पर्यटन कलेज बनाउन पर्यटनमन्त्री श्रेष्ठको  पोखराका विभिन्न स्थानमा खोज्दै

पर्यटन कलेज बनाउन पर्यटनमन्त्री श्रेष्ठको  पोखराका विभिन्न स्थानमा खोज्दै

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २५, २०७९

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरामा पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी उच्च शिक्षा संचालनका लागि ठाउँ खोज्दै विभिन्न स्थानको अवलोकन गर्नुभएको छ ।

सो अवसरमा मन्त्री श्रेष्ठले चालु आर्थिक बर्षभित्रै पोखरामा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको शाखा विस्तार गरिने जानकारी दिनुभयो । पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रुपमा स्थापित गर्न मानव संसाधन विकासलाई आफुले प्राथमिकतामा राखेको श्रेष्ठले बताउनुभयो । 

पर्यटन शिक्षाको क्षेत्रमा अत्यावश्यक दक्ष जनशक्ति उत्पादनका लागि काठमाडौं विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठाबीच हालै भएको सम्झौता अनुरुप प्रदेशमा प्रतिष्ठान शाखा विस्तारको तयारी गरिएको हो । संघीयताको मर्म अनुसार प्रतिष्ठानको सेवा विस्तार गरी प्रदेशस्तरमा पर्यटन शिक्षाको पठनपाठन सुरु गर्ने गरी मन्त्रालयले योजना अगाडि बढाएको मन्त्री श्रेष्ठले बताउनुभयो । 

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुईंटेल तथा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेती सहितको टोलीले सम्भावित स्थानको अवलोकन गर्नुभएको हो । महानगर प्रमुख आचार्यले सम्भावित स्थानको बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराउनुभयो । पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी उच्च शिक्षा पढाइले पर्यटन उद्योगलाई चाहिने दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन हुने विश्वास गरिएको छ ।