रारा ताल, छचल्कियो उमंगको छाल: 'औषधी कोही दिन्या नाइ, पैसा दिने भए भाँडा माझ्छु, नत्र म सक्दिन ’
श्रावण १५, २०७९

जुम्ला जिल्लाको शैक्षिक बेस लाइन सर्वेक्षणको काम तेस्रो हप्तामा चलिरहेको  थियो। जिल्ला शिक्षा कार्यालयबाट एकदम राम्रो सहयोग प्राप्त भएको छ । अब दुई हप्ता भित्र काम सकेर फर्किनुपर्ने छ । हिजो साँझ खलङ्गाको हिमालयन ट्रेकिङ होटेलमा आफ्नै अफिस सेती परियोजना साथीहरू भेट भयो । डोल्पा जान लागेका इन्जिनियर इयन बर्बर, इन्जिनियरिङ शाखाका धरम के. सी. र अर्का एकजना सब–ओभरसियरसँगको भलाकुसारीले झन् उर्जा थपिएको महसुस भएको छ । आफ्नो अनुभव कम भएता पनि यति ठूलो जिम्मेवारी पाएकोमा मख्ख पनि छु म ।  

झन्डै दुई हप्ते फिल्ड योजना तयार भएको छ । माध्यमिक विद्यालय निरीक्षक लोकनाथ पौडेल, प्राथमिक विद्यालय निरीक्षक गणेश के. सी. पनि सँगै हुने हुँदा त्यति चिन्ता लागेको छैन । तथापि सर्वेक्षणलाई उपलब्धिमूलक बनाउनु पर्ने चुनौती भने टड्कारो छँदैछ । लोकनाथ जीको कोठामा बिहानको मिठो खाना खाएपछि म्याडमलाई सान्त्वना दिंदै मैले भनें, ‘चिन्ता नगर्नुस् ल ? म तपाईंको मान्छेलाई सकुशल फिर्ता लिएर आउनेछु ।’ हँसिली र फरासिली म्याडमले भन्नुभयो, ‘चिन्ता गरेकी छैन । राम्रोसँग काम सकेर आउनु होला । अलिक लामो भयो कि भन्ने मात्र लागेको हो मलाई ।’

पहिलो दिनको काम तातोपानीको गणेश प्रा. वि. राँकामा सम्पन्न गरेर त्यहीं बास बसियो । कक्षा २ मा गणितको कक्षा अवलोकन गर्दा १ छात्रा र ६ छात्रहरू उपस्थित भएको पाइयो । प्रधानाध्यापक जुम्लाकै विष्णुऋषी  उपाध्यायसँग अन्तर्वार्ता र व्यवस्थापन समिति अध्यक्ष तथा जुम्ला जिल्ला पञ्चाचायतका पूर्व कामु सभापती देवीचन्द्र कठायतसँग छलफल गरियो ।    

दोस्रो दिन हामीले कुडारी स्थित प्रा. वि. सेतीबाडा नुवाकोटको अवलोकन गर्यौं । प्रधानाध्यापक गुल्मीका टेकराज बन्जाडेसँग अन्तर्वार्ता लिएर इलाम र सप्तरी घर भएका शिक्षकहरूसँग अन्तरक्रिया गरियो । विद्यालयमा ३० जना छात्रहरू मात्र भर्ना भएका रहेछन् । कार्यालय कोठा पनि नभएको विद्यालयमा दराज, फर्निचर र कालो पाटी नदेख्दा नमज्जा लाग्यो । साथीहरू सरस्वती मा. वि. कुडारी तिर जानुभएको थियो । हामी ३ जना बास बस्ने ठाउँमा सकेसम्म सँगै बस्दैछौँ । सर्वेक्षणको काम चाहिं विद्यालय बाँडेर गरिरहेका छौं ।   

साँझ बास बस्न रारालिहीको लर्मी पुगियो । उपप्रधान पञ्च कौडे रावतको थार (छत) मा फेर्या माथि राडी ओछ्याएर डंग्रङ्ग पल्टिएको छु म । लोकनाथ जी पनि मस्तीले आराम गरिरहनु भएको छ ।  

साँझ पर्न लागेपछि श्रीमतीले पकाएको भात पस्किने र वितरण गर्ने काम चाहिं उपप्रधान पञ्चले नै गर्नुभयो । खाना खान सुरू मात्र के गरेका थियौं । उहाँकी श्रीमतीले भन्नुभयो, ‘जो कर्मचारी आएपनि यहीं, जति आए पनि यहीं, अन्त ठाउँ छैन र ? आफू बिरामी छु, औषधी कोही दिन्या नाइ । पैसा दिने भए मात्र भाँडा माझ्छु, नत्र म सक्दिन !’ ‘हामी पैसा दिइ हाल्छौं नि हजुर । किन चिन्ता गर्नु भएको ?’ भातको गाँस उचाल्दै मैले भनें

