मिथ्या,भ्रम र अन्धविश्वास कसीमा अष्टनागको पूजा: मांसाहारी सरीसृप प्राणी नागलाई दुध पियाइ हत्या !
श्रावण २६, २०७९

वैदिक धर्म तथा हिन्दू धर्मअनुसार चराचर जगत्लाई साक्षात् ईश्वर मान्ने प्रथा सनातनदेखि नै चल्दै आएको छ । त्यसैले पनि हिन्दू धर्मग्रन्थहरूमा प्रकृतिका आँखाले देखिने जति तेत्तीस कोटी देवीदेवता मान्ने प्रथा रहदै आएका छन् भन्नेमा कुनै दुई मत छैनन् भन्छु म । जस्तै  पहाड, नदीनाला, सूर्य, चन्द्रमा, बर-पीपल, ढुङ्गा, माटो, आगो, झारपात र जडिबुटी देखि लिएर पृथ्वीमा उत्पत्ति भएका जीवजन्तु, किरा-फट्याङ्ग्रो र मानिसदेखि लिएर सम्पूर्ण वनस्पतिलाई वेदमा देवी र देवताका प्रतीकका रूपमा व्याख्या गरिएका पाइन्छन् । 

हिन्दू धर्ममा साँपलाई नाग देवताको रूपमा पूजा गर्ने चलन छ । नाग पञ्चमीमा अष्ट नागको पूजा गर्ने, शिवको मुकुटका रूपमा नागको पूजा गर्ने चलन छ । अष्ट नागको पूजा कहाँ र कहिलेबाट प्रथाको रूपमा आए भन्ने बारेमा म छुट्टै लेख लेखौँला । अहिलेलाई यो लेख भनेको के नागले दुध साँच्चिकै पिउँछ त ? के नागले साँच्चिकै सुन्छ त ? के नागको जिब्रोले हामीले जस्तै स्वाद लिने गर्छ त ? के नागका आँखाले साँच्चीकै फोटो खिच्छन् त रु भन्ने बारेमा विशेष जोड् दिएको हुँ मैले । 

शेष नागले सम्पूर्ण  विश्व ब्रह्माण्ड थामेको धार्मिक मान्यता पनि पाइन्छन् । तर इसाई धर्ममाअनुसार साँपलाई सैतानका रूपमा व्याख्या गरिएको पाइन्छ । चिनियाँ पात्रोअनुसार विभिन्न प्राणीको नाममा वर्षको नामकरण गर्ने क्रममा साँप वर्षसमेत रहेको पाइन्छ । भनिन्छ, 'मिश्रको प्राचीन धार्मिक सभ्यताअनुसार मिश्रवासीले समेत साँपलाई ईश्वरका रूपमा पूजा गर्ने गर्थे ।' प्राचीन ग्रीकवासीहरूले पनि साँपको सामर्थ्यलाई लिएर धेरै किंवदन्ती तयार पारेका पाइन्छन् । बौद्धमार्गीहरू पनि साँपलाई मार्नबाट रोक्थे । उनीहरू भन्थे, 'विशेष गरी किसानहरूका लागि साँप मित्र हुन् त्यसैले यिनीहरुलाई मार्नु हुँदैन ।'

भनिन्छ,  भारत र नेपालमा नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातनकादेखि नै रहेको छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शैय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रूपमा मान्ने गरिएका हुन् । कहीँ कहीँ मूर्तिमा प्रथम पूजाको अधिकार पाएका भगवान् गणेशको एक हातमा नाग पनि देखिन्छ । यदाकदा, भगवान् विष्णुको अवतारका रूपमा जन्म लिएका श्री रामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेष नागको अवतारका रूपमा मानेका पाइन्छन् भन्ने किंवदन्ती पनि छन् ।

संस्कृतमा नाग भन्नाले सर्प अथवा साँप भनेर बुझिन्छ ।  हिन्दू मान्यताअनुसार, नागको वासस्थान पाताल लोकभन्दा मुनि जसलाई नाग लोक हो भन्ने मान्यता छ र यो  सृष्टिको शक्तिको एक भाग अथवा केन्द्रको रूपमा चिनिने गर्दछ । भनिन्छ, हाम्रो शरीरमा भएको मेरुदण्ड पनि एउटा नागकै रूप हो, जसमा हाम्रा शरीरका स्नायुका सम्पूर्ण नसाहरू सक्रिय रहेका हुन्छन् । यसलाई कुण्डलिनी पनि भनिने गरेको छ । 

