रमेश गौतम‘पाल्पाली’:‘गिभ मि वाटर’ वाक्यले पढ्न थालेका र अक्षर चिनेको दुई वर्षमै कविता लेख्ने सर्जक

रमेश गौतम‘पाल्पाली’:‘गिभ मि वाटर’ वाक्यले पढ्न थालेका र अक्षर चिनेको दुई वर्षमै कविता लेख्ने सर्जक

आशिष पौडेल  |  अन्तर्मन्थन  |  श्रावण २१, २०७९

८ कक्षा पढ्दै गर्दा एक दिन उहाँको काका जगदीशचन्द्र गौतम घरमा आएका बेला ‘गिभ मि वाटर’ भनेर भन्नुभयो । काकाले उहाँलाई तिमी त बुझ्दैनौ क्यार भन्नुभयो । यो एक वाक्य नै उहाँको जीवन बदल्न काफी साबित भयो । उहाँको काकाले पछि सचिव भएर अवकाश पाउनु भएको थियो । 

उहाँको परिवार सम्पन्न परिवार हो । घरमा खानपिनको कुनै दुःख थिएन । काम गर्ने नोकर चाकर थिए । २०२२ सालमा भूमिसुधार लागू भएपछि पाल्पामा उहाँहरुको १० हजार रोपनी जग्गा सरकारीकरण भयो । यसबाट पनि उहाँहरुको त्यस बेलाको सम्पन्नता थाहा पाउन सकिन्छ ।

उहाँको पिताजी आयुर्वेदका ज्ञाता हुनुहुन्थ्यो । उहाँलाई चन्द्र शमशेरले आयुर्वेद पढ्नका लागि काठमाडौँ पठाउनु भएको थियो । तीनधारा पाठशालामा पढेपछि पिताजी पढ्नका लागि बनारस पनि जानुभयो । केही समय आयुर्वेदका औषधि बनाउने र उपचार गर्ने काम पनि गर्नुभयो । जायजेथा प्रशस्त थियो । 

शायद सम्पन्न परिवार नोकर, चाकर पनि भएको अनि खान लाउन दुःख नभएकोले हो कि के ले हो वा काममा मन मरेर हो पिताजीले सबै काम छोडेर यत्तिकै बस्नुभयो । 

उहाँको हजुरबा अर्घाखाँचीको खिदिमबाट पाल्पा आउनु भएको हो । हजुरबा राणाकालमा गौरमा कामु बडा हाकिमसम्म हुनु भएको थियो । उहाँको जन्म १९९७ सालमा पाल्पामा भएको हो । खानपिन दुःख नभएको र गाउँमा स्कूल पनि नभएकोले होला उहाँहरुले पढाइमा खासै रुचि राख्नुभएन । उहाँका ६ दाजुभाई, ४ दिदी बहिनी । उहाँ भाइमा साहिँलो । 

००० 

१७ वर्षको उमेरसम्म जंगलमा गोठालो गएर, साथीभाइसँग खाइ खेली हुर्किएको केटोलाई काकाको ‘गिभ मि वाटर’ भनेको के भन्ने बुझ्दैनौ भन्ने वाक्यले उहाँलाई भित्रैबाट पोल्यो र उहाँले पिताजीलाई अब म पनि पढ्नु पर्यो भन्ने प्रस्ताव राख्नुभयो । 

उहाँको प्रस्तावले पिताजी खुशी नहुने कुरै भएन । किनकि पिताजीलाई कुनै पनि छोराले पढेनन् भनेर चिन्ता परेको थियो । उहाँको माहिलो दाई पनि कटहर वन गौरबाट नपढि कन भागेर आउनु भएको थियो । ठूलो दाइलाई पनि पिताजीले पढाएर सप्ताह भन्ने हुनु भएको थियो । तर, उहाँ पनि छोडेर प्रहरीमा जागिर खान जानुभयो ।