।  लोकनाथ जीले पनि सही थाप्नुभयो । श्रीमती तिर फर्केर उपप्रधान पञ्चले भन्नुभयो, ‘तैल नमाझे म आफै माझौँला भाँडा, पैसा दिन पर्दैन हजुर ।’ श्रीमती चाहीँ फन्केर बाहिर निस्किनु भयो । चुठ्ने बेला बाहिर निस्किँदा उहाँ पर्खाल भित्रको झार भएको ठाउँमा पल्टी रहनु भएको थियो । हतारहतार चुठेर ‘पैसा लिनुस् हजुर’ भन्दा उहाँले टाउको उठाउनु त भएको थियो । तर उहाँको श्रीमान् कुदेर आउनु भयो र रोक्नुभयो । मलाई के गरूँ, के गरूँ जस्तो भयो ।  

हामी खुसी साथ पैसा तिर्न चाहन्थ्यौं । हामी तीनैजना यूनेस्कोको भत्ता खाएर गाउँमा गएका थियौं । जहाँ गएपनि पैसा तिरेर मात्र खानु पर्ने सेती परियोजनाको आचार संहिता थियो । वास्तवमा उपप्रधान पञ्चको श्रीमतीले सहि कुरो उठाउनु भएको थियो । उहाँको परिवारको आर्थिक अवस्था राम्रो थिएन । साँझमा आएका ३ जना पाहुनालाई खुवाउने र सुताउने काम सजिलो थिएन । फेरी उहाँ बिरामी पनि त हुनुहुन्थ्यो ।  ्

बाटोको डिलमा बसेर लोकनाथ जीले ‘कठै दैन ....’ भन्दै देउडा गाउन थाल्नुभयो । ‘म पनि काम गर्न आउँ कि ?’ भन्ने उहाँको प्रश्नको जवाफमा ‘आऊ’ भन्ने उत्तर दिए उनीहरूले । जव उहाँ अलिक अगाडि मात्र बढ्न थाल्नुभयो । एउटी महिलाले भनिन्, ‘पुड जाऊ ।’ जिस्क्याएको मात्र हो भन्ने नठानेर साच्चिकै आउनै लाग्यो क्यारे भन्ने ठानिछन् उनले । हामी सबै मज्जाले हाँस्यौँ । 

पैसा नलिए पछि अरू केही चिज छोड्न पनि मसँग त्यस्तो केही पनि थिएन । जिल्लामै गाडी नपुगेको हुँदा सबैतिर हिँडेर नै सर्वेक्षणको काम गर्नुपर्ने भएकोले आफ्नो रूकस्याकलाई सकेसम्म हल्का राख्नु पर्ने बाध्यता थियो । 

कमजोर आर्थिक अवस्था र बिरामी श्रीमती हुँदाहुँदै पनि ‘अतिथी देवो भव’ भन्ने मान्यतालाई दुरुस्तै व्यवहारमा उतार्न खोज्ने उपप्रधान पञ्चको प्रयास देखेर नतमस्तक भएँ म । आखिर धन हैन मन ठूलो कुरा रहेछ । शहरमा अपरिचित पाहुनाको सत्कारको कल्पना कहाँ गर्न सकिन्छ र ?   

लागेको कुरा स्पष्टसँग भन्ने उपप्रधान पञ्च की श्रीमतीको शैली पनि मलाई एकदम मन पर्‍यो । विचरा, बारम्बार आइरहने पाहुनाको कारण कत्ति दुःख पाउने गर्नु भएको रहेछ उहाँले । 

‘ज्वरो आएको बेला, टाउको र जिउ दुखेको बेला खानु है ?’ भनेर मैले आफूसँग भएको एक पत्ता सिटामोल उहाँलाई दिएँ । मनमा उहाँ प्रति सद्भाव र सहानुभूतिको भकारी नै भएपनि आर्थिक विकल्पको ढोका बन्द भएपछि सहयोगको लागि उपयुक्त अर्को बिकल्प केही भएन मसँग ।  

चौथो दिन भुगेडीलिही स्थित प्रा. वि.मा काम सकेर हामी मालिका ठानाको जुम्ला कोटमा रहेको देउराली मा. वि.मा पुग्यौं । कार्यालय भित्र पस्ने बित्तिकै दुई जना चिरपरिचित अनुहारहरू देखेपछि म त दङ्ग परें । महेन्द्र रत्न क्याम्पसमा पढ्दाका मेरा साथीहरू प्रधानाध्यापक बिन बहादुर गौतम (गुल्मी) र शिक्षक जया प्रसाद आचार्य (जुम्ला)सँग न्यानो हात मिलाएर कुराकानी गर्न थालेपछि मलाई निकै स्फूर्ति मिल्यो । कोही बिशेष आफन्तसँग भेट भएको जस्तो अनुभूति भयो ।  