भन्छन् ऋषिहरु 'कुण्डलिनीमा हाम्रा प्राणका सबै शक्तिहरू निहीत रहेका हुन्छन्, जसलाई जगाउने हो भने अद्भूत र असम्भव कामहरू पनि सबै सहजै सम्पन्न गर्न सकिन्छ ।' 

हिन्दू परम्पराअनुसार नाग पञ्चमीको दिन नाग वा साँपको आकृति बनाई त्यसलाई सजाएर दूधले स्नान वा अभिषेक गर्ने गरिन्छ र कतिपय ठाउँमा साँपलाई दुध पनि पियाउने चलन रहँदै आएको छ । तर के नाग वा साँपले दुध साँच्चिकै पिउँछ त ? विशेष गरी नेपाल र भारतमा साउन शुक्ल पञ्चमी अर्थात नाग पञ्चमीको दिन नागलाई दुध चढाउने प्रथा आदिकालदेखि नै चल्दै आएको अन्धविश्वास फैलिएका पाइन्छन् ।

के साँपका सुन्ने कानहरू हुन्छन् त ? 

साँपको बाहिरी सुन्ने कान हुँदैनन् । जमीनको कम्पनका आधारमा त्यसले आफ्नो बाटो पहिल्याउँछ । अब सुन्ने कान नरहेपछि सपेराहरूको बिन पनि साँपले सुन्ने कुरै भएन । बिनको नचाइमा साँप नाच्ने भन्ने मात्र एउटा अन्धविश्वास र भ्रम हो । सपेराले बिन ननचाइ कन बजाउने हो भने गोमन साँपले पनि टाउको घुमाउँदैन । आजदेखि तपाईँहरू 'भैँस के आगे बिन बजाए भैँस रहल पगडायल'  भन्ने उखानलाई पनि यहीँ बिर्सि दिनुहोस् । किनकि  साँपले वास्तवमै सुन्दैनन् । यस बारेमा वैज्ञानिक पुष्टि भैसकेका छन् । 

के साँपको जिब्रोले मान्छेले जस्तै स्वाद लिने गर्छ त र ?

साँपको चिरा परेको जिब्रो देखेर हामी तर्सने गर्दछौँ । विष वमन गर्ने, डस्ने अङ्ग नै त्यो फाटेको जिब्रो हो कि भन्ने लाग्न सक्छ हामीलाई तर यो पनि एउटा अर्को भ्रम मात्रै हो । साँपको जिब्रो अति संवेदनशील एउटा अङ्ग हो । यसले आफ्नो सिकारको गन्ध पछ्याउन मद्दत गर्दछ । हाम्रो जिब्रोजस्तो खाने कुराको स्वाद लिने जिब्रो हुँदैन साँपको । 

के साँपका आँखाले फोटो खिच्छन् त ? 

साँपले मान्छे अथवा जनावरले जस्तो आँखा बन्द गर्ने र झिम्क्याउने पनि गर्दैन । हामीले सुनेका 'साँपलाई मार्नेको फोटो उसको आँखाले क्यामराले जस्तो फोटो खिच्ने गर्छु भन्नेजस्ता अन्धविश्वासका कुराहरू पनि पूर्णरूपमा झुटा हुन् ।  

बरु कुनै कुनै साँपले अँध्यारोमा देख्ने गर्छन् । अँध्यारोमा तस्बिर खिच्ने इन्फ्रारेड क्यामरा यही सिद्धान्तको आधारमा निर्माण गरिएको हो भन्ने भनाइ छ । हिमाली क्षेत्रमा पाइने भाइपर साँपको थुतुनो नेर केही बुट्टाहरू जस्ता थोप्लाहरू हुन्छन् । त्यही थोप्लाका सहायताले त्यसले न्यानो वस्तु ठम्याउने गर्दछ । 

के साँपले यौन क्रीडा गरेको देख्ने साँच्चि कै भाग्यमानी हुन् त ?

