वैदेशिक रोजगारीको कहर : बढ्दो पारिवारिक कलह र अपराधका कारुणिक दुश्य

लोकसंवाद टिप्पणी

वैदेशिक रोजगारीको कहर : बढ्दो पारिवारिक कलह र अपराधका कारुणिक दुश्य

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १७, २०७९

घटना–१ 
साउन ८ गते राति चितवनको भरतपुर महानगरपालिका–१० रमाइलो चोकका ४३ वर्षीय कृष्णप्रसाद आचार्यले आफ्नै श्रीमती ३५ वर्षीय रुष्मा आचार्य घिमिरेको खुकुरी प्रहार गरी हत्या गरे । श्रीमतीको हत्या गरी घरको तीन तलामाथिबाट सडकमा हामफालेका उनको पनि मृत्यु भयो । 

परिदृश्य 

श्रीमान् लामो समय वैदेशिक रोजगारीमा रहेका र श्रीमती चितवनमा शिक्षण पेशामा थिइन् । तर एक महिनाअघि सुटुक्क घर आएका कृष्णप्रसादले श्रीमतीको अन्य पुरुषहरूसँग सम्बन्ध रहेको शंका गर्थे । सोही कारण उनीहरुबीच विवाद बढ्दै गयो र रुष्माले प्रहरीमा घरेलु हिंसाको उजुरी दिइन् । सो विषयमा छलफल समेत भयो । उनीहरु अंशबण्डा गरेर सम्बन्ध बिच्छेद गर्न राजी भएका थिए । तर साउन ८ गते राति घरमै कृष्णप्रसादले श्रीमतीको हत्या गरे र आफूले पनि आत्महत्या गरे । 

घटना–२ 

काठमाडौंस्थित काभ्रेस्थलीमा सोमबार बिहान एकै परिवारको चार जना मृत अवस्थामा फेला परे । तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीस्थित घरमा दिनेश पाण्डे, उनकी श्रीमती सुनिता, १३ वर्षकी छोरीआशिका र ८ वर्षीय छोरा आशिक मृत अवस्थामा भेटिएका हुन् । बिहान सैनिक स्कुलमा पढ्ने आशिका विद्यालय जान बस चढ्न नआएपछि सबैले सोधिखोजी गरे । स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी पुगी ढोका फोडेर हेर्दा घरभित्र परिवारै सखाप भएको  वीभत्स दृश्य देखियो । 

‘मैले ११ वर्षसम्म कुवेतको तातो घाममा दुःख गरेर कमाएको सम्पत्ति श्रीमती र उसका माइतीले कब्जा गर्न खोजे, मलाई फसाएर मेरो सम्पत्ति हडप्न खोजिरहे । श्रीमती र श्रीमतीका दाजुहरूले मलाई पटक पटक थुनाएर सबै सम्पत्ति लैजान खोजेकाले यो कदम उठाउन बाध्य भएँ ।’

दिनेश करिब १२ वर्ष वैदेशिक रोजगारीका लागि कुवेत बसेका थिए । गोरखा स्थायी घर भएका दिनेशले काभ्रेस्थलीमा नै जग्गा किनेर घर समेत बनाएका थिए । श्रीमती सुनिताले लामो समयदेखि घर व्यवहार सम्हालेकी थिइन् । तर श्रीमान् दिनेशले आफ्नी श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेको शंका गर्थे । विवाद बढ्दै जाँदा श्रीमती सुनिताले प्रहरीमा उजुरी दिएकी थिइन् ।

सो विषयमा प्रहरीले केही पटक छलफल समेत गरेको थियो । दिनेश श्रीमतीसँग सम्बन्धबिच्छेद गर्न चाहन्थे । तर छोराछोरीको भविष्य बिग्रिने भन्दै सुनिताले सम्बन्ध बिच्छेद गर्न अस्वीकार गर्दै आफू नै वैदेशिक रोजगारीका लागि जाने निधो गरिन् । उनको बेलायतको भिसा समेत लागिसकेको थियो । तर उनले आफूले सोचेजस्तो विदेश उड्नुअघि नै देहत्याग गर्न बाध्य भइन । आइतबार राति छिमेकीका घरमा खाना खाएर घर फर्किएका दिनेश र सुनिताको परिवारले सोमबारको उज्यालो देख्न पाएन । दिनेशले आइतबार राति नै आफ्ना दुई सन्तानसहित श्रीमतीको हत्या गरी आत्महत्या गरे । 

प्रहरीले मृतक चारै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ । प्रहरीले घटनास्थलमा दिनेश पाण्डेले श्रीमती सुनिता र दुई छोराछोरीको ज्यान लिनुअघि लेखेको १० पेज लामो सुसाइड नोट फेला पारेको छ । सुसाइड नोटमा दिनेशले आफूले कुवेतमा ११ वर्षसम्म बसेर कमाएको सम्पत्ति श्रीमती र माइतीले कब्जा गरेर आफूलाई सिध्याउन खोजेपछि गम्भीर कदम उठाउन बाध्य भएको लेखेका छन् । 

उनले लेखेका छन्, ‘मैले ११ वर्षसम्म कुवेतको तातो घाममा दुःख गरेर कमाएको सम्पत्ति श्रीमती र उसका माइतीले कब्जा गर्न खोजे, मलाई फसाएर मेरो सम्पत्ति हडप्न खोजिरहे । श्रीमती र श्रीमतीका दाजुहरूले मलाई पटक पटक थुनाएर सबै सम्पत्ति लैजान खोजेकाले यो कदम उठाउन बाध्य भएँ ।’

दिनेशले आफूले श्रीमतीको हत्या गरी आत्महत्या गर्ने भएपछि छोराछोरीलाई एक्लै छाड्न नचाहेको बताउँदै लेखेका छन्, ‘मेरा बच्चा बच्चीको औधी माया लाग्छ । मैले बच्चा बच्चीलाई मायाले गर्दा सँगै लैजान कठोर कदम चाल्न बाध्य भएँ ।’

पाण्डेले आफूलाई श्रीमतीले मोबाइल समेत हेर्न नदिएको, लुकी लुकी अर्कैलाई म्यासेज र कल गर्ने गरेको लगायतका आशंका पनि गरेका छन् । 

देशमा रोजगारीका अवसर कम, बढ्दो महंगी, भ्रष्टाचार र बेथितिका कारण लाखौं युवायुवतीहरु वैदेशिक रोजगारीका लागि विदेश जाने गरेका छन् । सुन्दर देश खराब राजनीतिले कुरुप बन्दै गएको छ । युवाहरुमा निराशा चरम अवस्थामा छ । स्वदेशको कमाइले घर धान्न नै धौधौ छ ।

वैदेशिक रोजगारीका लागि विदेश जानेका आफ्नै दुःख त छँदैछन् । त्यसमाथि पनि वैदेशिक रोजगारीमा जाँदा पारिवारिक विश्वास घट्दै जाने र कलह सिर्जना हुँदा धेरै परिवार उजाडिँदै गएका घटना पनि प्रशस्त छन् । चितवनका कृष्ण र काठमाडौंका दिनेशको घटना त प्रतिनिधि घटना मात्रै हुन् । यस्ता घटनाहरु धेरै घट्दै आएका छन् । वैदेशिक रोजगारीबाट दिनेश र कृष्णले सुन्दर संसार बसाउन खोजेका थिए । तर उनीहरुबीचको शंकाले अन्ततः परिवार नै समाप्त भएको छ ।