कर नै नतिरी ब्रिटिस काउन्सिल सञ्चालन

कर नै नतिरी ब्रिटिस काउन्सिल सञ्चालन

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १३, २०७६

काठमाडौं । ६० वर्षदेखि नेपालमा सञ्चालित ब्रिटिस काउन्सिल दुई महिनाअघि मात्रै कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको छ । गत १७ चैतमा ब्रिटिस काउन्सिल सर्भिसेस नेपालको नाममा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको हो । सन् १९५९ देखि नेपालमा स्थापित काउन्सिलले आइइएलटिएस (इन्टरनेसनल इंग्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम) परीक्षा सञ्चालन गर्दै आएको छ । तर, उसले हालसम्म पनि नेपाल सरकारलाई कुनै कर नतिरेको आन्तरिक राजस्व विभागका एक उच्च अधिकारीले जानकारी दिए । 

नेपालमा वार्षिक ५० हजारभन्दा बढी विद्यार्थीले आइइएलटिएसको परीक्षा दिँदै आएका छन् । एकजना विद्यार्थीबाट उसले १६ हजार नौ सय ५० रुपैयाँ शुल्क लिने गरेको छ । यस हिसाबले काउन्सिलले वार्षिक ८२ करोड रुपैयाँभन्दा बढी संकलन गर्छ । तर, काउन्सिलले आयकर, मूल्य अभिवृद्धि करलगायत कुनै पनि कर तिरेको छैन ।

ब्रिटिस काउन्सिल आन्तरिक राजस्व कार्यालय महाराजगन्जको कार्यक्षेत्रअन्तर्गत पर्छ । तर, उसले उसले अझै कर नबुझाएको आन्तरिक राजस्व विभागले जनाएको छ । ‘दर्ता भएर भ्याट (मूल्य अभिवृद्धि कर) नम्बरसमेत लिइसकेको छ,’ विभागका एक अधिकृतले भने । ब्रिटिस काउन्सिल भारतमा सन् २००६ मा कम्पनीमा दर्ता भएको थियो । उसले त्यहाँ भने नियमित कर तिर्दै आएको छ । आजको नयांँ पत्रिका दैनिकमा खबर छ ।