विद्यालयमा ५२ जना विद्यार्थीहरू भर्ना भएका रहेछन् । छात्राको संख्या ज्यादै नै न्यून रहेछ । हामीले केवल २ जना छात्रालाई मात्र कक्षा कोठामा देख्न सक्यौं । पोहोर सालको एसएल.सीमा कोही पास नभएपनि यो बर्ष (२०४५) चाहिं ३३ प्रतिशत नतिजा आएकोले शिक्षकहरू प्रसन्न हुनुहुन्थ्यो । झन्डै एक बर्ष देखि भवन छाना बिहीन भएकोले भौतिक वातावरण दयनीय रहेछ । प्रधानाध्यापक नै साथी भएकोले सर्वेक्षणको काममा राम्रो सहयोग पाइयो । शिक्षकहरू बीचको आपसी मेलमिलाप र सुमधुर सम्बन्ध तथा हामी प्रतिको आतिथ्य बेजोड लाग्यो ।   

दश जना शिक्षकहरू मध्ये केवल १ जना मात्र जुम्ला जिल्लाका हुनु हुँदो रहेछ । जुम्ला, गुल्मी, अर्घाखाँची, कास्की, रुपन्देही, धादिङ र सप्तरीका ८ जना शिक्षकको एउटै मेस रहेछ । रमाइलो गर्दै खाना र खाजा खुवाउनु भयो उहाँहरूले । विद्यालय बन्द भएपछि भलिबल पनि खेल्न पाइयो ।   

मेरा अनन्य मित्र आचार्य जीसँग छुट्टै कुराकानी पनि भयो । उहाँ खलङ्गा नजिकैको आचार्य बाडाबाट शिक्षणको लागि जुम्ला कोट आउनुभएको रहेछ । उहाँले समग्र जिल्लाको शैक्षिक परिस्थितिको बारेमा जानकारी पनि दिनुभयो । मेरो कामलाई सजिलो बनाउन उहाँका केही साथीहरूको नाम पनि टिपाउनु भयो ।  

अपरान्हमा जुम्ला कोटबाट प्रस्थान गर्यौं । काम पनि त सक्नु पर्यो समयमै । साँझ कालिका खेतुको चिउडीमा बास बस्नुपर्ने भयो । प्रधानपञ्च जैदे रोकाया सदरमुकाम जानु भएको रहेछ । उहाँको श्रीमतीले खाना बनाउन नमिल्ने अवस्था भएकोले अर्को बिकल्प खोज्नु पर्ने भयो । बास बस्न चाही त्यही घर नै उपयुक्त थियो । आठ बजेसम्म पनि खानपिनको लागि कुनै अत्तोपत्तो नभए पछि लोकनाथ जीले वडा सदस्यलाई बोलाउन पठाउनु भयो । सदस्य र केही भलाद्मीहरू आए पछि छलफल गरी चामल उठाउने निर्णय भयो ।  

‘हाम्रा ट्वाँटकी (केटाकेटी) स्कुल जान्या नाइ । स्कुल जाँच्न आउन्याकन चामल दिन सक्या नाइ ।’ भनेको पनि सुनियो । रातको ९ बज्दा पनि चामल र दाल जम्मा हुन सकेन । छर छिमेकमा हाहाकार नै मच्चियो । बिस्तारै २ मुठी चामल र एक मुठी पिरे (खुर्सानी) लिएर मान्छेहरू आउन थाले । यसरी पाहुनाको निम्ति मुट्ठी दान भइरहेको दृश्यको फोटो पनि खिचियो सम्झनाको लागि । यस्तो नाजुक आर्थिक अवस्था देखेर निकै भावुक हुन पुगें म । 

बल्ल बल्ल ११ बजे तिर हातमुख जोर्ने काम सम्पन्न गर्न पाउँदा खुसीको सीमा रहेन । पाँच तारे होटलको परिकार भन्दा मिठो थियो त्यो मुट्ठी दान मार्फत दुःखले आर्ज्याको डिनर ! फेरी पनि उहाँहरूले खानाको पैसा लिन मान्नु भएन । त्यस्तो दयनीय अवस्थामा पनि निःशुल्क खाना खुवाउनु हुने गाउँले दिदी बहिनी दाजु भाइहरू प्रति शाब्दिक आभार भन्दा दिने चिज केही थिएन म सँग । केही सहयोग गर्न नसकेकोमा मनमा औडाहा र छटपटी भइरह्यो । शिक्षाको लागि मात्र हैन गरिबी हटाउनुको लागि पनि नयाँ परियोजना संचालन गर्नुपर्ने आवश्यकता टड्कारो रूपमा देखियो ।  

