पेलोसीको ताइवान भ्रमण: एसिया प्रशान्त क्षेत्रलाई द्वन्द्वमा ल्याउने अमेरिकी नियत !

पेलोसीको ताइवान भ्रमण: एसिया प्रशान्त क्षेत्रलाई द्वन्द्वमा ल्याउने अमेरिकी नियत !

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १८, २०७९

एसिया विश्व व्यवस्थाको धुरीका रूपमा विकास हुँदै गएको छ । कुनै समय अमेरिकाको एकछत्र राज रहेको विश्व व्यवस्थामा अब विस्तारै रुस र चीन कडा प्रतिद्वन्द्वीका रूपमा देखापरिसकेका छन् । २००१ सेप्टेम्बर ११ मा अमेरिकामा अलकायदाले गरेको भीषण हमलापछि अमेरिका निरन्तर २० वर्ष अफगानिस्तानमा तालिबानविरुद्ध युद्ध लड्यो र गत वर्ष बिनाउपलब्धि फर्किन बाध्य भयो । यसबीचमा इराक र सिरिया जस्ता देशमा अमेरिका सैनिकसहित युद्धमा सामेल भयो ।

उक्त युद्धले अमेरिकालाई आर्थिक र सैन्य रूपमा समेत ठूलो क्षति पुग्यो । अमेरिका २० वर्षसम्म युद्धमा सामेल हुँदा चीन र रुसले आर्थिक, सामाजिक, सैनिक र सामरिक हिसाबले ठूलो फड्को मारिसकेका छन् । विश्वमा आफूलाई जित्नेगरी रुस र चीन विश्व राजनीतिका खेलाडीका रूपमा उदाएका अमेरिका देख्न चाहँदैन । त्यसैले अमेरिका यस क्षेत्रका देशलाई कुनै न कुनै युद्धमा होमेर आफूलाई फेरि अगाडि राख्न चाहन्छ ।

अमेरिकाले युक्रेनलाई सैन्यसहित सबै सहयोग दिने र नेटो सदस्य बनाउने आश्वासन दियो । सोहीअनुसार युक्रेन नेटोमा आबद्ध हुने तयारीमा लाग्यो । छिमेकी देश रुसको सुरक्षा चासोलाई बेवास्ता गर्दै युक्रेन रुसविरुद्ध आक्रामक रूपमा लाग्यो, जसको परिणाम अहिले युक्रेन रुसी आक्रमणबाट थिलथिलो बनेको छ ।

यतिबेला एसिया प्रशान्त क्षेत्रमा ताइबानलाई उचालेर चीनलाई युद्धमा धकेल्ने नीतिमा अमेरिका लागेको देखिन्छ । चीनको चर्को विरोधका बाबजुद अमेरिकी संसदको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले यही संकेत गरेको छ ।

चीनको चर्को दबाबबीच पेलोसी ४ वटा एसियाली देशको भ्रमणका क्रममा मंगलबार मलेसिया हुँदै ताइवान पुगेकी छन् । उनी चढेको यूएस सी-४० विमान मलेसियाबाट फिलिपिन्स सागर हुँदै ताइवान पुगेको छ ।

चिनियाँ जनमुक्ति सेनाको विमानले बाटो छेक्न सक्ने अनुमान गरेर पेलोसीको विमानले घुमाउरो बाटो तय गरेको अनुमान गरिएको छ । स्थानीय समयअनुसार १० बजेर ४३ मिनेटमा पेलोसीको विमानलाई ताइवानका सैन्य विमानले स्कर्टिङ गरेका थिए ।

चीनले पेलोसीको यो भ्रमण एक चीन नीति र अमेरिका-चीन सम्झौताको गम्भीर उल्लंघन भएको जनाएको छ । चीनले यसबाट चीन-अमेरिकाको सम्बन्धमा गम्भीर असर पर्ने उल्लेख गर्दै यसले चीनको सम्प्रभुता र क्षेत्रीय अखण्डताको समेत उल्लंघन भएको बताएको छ

उनको यस भ्रमणलाई लिएर अमेरिका र चीनबीच तनाव चुलिएको छ । अमेरिका र चीन दुवैले सैन्य गतिविधि र तयारी तीब्र बनाएका छन् । पेलोसी ताइवानमा उत्रिनै लाग्दा चिनियाँ यूएस- ३५ लडाकू विमानले ताइवानको जनसन्धि पार गरेको पिपुल्स डेलीले उल्लेख गरेको छ । पेलोसीले ताइवानमा त्यहाँकी राष्ट्रपति साई यिङ वेनसँग भेट गर्ने बताइएको छ । पेलोसी सन् १९९७ पछि ताइवानको भ्रमण गर्ने सबैभन्दा उच्च अमेरिकी अधिकारी हुन् । उनी अमेरिकी राष्ट्रपतिको उत्तराधिकारीको दोस्रो नम्बरमा पर्छिन् ।

ताइवान पुगेर ट्वीट गर्र्दै उनले लेखेकी छन्, ‘हाम्रो कंग्रेसको प्रतिनिधिमण्डलको ताइवान यात्राले यहाँको जीवन्त लोकतन्त्रको समर्थन गर्नका लागि अमेरिकाको अटुट प्रतिबद्धतालाई जनाउँछ ।’

उनले थप लेखेकी छन्, ‘यो हाम्रो इन्डो-प्यासिफिक भ्रमणको हिस्सा हो, जसमा सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापानको भ्रमण हुनेछ । यो भ्रमण सुरक्षा, आर्थिक साझेदारी र लोकतान्त्रिक शासनको मुद्दामा केन्द्रित छ ।’

न्यान्सीको यस भ्रमणले चीन भने आक्रोशित बनेको छ । चीनले यस भ्रमणको प्रतिक्रिया स्वरूप ताइवानको आसपासका क्षेत्रमा सैन्य अभ्यास गर्ने जनाएको छ । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले एक ट्वीटमा लेखेको छ, ‘चिनियाँ सेनाले ताइवानको मुद्दालाई लिएर ६ स्थानमा सैनिक अभ्यास गर्नेछ, जसमा लाइभ फायरको महत्त्वपूर्ण अभ्यास पनि हुनेछ ।’

चीनले पेलोसीको यो भ्रमण एक चीन नीति र अमेरिका-चीन सम्झौताको गम्भीर उल्लंघन भएको जनाएको छ । चीनले यसबाट चीन-अमेरिकाको सम्बन्धमा गम्भीर असर पर्ने उल्लेख गर्दै यसले चीनको सम्प्रभुता र क्षेत्रीय अखण्डताको समेत उल्लंघन भएको बताएको छ । चीनले यस भ्रमणबाट ताइवानको शान्ति र स्थिरतामा गम्भीर असर पुग्ने चेतावनीसमेत दिएको छ । उसले संसारमा चीन एउटा मात्र रहेको र ताइवान चीनको हिस्सा भएको उल्लेख गरेको छ ।

चीन र अमेरिकाबीचको पछिल्लो तनावले यस क्षेत्रमा फेरि एक पटक तनावको अवस्था सिर्जना गर्ने देखिएको छ । एसियाली क्षेत्रलाई द्वन्द्वमा धकेल्ने योजनाअनुसार नै पेलोसीले ताइवानको भ्रमण गरेको देखिएको छ ।