ताइवानलाई संकटमा धकेल्ने पेलोसीको विवादित भ्रमण
श्रावण १९, २०७९

अमेरिकी सभामुख न्यान्सी पेलोसी विवादित ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले सैन्य अभ्यासको घोषणा गरेको छ । एक चीन नीतिविपरीत अमेरिकी सभामुखको बलमिच्याइँले ताइवान नयाँ संकटमा धकेलिएको छ ।

पछिल्लो २५ वर्षमा अमेरिकी उच्चस्तरका नेताको यो पहिलो ताइवान भ्रमण हो । पेलोसी राष्ट्रपति र उपराष्ट्रपतिपछि तेस्रो वरीयतामा रहेकी नेता भएकाले पनि उनको भ्रमणलाई लिएर चीन आक्रोशित मात्र भएको छैन, कूटनीतिक सम्बन्धमा समेत दीर्घकालीन असर पुर्‍याउने खतरा छ । विश्वको उदाउँदो आर्थिक शक्ति चीनलाई जिस्क्याउने अमेरिकी रणनीतिमा ताइवान आफैँ पनि उत्तिकै जिम्मेवार छ ।

बिनापूर्वाग्रह ताइवान चीनको एक हिस्सा हो । सन् १९४९ अघि चीनको हिस्सा रहेको ताइवान सन् १९४९ को युद्धमा चिनियाँ कम्युनिस्ट पार्टीको सत्ता स्थापना भएपछि स्वतः चीनमा रहनुपर्नेमा अमेरिका र पश्चिममा शक्तिको आड भरोसामा च्याङ काई सेकको सत्ता स्थापना भएको ताइवान अहिले आफूलाई अलग देश ठान्दा एसिया प्रशान्त क्षेत्र फेरि युद्धको चपेटामा पर्ने खतरा बढ्न थालेको छ ।

अमेरिकी सभामुख पेलोसीको भ्रमणलाई चीनले एक चीन नीतिको गम्भीर उल्लंघन भन्दै नराम्रो परिणाम भोग्ने चेतावनी दिएको छ । पेलोसी आएसँगै चीनले ताइवानलाई घेरेर सैनिक अभ्यास थालेको छ । चीन र अमेरिकाबीच ताइवानको विषयलाई लिएर चुलिँदो विवादले एसिया प्रशान्त क्षेत्रलाई फेरि द्वन्द्वमा धकेल्ने खतरा बढेको धेरैको बुझाइ छ ।

२५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ पेलोसीले राजधानी ताइपेईमा त्यहाँका नेताहरूसँग भेटवार्ता गरेकी छन् । ४ वटा एसियाली देशको भ्रमणमा आएकी पेलोसी ताइवान पुगेपछि चीन यसबाट रुष्ट छ । चीनको दबाब र चेतावनीलाई बेवास्ता गर्दै पेलोसी ताइवान पुगेपछि चीनले ताइवानलाई घेर्ने नीति लिएको छ ।

ताइवान अभिन्न रूपमा चीनको हिस्सा भए पनि उसले पश्चिमा देशको संरक्षण पाउँदै आएको छ । चीनका विदेशमन्त्री वाङ यीले वक्तव्य जारी गर्दै भनेका छन्, ‘आगोसँग खेल्नेहरूको अन्त्य सुखद हुनेछैन र चीनको अपमान गर्नेहरूले सजाय भोग्नेछन् । अमेरिकाले तथाकथित लोकतन्त्रको आडमा चीनको सार्वभौमसत्ताको उल्लंघन गरेको छ ।’

अमेरिकाको ताइवान नीतिमा देखिएको दोहोरो चरित्रले अमेरिकी कथित प्रजातन्त्रको नाङ्गो रूप प्रस्ट देखिएको छ । एकातिर अमेरिकाले एक चीन नीतिमा दृढ रहेको दाबी गर्छ भने अर्कातिर चीनसँगको औपचारिक सम्बन्धलाई लत्याउँदै ताइवानको भ्रमण गर्दै दोहोरो कूटनीति खेल्छ ।

चीनसँग औपचारिक, तनावपूर्ण सम्बन्ध राख्ने अमेरिकाले ताइवानसँग भने आफ्ना हतियार बेच्नैका लागि अनौपचारिक सम्बन्ध राखेको छ । पेलोसीको भ्रमणको प्रतिक्रिया स्वरूप चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुद्र वरपर सैन्य अभ्यास घोषणा गरेको छ ।

