संक्रमणकालीन अवस्थाको व्यवस्थापनमा जटिलता

फर्कलान् र ती दिनहरू

संक्रमणकालीन अवस्थाको व्यवस्थापनमा जटिलता

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  श्रावण २८, २०७९

कसरी फर्कलान् र ती दिनहरू अब ? बालापनको त्यो बेला, जहाँ कुनै लोभ थिएन, कुने द्वेष थिएन र कुनै स्वार्थीपन थिएन, तर अपनत्वको पाठ त्यहीँ सिकियो । अपनत्व पनि कस्तो भने, यो मेरो, मलाई चाहिन्छ तर किन भन्ने भन्दा पनि आफ्नो र अर्काको भनेर बुझ्न थालेजस्तो लाग्छ ।

त्यसो त जन्मँदै पाइने गुणहरू त पक्कै थिए, छन् र रहलान् । तर, लोभको कुरा गर्दा जबजब उमेर बढ्दै जाँदो रहेछ, लोभ पनि बढ्दै जाँदो रहेछ । थाहा छ, लोभले केही हुँदैन र लोभले सञ्चित गरेर राखेको सम्पत्ति मृत्युपश्चात् आफूसँग लगिने पनि होइन तर  लोभ लाग्छ । सायद लोभ पनि मानवीय गुण हो ।  

लोभ पनि यही जुनीका लागि गरिने कि अर्को जुनीका लागि भन्ने बहस छँदै छ । बालककालमा लोभ खाने कुरामा बढी नै हुने हो । कतिसम्म भने, दसैँमा घरभरि केरा छ तर कतै लुकाउन मन लाग्ने । अनि, बिर्सियो । केही दिनपछि जब त्यहाँ पुगिन्छ र हेरिन्छ त केरा कुहिएर पनि सुकेको हुन्छ ।

किन लुकाएको होला ? भन्ने प्रश्नको कुनै उत्तर आफैँसँग पनि हुँदैन । आजसम्म सम्झना त छ तर किन त्यो पाकेको केरा लुकाइएको हो भन्ने प्रश्नको उत्तर छैन, छ त फगत त्यो सुनौलो सम्झना, आफूमा जागेको लोभको निःस्वार्थ सम्झना मात्र ।

हाम्रो घरमा आँटी आउँथ्यो, अम्बा आउँथ्यो । अझ आँटी त काँचा खोजेर ल्याएर पकाइन्थ्यो र खाइन्थ्यो । त्यो बेलामा पनि पाकेको आँटीभन्दा पनि काँचो आँटी कतै लुकाइन्थ्यो, जहाँ जसले पायो त्यसले देख्न नसकोस्, भेटेर पाकेको आँटी खान नसकोस् र आफू मात्र आफूले राखेको आँटी खान पाइयोस् ।

फगत एउटा लोभ हुने रहेछ । बिर्सिएर होला या खान पाएर होला, फेरि त्यसको वास्ता हुँदैनथ्यो र त्यस्तै सुकेर खरमट्ट भएपछि कहिले भेटिन्थ्यो अनि हाँस्यो । अरूले पनि त्यो देखेमा भन्ने गर्थे– ‘कुनचाहिँ लोभीले पकाउन भनेर राखेछ, पाक्यो, सुक्यो तर खाएनछ ।’

शंका त हामीमाथि नै गर्थे तर भन्दैनथे । म र मेरो समवयी भाइ विष्णु, मपछिको माहिलो भाइ हिमालले गरेको भन्ने त यसै पनि थाहा हुन्थ्यो । आज सम्झँदा लाग्छ, त्यो बेला फेरि फर्कला र ? यदि त्यो बेला फर्कने भए आमा पनि त सँगै हुनुप¥यो, त्यो बेलाको समय पनि फर्केर आउनुप¥यो, घरको आर्थिक अवस्था, भौतिक सञ्चयको अवस्था त्यहीँ पुग्नुप¥यो ।

