साहित्य, धर्म र संस्कृतिबाट नेपाल–अमेरिका जोड्दै प्रभात दीक्षित

साहित्य, धर्म र संस्कृतिबाट नेपाल–अमेरिका जोड्दै प्रभात दीक्षित

आशिष पौडेल  |  अन्तर्मन्थन  |  श्रावण २८, २०७९

राजनीति, साहित्य र समाजसेवा दीक्षित परिवारको रगतमा छ, नसामा छ । विचारको अस्पष्टता, दास प्रवृत्ति तथा नेतृत्वको सिद्धान्त अनि आचरणमा प्रश्न उठाउन नसक्ने त्वम् शरणम् प्रवृत्तिबाट आजित भएर उहाँ देशबाट बाहिरिनुभयो । तर, अरूलाई आरोप लगाएर, दोष लगाएर होइन ।

अहिले उहाँ अमेरिकामा जहाँ हुनुहुन्छ, त्यहाँ साहित्य, समाजसेवा र राजनीति सबैलाई एकीकृत रूपमा जोडिरहनुभएको छ । अमेरिका गए पनि कांग्रेस, कम्युनिस्ट बनेर विभेद, वैमनष्य र विशृंखलताको राजनीतिबाट माथि उठेर उहाँ अमेरिकामा डेमोक्र्याटका लागि राजनीति गरिरहनुभएको छ ।

अमेरिकामा स्थानीय तहदेखि माथिल्लो तहसम्मका राजनीतिज्ञहरू अहिले डल्लास काउन्टीमा चुनाव प्रचार तथा समर्थनका लागि आउने र नेपालीलाई पनि चुनाव जिताउने हैसियतमा पुग्नुभएको छ । यसमा उहाँको एउटै स्वार्थ छ- असल र निष्ठाको राजनीति अनि नेपाली समुदायको हैसियतमा बढोत्तरी, जसका लागि असल मनले साहित्य तथा उहाँ सम्मिलित नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्रले ७ एकड जमिनमा करिब ७० लाख डलर खर्चेर पशुपतिनाथ र अर्को भव्य मन्दिर बनाउँदै हुनुहुन्छ । यसले नेपाली समाजलाई जोड्ने, समृद्ध बनाउने उहाँलाई लागेको छ । जुन रकम नेपालीकाे चन्दाबाटै उठाइएकाे हाे । 

आज डालस नेपाली समाज नेपालीको पावर बैंक र यिनीहरू लागे भने जे पनि हुन्छ भन्ने एउटा हैसियत निर्माणको तहमा पुगेको छ, जुन अमेरिकाका अन्य राज्यमा देखिँदैन । डालस नेपाली समाज आज एउटा उदाहरणको रूपमा स्थापित भएको छ । यति भनिसकेपछि प्रभात दीक्षितको व्यक्तित्व, काम र अन्य पक्षको तस्विरको केही झलक आउँछ ।

०००

पिताजी महेशमणि दीक्षित तथा आमा माधुरी दीक्षितका सुपुत्र प्रभात दीक्षितको जन्म २००८ सालमा काठमाडौंमा भएको हो । मातापिता दुवै वामपन्थी आन्दोलनमा लाग्नुभएको थियो । वनारसमा मनमोहन अधिकारी तथा वीपी कोइरालासँग सँगै पढ्नुभएको हुनाले उहााका पिताको राजनीति पनि त्यहीँबाट सुरु भयो ।

यसरी कम्युनिस्ट आन्दोलनका प्रारम्भका जति पनि नेताहरू छन्, उनीहरूसँग पारिवारिक सम्बन्ध नै रह्यो । २००७ सालको आन्दोलनमा त उहाँका पिताजी बन्दुक नै बोकेर हिँड्नुभएको थियो । २००७ सालको आन्दोलनमा पिताजीको देहान्त भयो भनेर झन्डै शोकसभा मनाइएको थियो । भाइ आन्दोलनमा लागेर हराएपछि भाइलाई खोज्ने क्रममा मदनमणि दीक्षित पनि आन्दोलनमा होमिनुभएको हो । त्यस कारण ‘मेरो राजनीतिक गुरु मेरो भाइ हो’ भनेर मदनमणि दीक्षितले बेलाबेला भन्ने पनि गर्नुहुन्थ्यो रे !