कहिले काहीँ हामीले जोग्रोफी अथवा रियलमै पनि देख्छौँ,  दुई साँप साँप एकापसमा बेरिएर दुवै साँपले एक अर्कालाई प्रेम गरिरहेको । अनि हामी सम्झिन्छौं साँपहरू  एकअर्कामा यौन क्रीडा मस्त छन् भन्ने । साँपका यी यौन क्रीडाका अनौठो दृश्य भाग्य मानीले मात्रै देख्ने गर्छन् भन्ने पनि त्यो एउटा भ्रम मात्रै हो । वास्तवमा यी दुई भाले भाले बीचका झगडा मात्रै हुन् । जब निर्धो भाले साँप हारेर भाग्छ अनि बलियो साँपले त्यस क्षेत्रको पोथी साँपलाई भने आफ्नो वशमा ल्याउने गर्छ भनेर साँप अनुसन्धानकर्ताहरू काे  निश्कर्ष रहँदै आएको पाइन्छ । 

साँपहरूको आँखा उति सारो विकसित हुँदैनन् तर पनि साँपका घृणा शक्ति र चिसो तातो थाहा पाउने क्षमता भने अति नै विकसित हुन्छन् । जसका कारण उनीहरू आफ्नो सिकार पत्ता लगाउने, जाडो र गर्मीका बारेमा जानकारी पाउने, शत्रुबाट जोगिने जस्ता क्रियाकलाप गर्न सक्षम हुन्छन् । साँपहरूमा वातावरणमा भएका तापक्रम उतारचढाव थाहा पाउने क्षमता यति धेरै विकसित भएका हुन्छन् कि उनीहरू केवल शून्य दशमलव ००३ डिग्री सेल्सियस तापक्रमको उतारचढावसमेत सहजै थाहा पाउन सक्छन् ।

साँपहरूले खासगरी छेपारो, भ्यागुता, मुसा, चरा तथा साना स्तन धारी, अन्य सर्प तथा माछा, कीटपतङ आदिका सिकार गर्छन् । केही साँपहरूले साँपलाई पनि खाने गर्छन् । हामीले जोग्रोफीमा एउटा किङ कोब्राले अर्को कोब्रालाई निलेको पनि देख्ने गरेका छौँ । अजिङ्गरले ठूला मृगहरूका समेत सिकार गर्छ । साँपले आफ्नो सिकारलाई नचपाइ पूर्ण रूपमा निल्ने गर्छ ।

'साँप मात्रै होइन कि, कुनै पनि सरीसृपहरूका लागि दुध फाइदाजनक हुँदैनन् । यिनीहरु मांसाहारी प्राणी हुन् ।  नत यिनीहरु मा दुध पचाउने सक्ने क्षमता इन्जाइम हुन्छन् न त यिनीहरु मा स्वयम् नै दुध उत्पादन गर्ने क्षमता हुन्छन् ।' 

साँपले आफ्नो सिकारलाई डस्दैन, बरु प्रतिरक्षाका लागि मात्र शत्रुलाई डस्छ, तर केही साँपले भने आफ्नो सिकारलाई बेहोस बनाउन वा मार्नको लागि डस्ने काम पनि गर्ने गर्छ । सामान्यतया साँपले मानिसलाई डस्दैन । उसलाई घाइते बनाउने, चलाउने वा प्रत्यक्ष सम्पर्कमा आएपछि मात्र प्रतिरक्षाका लागि आक्रमण गर्ने गर्छ । तर पनि सर्प, साँप, नाग भन्नासाथ हामी डर, भय, त्रासले भयावह मनस्थितिमा पुग्छौँ र भ्रम र त्रासका सिकार बनि रहेका छौँ ।

के साँपले साँच्चै दुध पिउँछ त ?

