कीर्तिपुरका ढोका र गढपर्खाल इतिहास मात्रै

कीर्तिपुरका ढोका र गढपर्खाल इतिहास मात्रै

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १३, २०७६

काठमाडौं । मध्यकालमा निकै व्यवस्थित तरिकाले विकास गरिएको सहर हो कीर्तिपुर । यस सहरलाई रणनीतिक र सामरिक हिसाबले चारैतिरबाट पर्खाल लगाएर सुरक्षित बनाउन १२ वटा ढोकाको निर्माण भएको इतिहास छ ।

१२ वटा ढोका बाहिर अर्को सुरक्षा कवचका रुपमा १२ वटा पोखरी थिए । पोखरी भन्दा बाहिर जङ्गल थियो । त्यति मात्र होइन यी ढोकासँग जोडेर सहरको सुरक्षाका लागि गढ पर्खाल बनाइएको थियो तर अहिले ती गढ पर्खाल लोप भइसके । जङ्गलको नामोनिसान छैन । कीर्तिपुरलाई विश्व सम्पदा सूचीमा मध्ययुगीन बस्तीका रुपमा सूचीकृत गर्ने प्रयास भए पनि कीर्तिपुरका मौलिक गहना अब रमाइलो इतिहास मात्र बनेका छन् । 

‘बस्तीलाई एक गढको रुपमा विकास गरी बस्ती छिर्ने ध्वाखा (ढोका)हरु बनाइएको कीर्तिपुरका संस्कृतिविद् प्रयागमान प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, “उत्तरलिच्छवि कालदेखि पूर्वमल्लकालमा नै बनाइएका ढोकाहरूले शाहकालसम्म आइपुग्दासमेत कीर्तिपुर देशको सुरक्षाकवच बनिरह्यो ।” उहाँका अनुसार लिच्छवि राजा शिवदेव तृतीयका पालामा कीर्तिपुरलाई व्यवस्थित सहरका रुपमा विकास गर्ने काम थालनी भएको हो । त्यही समयमा शिवदेव तृतीयले आफ्नो देशलाई एक किल्लाको रुपमा सुरक्षाको प्रवन्धसहित व्यवस्थित गरेका हुन् । सामरिक सुरक्षाको संरचना प्रबन्ध गर्ने क्रममा त्यही बेला नै कीर्तिपुरमा ढोका र गढपर्खाल बनाइएका हुन् । यो समाचार आजको गाेरखापत्र दैनिकमा छ ।