दीक्षित परिवारमा त्यसबेला नेता, पत्रकार, साहित्यकार सबैको जमघट भइरहने हुँदा नेताहरूसँग भेट्ने, कुरा गर्ने अनि पत्रकार, साहित्यकारसँग पनि त्यस किसिमको बसउठ भयो उहाँको ।

उहाँको मावली बाजे सप्ताह भनेर हिँड्ने गर्नेहुन्थ्यो । हरेराम बाजे भनेपछि त्यसबेला चर्चा चलेको । उहाँ पनि बाजेसँगै देशका विभिन्न भागमा सप्ताहमा गइरहनुहुन्थ्यो । उहाँको बाल्यकाल एकै ठाउँमा स्थिर भएर बितेन । धार्मिक परिवेशमा बित्यो । पछि उहाँ पिताजीसँग वीरगञ्ज जानुभयो । उहाँको बाल्यकाल राजनीति, धर्म, साहित्य र पत्रकारिता सबै कुराको अनुभव गरेको मिश्रित खालको रह्यो ।

बाल्यकालमा उहाँका खेल भनेका फुटबल, डण्डी-बियो आदि थिए । तर, मावली बाजेको धार्मिक संगतले होला, उहाँलाई कथा भन्न साह्रै मनपर्थ्यो । यो ६ कक्षा पढ्दाको कुरा हो । त्यसबेला आफ्नो मनमा आएका मनगढन्ते तथा तिलस्मी कथाहरू भन्न रुचाउनुहुन्थ्यो उहाँ ।

उहाँलाई ४ वर्षको उमेरदेखि नै भागवतको श्लोक कण्ठ गर्नुपर्ने बाध्यता थियो । कखरा चिन्ने काम घरमै भयो । ५ वर्षको उमेरमा उहाँ हार्मोनियम तथा तबला बजाउने साथै भागवतका श्लोक भट्याउने काम पनि गर्नुहुन्थ्यो । तर, ६ वर्षको उमेरमा भने रणमुक्तेश्वरको रत्नराज्य स्कुलमा पढ्नुभएको हो उहाँले ।

स्कुलमा चउरमा राखेर पढाएको अनि ४-५ वर्षको बालकलाई पनि पढ्न नआउँदा लठ्ठीले पिटेको उहाँलाई सम्झना छ । १-२ कक्षामा पढ्दा भने डेस्क-बेञ्चमै बसेर पढेको सम्झना छ उहाँलाई । कक्षामा करिब २५-३० जना भएको र छात्राहरू पनि रहेका सम्झना छ उहाँलाई ।

रणमुक्तेश्वरपछि उहाँ धेरै स्कुलमा पढ्नुभयो । ती सबै स्कुलको अहिले सम्झना नभए पनि एकै पटक ९ कक्षामा जुद्धोदय पब्लिक हाइस्कुलमा पढेको सम्झना छ । त्यहाँ पनि पढ्ने अवसर मिलेन र उहाँले वीरगञ्जको त्रिजुद्ध हाइस्कुलबाट एसएलसी दिनुभयो ।

त्रिजुद्धमा पढ्दा पढाइ घोकन्ते थियो । नेपालीको निबन्ध सरले लेखेर दिनुहुन्थ्यो, त्यो पनि घोक्नुपर्ने अवस्था थियो । तर, उहाँलाई घोक्न मन लाग्दैनथ्यो । अरू विषय पनि त्यस्तै थिए । त्यसबेला पढाउने शिक्षकहरू भारतीय हुन्थे वीरगञ्जमा ।

मदनमणि दीक्षित त्यस स्कुलको प्रधानाध्यापक भइसक्नुभएको थियो । उहाँका चेलाहरू शिक्षक थिए । यस अर्थमा पनि उहाँलाई जसरी भए पनि घोक्नै पर्ने, पढ्नै पर्ने बाध्यता थियो ।

उहाँले २०२३ सालमा त्रिजुद्ध स्कुलबाट एसएलसी दिनुभएको हो । धेरै सेक्सन थिए स्कुलमा । उहाँ भने ‘ए’ सेक्सनमा हुनुहुन्थ्यो । ‘ए’ सेक्सनमा सबै पढ्नेहरू नै थिए । उहाँको ब्याचमा झन्डै २०० विद्यार्थी थिए एसएलसी दिने । कति पास भए भन्ने उहाँलाई हेक्का छैन । तर, आफ्नो सेक्सनका भने सबै पास भएजस्तो लाग्छ उहाँलाई ।