तर, नाग तथा साँपले दुध पिउँछ भन्ने कुरा यी सत्य होइनन् । साँप वा नागहरूले कहिल्यै पनि दुध पिउने गर्दैनन् र दुध पनि मन पराउँदैनन् ।  किनकि, यिनीहरु एक घस्रने प्रजातिका मांसाहारी सरीसृप प्राणी हुन् । यिनीहरु स्तन धारी प्राणी होइनन् । वैज्ञानिक अनुसन्धान अनुसार साँपका सबै प्रजातिहरू मांसाहारी हुन्छन् । स्तन धारी प्राणी नभएका कारण नाग वा साँपले दूधलाई पचाउन सक्दैनन्, यसको सेवन गर्दा उनीहरूका ज्यानै समेत जाने गर्छन् । तर पनि नाग पञ्चमीको दिन साँपले दुध पिएको देखिन्छ, तर यसको मुख्य कारण भनेको नाग पञ्चमी आउनु केही महिना अगाडिदेखि नै पेसेवर सपेराहरूले नाग खोज्ने कार्यलाई तीव्रता  दिने गर्दछन् । 

उनीहरूले कालो नाग तथा गोमन साँपलाई भेला पारी विषालु दाँतलाई भाँचेर टाउकोको विष थैली झिकी फालिदिन्छन् । जसले गर्दा साँपका मुखभित्र घाउ हुने गर्छन् । र नाग पञ्चमीको दिन उक्त साँपलाई प्रदर्शन गरी दुध पियाएर देखाउँदै भ्रमका खेती गर्दै आफ्ना जिविका चलाउने गरि रहेका हुन्छन् ।

यी साँपहरू नाग पञ्चमीको तीस-चालीस दिनअघिदेखि नै सपेराले जङ्गलबाट समाती ल्याउने गर्छन् । त्यसपछि उनीहरूलाई धेरै क्रुरता पूर्वक केही खान-पिउन नदिइकन एउटा सानो बाँसका कम्चीले बुनेको टोकरीमा बन्द गरेर राखिन्छ जसका कारण ती साँपहरू भोक र प्यासले गर्दा कचौरामा दिइएका दुध बाध्य भएर पिउने गर्दछन् र हामीलाई लाग्छ कि  नाग तथा साँपहरू पनि दुध पिउँछन् । यति बुझ्नुस् कि यस्तो अवस्थामा साँप वा नागले दुध मात्रै नभएर जुनसुकै तरल पदार्थ दिए पनि पानी सम्झेर पिउने गर्दछ ।

तर के तपाईँहरूलाई थाहा छ साँपलाई दुध पियाउँदा साँप मर्छ भन्ने कुरा ? सायद, यो कुरा धेरैलाई थाहा नहुन पनि सक्छन् र केहीलाई थाहा भएको  पनि हुन सक्छ । सनातनदेखि चल्दै आइरहेका नाग पञ्चमीको दिन नाग (साँप)लाई दुध पियाउने यही संस्कारलाई रोक्न भारत सरकारले विभिन्न प्रान्तहरूमा नाग पञ्चमीको दिन घर-घर नाग (साँप) लिएर घुमी दुध पियाउने बहानामा आफ्ना जिविका चलाउने सपेराहरूलाई पुलिसले समातेर साँपलाई उनीहरूबाट खोसी जङ्गलमा छाडी 'साँप बचाऊ' भन्ने  अभियान चलाउँदै आएको छ । 

हाम्रो आम धारणा छ कि  नाग पञ्चमीको दिन साँपलाई दुध पियाउने एक धार्मिक सनातन महत्व पूर्ण  कार्य वा मान्यता  हो । तर विज्ञान भन्छ – 'साँपलाई दुध पियाउनु भनेको साँपलाई मार्नु हो ।' भारतका साँप विशेषज्ञ डा. विशाल पटेल भन्नुहुन्छ– 'साँप मात्रै होइन कि, कुनै पनि सरीसृपहरूका लागि दुध फाइदाजनक हुँदैनन् । यिनीहरु मांसाहारी प्राणी हुन् ।  नत यिनीहरु मा दुध पचाउने सक्ने क्षमता इन्जाइम हुन्छन् न त यिनीहरु मा स्वयम् नै दुध उत्पादन गर्ने क्षमता हुन्छन् ।' 

कसरी हुन्छ दुध पिउँदा साँपको मृत्यु ? 

