स्थानीय शासनलाई युवा मैत्री बनाउन लगानी र क्षमता वृद्धिका लागि पहल सुरु

स्थानीय शासनलाई युवा मैत्री बनाउन लगानी र क्षमता वृद्धिका लागि पहल सुरु

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २७, २०७९

युवा मैत्री स्थानीय शासनमा लगानी बढाइँदै स्थानीय शासनलाई युवा मैत्री बनाउन लगानी र क्षमता वृद्धिका लागि पहल सुरु भएको छ ।

‘युवा मैत्री विश्व निर्माणमा अन्तर पुस्ता ऐक्यबद्धता’ भन्ने नाराका साथ देशव्यापी रूपमा मनाइएको अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा मैत्री स्थानीय शासनसम्बन्धी हालसम्मका उपलब्धि, सिकाइ र भावी कार्यदिशाबारे आज आयोजित केन्द्रीय स्तरको छलफल कार्यक्रममा सो जानकारी दिइएको हो ।

सो अवसरमा मुलुकको समग्र विकासमा युवा मैत्री स्थानीय शासनको आवश्यकतालाई ध्यान दिएर राष्ट्रिय युवा परिषद्, जागृति बाल तथा युवा सरोकार नेपाल, संयुक्त राष्ट्रसङ्घीय विकास कोष (युएनडिपी) र राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) नेपालको संयुक्त प्रयासमा युवा मैत्री स्थानीय शासन अभियानलाई विस्तार गर्ने प्रतिबद्धता व्यक्त भएको छ ।

अभियानअन्तर्गत तीन सयभन्दा बढी सरोकारवालाको संलग्नतामा युवा मैत्री स्थानीय शासन दिग्दर्शन, २०७५ को परिमार्जन र युवामैत्री स्थानीय शासन क्षमता विकास निर्देशिका तयार गरिएको छ । युवामैत्री स्थानीय शासन प्रवद्र्धनको पहिलो चरणमा देशका सातै प्रदेशका एकएक स्थानीय तहको छनोट गरी सम्बन्धित तहका जनप्रतिनिधि, कर्मचारी, विभिन्न निजी क्षेत्रका युवा प्रतिनिधि तथा युवाका सवालमा प्रमुख सरोकारवालाको लागि दिने युवामैत्री स्थानीय शासनसँग सम्बन्धित क्षमता अभिवृद्धि कार्यक्रम गरिएको थियो ।

प्रदेशस्तरमा भएको उक्त अनुभवलाई विस्तार गर्न आजका वक्ताले आग्रह गरेका थिए । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाको मुद्दाका दृष्टिकोणले मैत्रीपूर्ण बनाउने अहिलेको सान्दर्भिक सवाल रहेको र नीति निर्माण प्रक्रियामा युवाको सहभागिता अत्यावश्यक रहेको बताउनुभयो । हालको प्रयास कम रहेको र अझ बढी लगानी र योगदानको आवश्यकता रहेको बताउँदै उपाध्यक्ष बस्नेतले उपयुक्त वातावरण निर्माणका लागि परिषद्ले कार्य गरिरहेको र संवैधानिक तथा नीतिगत युवासँग सम्बन्धित व्यवस्थालाई कार्यान्वयनका साथ युवा मैत्री शासन प्रवद्र्धनका लागि निरन्तर समन्वयको प्रतिबद्धता जाहेर गर्नुभयो ।

युएनडीपीका आवसीय प्रतिनिधि आइसानी लाभेले युवामा धेरै समस्याले वितृष्णा उत्पन्न हुने भएकाले त्यस्ता समस्या परेका बेलामा सुनिदिने स्थान ९निकाय० हुने वातावरण निर्माण गर्न आग्रह गर्नुभयो । युनिसेफका आवसीय उप प्रतिनिधि उषा मिश्रले नेपालमा केही वर्षपछि ज्येष्ठ नागरिकको जनसङ्ख्या धेरै हुने भएकाले वर्तमान समयमा युवा तथा बालबालिकामा बृहत् लगानीको आवश्यकता रहेको बताउनुभयो ।

जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले युवामैत्री अभियानमा सबै युवासँग सम्बन्धित सरोकारवालाले योगदान पुर्‍याउनपर्ने बताउनुभयो । अधिवक्ता तथा युवामैत्री शासन विज्ञ विष्णु खत्री, उपप्राध्यापक तथा युवामैत्री शासन विज्ञ दीपेश घिमिरे र युवामैत्री कार्यक्रमका संयोजक समीक्षा खड्काले प्रस्तुतीकरण गर्नुभएको थियो भने लैङ्गिक समानता र सामाजिक समावेशीकरण विशेषज्ञ मीना शर्मा र किशोरीका तर्फबाट प्रतिनिधि रेजिना घर्ती मगरले युवामैत्री शासनका विविध आयामबारे प्रकाश पार्नुभएको थियो ।