उहाँ पढन्ते विद्यार्थी भए पनि दोस्रो श्रेणीमा पास हुनुभयो । झन्डै १५ नम्बर कम भयो प्रथम श्रेणीलाई । तर, पारिवारिक वातावरण अनि प्रथम श्रेणीका लागि थोरै नम्बर मात्र नपुग्नुले उहाँलाई झन निराश बनायो । अर्को भनेको मदनमणि दीक्षितको साहिँलो छोरा आमोदमणि दीक्षितले बोर्ड सेकेन्ड ल्याउनुभएको थियो, त्यसले पनि थप निराश बनाउने काम गर्‍यो उहाँलाई ।

अमेरिकामा चुनाव प्रचार भनेको ठूलो आमसभा नभएर घरदैलो कार्यक्रम नै हो । अहिले डेमोक्र्याटबाट बेटो भन्ने उम्मेदवार टेक्ससको गभर्नरमा उठ्दै हुनुहुन्छ । टेक्सस रिपब्लिकनको गढ भएकाले रेड अफ द रेड भनिन्छ । तर, अब उहाँहरूको सहयोगले यस पटक डेमोक्र्याटले जित्ने सम्भावना बढेको छ । र, डालसमा डेमोक्र्याटिक पार्टीभित्र नेपालीहरूले एउटा इज्जत भने कमाएका छन्

०००

एसएलसीपछि भने उहाँ पढ्न काठमाडौं आउनुभयो । काठमाडौं आएर त्रिचन्द्र कलेजमा विज्ञान संकायमा भर्ना हुनुभयो २०२४ सालमा । तर, अन्तिम परीक्षा हुने समयमा देशव्यापी आन्दोलन भयो । आन्दोलन भएपछि जाँच नहुने भयो भनेर उहाँ वीरगञ्ज जानुभयो । तर, यता जाँच भयो । उहाँको जाँच छुट्यो । अर्को वर्ष जाँच दिएर पास हुनुभयो ।

आईएस्सी सकेपछि उहाँ एरोनटिकल इन्जिनियरिङ पढ्नका लागि रुस जाने तयारीमा हुनुहुन्थ्यो । छात्रवृत्तिमा जान पनि पुग्ने नम्बर थियो । तर, परिवारले ‘होइन, त्यो छाड्दे, यता सांस्कृतिक कोटाबाट जाँदा ठिक हुन्छ’ भनेपछि उहाँ त्यतातिर लाग्नुभयो । तर, कुनै काण्ड घटेर पढ्न जाने सबैको पासपोर्ट रद्द गरियो । त्यसपछि अब विदेश पढ्न नजाने भन्ने एक किसिमको कसम नै खानुभयो उहाँले ।

विदेश पढ्न जान नपाएपछि उहाँ फर्केर वीरगञ्ज जानुभयो र साहित्य तथा वामपन्थी राजनीतिमा केही समय सक्रिय हुनुभयो । उहाँका पिताजी महेशमणि अनि ठूलोबा मदनमणि दुवै जना वामपन्थी राजनीतिमा लागेकाले उहाँहरूलाई भन्न नै ‘मस्कोपन्थी’ भन्थे । मनमोहन, पुष्पलाल, वीपी, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, डिल्लीरमण रेग्मी, टंकप्रसाद आचार्य आदि त्यसबेलाका सबै नेतालाई उहाँले भेट्नुभएको छ । आफ्ना स्वतन्त्र विचार राखेर धेरै नेताको कन्सिरी पनि तताउनुभएको छ ।

फेरि बीएस्सी पढ्न त्रिचन्द्र कलेजमा आउनुभयो । केही राजनीति पनि गर्नुभयो । बीएस्सी सकेपछि उहाँले त्रिभुवन विश्वविद्यालयबाट तथ्यांकशास्त्रमा स्नातकोत्तर गर्नुभयो ।
बीएस्सी गरिसकेपछि उहाँलाई राजनीतिबाट वितृष्णा हुन थालिसकेको थियो । बाबुहरूका कारण राजनीतिमा लागे पनि त्यसले सन्तुष्टि दिएन उहाँलाई । राजनीतिका लागि झूट बोल्नुपर्ने, फटाइँ गनुपर्ने नेपाली राजनीतिका चरित्र उहाँसँग नभएको हुनाले पनि उहाँलाई राजनीतिप्रति नै वितृष्णा जागेको हो ।