यस बारेमा डा. पटेल भन्नुहुन्छ–'जब साँपले दुध पिउँछ तब त्यो दुध साँपको फोक्सोमा जाने गर्छ र जसले गर्दा साँपलाई निमोनिया हुने गर्छ । यो साँपमा हुने निमोनियाँलाई एस्पिरेशन निमोनिया भनिन्छ । यही निमोनियाँको कारणले साँप पन्ध्रबीच दिनमा मृत्यु हुने गर्दछ ।'

भनिन्छ, शास्त्रमा लेखिएको छ–'साँपलाई दुध पियाउनाले धन र सुख प्राप्ती हुन्छ । सन्तान प्राप्तीको इच्छा हुनेहरुले पनि साँपलाई दुध पियाउनाले लाभ प्राप्त हुन्छ । ज्योतिष शास्त्रा अनुसार पनि कालो नागको पूजा र दुध पियाउनाले कालो साँपको डसाइको खतराबाट बच्न सकिन्छ ।' तर विज्ञान भन्छ – 'साँपलाई दुध पियाउनाले साँपको मृत्यु हुन्छ ।'  अब तपाईँहरू आफैँमा तय गर्नुहोस् अझै पनि अन्धविश्वासकै मार्ग अपनाउने कि विज्ञानको उज्यालो मार्ग । 

यदि विश्वास लाग्दैन भने एउटा गोमन साँप समाउनुहोस् र त्यसलाई चालीसदेखि पचास दिनसम्म भोकै राखेर त्यसपछि दुध पियाउनुहोस् । भोक-प्यासको कारणले त्यसले दूध त अवश्य पिउँछ तर पन्ध्रदेखि बीस दिनभित्र त्यो साँपको मृत्यु हुन्छ । यो मैले स्कुल पढ्दा गरेको प्रयोगको अनुभव हो । 

के धामन साँपले साँच्चिकै दुध पिउँछ त ? 

तर म आज यहाँहरुलाई यस्तो साँपको बारेमा लेख्दैछु । मैले सानोमा आफ्नै आमाबाट सुनेको थिएँ । 

आमा भन्नुहुन्थ्यो, 'धामन साँप दुधको निकै सौखिन हुने गर्दछ । यो साँप हरियो-पहेँलो झल्का भएको सेतो रङको लामो र ज्यादै तेज गतिमा दगुर्ने हुन्छ । यो साँप बारी झारीमा  आफ्नो आहाराको लागि मुसा र भ्यागुताको खोजीमा डुलि हिँड्छ । यो साँपलाई नागलाई जस्तो दुध पियाउनै पर्दैन । यो साँपले सुत्केरी महिला र दुधालु पशुलाई एक्लै भेट्यो भने खुट्टामा डोरीले बेरे झैँ बेर्छ र दुधको थुनमा मुख लगाई दुध चुस्छ । यसरी दुध चुसिएको सुत्केरी महिला अथवा पशु बिस्तारै सुकेर मर्ने गर्छन् ।' तर मैले आजसम्म यस्तो घट्ना देखेकै छुइँन । 

आमा अझै थप्नुहुन्थ्यो, 'यो साँप विष रहित हुन्छ र मान्छेलाई डस्दैन । तर यसको पुच्छरमा विष हुने गर्दछ । यो साँपको पुच्छरले कसैको नाङ्गो शरीरमा हिर्कायो भने त्यो मान्छे बिस्तारै सुकेर अथवा मासु कुहिएर झर्छन् र मर्ने गर्दछ ।' तर यसरी मरेको पनि मैले आजसम्म देखेकै छुइँन । मलाई लाग्छ यी सबै किंवदन्ती र अन्धविश्वासका कुराहरू हुन्

 भारतमा कसरी चल्यो साँपलाई दुध पियाउने प्रथा ?

