चुनावी तालमेल गर्ने पाँच दलीय गठबन्धनको निर्णय: सिट बाँडफाँटको लागि ११ सदस्यीय कार्यदल

चुनावी तालमेल गर्ने पाँच दलीय गठबन्धनको निर्णय: सिट बाँडफाँटको लागि ११ सदस्यीय कार्यदल

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २०, २०७९

 काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको पाँच दलीय गठबन्धन बैठकले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो । 

बिहीबार सरकारले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेपछि शुक्रबार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेका हुन् । 

सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको गठबन्धन बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले न्युज कारखानालाई जानकारी दिए । 

उनका अनुसार कार्यदलमा कांग्रेसबाट तीन र बाँकी दलबाट दुई/दुई जना सदस्य छन् । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका उनले जानकारी दिए । 

यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्यमा रहेका भुसालले जानकारी दिए । कार्यदलको बैठक चाँडै बस्ने उनले जानकारी दिएका छन् ।