त्यसपछि यो राजनीति आफूबाट पार नलाग्ने भन्दै उहाँ सिनासमा जागिर खान थाल्नुभयो । एउटा ठूलो प्रोजेक्टका लागि मान्छे चाहिएकाले डोरबहादुर बिष्टले उहाँलाई जागिर खान बोलाउनुभयो । तर, तथ्य र तथ्यांक बंग्याउनुपर्ने भएपछि त्यहाँ पनि उहाँको जागिर ३ महिनाभन्दा बढी टिकेन । उहाँले केही समय व्यापार प्रबद्र्धन केन्द्रमा पनि जागिर खानुभयो । तर, त्यसबेलासम्म २०३६ सालको आन्दोलन सुरु भइसकेको थियो । उहाँ पनि भूमिगत हुनुभयो ।

आन्दोलन सकिएपछि फेरि तथ्यांक विभागमा जागिर खानुभयो । त्यहाँको वातावरणमा पनि उहाँलाई जागिर खान मन लागेन किनकि साथीहरू धेरैजसो दिनभर काम नगर्ने अनि राजनीतिक गफ गरेरै बिताउँथे । उहाँ राजनीति देखेर, भोगेर वितृष्णा भएको मान्छेलाई त्यो पचेन । बरु यस्तो काम गर्नुभन्दा त पढाउनु बेस भनेर उहाँ शंकरदेव क्याम्पसमा पढाउन थाल्नुभयो ।

शंकरदेवमा काम गर्दा उहाँ संयुक्त राष्ट्रसंघको कार्यक्रममा जनगणनाको कार्यक्रममा सोलोमन आइल्याण्डमा जानुभयो स्वयंसेवकका रूपमा । त्यहाँ २ वर्ष काम गर्नुभयो । त्यहाँ झन्डै दिनको १२ घन्टा काम गर्नुपर्थ्यो । त्यसले पनि उहाँलाई नेपालमा काम गर्नै मन नलाग्ने अवस्था भयो । कारण, यहाँ काम थिएन र काममा इमानदारी पनि थिएन ।
शंकरदेवमा दिनको एउटा कक्षा लिन जाँदा पनि साथीहरू कति नियमित कक्षा लिएको भनेर गाली गर्थे उहाँलाई । शंकरदेवमा उहाँले १९ वर्ष पढाउनुभयो । ४०-४५ जनाको कक्षामा उभिने विद्यार्थी गन्दा सय/डेढ सय हुन्थे । अब त्यो सय/डेढ सयको हल्लामा न पढ्नेले बुझ्ने, न त पढाउनेको आवाज नै सुनिने भनेपछि उहाँलाई पढाउन मन लागेन ।

उहाँले राजीनामा दिनुभयो तर उहाँको राजीनामा स्वीकृत भएको थिएन । १९ वर्ष पढाइसकेको हुनाले अवकाश भएपछि जागिर छाड्न साथीहरूले सल्लाह नदिएका होइन, तर, अवकाश पनि चाहिएन भनेर उहाँले कम्बोडियाको जनगणनाको कार्यक्रममा गएका बेला उतैबाट राजीनामा गर्नुभयो ।

कम्बोडियामा २ वर्ष काम गरेर फर्किएपछि उहाँले केही समय परामर्शदाताको रूपमा पनि काम गर्नुभयो । तर, परामर्शदाताको काम गर्दा पनि उनीहरूले भनेअनुसारको प्रतिवेदन लेख्नुपर्ने भएपछि त्यो काम पनि छाड्नुभयो । त्यसको केही समयपछि उहाँ कोसोभोमा जन्म तथा मृत्युको सबै प्रणाली बनाउन यूएनएफपीएको काममा जानुभयो ।
त्यसपछि पश्चिम टिमोरका विश्व बैंकको एउटा काममा जानुभयो । नेपाल फर्केर आउँदा उहाँलाई डीभी पर्‍यो । डीभी परे पनि उहाँ नजाने सुरमा हुनुहुन्थ्यो । तर, छोरीको पीएचडीको कार्यक्रम पनि अमेरिकामा भएको हुँदा उहाँ अमेरिका लाग्नुभयो ।

