ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल अध्यक्षमा निलहरि बास्तोला

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल अध्यक्षमा निलहरि बास्तोला

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३१, २०७९

काठमाडौँ । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा निलहरि बास्तोला बिजयी हुनुभएको छ ।

गएराति सम्पन्न टानको ४४ औं वार्षिक साधारण सभा एवम् निर्वाचनबाट बास्तोलाले ६१६ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी रामप्रसाद सापकोटाले २६४ मत प्राप्त गर्नुभएको छ । निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी निलहरि बास्तोला प्यानल नै विजयी भएको छ । अध्यक्षका प्रत्यासी द्वय सापकोटा र बोधराज भण्डारीलाई पराजित गर्दै बाँस्तोला बिजयी हुनुभएको हो ।

टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहालले ५०४ मत ल्याएर विजयी हुनुभएको छ । प्रथम उपाध्यक्षमा प्रदीप पण्डित ५५२ मतका साथ विजयी हुनुभएको छ । द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङले ५९८ मत ल्याएर विजयी हुनुभएको छ । महासचिवमा विनोद सापकोटा ९बाबु० ५४४ मत ल्याएर विजयी हुनुभएको छ । सचिवमा होमनाथ भट्टराई ५०३ मतकासाथ विजयी हुनुभएको छ । कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिनाले ४८८ मत ल्याएर विजयी हुनुभएको छ । सहकोषाध्यक्षमा छिङ दोर्शी शेर्पा ५१६ मतसहित विजयी हुनुभएको छ ।

यस्तै महिला सदस्यमा सजना त्रिपाठी विजयी हुनुभएको छ । खुल्ला सदस्यमा सदस्यहरुमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा र कृष्णबहादुर परियार निर्वाचित हुनुभएको टान निर्वाचन समितिले जनाएको छ ।

टानका नवनिर्वाचित अध्यक्ष बास्तोलाले टानलाई व्यवसायीको साझा संस्थाको रुपमा स्थापित गर्न सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले निर्वाचनका दौरानमा प्रस्तुत गरिएको २० बुँदे घोषणापत्र कार्यान्वयनका लागि प्राथकिताका साथ लाग्ने विश्वास व्यक्त गर्नुभयो । टानलाई समयसापेक्ष बनाउदै सेवा प्रबाहलाई चुस्त दुरुस्त बनाएर व्यवसायीको समस्यालाई सम्बोधन गरिने उहाँको भनाई छ । कोभिडबाट शिथिल बनेको मुलुकको पर्यटन पुनरुत्थानका लागि सरकार तथा निजी क्षेत्रले सहकार्य गरेर पर्यटन क्षेत्रमा सकारात्मक उत्साह जगाउने कार्यमा लाग्ने अध्यक्ष बास्तोलाले बताउनुभयो । 

उहाँले व्यवसायीले खोजेजस्तो टान बनाउने बताउदै पर्वतीय पर्यटनमा २८ वर्ष काम गरेको अनुभवलाई टान व्यवसायीहरुको हितमा लगाउने बताउनुभयो ।

टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गरिनेछ । एक हजार ८५० व्यवसायी आबद्ध टानमा एक हजार २५० मतदाता छन् ।