अब मात्र सम्भव छ कल्पनामा, सम्झनामा । काल्पनिक टाइम मेसिन प्रयोगमा आएको भए सायद त्यो बालापनमा मज्जाले घुमिन्थ्यो । हुनत यी सम्झनामा तरेलीमा रमाउँदा पनि त्यहीँ पुगिएको छ र त्यो बेलाको सम्झनाले पनि मन एक प्रकारले फुरुङ्ग हुन्छ तर तत्कालै ती दिनहरू अब कुनै पनि हालतमा नदोहोरिने सत्य पनि छँदै छ । बालापनमा आवश्यकता पनि सीमित हुने, माग पनि सीमित रहने, मागको आपूर्ति पनि तत्कालै हुने भएकाले त्यो बेलालाई स्वर्णिम मानिएको होला ।

मलाई विद्यालय जान कहिल्यै अल्छी लागेन । नयाँ पुस्तक पाउँदा हुने खुसी र पुस्तक भेट्टाउनेबित्तिकै पढिने कथाको स्वाद नै बेग्लै हुने । अर्थात् अरूले नपढ्दै कथा, कविता र कठिन शब्दका अर्थहरू थाहा पाउनु पनि मज्जाको कुरा थियो । नेपालीको पुस्तकचाहिँ साह्रै मनपथ्र्यो मलाई ।

मेरा हस्तलिपिको कुरा नै नगर्दा पनि हुन्छ । किरिङ्मिरिङ् अक्षर । त्यसको मार मलाई एसएलसीमा परेको हो । अनिवार्य गणित, पूर्वेली भाषा नेपाली, जसलाई अनिवार्य नेपालीको रूपमा मानिन्थ्यो र प्रारम्भिक संस्कृत भन्ने विषयमा प्राप्त भएको कम प्राप्तांकका कारण मैले मेरा फोहोरी अक्षरलाई दिएको छु । म संस्कृतमा आफूलाई जान्ने नै ठान्थेँ । त्यो बेलामा संस्कृत विषय इच्छाधीन भए पनि हाम्रालागि भने अनिवार्य जस्तै थियो । त्यहाँ सरल संस्कृत या गाह्रो संस्कृत भन्ने रोजाइ हुन्थ्यो । मैले गाह्रो संस्कृत रोजेँ र मेरो पछिको साथीले पनि त्यही रोजेछ– मेरो हेर्दै लेख्नका लागि ।

मलाई थाहा थिएन तर ऊ संस्कृत त्यति नजान्ने भएकाले सम्झेछ– हरिले जेजे लेख्छ, त्यही लेख्ने हो । उसका अक्षर राम्रा थिए, मेरा किरिङ्मिरिङ् तरिकाका । शुद्ध त लेखिन्थ्यो तर राम्रा अक्षरले लेखिने शुद्ध र नराम्रा अक्षरले लेख्ने शुद्धमा फरक हुने रहेछ कि ? पछि एसएलसीको नतिजा आउँदा मेरो अनिवार्य गणित, अनिवार्य नेपाली र संस्कृतमा कम प्राप्तांक भएकाले तृतीय श्रेणीमा पास भइयो । त्यसमा त कुनै गुनासो रहेन तर पछि मेरो त्यो साथीले पो भन्यो– ‘हार्ड संस्कृत गरेको तिम्रो हेरेर, मेरो त राम्रो नम्बर आएछ ।’

मैले केही भन्ने कुरा पनि थिएन तर अक्षरले पार्ने असरको मारमा म परेकै हो । मेरा समकक्षी साथीहरू सबै द्वितीय श्रेणीमा उत्तीर्ण भए । त्यसो त हामी प्रथम श्रेणीमा उत्तीर्ण हुने आकांक्षी थियौँ । कहाँ प्रथम श्रेणीको आकांक्षा, कहाँ द्वितीय श्रेणी र तृतीय श्रेणीमा उत्तीर्ण ? इच्छाधीन विषयका रूपमा हामी गणित लिनेहरू थियौँ, कोही साथीहरू जीव विज्ञान लिने थिए भने कोही साथीहरू नागरिक शास्त्र लिने थिए ।

हामी गणित लिनेहरू पाइलट हुने भन्थ्यौँ, जीव विज्ञान लिनेहरू डाक्टर हुने कुरा गर्थे र राजनीतिक शास्त्र या नागरिक शास्त्र लिनेहरूलाई हामी मन्त्री हुनेहरू भन्थ्यौँ । रमाइलो थियो त्यो विद्यालयको जीवन ।