त्यसबेला उहाँ पूर्वाञ्चल युनिभर्सिटीको एमबीएको कार्यक्रम प्रमुख हुनुहुन्थ्यो । यूएनएफपीएको सहयोग रहेको पपुलेसन एन्ड डेभलपमेन्ट कार्यक्रमको उहाँ प्रमुख हुनुहुन्थ्यो ।

०००

अमेरिकामा उहाँ बस्ने डालसको कम्युनिटी कलेजमा उहाँ तथ्यांकशास्त्र पढाउने काम गर्नुहुन्छ । पढाउने सन्दर्भमा भने उहाँलाई अमेरिकामा धेरै फरक लाग्यो । त्यो भनेको अमेरिकामा केही पनि रट्नुपर्दैन । तर, यहाँ भने धेरै चिज रट्नुपर्छ । त्यसले गर्दा पढ्ने र पढाउने दुवै तरिका फरक छ । यहाँ पनि पढाएको अनि अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि काम गरेकाले होला, उहाँले अमेरिकामा पढाउन थालेको यो १४ वर्षमा कुनै त्यस्तो अप्रिय घटना घटेको र भोग्नुपरेको छैन ।

यहाँको राजनीतिको वितृष्णा भोगिसकेको हुनाले उहाँलाई अमेरिका गएपछि के लाग्यो भने, राजनीति नै गर्ने हो भने अमेरिकामा पनि किन नेपालको कांग्रेस र कम्युनिस्टको राजनीति गर्ने ? त्यसैले उहाँले डेमोक्र्याटको राजनीति सुरु गर्नुभयो अमेरिकामा ।

दरबारका एक जना पण्डित पनि डीभी परेर अमेरिका गएका रहेछन् । उनलाई बोलाएर पहिलो पटक उहाँले दसैँमा दशै दिन पूजा गराउने काम गर्नुभयो । त्यसका लागि पहिलेदेखि नै भाडा लिएको हलको उपयोग गर्नुभयो । पहिले त ‘को मान्छे आउँछ र ?’ पनि भन्थे । तर, अष्टमी तथा दसैँको दिनको भिड देखेपछि मानिसहरू भन्न थाले- ‘होइन, मान्छे त आउने रहेछन् ।’

त्यसपछि उहाँले सप्ताह लगाउनुभयो । त्यस्तो सप्ताह अमेरिकामा नै नभएको भनेर धेरैले भने । यसले कांग्रेस, कम्युनिस्टको राजनीति गरेर झगडा गर्ने नेपाली समुदायलाई सामाजिक तथा धार्मिक काममा समाहित गर्‍यो र अपनत्व बढाउने काम गर्‍यो ।

उहाँ पहिलेदेखि डेमोक्र्याट पार्टीमा लागेकाले उहाँले चुनावका अभियान पनि थाल्नुभयो । यसले ‘ए, अमेरिकामा राजनीति त यसरी गर्नुपर्ने रहेछ’ भन्ने भयो । त्यसपछि एक जना सिटी काउन्सिलका पाकिस्तानी उम्मेदवारको उहाँहरूले प्रचारप्रसार गर्नुभयो । पाकिस्तानीको जित पनि भयो नेपालीहरूको भोटले । यसले नेपाली समुदायलाई हौस्याउने काम गर्‍यो ।

पछि उहाँहरूले एचईबी भन्ने स्कुलको बोर्डमा २२ वर्षीय आइसा ओझालाई उठाउनुभयो । भलै, ओझाले हार्नुभयो तर १३-१४ सय भोट ल्याउनुभयो । यसले पनि नेपाली समुदाय लाग्दा केही हुन्छ भन्ने सन्देश गयो किनकि नेपाली समाजको त्यहाँको भोट भनेको डेढ/दुई सय मात्र हो । डेढ/दुई सय भोट भएको समुदायको उम्मेदवारले १३-१४ सय भोट ल्याउँदा नेपाली समुदायको शक्ति पनि देखियो ।

