‘दाहाल यज्ञनिधि सुधा सदन’: अक्षयकोष सहित महावीर पुनलाई  एक लाख ५० हजारको पुरस्कार दिने घोषणा

‘दाहाल यज्ञनिधि सुधा सदन’: अक्षयकोष सहित महावीर पुनलाई  एक लाख ५० हजारको पुरस्कार दिने घोषणा

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २६, २०७९

काठमाडौँ । साहित्यकार दाहाल यज्ञनिधिको स्मृतिमा सम्मान, पुरस्कार वितरण र प्रकाशनका लागि रु ५१ लाखको अक्षयकोष सहित ‘दाहाल यज्ञनिधि सुधा सदन’ संस्थाको घोषणा गरिएको छ ।

यज्ञनिधिको चौथो वार्षिक स्मृति सभाका अवसरमा आज आयोजित कार्यक्रममा उहाँकी धर्मपत्नी सुधा दाहाल आचार्यको अध्यक्षतामा सो संस्था जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा दर्ता भएको जानकारी गराइएको थियो ।  श्रीमती दाहालको लगानीमा स्थापित उक्त अक्षय कोषबाट यस वर्ष राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुनलाई  एक लाख ५० हजार राशिको पुरस्कार प्रदान गरिने संस्थाका सचिव ठाकुर बेल्वासेले जानकारी गराउनु भएको थियो ।

संस्थाले सीमान्तकृत वर्ग र समुदायबाट मुलुकका लागि विशेष योगदान दिने तथा दरबार हाइस्कुलमा माध्यमिक तहमा अध्ययनरत केही विद्यार्थीलाई पनि आगामी वर्षदेखि छात्रवृत्ति दिने भएको छ ।

कार्यक्रममा वरिष्ठ साहित्यकार तुलसी दिवसले समाजमा योगदान दिनेहरूलाई नागरिक क्षेत्रबाट सम्मान र पुरस्कारको परम्पराले ऊर्जा मिल्ने बताउँदै नयाँ पुस्तालाई मौलिक रूपमा साहित्य सृजना गर्न आग्रह गरे । संस्थाका उपाध्यक्ष डा. रमेश शुभेच्छाले साहित्यकार दाहालले शिक्षा, साहित्य, सञ्चार र समाजसेवाका क्षेत्रमा दिएको योगदानबारे प्रकाश पार्नु भएको थियो ।  

कार्यक्रममा स्रष्टाहरू डा. केदार न्यौपाने, डा. रामप्रसाद ज्ञवाली, डा. देवी नेपाल, डा. विष्णु राई, डा. गोविन्द आचार्य, प्रह्लाद पोखरेल, अभय श्रेष्ठ, लोचन भट्टराई, त्रिभुवन चन्द्र वाग्ले, प्रकाश सिलवाल, खोलाघरे साइँलो लगायतले कविता, गीत र गजल प्रस्तुत गरेका थिए । खोटाङको धारापानीमा विसं २०१० साउन ८ गते जन्मिएका मिर्गौला पीडित दाहालको विसं २०७५ साउन २५ गते निधन भएको थियो ।