यतिसम्म कि छोराहरुले नपढेपछि पिताजीले घरमा काम गर्ने नोकरलाई विस्तारै हटाउनु भयो र उहाँहरुलाई अब तिमीहरुले घाँस काट्ने गोठाला जाने गर्नुपर्छ भन्नुभयो । यसले त उहाँलाई झन पो रमाइलो भयो । दिउँसो जंगलमा गोठाला गएर साथीभाइसँग खेल्न पाउँदा झन पो रमाइलो भयो । पौडी खेल्ने, खोपी खेल्ने, पांग्रा गुडाउने आदि गर्न पाउँदा झन मज्जा पो भयो । 

१७ वर्ष पूरा भएर १८ वर्ष लागेपछि हरिहर संस्कृत पाठशालाबाट बल्ल उहाँको पढाइको औपचारिक सुरुवात भयो । पिताजीले लगेर हरिहर संस्कृत पाठशालामा भर्ना गरिदिनु भयो । ढुण्डीराज शास्त्री, मोदनाथ प्रश्रित, माधव गौतम आदिले यही हरिहर संस्कृत पाठशालामा पढ्नु भएको हो । 

हरिहर संस्कृत पाठशालामा जानु अघि उहाँलाई पिताजीले घरमै पनि पढ्ने बन्दोबस्त मिलाउनु भएको थियो । रुद्री, अमर कोषको १/२ अध्याय उहाँलाई कण्ठ आउँथ्यो । तर, लेख्न भने आउँदैन थियो ।

उहाँ अर्घाखाँचीको खिदिममा रहेको हरिहर संस्कृत पाठशालामा वेदमा भर्ना हुनुभयो । तर, समस्या के रह्यो भने अक्षर लेख्न नै नआउने । त्यसमा वेदका ८/९ वटा जोडिएका अक्षर फुटाउने कसरी उहाँलाई समस्या पर्यो । 

उहाँ २०१४ साल असार महिनामा गएर भर्ना हुनुभएको थियो । जाँच मंसिरमा थियो । उहाँले केवल १६ वटा मन्त्र पढ्नु भएको थियो । वेद चार वर्षको कोर्स थियो । मंसिरमा जाँच हुँदा केही साथीले यो उमेरमा अब के ४ वर्षको वेद पढेर कहिले पढि सिध्याउने भनेपछि उहाँले वेद छोडेर अर्को विषय रोज्ने विचार गर्नु भयो । अक्षर नचिनेको भनेर अरु ठूला मान्छेलाई भन्न लाज लागेपछि उहाँले एउटा सानो केटोसँग अक्षर लेख्न सिक्नुभयो । १०/१२ दिनमा उहाँ राम्रोसँग अक्षर लेख्न सक्ने हुनुभयो । त्यसपछि उहाँले मध्य कौमुदीको पञ्च सन्धी सकाउनु भयो । 

जाँच दिने बेलमा उहाँले गुरु कौमुदीको जाँच दिन्छु भनेर भनेपछि गुरुले नाइँ भन्ने कुरो भएन । उहाँ कौमुदीमा पास हुनुभयो । त्यसपछि उहाँले गुरुलाई अब वेद पढ् दिन कौमुदी पढ्छु भनेर वेद नपढेर कौमुदी पढ्न थाल्नुभयो । 

०००

दुई वर्ष हरिहर संस्कृत पाठशालामा पढेपछि उहाँ २०१७ साल मंसिरमा बनारस जानुभयो । बनारस गएर बनारस संस्कृत विश्व विद्यालयमा पूर्व मध्यमाको जाँच दिनुभयो । उहाँको केवल १० नम्बर पुगेन प्रथम श्रेणीको लागि । दोस्रो तेस्रो वर्षदेखि उहाँले ३/४ वटा परीक्षा दिन थाल्नुभयो । 

मध्यमाको परीक्षामा उहाँ बोर्ड सातौँ हुनुभयो भने मोदनाथ प्रश्रित भने बोर्ड फस्र्ट हुनुभयो । ठिक एक वर्ष अघि हेमराज पौडेल र प्रदीप पनि बोर्डमा आउनु भएको रहेछ । उहाँहरुले बोर्डमा आए बापत छात्रवृत्ति खाइरहनु भएको थियो । अब फेरि नेपालबाट बोर्ड फस्र्ट र सातौँ हुँदा भारतीयले हाम्रो भाग खाइदिए भनेर झन रिस गरे । 