आज (बिहीबार)देखि सुरु हुने ५ दिन लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा समेत हुनेछन्, जसमा लामो दूरीको प्रत्यक्ष गोलाबारीसमेत हुनेछ । कतिपय अमेरिकी अधिकारीहरू नै पेलोसीको यो भ्रमण तनाव बढाउने प्रयोजनका लागि प्रयोग हुन सक्ने बताउँछन् ।

चीनको रक्षा मन्त्रालयका एक प्रवक्ताले अभ्यासका क्रममा ताइवानको जलक्षेत्रमा प्रवेश गर्न सकिने बताएका छन् । ताइवानकी राष्ट्रपति साई यिङ वेनले ताइवानले जानाजान बढाइएका सैन्य खतराहरूको सामना गरिरहेको बताएकी छन् ।

उनले ताइवान पछि नहट्ने र आफ्नो आत्मरक्षा क्षमताहरू बलियो बनाउन जे पनि गर्ने जनाएकी छन् । अमेरिकाले ताइवानलाई जस्तोसुकै अवस्थामा सहयोग गर्ने वचन पेलोसीले दिएकी छन् । तर, अमेरिकी राष्ट्रपति जो बाइडेन स्वयं पनि पेलोसीको बलमिच्याइँपूर्ण भ्रमणको पक्षमा छैनन् । बढ्दो तनावबीच चीनले ताइवान र मुख्य चिनियाँ भू-भागको अनौपचारिक विभाजन रेखामाथि युद्ध विमानहरू उडाएको थियो ।

‘४० वर्ष पहिले अमेरिकाले सधैँ ताइवानलाई साथ दिने प्रतिबद्धता जनाएको थियो । आज हाम्रो प्रतिनिधिमण्डल हामी त्यो प्रतिबद्धता त्याग्नेछैनौँ भन्ने कुरा स्पष्ट पार्न आएका हौँ’, उनले भनिन् ।

८२ वर्षीया पेलोसीले यसअघि ताइवानको संसद्का उपसभामुख साई ची चाङसँग भेट गरेकी थिइन् । अमेरिकामा उनको भ्रमणबारे मत विभाजित भएको छ भने ह्वाइट हाउस स्वयंले उनको यात्राको विरोध गरेको छ । यसले एसिया प्रशान्त क्षेत्रमा चीनलाई युद्धमा फसाउने नीति मात्र नभएर अमेरिकाको दादागिरी समाप्त पार्न युक्रेनमा हतियार आपूर्तिसमेत गर्न प्रेरित भएको हुन सक्ने बताउँछन् ।

यदि चिनियाँ हतियार युक्रेनमा परीक्षणमा पुगेमा त्यसको शक्तिबारे जानकारी मिल्न सक्ने र चीन युद्धमा प्रवेश गरेको अवस्थामा चीन र रुस दुवैलाई एउटै युद्धबाट कमजोर बनाउन सकिने अमेरिकी रणनीति रहेको विश्लेषकहरू बताउँछन् ।

सैन्य शक्ति

ताइवानको विषयलाई लिएर तनावमा रहेका चीन र अमेरिका दुवै विश्वका शक्तिशाली सैनिक संगठन भएका देश हुन् । चिनियाँ जनमुक्ति सेना विश्वकै सबैभन्दा ठूलो सक्रिय सैनिक हो भने अमेरिकी सेना विश्वको तेस्रो ठूलो सक्रिय फौज हो । चिनियाँ सेनामा २३ लाखभन्दा बढी सक्रिय सैनिक, ५ लाख १० हजार रिजर्भ सैनिक र ६ लाखभन्दा बढी अर्धसैनिक बल छन् ।

अमेरिकी सेनासँग ८ हजार ८४८ ट्यांक, १५ हजार ८९३ एयरक्राफ्ट, ७२ वटा सबमरिन, ५ हजार ५५० परमाणु हतियार, २ हजार ८५ लडाकु विमान, ३९ हजार २५३ बख्तरबन्द छन् । उता, चीनसँग ९ हजार १५० ट्यांक, २ हजार ८६० एयरक्राफ्ट, ६७ वटा सबमरिन, ३५० परमाणु हतियार, ३३ हजार बख्तरबन्द गाडी, ५२ वटा युद्धपोत छन् ।

प्रशान्त महासागरका टापु राष्ट्रसँगै रहेको ताइवानमा अमेरिका जबर्जस्त आफ्नो पकड बनाउन चाहन्छ । त्यसैले ताइवान अमेरिकाको रणनीतिक स्वार्थकेन्द्र बन्दै छ । सन् २०१६ मा साई इङ वेन ताइवानको राष्ट्रपति बनेपछि चीन-ताइवान तनाव ४० वर्षयताकै खराब बनेको छ ।