त्यसपछि उहाँहरूले टीका पौडेललाई सिटी काउन्सिलमा काउन्सिल मेम्बरको रूपमा उठाउनुभयो र उहाँले जित्नु पनि भयो । नेपाली उम्मेदवार भएर रिपब्लिकनको क्षेत्रमा डेमोक्र्याटले जित्नु भनेको अचम्म पनि भयो । त्यसले माहोल परिवर्तन गर्‍यो । त्यसबेलासम्म नेपालीहरूले केही ठाउँमा मात्र सिटी काउन्सिलमा जितेका थिए ।

आइसा ओझालाई एचईबीमा उम्मेदवार बनाएपछि साथीहरूले युलेस सिटीका लागि डेमोक्र्याटिक पार्टीका लागि क्लब बनाऔँ भन्ने सल्लाह गरे । त्यसपछि जन्मियो- हिमालयन डेमोक्र्याटिक क्लब, जसको उहाँ अध्यक्ष हुनुहुन्छ । क्लब केवल सामान्य जमघटका लागि गठन भएको थियो । तर, त्यसको क्रियाकलाप बढेपछि अरूले हामीलाई किन छुटाएको ? भन्ने आवाज आयो ।

अनि, युलेसबाट डीएफडब्लू भयो । पछि अस्टिन, ह्युस्टनका साथीहरूले हामीलाई किन छाडेको ? भनेपछि हिमालयन डेमोक्र्याटिक क्लब टेक्ससको लेभलमा गठन भयो । अहिलेसम्म उहाँहरू टेक्ससमै सीमित हुनुहुन्छ । बाहिरकालाई सहयोग पनि गरिरहनुभएको छ । तर, अब टेक्ससमा सीमित नभएर सम्पूर्ण अमेरिकामा किन नफैलाउने भन्ने विषयमा साथीहरूले कुरा उठाइरहनुभएको छ ।

पहिलेपहिले केही पर्‍यो कि साथीहरूले उहाँलाई ‘कोही छैन दाइ ?’ भन्थे किनकि गोराहरूसँग उहाँको सम्बन्ध राम्रो थियो । नेपालीहरूको कार्यक्रममा गोरा मेयर तथा राज्यका प्रतिनिधिलाई लिएर आउने काम उहाँले गर्नुहुन्थ्यो । पहिले मेयर आउँदा ‘ओहो, मेयर पनि आउँदारहेछज् हाम्रो कार्यक्रममा’ भनेर साथीहरू छक्क पर्थे । तर, अहिले मेयर तथा राज्यका प्रतिनिधिहरू नेपालीका हरेक कार्यक्रममा आउने गर्छन् । राज्यको प्रतिनिधि टेरी मेजा त तीजको कार्यक्रममा कुर्था-सुरुवाल लगाएरै आउनुहुन्छ ।

अहिले नेपालीहरूको यो शक्ति देखाउन उहाँहरूले ६ वटा स्टेटका उम्मेदवारलाई समर्थन गरिरहनुभएको छ । २ जना कंग्रेसमा लड्नेहरूलाई पनि उहाँहरूले सहयोग गर्दै हुनुहुन्छ ।

०००

अमेरिकामा चुनाव प्रचार भनेको ठूलो आमसभा नभएर घरदैलो कार्यक्रम नै हो । अहिले डेमोक्र्याटबाट बेटो भन्ने उम्मेदवार टेक्ससको गभर्नरमा उठ्दै हुनुहुन्छ । टेक्सस रिपब्लिकनको गढ भएकाले रेड अफ द रेड भनिन्छ । तर, अब नेपालीहरूको सहयोगले यस पटक डेमोक्र्याटले जित्ने सम्भावना बढेको छ । र, डालसमा डेमोक्र्याटिक पार्टीभित्र नेपालीहरूले एउटा इज्जत भने कमाएका छन् ।

चुनावमा घरदैलो गर्दा गोराहरूको चुनाव प्रचारमा एउटा घरमा २ जना मात्र हुन्छन् । तर, नेपाली समुदाय भने २-२ गरेर पचासौँ पुग्ने हुँदा पनि डेमोक्र्याटहरू छक्क पर्छन् र भन्छन्- ‘यस्तो हुने हो भने त हामीले पहिल्यै जितिसक्थ्यौँ ।’ नेपालीहरूले चुनावमा जुन रमाइलो, आनन्द लिन्छन्, त्यो उनीहरूलाई सबैभन्दा मोहित पार्ने विषय हो ।