वन विभागबाट अवकाशप्राप्त भारतको सज्जन सिंह भन्नुहुन्छ–'पहिले पहिलेका मानिसहरू पनि आफ्ना सुरक्षा र हितका लागि सशक्त तरिकाहरू अपनाउने गर्थे । भोका साँपहरू आहाराको लागि मुसा, भ्यागुता र कीरा-फट्याङ्ग्रो खोज्दै खेत-खेत र बारी-बारीमा जान गर्दथे । साँपले आफ्नो बचाउका लागि खेतमा काम गरिरहेका किसानहरूलाई डस्ने गर्दथ्यो र किसानहरूका मृत्यु हुने गर्दथे । 

त्यसैले, किसानहरुले आफ सुरक्षित हुनका लागि साँप बस्ने प्वालहरु पत्ता लगाई बटुको अथवा कचौरामा केही खाने कुराहरु दुध राखिदिने गर्दथे । त्यही दुधको गन्धका कारण दुध र खाने कुराहरु खानलाई त्यहाँ मुसा, भ्यागुता र कीरा-फट्याङ्ग्रा हरु जाने गर्दथे र साँपको आहार बन्ने गर्थे । यसरी साँपहरू आफ्ना आहाराका लागि प्वाल बाहिर निस्कनु नपर्ने जुक्ति किसानहरूले निकालेका थिए । जसले गर्दा उनीहरू आफूमा सुरक्षित महसुस गर्दथे । कालान्तरमा आएर मानिसहरूले आफ्ना पूर्खाको यही सिकोलाई देखेर साँपलाई दुध पियाउने चलन चल्न थालेका हुन् ।

के यहाँहरुलाई अझै पनि लाग्छ रु साँपले साँच्चिकै दुध पिउँछ र मन पराउँछ ? के यहाँहरुलाई अझै पनि लाग्छ रु के साँच्चिकै साँप र नाग हाम्रा देवी र देवता हुन् ? यदि हुन् भने, तराई भूभागमा वर्षेनी विषालु साँपका टोकाइबाट मान्छेहरू मर्ने गर्छन् । फेरि त हामीले पुज्ने गरेका देवी र देवताले किन हाम्रै सन्तानका ज्यान लिने गर्छन् । के लाग्दैनन् तपाईँहरूलाई हामीले सुन्दै आएका र पुज्दै आएका रीति र रिवाजहरू सबै मिथ्या, भ्रम र अन्धविश्वासका काला फूलबारीहरू हुन् भन्ने ।  

यही साँपलाई बाइबलको पुरानो करार (Old Testament) मा 'साँप मानिसका सैतान र शत्रु हुन्' भनेर लेखिएको छ । फेरि कसरी हुनसक्छ हामीले मान्ने देवी र देवताका साँपहरू इसाई धर्मा अनुसार मानिसका सैतान र  शत्रु रु रामलाई भारतमा भगवान् भनेर पुजिन्छन् र रावणको पुत्ला दहन गरिन्छ भने श्रीलंकामा रावणलाई आदरणीय बौद्धमार्गी एक विद्वान भनेर पुजिन्छन् ।

भारतका समाजसेवी मध्य एसियाका सुकरात भनेर चिनिने तमिलनाडुका इरोड वेंकट नायकर रामासामी पेरियारले रावणलाई बौद्धमार्गी गुरु मानेका थिए भने पेरियारलाई भारतका संविधानका लेखक आदरणीय डा. भीमराव एम्बेडकरले बौद्धमार्गी गुरु मानेका थिए । 

अन्धविश्वास फैलाउने धर्मको भर्‍याङ चढेर हामी कहिल्यै सगरमाथा उक्लिन सक्दैनौँ । यदि हामीलाई लाग्छ, उक्लिनु छ, आधुनिकताका सगरमाथाको ज्ञानको शिखर भने आफू विवेकशील बन्नुहोस्, सोच्नुहोस् र बिचार्नुहोस् र प्रयोग वादको घाममा बुद्धि र विवेकका बिस्कुन सुकाउनुहोस् जसरी तथागत गौतम बुद्धले प्रयोगात्मक जीवन व्यतित गरेका थिए । फुकालिदिनूहोस् आजदेखि अन्धविश्वासका सनातनी दाग लागेका पुराना ती वस्त्रहरू र लगाउनुहोस् प्रयोगात्मक विवेकका नयाँ ती वैज्ञानिक चेतनाका आधुनिक वस्त्रहरू जसमा कहिल्यै नलाउन ति धार्मिक अन्धविश्वासका मैला  दुर्गन्धित छिटाहरू । 

अब आउँदो समय, साँपका विभिन्न प्रजाति र तिनीहरूका गुण, दोष र विशेषताका बारेमा लेख लिएर आउनेछु । 

धन्यवाद ।