बोर्डमा आएपछि उहाँहरुले पढ्नका लागि छात्रावास तथा महिनाको ६० रुपैयाँ छात्रवृत्ति पनि पाउनुभयो । हरिहर संस्कृत पाठशालामा पनि उहाँले १५ रुपैया वृत्ति पाउनु भएको थियो । १५ रुपैयाँले जेनतेन पुर्याएको मान्छेलाई खान बस्न सुविधासहित ६० भारतीय रुपैयाँ छात्रवृत्ति पाएपछि के चाहियो र ! 

उत्तर प्रदेश सरकारले पनि २० रुपैयाँ छात्रवृत्ति दिन्थ्यो । मोदनाथ प्रश्रित भने बोर्ड फस्र्ट भएकोले दुवै छात्रवृत्ति गरी ८० भारतीय रुपैयाँ पाउनुहुन्थ्यो । तर, उहाँ भने सातौँ भएकोले उत्तर प्रदेश सरकारले दिने २० रुपैयाँ र विश्वविद्यालयले दिने ४० गरेर ६० रुपैयाँ पुग्थ्यो । 

पहिलो वर्ष उहाँहरु पास हुनुभयो शास्त्री । तर, उहाँहरुले आयुर्वेद पनि पढ्नु पर्छ भनेर संन्यासी कलेजमा प्राइभेट आयुर्वेद विशारद फर्म भर्नुभयो । हाइस्कुल पनि पढ्नुपर्छ भनेर अर्का फर्म पनि भर्नुभयो । त्यो वर्ष हाइस्कुलको परीक्षा दिनुभएन । शास्त्रीको दोस्रो वर्षमा भने उहाँ ३/४ महिना बिरामी हुनुभयो । शायद टीबी भयो कि भन्ने लाग्छ उहाँलाई । 

उहाँले त्यसबेला हालका माओवादी नेता रामबहादुर थापा बादल लगायत कांग्रेसका नेताहरु सबैलाई प्रजातन्त्र सबैलाई चाहिने कुरा हो त्यसैले रोल्पामा एउटा सिन्को पनि नभाँचिने स्थिति हुनुपर्छ भनेर परिस्थितिलाई सहज बनाएका कारण उहाँले असुरक्षा महसुस गर्नु परेन । 

 

अब उहाँहरुको शास्त्री त छँदैछ त्यसदेखि बाहेक आयुर्वेद विशारद, हाइस्कुलको अंग्रेजी अनि विशिष्ट अंग्रेजीको पनि परीक्षा दिनु थियो । विश्वविद्यालयमा विशिष्ट अंग्रेजी पढ्न पाइन्थ्यो । तर, हाइस्कुलको अंग्रेजी भने पढ्न पाइँदैन थियो । संस्कृतको छात्रवृत्ति खाएको विद्यार्थीले हाइस्कुलको अंग्रेजी पनि पढ्छ भनेर अरु भारतीय विद्यार्थीले कुरा लगाइदेला न भनेर उहाँहरु हाइस्कुलको अंग्रेजी किताब भने डस्ना मुनि हालेर लुकाएर राति मात्र पढ्नुहुन्थ्यो । 

 

बिरामी भएपछि बोर्डमा आएको मान्छेको परीक्षा बिग्रन्छ भनेर उहाँले दोस्रो वर्ष शास्त्रीको परीक्षा भने दिनु भएन । तर, हाइस्कुलको परीक्षा दिने भने मनसायमा हुनुहुन्थ्यो उहाँ । त्यसका लागि अंक गणित त थाहा थियो तर बीज गणित र ज्यामितिका बारेमा भने केही थाहा थिएन । पढ्नका लागि छात्रावासमा लुकेर पढ्नु पर्ने कारणले पनि यी विषय उहाँहरुले पढ्न पाउनु भएन । 

