अन्ततः गठबन्धनकै भर ! पूर्व प्रम, मन्त्रीदेखि दलसम्म राजनीतिमा सुरक्षाको खोजी

लोकसंवाद टिप्पणी

अन्ततः गठबन्धनकै भर ! पूर्व प्रम, मन्त्रीदेखि दलसम्म राजनीतिमा सुरक्षाको खोजी

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३१, २०७९

राजनीतिक दलहरु आफ्नो राजनीतिक जोखिममा पर्ने भएपछि जस्तोसुकै अप्रिय निर्णय गर्न पनि तयार हुने श्रृङ्खलाले निरन्तरता पाउने निश्चित हुँदै गएको छ ।

२०७३ सालमा आफूलाई आलोपालो प्रणालीअनुसार प्रधानमन्त्री पद नछाडेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेलाई छाडेर काँग्रेससँग मिलेर सरकार बनाए । अनि काँग्रेससँग उचित भागबण्डा नमिल्ने भएपनि एमालेसँगै चुनावी तालमेल हुँदै पार्टी एकतासम्म पुगे ।

काँग्रेस र माओवादी मिलेर चुनाव लडे आफूले ठूलो क्षति व्यहोर्ने निश्चित देखेको एमाले पनि माओवादीसँग चुनावी तालमेल र एकताका लागि तयार भयो । सर्वोच्चको २३ फागुन, २०७७ को उत्प्रेषणको आदेशसँगै एमाले र माओवादी फेरि अलग अलग पार्टी बन्न बाध्य भए । 

२०७२ साल असोज ३ गते संविधान जारी गर्दाका बखत प्रमुख भूमिकामा थिए, बाबुराम भट्टराई । संविधान जारी भएलगत्तै आधा भरिएको र आधा खाली संविधान जारी गरिएको भन्दै भट्टराई भड्किए ।

त्यसबेला एकीकृत माओवादीका वरिष्ठ उपाध्यक्ष रहेका भट्टराई ९ असोजमा माओवादी पार्टीलाई रातो स्टिकर टाँसेको घर भन्दै छाडेर हिँडे । सुरुमा आफू मात्रै पार्टीबाट निस्किएका भट्टराई पक्षका धेरै नेता कार्यकर्ता पनि अलग भए र नयाँ शक्ति पार्टी गठन गर्न पुगे ।

नयाँ शक्तिबाट संघीय समाजवादी पार्टी हुँदै जनता समाजवादी पार्टीबाट अहिले नेपाल समाजवादी पार्टी गठन गरेका छन् । उनी यतिबेला आफूले रातो स्टिकर टाँसेको घर भन्दै छाडेर हिँडेको त्यही माओवादीको चुनाव चिन्हलाई सुरक्षित ठानेर सोही चुनाव चिन्हबाट चुनाव लड्न तयार भएका छन् । 

यतिबेला सत्ता पक्षीय दलहरुको एउटा चुनावी गठबन्धन छ । जसमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाबीच सिट बाँडफाँड गर्न कार्यदल नै बनेर गृहकार्य भइरहेको छ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पनि माओवादीसँगै यही गठबन्धनमा सामेल हुँदैछ भने महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि सत्ता गठबन्धनमा सामेल हुन पाउने आशामा पर्खिरहेको  छ । 

यतिसम्मकी समान राजनीतिक विचार र आस्था नभएका दलहरु बीचको गठबन्धन र एकता संविधान विरोधी भएको उनको तर्क छ । तर एमाले यतिबेला विचार र राजनीतिक आस्था छेउ टुप्पो नमिल्ने राप्रपा र हृदयश त्रिपाठीसँग गठबन्धन बनाउने कोसिसमा लागेको छ । यसले एमाले नेताहरुको भनाईलाई नै खण्डन गर्छ । यसबाट आगामी दिनमा चुनावमा सत्ता गठबन्धनको तालमेल र गठबन्धनको विरोध गर्ने एमालेको नैतिक हैसियत थप कमजोर हुनेछ । 

