जनता ठगीमा नपरुन् : पूर्व प्रधानमन्त्री नेपाल

जनता ठगीमा नपरुन् : पूर्व प्रधानमन्त्री नेपाल

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १८, २०७९

रौतहट । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनता बारम्बार ठगीमा पर्ने गरेको बताउनु भयो । रौतहटका विभिन्न नगरपालिकाहरुमा निर्माण हुने महत्वपूर्ण सहरी पूर्वाधारहरुको शिलान्यासका क्रममा रौतहट पुग्नु भएका नेपालले गौरमा आयोजित समारोहमा उक्त धारणा राख्नु भएको हो । 

उक्त समारोहमा सहरी विकास मन्त्री मेटमणि चौधरीले शिलान्यास भएका सबै योजनाहरु समयमै सकिने धारण राख्नु भएको थियो । 

सहरी विकास मन्त्रालयको आर्थिक वर्ष २०७९÷ ०८० को वार्षिक विकास कार्यक्रम अनुसार विनियोजित सहरी पूर्वाधार निर्माण अन्तर्गत गौर नगरपालिका –२ मा सभाहल, राजदेवी र गौर नगरपालिकाका विभिन्न सडक कालोपत्रे तथा ढलानसम्मका योजनाहरु रहेका छन् ।  

गौरमा बन्ने सभाहलको अनुमानित लागत २० करोड रहेको छ । ५०० सिट क्षमताको सभा हल करिब ६ कट्ठा क्षेत्रफलमा बन्ने छ । वातानुकुलित, अपाङ्गमैत्री, भूकम्प प्रतिरोधी, आपतकालीन द्वारहरु, वाटर फाउन्टेन सहित सुन्दर पार्क समेत रहने छ भने २४ महिना भित्र निर्माण कार्य सम्पन्न गरिने जनाइएको छ । 

त्यसैगरि गौर नपा–४ टिकुलिया मठदेखि तटबन्धसम्म र ट्रान्फर्मर चोकदेखि मुडवलवासम्म सडक कालो पत्रे तथा सडक ढलान गर्न १२ करोड, रामजानकी विवाह मण्डप निर्माणका लागि करिब ८ करोडका योजना रहेका छन् भने राजदेवी नगरपालिका १ देखि ९ सम्मका विभिन्न स्थानका सडक कालोपत्रे तथा ढलानका लागि ५ करोड छुट्याइएको छ ।  

शिलान्यास समारोहमा संघीय संसदको विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्का, संघीय सांसद सरला यादव, मधेस प्रदेश सरकारका मन्त्री तथा प्रदेश सभाका सदस्यहरुको विशेष उपस्थिति थियो ।