पाँचौं दिन कालिका प्रा. वि. तलिकुडीका शिक्षक बाबुराम ज्ञवाली (गुल्मी)को डेरामा खानपिन गरियो ।  तीन जना शिक्षकहरूले आफै भान्से बनेर गरिष्ठ भोजन तयार गर्नु भएछ । फिल्मी पत्रिका पढ्ने, नुहाउने तथा दाह्री काट्ने काम गर्न पनि भ्याइयो । त्यसपछि बाबुराम जीसँगै म चाहिं उहाँको विद्यालय तिर लागें । लोकनाथ जी चाहीं अन्नपूर्ण प्रा. वि. मष्ठमान्डु तर्फ लाग्नुभयो ।  

विद्यालयको आफ्नै कार्यालय नभएकोले सम्पूर्ण कागजपत्रहरू जिल्ला पञ्चाचायत सदस्य बिर्खबहादुर शाहीको घरमा राखिएको रहेछ । उहाँकोमा गएर आवश्यक कागजपत्रहरू हेरियो । निकै चल्ता पुर्जा देखिने शाही जीले शिक्षकहरू प्रतिको शब्द चयन अलि खस्रै थियो । बड्डाले कलेजो जस्तो दही र रोटी मस्तीले खुवाउनु भयो ।  

छैठौं दिन बाँजगडाबाट अलि माथि पुगेपछि थुप्रै महिलाहरूले रोपो गोड्दै गरेको देखियो । बाटोको डिलमा बसेर लोकनाथ जीले ‘कठै दैन ....’ भन्दै देउडा गाउन थाल्नुभयो । ‘म पनि काम गर्न आउँ कि ?’ भन्ने उहाँको प्रश्नको जवाफमा ‘आऊ’ भन्ने उत्तर दिए उनीहरूले । जव उहाँ अलिक अगाडि मात्र बढ्न थाल्नुभयो । एउटी महिलाले भनिन्, ‘पुड जाऊ ।’ जिस्क्याएको मात्र हो भन्ने नठानेर साच्चिकै आउनै लाग्यो क्यारे भन्ने ठानिछन् उनले । हामी सबै मज्जाले हाँस्यौँ । 

कहिले बाटैमा गीत गाउँदै नाच्ने, कास्की तिरको लोकलय बढी मनपर्ने, कहिले घट्टमा पसेर रोटी माग्दै रमाइलो गर्ने तथा कहिले महिलासँग सुल्पा मागेर ठट्टा गर्ने मित्र ‘सेन्स अफ ह्युमर’को खानी नै हुनुहुन्छ । मनमा उब्जेका सबै कुरा निश्फिक्रीसँग भन्दिने तथा साथीलाई माया गरेर ‘पटाहाको नाती’ भन्दिने । तँ, तिमी, तपाइँ तथा हजुरले एकै जनालाई फरक फरक समयमा सम्बोधन गरिदिने ठट्टा सम्राटसँगको सह यात्राले बाटो काटेको पत्तै नहुने ।  

त्यसपछि हरेक पैदल यात्रामा मलाई त्यही पटाहाको नातिको खाँचो महसुश हुने गरेको छ । त्यो ‘पटाहाको नाती’सँग फेरी पनि मलाई पैदल यात्रा गर्ने मन छ । 

असार ३० गते बल्ल यो बर्षको मनसुन सुरू हुन लाग्यो जुम्लामा । सिमसिम पानीमा छाता ओढेर बड्कीको मोफ्लामा अवस्थित रहदेव नि. मा. वि. तर्फ लाग्यौं ।  

विद्यालयको १५ रोपनी जग्गा रहेछ । स्याउ, नास्पाती, आरु र ओखरका बोटहरू टन्न रहेछन् । करेसाबारीमा आलु, गोलभेडा, काउली र खुर्सानी लगाइने रहेछ । तथापि स्कुलको खेलमैदान र शौचालय रहेनछ । विद्यालयमा ७ जना शिक्षक र २० जना छात्रहरूको मात्र उपस्थिति पाइयो । नमुनाको रूपमा चर्चामा रहेछ यो विद्यालय ।  

