जनगुनासो सुन्न पर्यटन मन्त्री श्रेष्ठ एकीकृत समाजवादीको पार्टी कार्यालयमा

जनगुनासो सुन्न पर्यटन मन्त्री श्रेष्ठ एकीकृत समाजवादीको पार्टी कार्यालयमा

लोकसंवाद संवाददाता  |  पर्यटन  |  श्रावण १६, २०७९

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सर्वसाधारणको आम चासोका समस्या समाधानमा सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

आइतवार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगर पुगेर कार्यकर्ता तथा जनताको गुनासो तथा समस्याबारे जानकारी लिंदै उहाँले सर्वसाधारणको आम चासोका समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको हो । 

मन्त्री श्रेष्ठसँग सर्वसाधारण तथा कार्यकर्ताहरुले व्यक्तिगत काम, स्थानीय समस्या तथा पुर्वाधार सम्वन्धी समस्या समाधानको माग गरेका थिए । करिव दुई घण्टा पार्टी कार्यालय रहनुभएका मन्त्री श्रेष्ठले झण्डै एक सय जनाको गुनासो सुन्नुभएको थियो । मन्त्री श्रेष्ठले जनताको समस्या समाधानमा आफु केन्द्रित हुने बताउनुभयो । 

उहाँले आफुले कार्यभार सम्हालेको छोटो अवधिमै नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना ल्याइ कार्यन्वयन अघि बढाएको जानकारी दिनुभयो । सेवाग्राही जनतालाई छिटो र गुणस्तरीय सेवा प्रवाह गर्न आफु प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । आमनागरिकलाई मन्त्रालयमै गएर गुनासो राख्न असहज रहेको अवस्थामा पार्टी कार्यालयमा जनताको गुनासो सुन्ने व्यवस्थाले सेवाग्राहीलाई सजिलो भएको उहाँको भनाइ छ । 

आफुले लक्ष्य तोकेर अघि बढाएका योजनाहरुको परिणाम केही समयभित्र देखिने र त्यसले मुलुकलाई दीर्घकालीन रुपमा फाइदा हुने उहाँले बताउनुभयो । नेता, सांसद र मन्त्रीसम्म पहुँच नभएका नागरिकहरुका गुनासो सुन्न र समाधान गर्न पार्टीबाट सरकारमा गएका हरेक मन्त्रीलाई हप्ताको एक दिन पार्टी कार्यालयमा पुगेर गुनासो सुन्ने व्यवस्था गरिएको छ । मन्त्रीको निवास र मन्त्रालयमा धाउनुभन्दा पार्टी कार्यालयमै आफ्ना समस्या मन्त्री समक्ष राख्न पाउँदा सर्वसाधारण खुसी व्यक्त गरि रहेका छन् ।