विश्वकप क्रिकेट २०१९ : श्रीलंकालाई मालिंगाको भरोसा

विश्वकप क्रिकेट २०१९ : श्रीलंकालाई मालिंगाको भरोसा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ १२, २०७६

काठमाडौं । आगामी मे ३० मा इग्ल्याण्ड तथा वेल्समा सुरु हुने विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकाले आफ्ना तीव्र गतिका बलर लासिथ मालिंगा (३५)माथि भरोसा जताएको छ ।

मालिंगा प्रतियोगितामा बढी उमेरका खेलाडीको सूचीमा सामेल छन् । तर, खेल हेर्दा उनी पाका खेलाडीजस्ता देखिँदैनन् । बढ्दो उमेरले उनको खेलमा असर गरेको छैन ।
मालिंगाले लगातार ८ खेलमा टिममा नपरेपछि गत अप्रिलमा कप्तानी छोड्नुपरेको थियो । मालिंगा टिम एकजुट गर्न असफल भएको श्रीलंका क्रिकेट बोर्ड चयन समितिको भनाइ छ । सिनियर खेलाडीसँग उनको राम्रो सम्बन्ध नरहेको उनलाई आरोप लागेको थियो । तर, बोर्डको निर्णयले मालिंगा निरास बनेका थिए । स्रोतका अनुसार मालिंगा सन्यासबारे विचार गरिरहेका थिए । तर, विश्वकप क्रिकेट टिममा चयन भएपछि उनले सन्यास लिएनन् ।

मालिंगा राम्रो प्रदर्शन गरेर आफ्ना आलोचकलाई जवाफ दिन चाहान्छन् । उनी १९९६ को विश्वकप इतिहासलाई पुनः दोहोर्याउन चाहान्छन् । जब श्रीलंकाले अस्ट्रेलियालाई हराएर विश्वकप उपाधि जितेको थियो ।

मालिंगाले भर्खरै सम्पन्न इण्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इण्डियन्सको तर्फबाट १६ विकेट लिएर आफू अझै विकेट लिन सक्षम भएको सावित गरिएका छन् । उनले अन्तिम ओभरमा गरेको प्रदर्शनकै कारण मुम्बईले चेन्नई सुपर किंग्सलाई हराएको थियो ।

त्यही कारण पनि मालिंगा श्रीलंकालाई उपाधि जिताउन कोशिश गर्नेछन् ।

श्रीलंका टिमका लागि पनि मालिंगाको लय राम्रो संकेत हो । विश्वकपका लागि छानिएको १५ सदस्यीय टोलीमा कयौं अनुभवी बलर छन् । यस्तोमा ३२२ एकदिवसीय विकेट लिएका मालिंगाले बलरलाई एकजुट गरी टिमलाई जिताउनुपर्नेछ । मालिंगाबाट सर्वश्रेष्ठ प्रदर्शन गराउनु श्रीलंकाका नयाँ कप्तान दिमुथ करुणारत्नेको पहिलो लक्ष्य हुनेछ ।
मालिंगाले विश्वकप जस्तो प्रतियोगितामा सम्झनलायक प्रदर्शन गरेका छन् । सन् २००७ को विश्वकपमा उनले साउथ अफ्रिकाविरुद्ध चार बलमा चार विकेट लिएका थिए । सन् २०११ को विश्वकपमा उनले केन्याविरुद्ध ह्याट्रिक गरेको खबर जागरण डट कममा छ ।