्ने ? न क्यान्टिन वालालाई त्यो रोक्ने हिम्मत हुन्थ्यो, न त विद्यार्थीहरु नै त्यसमा चासो लिन्थे किनभने होस्टेलमा को को बस्छन् भन्ने पनि खासै नियमितरुपमा हेरिँदैन थियो । भनिन्थ्यो त्यो बेलामा, धेरैजसो सरकारी कर्मचारीहरु पनि सस्तो खाना र सित्तैमा होस्टेलमा बस्न पाउने हुनाले कीर्तिपुरका स्थायी बासिन्दा जस्तै थिए । अचानक त्यो क्यान्टिन बन्द गरियो ।

सायद २०४३-४४सालतिर । सधैँ त्यो क्यान्टिन बन्द गर्ने कुरा हुन्थ्यो रे ! त्रिविको कार्यकारी परिषदमा तर बिरालोमा घाँटीमा कसैले पनि घन्टी बाँध्न खोज्दैन थिए किनभने विद्यार्थीहरुले हडताल गर्ने नै हुन्थे आफ्नो सुविधा कटौती भएकोमा । अनि त्यो क्यान्टिनले पालिएका, काम गर्नेहरु, खाद्यान्न आपूर्ति गर्नेहरु धेरैको स्वार्थ थियो जोडिएको ।

वास्तवमा होस्टेलमा बस्ने केटा केटीहरूका लागि सायद थियो तर पछि महिला होस्टेलमा आफ्नै व्यवस्थापनमा क्यान्टिन बन्यो क्यारे ! तर भाउ त त्यही नै हुने भयो । म आफू त्यो होस्टेलमा नबसेको र त्यहाँको खाना पनि नखाकाले यतिमात्र थाहा थियो,  प्रायशः  सहरबाट आउने विद्यार्थीहरु पनि कुपन किनेर राख्थे, विहान खान आउँथे, बेलुका खाएर मात्र शहरतिर जान्थे । कारण थियो , प्रति छाक २रुपयाँ ५०पैसाको सस्तो भाउका कारणले होला । अनि विद्यार्थीको भन्दा पनि बाहिरी चापले त्रिविले महिनाको लाखौँ रुपैयाँ तिर्नु पर्थ्यो क्षतिपूर्तिमा, सोध भर्नामा । आम्दानीले त के पुग्नु र ? 

अनि गिरिजा बाबुले मलाई जिम्मा दिनुभयो, नेपाल विद्यार्थी संघका समेत केन्द्रीय अध्यक्ष रहनु भएका त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापति बालकृष्ण खाँडसँग सम्पर्क गर्ने, विमल दाइलाई जिम्मा दिनुभयो जसरी पनि यो समस्या समाधान गर्नू मन्त्री जीसँग बसेर । हामी त्यहाँबाट सिधै गयौँ मन्त्रीको निवास बागडोलमा बिष्ट जीकोमा ।

हामी त्यो बेलामा नेपाल राष्ट्रिय शिक्षक संगठनको विवादको समयमा तत्कालीन अध्यक्ष जनक नाथ प्याकुर्‍यालको निधन पछि कार्यबाहक अध्यक्ष विमल कोइरालाको नेतृत्वमा थियौँ र यो संगठनले सबै शिक्षकहरुको नेतृत्व गर्न नसक्ने कुरामा छलफलमा थियौँ । म र विमल कोइराला यस बारेमा कुरा गर्न त्यो बेलाको प्रतिबन्धित नेपाली कांग्रेसका महामन्त्री गिरिजाप्रसाद कोइरालाको घरमा चाबहिल पुगेका थियौँ । मलाई पनि गिरिजाबाबुको घरमा जान रोक थिएन भने विमल दाइ त गिरिजाबाबुको परिवारको जेठो छोरो नै हुनुहुन्थ्यो (मातृका बाबुको जेठो छोरो विमल कोइराला, मातृकाबाबुको कान्छो भाइ गिरिजाबाबु )।

त्यो बेलाको आधिकारिक शिक्षक संस्था भनेको नेराशिसं नै थियो र विमल दाइ कावा अध्यक्ष हुनुहुन्थ्यो । हामीलाई देख्ने बित्तिकै गिरिजा बाबुले भन्नुभो- विमल, त्यो विद्यार्थीहरुको आन्दोलनलाई सकारात्मकरुपमा समाधान गर् त मन्त्री केशरबहादुर विष्टलाई भनेर ! किन बढाउनु पर्‍यो खानाको पैसा, बरु नियमन गरे भयो नि विद्यार्थी संख्या ।

अनि त्यहीँबाट सायद केशर बहादुर जीलाई फोन गर्नु भयो क्यारे ! तर गिरिजा बाबुलाई बिष्ट जीले भन्नुभयो रे ! - यो प्रधानमन्त्री मरिच मान, उपकुलपति महेशकुमार उपाध्यायको काम हो, मलाई थाहा पनि छैन तर म लाखौँ रुपैयाँ सोध भर्नाको पक्षमा तर छैन गिरिजाबाबु ।

अनि गिरिजा बाबुले मलाई जिम्मा दिनुभयो, नेपाल विद्यार्थी संघका समेत केन्द्रीय अध्यक्ष रहनु भएका त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापति बालकृष्ण खाँडसँग सम्पर्क गर्ने, विमल दाइलाई जिम्मा दिनुभयो जसरी पनि यो समस्या समाधान गर्नू मन्त्री जीसँग बसेर । हामी त्यहाँबाट सिधै गयौँ मन्त्रीको निवास बागडोलमा बिष्ट जीकोमा ।