उहाँ यति बिरामी हुनुहुन्थ्यो कि रिक्सा खोज्न सडकसम्म जाने सामथ्र्य थिएन । त्यसपछि मोदनाथले रिक्सा लिएर आउनु भयो र उहाँ परीक्षा दिन जानुभयो । मोदनाथ भने परीक्षा दिन नगइ भात पकाएर बस्नु भयो । उहाँ परीक्षा दिन गएको पनि अर्को वर्षको लागि प्रश्नपत्र कस्तो आउँछ भन्नका लागि मात्र थियो । 

तर, परीक्षामा सामेल भइसकेपछि एक घण्टा नभइकन निस्कन पाइँदैनथ्यो । त्यसैले त्यो एक घण्टा उहाँ आफूलाई जे जे आउँछ त्यो त्यो लेखेर प्रश्नपत्र लिएर आउनु भयो । 

त्यस वर्ष हाइस्कुलको जाँच दिएर आएपछि उहाँ अर्को वर्ष पनि बनारस जानुभएन । त्यस बेला पाल्पामा एउटा हाइस्कुल खोल्नु पर्यो भनेर उहाँहरुले एउटा हाइस्कुल बनाउनु भयो । एक वर्ष उहाँको हाइस्कुल खोल्नमा बित्यो । बल्ल अर्को वर्ष उहाँ बनारस जानुभयो । 

जाँच दिएर आएको छ कति नम्बर आएछ हेरौँ न त भन्ने खुल्दुली भयो उहाँलाई । पास हुने भन्ने त कल्पनाको कुरो पनि थिएन । तर, अचम्म के भने उहाँ हाइस्कुल पनि सेकेण्ड डिभिजनमा पास हुनु भएछ । साथै विशिष्ट अंग्रेजी पनि पास हुनु भएको रहेछ । आयुर्वेद विशारद पनि पास हुनुभएछ । अब के चाहियो यति भएपछि । 

परीक्षा नदिएपछि छात्रवृत्ति काटियो उहाँको । अनि उहाँले शास्त्री दोस्रो वर्षको परीक्षा विडाल कलेजमा गएर दिनुभयो । यसरी शास्त्री उहाँले सेकेण्ड डिभिजनमा पास गर्नुभयो । त्यसपछि उहाँ घर फर्किनुभयो ।

००० 

त्यस बेला पाल्पा कलेजका सेक्रेटरी रामचन्द्र मान सिंहका बुवा हुनुहुन्थ्यो । उहाँले नेपाली पढाउने माधव प्रसाद देवकोटा बुढो भएकोले उहाँलाई नेपालीमा एमए गरेर आउन भन्नुभयो । एमए त्यतिखेर दुई वर्षको थियो । त्यतिन्जेल म हेरौँला भनेर सेक्रेटरीले उहाँलाई भन्नु भएको थियो । 

उहाँ काठमाडौँमा नेपालीमा एमए गर्न आउनु भयो । तर पढ्न आएको मान्छेसँग कति न पैसा हुन्छ र ! घरबाट ल्याएको खर्च सकियो । उहाँले आयुर्वेदमा स्नातक गर्नु भएको थियो । तर, लोकसेवा आयोगमा जागिर खान जाँदा अधिकृत नभएर एक तह मुनि नासुमा जागिर खान भन्यो । उहाँलाई एक तह मुनि घटेर जागिर खान मन लागेन । उहाँसँग शास्त्री, हिन्दी विशारद, हिन्दी रत्न गरेर ४/५ वटा स्नातक तहका प्रमाणपत्र थिए । तर, खर्च सकिँदै गएपछि अब जागिर खानुपर्ने वाध्यता आइलाग्यो । नासु मै भए पनि जागिर खानुपर्छ भनेर उहाँ जानुभयो । तर, त्यस वर्ष नाम निस्केन । पछि नाम निस्कियो र उहाँ नासु हुनुभयो । या २०२३ सालको कुरा हो  यो । 