बाटामा चिप्लिँदै, लड्दै बल्ल बल्ल नराकोटमा अवस्थित भैरव मा. वि. मा पुग्यौं । बाटोमा केही मानिसहरूले स्याउको बोट काटेर मकै रोप्दै गरेको देख्दा नरमाइलो लाग्यो । सोधपुछ गर्दा ‘स्याउ बिक्रि नहुने, पछि सम्म राखेर खान नमिल्ने तर कोदोको रोटी त पछिसम्म खान मिल्ने’ हुँदा बाध्यताले काट्नु परेको जवाफ पाइयो ।  

विद्यालयको भौतिक अवस्था अत्यन्तै नाजुक भएपनि शैक्षिक स्थिति जुम्लाको परिप्रेक्षमा निकै नै राम्रो रहेछ । गत बर्ष यस विद्यालयबाट एस. एल. सी. दिने सबै विद्यार्थीहरूले सफलतापूर्वक उत्तीर्ण गरेकाले राजाबाट प्रधानाध्यापक ऋषिराम भट्टराई (प्युठान) ले पदक पनि पाउनु भएको रहेछ ।  

घनघोर बर्षा तथा चिप्लो बाटोको कारण प्रधानाध्यापकको फार्सेबाडा स्थित डेरासम्म पुग्न पनि साह्रै नै मुश्किल पर्यो हामीलाई । राती कोठामा पानी चुहिएर बेहाल भयो । घरबेटी चाहीँ विद्यालयकै शिक्षक सुरथबहादुर रावत हुनुहुँदोरहेछ  । केही बर्ष अघि खलंगाबाट घर फर्किँदा हिमपातमा परेर उहाँले एउटा खुट्टाको पाइताला नै गुमाउनु परेको सुन्दा नरमाइलो लाग्यो ।   

सातौं दिन नेपाल भाषाको उद्गमस्थल तथा पुरानो जुम्ला राज्यको राजधानी सिंजा पुग्दा ज्यादै नै आनन्द आयो । कनका सुन्दरी मा. वि. लुड्कुका अंग्रेजी शिक्षक गजेन्द्रराज बास्तोलाले सर्वेक्षणको काममा धेरै सहयोग गर्नुभयो । सुन्दर गेट सहितको कम्पाउण्ड भित्र रहेको १४ कोठे विद्यालय भवन भव्य रहेछ । दुई रोपनी जग्गा रहेछ विद्यालयको । एक बिगाहामा स्याउ लगायतका फलफूल तथा मकै खेती लगाइएको रहेछ ।  

आठौँ दिन साउने संक्रान्ति परेछ । कनकासुन्दरी मन्दिरको दर्शन तथा अवलोकन गरियो । खास गरेर खस, ब्राह्मण र दलित जातिको बसोबास भएको सिंजा उपत्यका प्रलय नै सुन्दर ठाउँ रहेछ । उत्तरबाट दक्षिण–पश्चिम बग्ने हिमा नदीले दुवै पट्टी रहेको फाँटलाई सिंचन गर्ने रहेछ । ज्यूलो (खेत) मा काली मार्सी र रातो मार्सी धान झुल्ने रहेछन् ।

फाँटभन्दा माथि बस्ति र बस्ति माथि जंगल र डाँडा हेर्दा उत्पात मनोरम दृश्य देखिन्छ । रसिलो पाराले मैले लोकनाथ जी तर्फ हेर्दै भनें, ‘कत्ति रमणीय ठाउँ ! मलाई त यतै बसाई सर्न पो मन लाग्यो ।’ उहाँले तत्काल फर्काउनु भयो, ‘सर्छौ बसाई ! एक हप्ता बस्न परे भाग्छौ होला, पटाहाका नाति ।’ 

भाषिक, सांस्कृतिक, धार्मिक, भौगोलिक तथा पर्यटकीय महत्व बोकेको सिंजाको सुन्दरतामा कनकासुन्दरी मन्दिर, विराटको दरवार, पाण्डव गुफा आदिले चार–चाँद थपेको अनुभूति भयो मलाई । हिमा नदीमा पौडी खेल्ने रहर हुँदाहुँदै पनि समयले साथ नदिएको हुँदा लागियो बुडुचौतारा स्थित प्रा. वि. तिर ।  

हामी केही घण्टा उकालो चढेपछि बुडुचौतारा पुग्यौं । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्कबहादुर बुढा र शिक्षक चोलनाथ अर्याल (अर्घाखाँची)ले स्वागत गर्नुभयो । तिन जना थार माथिको कोठा (पाँण)मा बस्यौं ।  

कर्णालीमा साउने संक्रान्ति निकै भब्यसँग मनाइने चलन रहेछ । तिहारभन्दा पनि यो पर्वमा बढी महत्वको हुँदो रहेछ । सम्पूर्ण विवाहित छोरी चेलीहरू, ज्वाइँहरू तथा भान्जा भान्जीहरू संक्रान्ति मान्न आउने हुँदा घर भरिभराउ हुँदो रहेछ । विहानै देखी खिर, टाटे (पुरी), रोटी तथा अन्य परिकार पकाएर खाँदै रमाइरहेका थिए ।  

