पर्यटनमन्त्री जीवनराम श्रेष्ठद्वारा गुँला पर्वको अवसरमा स्वयम्भू महाचैत्यको परिक्रमा
श्रावण २३, २०७९

 काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ सोमबार गुँला पर्वमा सहभागि भइ काठमाडौंको स्वयम्भू महाचैत्य परिक्रमा गर्नुभएको छ । नेपाल सम्वतको गुँलाथ्व  पारुदेखि लाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ स्वयम्भू महाचैत्यको परिक्रमा गरिन्छ । यसैक्रममा आज बिहान मन्त्री श्रेष्ठ स्वयम्भु भगवानको दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमा गर्नुभएको हो । 

गुँला पर्व बुद्ध धर्मवालम्बी नेवार समुदायको मात्र नभएर सम्पूर्ण नेपालीको ऐतिहासिक पर्व रहेको मन्त्री श्रेष्ठले बताउनुभयो । काठमाडौंको बौद्ध परम्परामा यसको विशेष महत्व रहेको उहाँको भनाइ छ । 'गुँला' महिना भर धाः घिमेः नगरा, नाय्खिं, दमखिं, दबदब, भृदङ्गा, पौ पिचा र क्वचा(खिं) जस्ता बाजा बजाई पूजापाठ गर्ने प्रचलन छ । 

यस पर्वमा अघिअघि बाजा र सङ्गीत, पछि पछि भक्तजनहरू रहने गर्दछन् । यस पर्वले विभिन्न बाजा लगायत संस्कृतिको संरक्षणमा टेवा पुर्याएको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले यसको जीवन्तताको लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।