सुक्खा पहिरोले खोटाङको ऐसेलुखर्क जलेश्वरीस्थित माझगाउँ उच्च जोखिममा !

सुक्खा पहिरोले खोटाङको ऐसेलुखर्क जलेश्वरीस्थित माझगाउँ उच्च जोखिममा !

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २३, २०७९

खोटाङ । सुक्खा पहिरो जाँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीमा गाउँ नै जोखिममा परेको छ । शनिबार राति ठूलो पाखा पहिरोको रुपमा खस्दा जलेश्वरी माझगाउँका १८ घर परिवार जोखिममा परेको हो । माझगाउँको अर्को पाटोको भीर पाखो ठूलो सुक्खा पहिरोको रुपमा खसेको हो । झन्डै चार सय मिटर फैलिएको पहिरो करिब सात सय मिटर तल मेकु खोलामा थुप्रिएको छ । पहिरोका कारण वस्ती मात्र नभएर स्थानीय जनकल्याण आधारभुत विद्यालय जोखिममा परेको व्यवस्थापन समिति अध्यक्ष धन कुमार राईले बताए । 

पहिरोका कारण रुद्रबहादुर राई, अधिराज राई, ललितकुमार राई, चन्द्रबहादुर राई लगायतको घर पहिरोको उच्च जोखिममा परेको छ । उनीहरुको घरबाट करिब ५०/६० मिटरको दुरीमा पहिरो आइपुगेको छ । विद्यालयको खेलमैदान नजिकसम्म पहिरो गएपछि विद्यार्थी त्रासमा छन् । विद्यार्थी पहिरोमा खस्ने त्रासले पहिरोको डिलमा घोराबारा हालिएको छ । सो पहिरोले दिप्दीमावा–माझगाउँ–देल्बाया सडकको करिब दुई सय मिटर भाग बगाएको छ । केही मुनिबाट सुरु भएको अर्को पहिरोले समेत माझगाउँ जोखिममा पारेको छ । 

    दुई र तीन वर्षदेखि सामान्य धाँजा फाटेको पाखोमा सामान्य वर्षाकै बीच पहिरो गएको हो ।