हामीलाई स्वागत त गर्नुभयो तर यो समस्याको समाधान भनेको क्यान्टिन बन्द नै हो र उपकुलपतिको यो रवैया लाई म कुनै पनि हालतमा समर्थन गर्न सक्दिन । अरु पनि कुरा भए जुन अहिले खासै प्रासङ्गिक हुँदैन तर हामी पञ्चायतभित्र पनि नेपाली कांग्रेसलाई रुचाउने नेताको रुपमा बिष्ट जीलाई लिन्थ्यौँ र उहाँलाई कम्युनिस्ट विरोधी नेताको रुपमा चिनिन्थ्यो र भनिन्थ्यो, मरिच मान जी प्रधानमन्त्री हुँदा पनि उहाँको मरिच मानजीसँग कहिल्यै कुरा मिलेन ।

खेलकुद मन्त्री भए पनि बिष्ट जीको तत्कालीन खेलकुद परिषदका सदस्य सचिव शरद्चन्द्र शाहा जीसँग पनि उहाँको कुरा मिल्दैन भनिन्थ्यो । त्यसको कारण थियो रे ! बिष्टजीको रुझान प्रजातन्त्रप्रति थियो र मरिच मान जीहरु वामपन्थीहरु को पक्षमा जहिले पनि उभिनु हुन्थ्यो रे  !  अर्थात् राजाको लागि खतरा भनेको कांग्रेस हो, कम्युनिस्टहरु होइनन् । सुनिन्थ्यो तर हामीले त के मात्र थाहा पायौँ भने बिष्ट जीलाई दिएको जानकारी र यथार्थता मिलेको जस्तो लागेन ।

अनि हामीले खाँड जी, ध्रुव वाग्लेजी हरुलाई भेट्यौँ विश्व विद्यालयको होस्टेलमा । बिजोग थियो । चियाको कित्लीमा आलु उसिनेर नुन चोपेर खाने र कालो चिया बनाएर खानेमा खाँड जी नै हुनुहुन्थ्यो किनभने उहाँले साथीहरुलाई छोडेर जाने कुरै थिएन ।  विद्यार्थीहरुको बिजोग थियो र दोहोरो भूमिकामा रहनु भएको खाँड जीका लागि पनि यो आन्दोलन निर्णायक बनाउनु पर्ने थियो र जसरी भए पनि क्यान्टिन फिर्ता ल्याउनु नै थियो ।

अलि कम बोल्ने, आफूले गरेको कुरामा अडान लिने  खाँड जीको स्वभावसँग म परिचित थिएँ र विमल दाइले पनि भन्नुभयो, खाँडजी कुरो उल्टो पुगेको रहेछ मन्त्रीको कानमा । अब हामी तपाईँहरु र  मन्त्री बिष्ट जीको बीचमा दोहोरो कुरा गराउँछौँ । तर खाँड जीले मान्नुभएन र भन्नुभयो, मन्त्रीले पत्र लेख्छन् भने मन्त्रालयमा कुरा गर्ने, यी उपकुलपति र रेक्टरसँग हामी कुरै नगर्ने । उता मन्त्री बिष्ट पनि के कम । मेरो समस्या नै होइन, त्यही भीसी र रेक्टरले समाधान गरुन् । भीसी र रेक्टर त खुसी थिए नेविसंघ र मन्त्रीको बीचमा विवाद बढेकोमा ।

अनि हामीले सहयोग लियौँ शरद्सिंह भण्डारी (जो महोत्तरीबाट माननीय हुनुहुन्थ्यो) र बेनुपराज प्रसाईँजीसँग । अनि बेनुप जीको घरमा विमल दाइ, म , शरद जी, बेनुप जी, मन्त्री बिष्ट, खाँड जी, ध्रुव जी र अरु साथीहरूसहित लामै छलफल गरेपछि मन्त्री जीले भन्नु भयो- कम्तीमा पनि खाँड जीसँग भेटेपछि म कन्भिन्स भएँ क्यान्टिन चाहिन्छ तर कसरी विद्यार्थीहरुको हाजिर नियमन गर्ने र यति कम पैसामा खुवाउन सकिँदैन भन्ने कुरामा खाँड जीले पनि पैसा बढाउन सहयोग गर्नुपर्छ । त्यसपछि लामो छलफल र विद्यार्थीहरुको लामा लामा बैठक पछि ३रुपैयाँ ५० पैसा प्रति छाक पैसा लिने र  १ रुपयाँ चाहिँ बुक बैँकका लागि दिने भन्ने कुरा भयो ।

खाँडजीको पालामा नै हो,  विश्व विद्यालयको पुस्तकालयमा धेरै रकम त्यही पैसाबाट जम्मा भएको भन्ने सुनिएको थियो । पछि त विश्व विद्यालयले पनि त्यो क्यान्टिन चलाउन सकेन तर खाँड जीले नै हो जस्तो लाग्छ, विद्यार्थीहरुलाई चित्त बुझाएर नियमन गरेर नियमित विद्यार्थीले मात्र होस्टेलमा बस्न पाउने र होस्टेलमा बस्नेले मात्र क्यान्टिनमा खान पाउने ।

अनि दुई प्रकारको भाउ रह्यो सायद होस्टेलमा सिट पाउनेहरूका लागि एउटा भाउ, अरु विद्यार्थीहरु र शिक्षकहरुका लागि अर्को भाउ । धेरै वर्ष भयो र हामीले मात्र मध्यस्थता गरेका थियौँ र सफलता पनि प्राप्त भएको थियो । सायद मै पहिलो पत्रकार हुँला जसले खाँड जी नेपाल विद्यार्थी संघको अध्यक्ष भएपछि अन्तर्वार्ता लिएको थिँए । मैले कहिले पनि उहाँलाई पढाइन तर मलाई जहिले पनि गुरुको रुपमा मान्नुहुन्छ र आदरमा कुनै कमि पाएको छैन् क्रमशः