म भर्ना हुन जाँदा कमला हाइस्कुलमा धोती, टोपी र कमिज लगाएर गएकाले साथीहरूले मलाई ‘पण्डितजी’ भन्थे र प्रसंगमा नेपाली भाषा, संस्कृत भाषामा मेरो पकड राम्रै थियो । कतिसम्म भने, नेपाली र संस्कृत पढाउने आदरणीय गुरु हुनुहुन्थ्यो– उमानाथ शास्त्री सिन्धुलीय, जो विद्वताका लागि नेपालभर प्रख्यात हुनुहुन्थ्यो । राजनीतिबाट टाढाटाढा बसेर भावी नागरिकहरूलाई दीक्षित बनाएर समाजलाई दीर्घकालीन प्रभाव पार्नका लागि शिक्षणमार्फत समाजसेवाको बाटो समाउने त्यागी जोगी सरहका सचेत सामाजिक अभियन्ता हुनुहुन्थ्यो गुरु ।

उहाँका कतिपय कृतिहरू थिए होलान् तर महाकाव्यका रूपमा प्रकाशित ‘मकवानी–बाला’ छ हाम्रा माझ आज पनि । त्यो कृतिको स्वतन्त्र र निरपेक्ष रूपमा समालोचना भएको छैन आजसम्म पनि । साँच्चै महत्त्वपूर्ण कृति हो गुरुको । मेरालागि त देवता सरहका गुरुको रचना हो, राम्रो लाग्छ । तर, जब मैले पनि साहित्यिक चेतना पाएँ, त्यो महाकाव्य धेरै पटक पढेँ, जसले मलाई देशको माया, माटोको माया, संस्कृतिको माया, पर्यावरणको माया र राज्य राज्यका बीच कसरी सम्बन्ध र विद्रोह कसरी हुन्छ भनेर देखाइएको छ ।

मेरो विचारमा त्यो महाकाव्यको उत्कर्षका रूपमा गोर्खाली सेनाको सहयोग मागेका मकवानी राजालाई २ जना कालो लुगा लगाउने सेनाका जवान पठाइएको देखेर हाँसो पनि उठेको तर उनीहरूको सहयोग पनि लिइएको प्रसंग, ती कालो लुगा लगाउने २ जनाले कस्तो रणनीतिले कसरी अंग्रेजका हजारौँ सेनालाई हराएका थिए भन्ने सजीव वर्णन साँच्चै पठनीय छ, स्मरणीय छ र कविको कल्पनाको कति मिठो प्रेरक प्रसंगले गोरखालीहरूको भावी नेपाल एकीकरणको संकेत दिइएको छ ।

गुरुले हामीलाई ती कविताहरू कक्षा कोठामा नै सुनाउने गर्नुभएको थियो । त्यति मात्र होइन, गुरुले हामीलाई विश्व प्रसिद्ध साहित्यका बारेमा सुललित भाषामा कथा भन्नुहुन्थ्यो । पुराणहरूका बारेमा र पुराना चलनहरूलाई कसरी नयाँ तरिकाले अर्थ लगाउने भन्ने विषयमा हामीलाई चेतना दिनुहुन्थ्यो । उहाँमा सामाजिक न्यायको उदाहरणीय स्वभाव थियो र उहाँको जीवन नै समानता, सहकार्य र सेवाको रूपमा लिन सकिन्थ्यो ।

उत्तर बालापनमा गुरुहरू साम्बभक्त शर्मा सुवेदी, उमानाथ शास्त्री सिन्धुलीय जस्ताको परस्पर पूरक जस्ता देखिने तर चेतनाको नयाँनयाँ आयामबाट हामी दीक्षित भएका थियौँ । साम्बभक्त गुरुसँग मैले आफ्नै घरमा सिकेँ र शास्त्री गुरुसँग विद्यालयमा सिकेँ । आज पनि मलाई लाग्छ, मेरो व्यक्तित्वमा उहाँहरूको प्रभाव प्रशस्त हुनुपर्छ ।

