लालबन्दी नगर वाङ्‍मय परिषद् : पुरस्कारका लागि छनोटमा परेका दश कृतिहरू सार्वजनिक

लालबन्दी नगर वाङ्‍मय परिषद् : पुरस्कारका लागि छनोटमा परेका दश कृतिहरू सार्वजनिक

लोकसंवाद संवाददाता  |  साहित्य  |  श्रावण २७, २०७९

सर्लाही। लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार(२०७९) का लागि छनोट भएका १० कृतिहरूको नाम लालबन्दी नगर वाङ्‌मय परिषद्ले सार्वजनिक गरेको छ ।

भाषा, कला, साहित्य, सङ्‌गीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित उक्त वाङ्‌मय परिषद्ले आज एक विज्ञप्तिमार्फत् १० कृतिहरू र तिनका सर्जकहरूको नाम पुरस्कारका लागि छनोट गरेको सूची सार्वजनिक गरेको हो ।

स्वतन्त्र विज्ञहरूसहितको सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा वर्णानुक्रमानुसार अग्नि ( डा. नवराज लम्साल), उज्यालो कर्णाली ( प्रतीक ढकाल) ,तेल भिसा      ( सुरेन्द्र अस्तफल), तृषा ( सुशीला पौडेल), देखेको देश ( मोहन मैनाली), प्रिय मौनता ( डा. नेत्र एटम),  भ्रूण प्रश्‍न ( टीका आत्रेय), मरीचिका (महेश थापा), यादको सन्दुक ( दिपा मेवाहाङ राई) याम्वुनेर ( बिना थिङ)  कृतिहरू छनोटमा परेको उक्त विज्ञप्तिमा उल्लेख छ ।

वाङ्‌मय परिषद्लाई प्राप्त १२८ कृतिहरूमध्ये सम्मान तथा पुरस्कार छनोट समितिले छनोट गरी सूचीकृत गरेका १० कृतिहरू मध्येबाट उत्कृष्ट एक कृतिलाई वाङ्‌मय परिषद्ले पुरस्कृत गर्ने छ ।

सम्मान तथा पुरस्कार छनोट समितिले उक्त १० कृतिहरूमध्येबाट पुन: एक उत्कृष्ट कृति सिफारिस गरेपछि उक्त कृतिलाई लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार(२०७९ प्रदान गरिने उक्त विज्ञप्तिमा उल्लेख छ । उक्त पुरस्कारको राशि  ५०,००० हजार रहेको छ ।