आर्थिक वर्ष २०७८/७९मा ५ अर्बको आईपीओ बजारमा

आर्थिक वर्ष २०७८/७९मा ५ अर्बको आईपीओ बजारमा

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १६, २०७९

काठमाडौँ । गत आर्थिक वर्ष २०७८–७९ मा २५ वटा कम्पनीहरु सेयर बजारमा थपिएका छन् । नेपाल धितोपत्र बोर्डको तथ्यांकअनुसार २५ वटा कम्पनीहरुले ५ अर्ब रुपैयाँभन्दा धेरैको सेयर आइपीओ मार्फत बिक्री गरेका छन् । जसमध्ये ७ वटा लघुवित्त, १६ वटा हाइड्रोपावर, एउटा लगानी र एक जीवन बीमा समूहको कम्पनीले आईपीओ जारी गरेको थियो । आईपीओ जारी गर्ने कम्पनीहरूमध्ये सबैभन्दा धेरै मध्य भोटेकोशी जलविद्युतले ९० करोड रुपैयाँ र साहस उर्जाले ७० करोड रुपैयाँको सेयर बिक्री गरेका हुन् । 

त्यस्तै, सानिमा लाइफ इन्सुरेन्सले ६० करोड रुपैयाँ बराबरको सेयर आईपीओ मार्फत बिक्री गरेको थियो । कम्पनीहरुले पुँजी जुटाउन सर्वसाधारणलाई सेयर बिक्री गर्दछन् । यसले उनीहरुलाई थप लगानी गर्न रकम प्राप्त हुन्छ । आईपीओमा आम लगानीकर्ताको आकर्षण पनि बढ्दै गएको छ । लगानीकर्ताहरुको आकर्षणसँगै डिम्याट खाताको संख्या पनि उच्च गतिमा वृद्धि हुँदै ५३ लाख नाघेको छ ।