त्यसबेला उहाँको तलब २ सय २५ रुपैयाँ थियो । उहाँ त्यसबेला ओमबहालमा डेरामा बस्नुहुन्थ्यो । डेरा भाडा ५० रुपैयाँ थियो भने भात पकाउने भाँडा माझ्ने मान्छे समेत राख्नु भएको थियो जसले मासिक १५ रुपैयाँ लिन्थ्यो । खानपिनमा एक सय खर्च भए पनि एक सय रुपैयाँ जोगिन्थ्यो । जुन त्यस बेलाको लागि एकदमै ठूलो रकम थियो । 

पछि उहाँले लोकसेवामै नाम निकालेर अधिकृतको जागिर खानुभयो । यो भने २०२७ सालको कुरा हो । अधिकृत भएपछि उहाँ लोकसेवाको लुम्बिनी अञ्चल प्रमुख भएर लुम्बिनी जानुभयो । २०३० सालमा लोकसेवाको क्षेत्रीय कार्यालयहरु खुलेपछि पोखरामा कामु क्षेत्रीय निर्देशक बनेर जानुभयो ।  

पछि लोकसेवामै उप–सचिव पनि हुनुभयो । उप–सचिवमा ५ वर्ष जागिर खाएपछि २०३४ सालमा क्षेत्रीय निर्देशक बनेर सुर्खेत जानुभयो । उहाँकै निर्देशनमा सुर्खेतमा लोकसेवाको कार्यालय भवन पनि बन्यो । नत्र लोकसेवाको आफ्नो भवन कहीँ पनि थिएन । सुर्खेतमा छ वर्ष बस्नु भयो । त्यस बेला राजाको क्षेत्रीय भ्रमणहरु हुने गर्थ्यो । उहाँ गएको सुर्खेत गएको वर्ष नै राजाको भ्रमण भएको थियो । 

सामान्यतया दुई दुई वर्षमा सरुवा हुने प्रचलन छ । तर, उहाँ भने छ वर्षदेखि सुर्खेतमै हुनुहुन्थ्यो । दोस्रो पटकको राजाको क्षेत्रीय भ्रमणका बेला राजाले कति वर्ष भयो यहाँ बसेको भन्दा छ वर्ष भन्ने उहाँको उत्तरपछि बल्ल उहाँको सरुवा काठमाण्डौमा भयो । 

काठमाडौँमा सरुवा भएपछि उहाँले सिडिओको तालिम पनि लिनुभयो । उहाँको हरेक पटक सरुवा हुँदा सचिवले सरुवा भएको नभन्ने अनि लोकसेवामै काम गराइरहने गर्ने रहेछन् । रामचन्द्र उपाध्याय (जो गृह सचिव तथा पछि निर्वाचन आयोगको आयुक्त पनि हुनुभयो ।) सुर्खेतमा भएको बेलामा उपाध्यायले अब म बुढो भइसके तिमीले सबै काम गर्नुपर्छ भनेर २०३८ सालमा भएको जनमत संग्रह तथा आम चुनाव पनि सिडिओको हैसियतमा गरिसक्नु भएको थियो । त्यसबेला उहाँ क्षेत्रीय निर्देशक हुनुहुन्थ्यो । 

अवकाशको दुई वर्ष भने उहाँका धेरै लेख लेखेर बिते । तर, पछि लेख्ने मान्छे पनि धेरै भए अनि लेख छपाउन सम्पादकको चाकडी गर्नुपर्ने जस्तो अवस्था आयो । त्यसपछि उहाँले अखबारी लेखन भने बन्द गर्नुभयो । बरु आफैँ किताब निकाल्छु भनेर उहाँले जय भ्रष्टाचार भन्ने व्यंग्य संग्रह निकाल्नु भयो ।

उपाध्याय गृह सचिव भएको बेला रमेश सिडिओको रुपमा रोल्पा जानुभयो । उहाँ २०४६ सालको आन्दोलनमा रोल्पामा हुनुहुन्थ्यो । त्यसबेला प्युठान, रोल्पा जताततै का सिडिओ हरु सुरक्षाका कारण सेनाको ब्यारेकमा बस्थे । तर, उहाँले भने सबैलाई कुरा मिलाएर काम गर्ने हुनाले त्यस्तो अवस्था आएन । 