साँझमा घर बाहिर थारमा तथा आँगनमा निस्केर सल्लाको झरो (राँको) बालेर दीपावली गर्दा गाउँ नै झिलिमिली हुने रहेछ । धादिङ तिर जस्तो लुतो फाल्ने चलन रहेनछ जुम्लामा । भक्त बुढाको घरमा साउने संक्रान्ति मनाइरहँदा मलाई आफ्नो गाउँमा बाल्यकालमा साउने संक्रान्तिको साँझ लुतो फालेको सम्झना आयो । मष्टमा पूजा सकिएपछि राँको बालेर ‘लुतो लैजा ओ है रिट्टारे हो, लुतो लैजाओ है डाँडागाउँले हो’भन्दै राँकोलाई रिट्टार (रिचो कटार) तथा डाँडागाउँ तिर फाल्दा उधुमै रमाइलो लाग्थ्यो ।

धेरै नै उचाईमा रहेको थार मारे पाटनको भैसी गोठमा ताजा दुध खान पाइने रहेछ । भोकको झोंकमा हरेकले २–२ मान दुध पिएर लाग्यौं डाँफे लेक तिर । डाँफे लेकबाट ओरालो झर्न लाग्दा जुम्ला उपत्यका देखेर आनन्द आयो । तर लेकको घाँस खाएको भैंसीको दुधले पेटमा हमला गरेकोले तीन जना तिन तिर जंगल पस्नुपर्ने अवस्था सिर्जना भयो ।  

 

नवौं दिन विहानै हामीले रारा ताल अवलोकन गर्न जाने योजना बनायौं । किनकि बुडुचौतारा मुगु जिल्लाको सिमाना नजिकै पर्ने हुँदा रारा ताल पनि नजिकै नै थियो । बिहान १० बजे पछि विद्यालयमा हाम्रो काम सुरू गर्यौं । हिउँदको समयमा विद्यालय परिसर तथा वरीपरी ४ महिनासम्म हिउँ जम्ने रहेछ । 

सर्वेक्षणको कामकै सिलसिलामा रारा ताल घुम्न जाने सुनौला अवसर मिलेकोमा हामी तिनै जना अत्यन्तै खुसी थियौं । हिडेर नै काम गरेको ९ दिन भइसकेको हुँदा शरीरले थकान महसुश थियो तर मेरो दिल दिमाग चंगा भएको थियो । सामान्य ज्ञान पुस्तकमा नेपालको सबैभन्दा ठूलो र बढी उचाईमा रहेको ताल राराताल भनेर पढेको थिएँ । साथै, कवि एम. वी. बि. शाहको ‘रारा कि अप्सरा’ शीर्षकको कविता पनि पढेको थिएँ । त्यही बेला देखी राराताल हेर्ने धोको मेरो मनमा अङ्कुराएको थियो ।  

जति उकालो चढ्यो त्यति चिसो बादलको झुण्डले थप्पड दिन थाल्यो । कानै चिसो हुन थाल्यो । पहाडको थाप्लोमा पुगेर छेउ तिर जान लाग्दा उत्तर पट्टी अलिक तल चारैतिर पहाडले घेरिएको र बीचमा निलो ताल देखियो । आहा ! क्या मनमोहक दृश्य ! हामी तिनै जना खुसियालीले नाच्न थाल्यौं । उमंगले मन आकासियो ।        

साउन महिना भएकोले वरपरको डाँडाकाँडामा हिउँ थिएन । उत्तरी क्षितिजमा मात्र हिमशृंखला लहरै देखिन्थ्यो । रमाइलो गफगाफ गर्दै हामी तल तिर झर्न थाल्यौं । जति तल गयो त्यति ठूलो र फराकिलो देखिन थाल्यो राराताल ।  

हिँडाई र भोकले हत्तू बनाएको थियो । हामीले बोकेका बिस्कुट, चाउचाउ, चिउरा र दालमोठ पनि हप्ता दिन नपुग्दै सकिएको थियो । तालको दक्षिण–पश्चिम साइडबाट हामी एउटा पसल भएको ठाउँमा पुग्यौं । त्यहाँ ९ रूपैयाँमा २ वटा कोदाको भुंग्रे रोटी किन्यौँ । अति नै भोकाएको कारण अग्घोरै मिठो भयो रोटी । अर्को किन्न खोज्दा पाइएन । अरू खानेकुरा केही पनि थिएन त्यहाँ । राती रारा राष्ट्रिय निकुन्जको पाहुना घरमा बास बस्यौं । मेसको भाँडाकुँडा प्रयोग गरेर पानी धेरै नै हालेर भात पकाउँदा पनि भात राम्रोसँग पाकेन । हाम्रो ढंग पुगेन छ क्यार ! जे भएपनि खानै पर्यो ।     