त्यसो त जीवन एकीकृत अनुभवहरूको अव्यक्त सञ्चितिको परिणामबाट चल्ने हो र पनि बालापनमा परेको प्रभावले हामीलाई, मलाई जीवनको संक्रमणकालको नदी छिचोल्न मद्दत नै पु¥याएको हुुनुपर्छ ।

प्रसंग थियो कतै लोभको । बालापनको लोभ भनेको मात्र अघाउँजी खान, मिठो खान, मज्जाले सुत्न पाउन, जाडोमा ओड्ने होस्, गर्मीमा पातलो लुगा भए पनि नच्यातिएको होस् र घरमा शान्तिपूर्वक बस्न, खान, सुत्न पाइयोस् ।
युवा अवस्थामा लोभ गरिँदा मात्र सम्पत्ति सञ्चित हुने हो तर युवा अवस्था हामी जस्ता निम्न मध्यम वर्गीय परिवारका युवाहरूका लागि समाजमा कसरी स्थापित हुने भन्ने अनेक तरिकाका लागि विषय छनोटको संघर्ष, जीवन धान्नका लागि पनि कमाउने संघर्ष, असल हुनका लागि के गर्न हुने र के गर्न नहुने भन्ने सामाजिक मान्यतासँग र आफ्ना सामाजिक, मनोवैज्ञानिक, आर्थिक र आध्यात्मिक संक्रमणसँग संघर्ष, आफ्नै मानवीय कमजोरीहरूसँग संघर्ष गर्दैमा बित्यो हाम्रो पुस्ताको ।

अझ हामीभन्दा लगत्तै पहिलेको पुस्ताले झन ती मूल्य र मान्यतासँग एकातिर आत्मसात् गरेर हिँड्नुपर्ने अनि परिवर्तनको संघारमा उभिएको सामाजिक अनिवार्यतासँग मिलन, सम्मिलन र मिलानको बाध्यता । साँच्चै भन्ने हो भने, हाम्रो पुस्ताले देखेको परिवर्तनको बेला । समयको परिवर्तन । साँस्कृतिक परिवर्तन । भाषाको परिवर्तन । राजनीतिक व्यवस्थाको परिवर्तन । परिवर्तको भोक र परिवर्तनका लागि भोगिएको प्रसव वेदनाको पीडासँगै बाँचेको जिन्दगी ।

जातीय बन्धनका विरुद्धमा लड्नुपर्ने तर समाजले त्यसलाई कसरी स्वीकार गर्ने हो भन्ने भय मिश्रित समय । प्रजातन्त्रप्रतिको आस्था र प्रजातन्त्रका विरुद्धका राज्यको कडा नियम, कानुन । आदर्शको प्रजातन्त्र, कल्पनाको प्रजातन्त्र र प्रजातन्त्र पुनस्र्थापना र प्रबद्र्धनका समयमा देखिने संक्रमण, त्यसपछिको प्रजातन्त्र कार्यान्वयमा देखिएको अराजक अवस्था र आजको संक्रमणकालीन अवस्था ।

जीवनमा भोगिने धेरै समस्या । नखाएको विष लाग्दाको दुखद क्षण । कहिले लाग्छ, हामीले भोगेका समय साँच्चै यो शदीको नै प्रयोगशालाको समय हो, जहाँ धेरै प्रयोग गरिए तर त्यसको परिणाम अनिश्चित छ र नेपाली समाजको गन्तव्य कहाँ गएर निश्चित ठाउँमा अडिएला भन्न सकिँदैन किनभने समय त गतिशील छ, झन संक्रमणकालीन र गन्तव्यहीन यात्राको मझधारमा उभिएर विशाल समुद्रमा चारैतिर पानी नै पानी अनि कहाँ गएर आफ्नो बहाना पनि नभएको डुंगा अडिएला, कुन टापुमा गएर अडिएला अनि त्यसपछिको परिणाम के  होला ?

जीवन त यहाँ प्रस्तुत गरिएको एउटा मूर्ति जस्तो पो छ । मैले यो मूर्ति डेनमार्कको पुरानो दरबारको बगैँचामा खिचेको हो, जहाँ जीवन कति जटिल छ, कति चुनौतीपूर्ण छ भनेर देखाइएको जस्तो लाग्छ ।

क्रमशः