त्यो भनेको उहाँले त्यसबेला हालका माओवादी नेता रामबहादुर थापा बादल लगायत कांग्रेसका नेताहरु सबैलाई प्रजातन्त्र सबैलाई चाहिने कुरा हो त्यसैले रोल्पामा एउटा सिन्को पनि नभाँचिने स्थिति हुनुपर्छ भनेर परिस्थितिलाई सहज बनाएका कारण उहाँले असुरक्षा महसुस गर्नु परेन । 

उहाँले उमेर हदका कारण सचिव भने हुन पाउनु भएन । यसमा ढिलो पढाइ शुरु गरेर ढिलो जागिर खानु अनि २०४६ सालको प्रजातन्त्र प्राप्तिपछि ५ वर्ष पदोन्नति नभएका कारण उहाँले सचिव हुने अवसर भने पाउनु भएन । तर, उहाँले जुन उमेरमा पढाइ शुरु गरेर जुन उपलब्धी हासिल गर्नुभयो त्यो भने गर्व गर्न लायक भने पक्कै छ । 
०००

उहाँको साहित्य तर्फको यात्रा भने मोदनाथ प्रश्रित साथी भएका कारण उहाँको प्रेरणामा शुरु भएको हो । खिदिममा बस्दा देखि नै मोदनाथ जी कविता लेख्नुहुन्थ्यो । उहाँले ९ वर्षको उमेरमा त कविता लेखेर पुरस्कार नै प्राप्त गरिसक्नु भएको रहेछ । यसको प्रभाव भने उहाँमा पनि पर्यो । 

२०१५ सालमा उहाँ छात्र संघको अध्यक्ष हुनु भएको थियो । २०१६ सालमा नै एउटा किताब निकाल्ने भनेर प्रश्रितले अलि अलि सम्पादन गरेर उहाँले पनि कविता लेख्नुभयो । खिदिमबाट निस्किएको त्यही किरण भन्ने पत्रिकालाई उहाँहरु बनारस पढ्न गएपछि बनारसबाट प्रकाशन गर्नुभयो । त्यसमा उहाँको संस्कृतको कविता प्रकाशन भएको छ । अक्षर चिनेको दुई वर्षमा उहाँ कविता लेख्ने भइसक्नु भएको थियो ।

पूर्व मध्यमामा उहाँले नेपाली विषय पनि लिनु भएको थियो । त्यसैले बनारसबाट निस्कने पत्रिकाहरूमा नेपाली तथा संस्कृतको कविता प्रकाशन गर्ने गर्नुहुन्थ्यो । उहाँहरुले बनारसको संस्कृत विश्वविद्यालयमा नेपाली विषय राख्नका लागि आन्दोलन नै गर्नुभयो ।

बनारसमा रहँदा पनि उहाँले धेरै लेखहरु लेख्नु भयो । लोकसेवाले त्यस बेला निजामति सेवा पत्रिका निकाल्ने गथ्र्यो त्यसमा पनि उहाँले लेखहरु लेख्ने गर्नुहुन्थ्यो । 

मोदनाथ प्रश्रित र उहाँ दुई वर्ष बनारसमा छात्रावासमा बस्दा छन्दमा कविता लेख्नका लागि गद्यमा नबोल्ने भनेर पद्यमै बोल्ने अभ्याससमेत गर्नुभयो । जसले छन्दमा कविता लेख्न निकै सघाउ पनि पुर्‍यायो । छन्दमा बोल्ने अभ्यासले उहाँले महाकाव्य लेख्दा दिनको डेढ सयसम्म अनुष्टुप छन्द लेख्नु भएको छ । 