दसौँ दिन निकुन्जको वार्डेन शिवराज भट्टले उहाँको निवासमा चिया खुवाउनुभयो । राजा वीरेन्द्रको रारा भ्रमणका रोचक प्रसङ्गहरू सुनाउनु भयो । उहाँका अनुसार रारा ताललाई एक चक्कर लगाउन ४ घण्टा लाग्ने रहेछ । समया भावले त्यसो गर्न सकिएन । बोटिङ गर्ने सुविधा रहेनछ । केवल सेनाको मात्र डुङ्गा रहेछ । भीआइपीहरूलाई चाहीँ बोटिङ गराइने रहेछ– सेनाको डुङ्गा प्रयोग गरेर । तालको दक्षिण पट्टी किनारमा पिलाटस पोर्टर मात्र ल्याण्ड गर्न मिल्ने सानो विमानस्थल रहेछ तर चालु रहेनछ ।  

समुद्र सतहबाट २९९० मिटर (९८१० फिट) उचाईमा रहेको रारा तालको लम्बाई ५.१ किलो मिटर, चौडाई ३ किलोमिटर, सतहको क्षेत्रफल १०.८ बर्ग किलो मिटर र अधिकतम गहिराई १६७ मिटर (५४८ फिट) रहेछ । जेठ देखी असोजसम्म असंख्य किसिमका फूलहरूले गर्दा असाध्यै सुन्दर देखिने रहेछ यो ताल । २०२० सालमा राजा महेन्द्रले भ्रमण गरेपछि नै रारा तालको सौन्दर्यले सम्मोहित भएर ‘रारा कि अप्सरा’ कविता लेखेका रहेछन् । त्यसपछि नै यसलाई महेन्द्र ताल पनि भन्ने गरिएको रहेछ ।  

१०६ बर्ग किलोमिटरमा फैलिएको रारा राष्ट्रिय निकुञ्जमा कस्तुरी, रतुवा, हाब्री, थार, भाल, मृग, बँदेल लगायत ५१ प्रजातिका वन्यजन्तुहरू रहेको सूचना पाइयो । साथै, डाँफे, मुनाल लगायत २७२ प्रजातिका चराचुरुङ्गीहरूको राम्रो संरक्षण भएको जानकारी मिल्यो ।  

विहान घाम लागेपछि तालको पानी अचम्मसँग टल्किएको दृश्य देखियो । पानी बिछट्टै निर्मल, स्वच्छ र सफा देख्दा एकछिन भने पनि पौडी खेल्न मन लागेकोले छेउमा डुबुल्की मार्ने काम गरियो । पानी उल्कै चिसो भएकोले धेरै बेर खेल्ने कुरा भएन । बिस्तारै हिँड्दै फोटो खिच्दै हामी पूर्वतिर लाग्यौं ।  

दिउँसो ठिक २ बजे राराको उत्तर–पूर्वी डाँडोबाट विकट पहाडको बीचमा तथा मुगु कर्णालीको खोचमा रहेको मुगु जिल्लाको सदरमुकाम गमगढी देखियो । जंगलको बाटोमा अलिक पर देखिएका एकजना बड्डालाई बाटो सोध्न खोज्दा उनी त गाईबस्तु छोडेर कुलेलम पो ठोके । पछि उनकी बुहारीबाट थाहा भयो–उनी निकुन्जको गस्ती टोली भन्ने ठानेर भागेका रहेछन् ।  

जंगलबाट बाहिर निस्केपछि एकठाउँमा धमाधम जमिन खार्ने काम भइरहेको थियो । त्यो त मुगु जिल्लामा बन्न लागेको ताल्चा विमानस्थल (८९२५ फिट) पो रहेछ । विमानस्थल बने पछिको रारा र मुगुको उज्वल भविष्य बारे कुरा गर्दै हामी लाग्यौं पिना गाउँतिर ।  

पिनाको टोप्ल गाउँमा गोरबहादुर कलेल ठकुरीको थारमा रहेको फेर्यामा गर्ल्यम्म ढलेर लोकनाथ जी ले भन्नुभयो, ‘भोक लागेर मर्न लागियो । मर्न दे पनि देउ, बचाए पनि बचाउ ।’ गोरबहादुर मज्जाले हाँस्नुभयो । उहाँले थुप्रै स्याउ, नून र खुर्सानी ल्याएर दिनुभयो । आहा, क्या ताजा र राम्रा स्याउ ! जे परे पनि पर्ला भनेर मस्तीसँग खाइयो । हाम्रो ब्रेकफास्ट र लन्च नै त्यही थियो । जसले ज्यान बचायो । केही घण्टा हिडेर हामी पिना गाउँकै तल गएर बास बस्यौं ।           