यसरी बृहत गठबन्धन बनेको अवस्थामा गठबन्धन बाहिरका दललाई चुनाव जित्न फलामको च्युरा चपाउनु सरह हुन्छ । त्यसैले प्रमुख प्रतिपक्षी एमालेले गठबन्धनको विरोध गरिरहेको छ । यतिसम्म कि एमाले नेताहरु चुनावअघि गठबन्धन गर्नु अनैतिक र असंवैधानिक भएको समेत बताइरहेका छन् ।

स्मरणीय छ कि २०७४ को निर्वाचनअघि यही एमालेले माओवादी केन्द्रसँग चुनावी गठबन्धन गरेर दुई तिहाई नजिकको बहुमतमा दुई पार्टी पुगेका थिए । अहिले आएर गठबन्धनलाई विरोध गरेर एमालेले सत्ता, शक्ति र चुनावी सुरक्षाका लागि जे गर्दा र बोल्दा पनि हुन्छ भन्ने भाष्य स्थापित गर्न खोजिरहेको छ । तर ५ वर्षअघिको एमाले माओवादी गठबन्धन कसैले नभुलेका कारण एमालेले अहिले व्यक्त गरेका कुरा हताश मानसिकताको उपजका रुपमा लिने गरिएको छ । 

आगामी निर्वाचन प्रतिकुल हुने देखेपछि एमालेले राप्रपा र हृदयश त्रिपाठी समूहसँग चुनावी गठबन्धनका लागि छलफल अघि बढाएको छ । केही दिन अघिसम्म चुनावी गठबन्धनको विरोधमा रहेको बताउने एमालेले थालेको यो पहलकदमीलाई सकारात्मक रुपमा नै लिनु थलिएको । राप्रपासँग चुनावी गठबन्धन भएको अवस्थामा झापामा अध्यक्ष केपी ओलीलाई चुनाव जित्न सहज हुन्छ ।

गत स्थानीय तहको निर्वाचनमा ओलीको गृहनगर दमकमा सबै दल मिलेर एमालेलाई हराइएकाले त्यसको बदलासहित राप्रपालाई मिलाएर ओली चुनाव जित्न चाहन्छन् । त्यस्तै हृदयश त्रिपाठी समूहलाई मिलाउन सकेमा नवलपरासीसहित केही जिल्लामा एमालेको भोट बढ्छ । त्यसैले एमाले ठूला पार्टीसँग गठबन्धन गर्न नसके पनि साना र क्षेत्रीय रुपमा प्रभाव राख्ने दलहरुसँग तालमेल गरेर आगामी निर्वाचनमा सिट थप्न चाहन्छ  । 

एमाले नेता भीम रावलले संसददेखि सार्वजनिक मञ्चसम्म गठबन्धनको विपक्षमा कुरा राखिरहेका छन् । यतिसम्मकी समान राजनीतिक विचार र आस्था नभएका दलहरु बीचको गठबन्धन र एकता संविधान विरोधी भएको उनको तर्क छ । तर एमाले यतिबेला विचार र राजनीतिक आस्था छेउ टुप्पो नमिल्ने राप्रपा र हृदयश त्रिपाठीसँग गठबन्धन बनाउने कोसिसमा लागेको छ । यसले एमाले नेताहरुको भनाईलाई नै खण्डन गर्छ । यसबाट आगामी दिनमा चुनावमा सत्ता गठबन्धनको तालमेल र गठबन्धनको विरोध गर्ने एमालेको नैतिक हैसियत थप कमजोर हुनेछ । 

यी घटनाहरूबाट नेपालका राजनीतिक दलहरु चुनावी र आफ्नो व्यक्तिगत राजनीतिक सुरक्षाका लागि जस्तोसुकै निर्णय लिन पनि पछि पर्दैनन् भन्ने प्रष्ट हुन्छ । पार्टी परित्याग गरेको ७ वर्षपछि बाबुरामको माओवादीमै शरण होस् या एमालेको राप्रपासहितका साना दलसँगको चुनावी तालमेलको प्रयास होस् यी सबै घटनाक्रम व्यक्तिगत राजनीति सुरक्षा गर्ने साधन हुन् ।