एनए अर्थात् एसोसिएसन अफ नेप्लिज इन अमेरिकाको कार्यक्रममा उहाँहरूले २ जना मेयरहरूलाई बोलाउनुभएको थियो । उहाँहरू आउनु पनि भयो । नेप्लिज सोसाइटी अफ टेक्सस अमेरिकामा सबैभन्दा ठूलो संस्थाको रूपमा अगाडि आएको छ । यही सोसाइटीले जन्माएकाे नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्रले अहिले झण्डै ७० लाख  डलरको मन्दिरसमेत बनाउँदैछ युलेसमा, जसका लागि ७ एकड जमिनसमेत किनिसकिएको छ । यसमा पशुपतिनाथ र बुद्धका बेग्लाबेग्लै मन्दिर बन्दै छन् । यो बनिसकेपछि युलेस सिटीको ल्याण्डमार्क हुने उहाँहरूको विश्वास छ । यो भनेको आगामी दिनमा अमेरिकामा रहेका नेपालीहरूले गर्व गर्ने थलो हुनेमा पनि उहाँहरू विश्वस्त हुनुहुन्छ ।

आचार्यले उहाँलाई ‘तपाईंले आफ्नो कल्पना र अनुभवलाई एकै ठाउँमा राख्नुभयो, यसो नगर्ने हो कि !’ भन्नुभयो । उहाँलाई राम्रो लागेका २ वटा कथाको अन्त्य खल्लो लागेको बताउनुभयो । ‘यसलाई अलिकति तान्ने हो कि !’ भनेर उहाँले भन्नुभयो । तर, कथा तान्दातान्दै उपन्यास बन्यो । उपन्यास प्रकाशनको क्रममा छ

डालस अहिले धेरै कुरामा अमेरिकाको पावर सेन्टर भएको छ । यसले नेपालीहरूको पावर बढाउने कुरामा कुनै सन्देह रहेन । यसको प्रमाण भनेको अमेरिकाका उपविदेशमन्त्री डोनाल्ड लु, जसले साउथ इस्ट एसिया हेर्ने काम गर्नुहुन्छ, उहाँ डालसमा उहाँहरूलाई खोज्दै आउनुभयो । भनेपछि यसले पनि डालमा नेपालीहरूको पहुँच, सम्मान र इज्जत बढेको अनुभव गर्न सकिन्छ ।

डालसमा नेपाली समुदायलाई यस तहसम्म लैजान मद्धत गर्ने उहाँका अर्का एक जना साथी पनि हुनुहुन्छ- शैलेश आचार्य । अहाँ पुराना पत्रकार, फिल्म निर्देशकसमेत हुनुहुन्छ । तर, नेपाली समुदायलाई यस तहको इज्जत दिलाउने उहाँहरू भने कहिल्यै सम्मान नलिने, खादा नओढ्ने, पदमा बसेर मञ्चमा नदेखिने बरु सकारात्मक रूपमा सकेको सहयोग गर्ने हुँदा नेपाली समुदाय र उहाँहरूको पनि राम्रै इज्जत बनेको छ अमेरिकामा ।

०००

२०३६/०३७ सालमा कमलमणि दीक्षितले एउटा किताब निकाल्नुभएको थियो- दीक्षित परिवारमा कति लेखक छन् भन्ने सन्दर्भमा । त्यसबेला सबैभन्दा कान्छो लेखकका रूपमा उहाँको नाम समावेश भएको थियो ।

तर, विडम्बना ! २०३७ सालपछि उहाँको लेख्ने क्रम भने बन्द भयो । यही कुरो थाहा पाएर केही वर्षपछि कमलमणि दीक्षितले दसैँको समयमा आफ्नो हात उहाँलाई समाउन लगाएर ‘अब लेख्छु भनेर कसम खा’ भन्नुभयो । उहाँले पनि कसम पनि खानुभयो । तर, कोसिस गरे पनि उहाँले लेख्न सक्नुभएन । अंग्रेजी सपार्ने धुनमा नेपाली भने बिग्रिएछ उहाँको ।

एक पटक कमलमणि बिरामी भएका बेला उहाँले आफूले दिएको वचन राख्न पनि केही त लेखेर देखाउन पर्‍यो भनेर लेख्न त सुरु गर्नुभयो तर ४ महिनामा पनि ४ पेज लेखिएन ।