एघारौं दिन विहान प्रति रोटी १ रूपैयाँ तिरेर ४ वटा रोटी किनेर नून सहित झोलामा हाल्यौँ । अघिल्लो दिनबाट पाठ सिकेर नै हामीले त्यसो गरेका थियौं ।  

जुम्लाको पटमारा अन्तर्गत चौथा गाउँको महादेव प्रा. वि. मा काम सकेर हामी मालिका बोता स्थित बोता गाउँमा गइ व्यवस्थापन समितिका अध्यक्ष आकाशे रावलको घरमा बास बस्यौं ।  

बाह्रौं दिन नेपाल राष्ट्रिय नि. मा. वि. बोताको सर्वेक्षण कार्य बिहान १० बजे नै सुरू गरियो ।  प्रधानाध्यापकले दराजको साँचो नछोडी खलङ्गा गएकाले उपप्रधान पञ्च, समितिका अध्यक्ष, सदस्य तथा अभिभावकहरूको रोहबरमा मुचुल्का गरी दराजको ताल्चा फोरेर रेकर्ड तथा कागजपत्रहरू हेर्ने काम भयो ।  

तेह्रौं दिन बिहानै हामी खलंगाका लागि प्रस्थान गर्यौं । झरी र जुकाले गर्दा बहुत मुश्किलले सिप्टी पुगियो । खानपिन गरेर यात्रा जारी राखियो । थारमारेदेखी अलिक तलको उकालोमा भोजपत्रका रूखहरू भएको जंगल रहेछ । आफूलाई सर्वाधिक मन परेको मान्छेलाई विशेष खालको चिठ्ठी लेख्न भनेर मैले पनि भोजपत्र रूकस्याकमा हालें । तथापि त्यो मान्छे को हो भन्ने कुरा आफैलाई थाहा थिएन ।    

धेरै नै उचाईमा रहेको थार मारे पाटनको भैसी गोठमा ताजा दुध खान पाइने रहेछ । भोकको झोंकमा हरेकले २–२ मान दुध पिएर लाग्यौं डाँफे लेक तिर । डाँफे लेकबाट ओरालो झर्न लाग्दा जुम्ला उपत्यका देखेर आनन्द आयो । तर लेकको घाँस खाएको भैंसीको दुधले पेटमा हमला गरेकोले तीन जना तिन तिर जंगल पस्नुपर्ने अवस्था सिर्जना भयो ।  

साँझमा खलङ्गा पुग्दा तन लखतरान भएपनि मन चाहीँ एउटा युद्ध जितेर फर्केको सिपाहीको जस्तै प्रसन्न र गर्विलो भएको थियो । जिल्लाका १२४ विद्यालयहरू मध्ये ७ वटै मा. वि. सहित ३० वटा विद्यालयमा सर्वेक्षण कार्य ठ्याक्कै १ महिनामा सम्पन्न गर्दा गर्वको अनुभूति भयो ।  

नेपालगंज पुगेपछि बिदा लिएर घर जाने योजना भएकोले मैले खलङ्गा बजारमा प्रति के. जी. २.५० रूपैयाँको दरमा १२ के. जी. स्याउ, खुर्पाने र आरु किनेर आफ्नो रूकस्याक भरेको थिएँ । जुम्ला–नेपालगन्जसम्म हवाई भाडा पनि ५२० रूपैयाँ मात्र थियो त्यतिबेला ।   

सफलतापूर्वक मिसन सम्पन्न गरेर साउन ९ गते जुम्लाबाट फर्किने क्रममा हवाई जहाजले खलङ्गा बजार माथि फन्को मार्दा रारा ताल झैं छचल्कियो उमङ्गको छाल मनको मजेरीमा । जुम्ला र मुगुमा भेट भएका सबै मान्यवर सूचना दाता तथा अन्नदाता प्रति आभार प्रकट गरें हृदय बाटै । सदरमुकाम खलङ्गाबाट डेढ दिनको पैदल यात्रामा जिल्लाको सबैतिर पुग्न सकिने रमणीय जुम्ला जिल्ला मलाई असाध्यै मन पर्‍यो । मनमनै फेरी आउने वाचा गर्दा प्लेनले महावु लेक काट्न लागि सकेछ ।  
 


डा. कडेल शैक्षिक अनुसन्धाता तथा नीति विश्लेषक हुनुहुन्छ ।