सह–सचिवको प्रमोसनको लागि त्यस बेला एउटा कृति चाहिन्थ्यो । त्यस बेला उहाँले प्रशासन किन र कसरी भन्ने पुस्तक लेख्नु भएको थियो । जुन २०४५ सालमा प्रकाशनसमेत भयो । तर उहाँ सरुवा भएर रोल्पा जानुभयो । त्यसको यहाँ कसैले मूल्यांकन गरेनन् । जसका कारण पनि उहाँको प्रमोशन रोकियो र उहाँ त्यस बेला सह–सचिव हुन पाउनु भएन । सह–सचिवको प्रमोशन ढिलो हुँदा सचिव नभइकन अवकाशसमेत हुनुपर्यो ।

लेख्न र उहाँले व्यंग्य पनि लेख्नु भएको छ। तर, उहाँलाई भने उपन्यास लेखनमा बढी रुचि छ । अवकाशपछि उहाँले फुर्सदको समयमा कान्तिपुर, स्पेश टाइम, राजधानीलगायतका पत्रिकामा अनेकौँ लेख लेख्नुभयो । यतिसम्म भयो कि राजधानी दैनिकमा नाम फेरेर उहाँले आयुर्वेद तथा अन्य विषयमा हप्ताको दुई वटा लेख्नुहुन्थ्यो । स्पेश टाइममा त उहाँले कोही सिद्धि राजका नाममा, कोही रमेशचन्द्र गौतम अनि आफ्नै नाममा गरेर नाम फेरेर हप्ताको तीन वटासम्म पनि लेख दिनुपर्ने अवस्था आयो । 

अवकाशको दुई वर्ष भने उहाँका धेरै लेख लेखेर बिते । तर, पछि लेख्ने मान्छे पनि धेरै भए अनि लेख छपाउन सम्पादकको चाकडी गर्नुपर्ने जस्तो अवस्था आयो । त्यसपछि उहाँले अखबारी लेखन भने बन्द गर्नुभयो । बरु आफैँ किताब निकाल्छु भनेर उहाँले जय भ्रष्टाचार भन्ने व्यंग्य संग्रह निकाल्नु भयो । 

उहाँको प्रकाशित कृतिमा पागलको डायरी कविता संग्रह (२०३०), प्रशासन किन र कसरी  (प्रशासन २०४५), जय भ्रष्टाचार (व्यंग्य संग्रह २०५८), एक मोहर (कथा संग्रह २०६०), सिंहावलोकन (जीवनी परक इतिहास २०६२), डाक्टर नै किन (आयुर्वेद चिकित्सा २०६४), सन्तान (महाकाव्य २०६७), भाँचिएको लौरो (उपन्यास २०७०), सहारा (उपन्यास २०७२) आलो घाउ कविता संग्रह (२०७४), जीवनका माेडहरू कथा संग्रह (२०७४)  रहेका छन् । उहाँ जागिरको क्रममा २०३५ सालमा सुर्खेतबाट जुम्ला जाँदा कालिकोट तथा मुगु पैदल हिँडेर जानुभयो । त्यस बेला त्यहाँ देखेका छुवाछुतको घटनालाई लिएर उहाँको अछुत भन्ने उपन्यास निस्कने तयारीमा छ । अर्काे एउटा वटा आयुर्वेद सम्बन्धी बाल कथा पनि प्रकाशनको तयारीमा रहेको छ जुन प्रेसमा गइसकेको छ । 

उहाँले विभिन्न पुस्तक तथा पत्रिकाहरू सम्पादन पनि गर्नुभएको छ । उहाँले सरकारी सेवाका विभिन्न अलङ्कार तथा पदकहरू पनि प्राप्त गर्नुभएको छ । दधिराम मरासिनी स्मृति प्रतिष्ठानबाट सम्मान तथा पुरस्कार, नौलो नेपाली सम्मान, लोक सेवा आयोग सम्मान, भानुभक्त द्वि शतवार्षिकी समारोह सम्मान तथा पुरस्कारलगायत थुप्रै सम्मान तथा पुरस्कार प्राप्त गर्नु भएको छ । 

उहाँ दायित्व वाङ्मय प्रतिष्ठान, दधिराम मरासिनी प्रतिष्ठान, गौतम समाज लगायतको आजीवन सदस्यको जिम्मेवारीमा  हुनुहुन्छ ।