पछि उहाँले १० पेजको एउटा कथा लेखेर साथी बैकुण्ठ आचार्यलाई देखाउनुभयो । तर, उहाँले नेपालीको ८ कक्षामा पढिने नेपाली व्याकरणकाे किताब दिएर याे पढ्नुस् भनेर दिनुभयाे । अर्थात् भाषा त भुसुक्कै भएछ । तर, त्यही कथा आचार्यकी श्रीमती इरा आचार्यले भने पढ्नुभएछ । उहाँले फोन गरेर ‘तपाईंको कथा साह्रै मनपर्‍यो । पढेपछि छाड्नै मन लागेन । तपाईंले किन त्यसलाई नसिध्याएको ?’ भनेपछि त्यसले केही हौसला दियो उहाँलाई ।

अर्को कुरा, त्यसको बगेको कथाले कसैलाई छोयो भनेपछि व्याकरण त पछिको कुरा हो भनेर त्यसले उहाँलाई आत्मविश्वास दियो । पछि उहाँले एउटा कथासंग्रह नै सकेर साथी शैलेश आचार्यलाई दिनुभयो ।

कथासंग्रह पढेपछि शैलेशले ‘कथाको बहावलाई त मान्नै पर्छ’ भन्नुभयो । उहाँले आफूले २ वटा कथा एकै पटक नपढेकामा दीक्षितले कथा पढ्न बाध्य पार्नुभयो भन्नुभयो । यो उहाँका लागि मदन पुरस्कारभन्दा कम थिएन ।

आचार्यले उहाँलाई ‘तपाईंले आफ्नो कल्पना र अनुभवलाई एकै ठाउँमा राख्नुभयो, यसो नगर्ने हो कि !’ भन्नुभयो । उहाँलाई राम्रो लागेका २ वटा कथाको अन्त्य खल्लो लागेको बताउनुभयो । ‘यसलाई अलिकति तान्ने हो कि !’ भनेर उहाँले भन्नुभयो । तर, कथा तान्दातान्दै उपन्यास बन्यो । उपन्यास प्रकाशनको क्रममा छ ।

यस घटनाले उहाँलाई के लाग्यो भने, दीक्षित परिवार, जसको रगतमै साहित्य छ, उसलाई त लेख्न यति गाह्रो हुँदो रहेछ भने जसले लेख्न कोसिस गरिरहेको छ, उसलाई कति गाह्रो होला ? यस्ता सर्जकलाई सहयोग गर्नुपर्छ भनेर स्रष्टा साँझ जन्मियो ।

स्रष्टा साँझ जन्मिनुको अर्को पनि कारण छ- यसमा साथीहरूले महिनामा एक दिन कालो चिया खाएर आफूले लेखेका रचना सुनाउन पाए हुन्थ्यो भनेर पनि जन्मिएको हो स्रष्टा साँझ । तर, एउटा सानो कोठा अनि शहरबाट सुरु भएको स्रष्टा साँझ फैलिएर स्रष्टा साँझ अमेरिका भएको छ । यसको व्यापकतालाई हेरेर अहिले अमेरिका पनि हटाउने कुरो चल्दै छ ।

स्रष्टा साँझ अमेरिका अहिले पाँचौँ वर्षगाँठ मनाउने क्रममा छ । स्रष्टा साँझले कविता, कथा, गजल, मुक्तक, उपन्यास, लघुकथा, पत्रकारिता, गीत, संगीत सबै विधालाई समेटेको छ ।

मानिसहरूले गायकहरूलाई मात्र चिन्ने हुँदा उहाँहरूले हरिभक्त कटुवाल साँझ मनाउनुभयो । विश्वेश्वरप्रसाद कोइराला राजनीतिक नेता मात्र नभएर आख्यानमा फरक धार सुरु गर्ने स्रष्टा भएकाले उहाँलाई स्रष्टाको रूपमा सम्मान गर्नुपर्छ भनेर वीपी स्रष्टा साँझ पनि मनाउनुभयो । अहिलेसम्म स्रष्टा साँझले विभिन्न विधामा गरेर १२५ वटा कार्यक्रम गरिसेकेको छ । अर्को कुरा भनेको स्रष्टा साँझका लागि उहाँहरूले बाहिरबाट कसैसँग चन्दा संकलन गर्ने काम पनि गर्नुभएको छैन । यो अर्को विशेषता हो स्रष्टा साँझको ।