सहरी विकास मन्त्री मेटमणि चौधरीले मुस्लिम समुदायलाई भर्‍याङ मात्र नबन्न आग्रह

सहरी विकास मन्त्री मेटमणि चौधरीले मुस्लिम समुदायलाई भर्‍याङ मात्र नबन्न आग्रह

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १, २०७९

कपिलबस्तु ।सहरी विकास मन्त्री मेटमणि चौधरीले मुस्लिम समुदायलाई भर्‍याङ मात्र नबन्न आग्रह गरेका छन् । 

जामिया सिराजुल उलूम अलसाल्फिया विद्यालयले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘नेपाल राष्ट्र बनेदेखि नै मुस्लिम समुदाय नेपाल प्रवेश गरेको इतिहास छ । प्रवेश मात्र होइन राष्ट्र बनाउन योगदान रहेको छ । तर सधैँ किन भर्‍याङ मात्र बन्ने ?’

सिमान्तकृत समुदायले अब नेतृत्व दावी गर्नुपर्ने बेला आएको बताउँदै सहरी विकास मन्त्रीले थपे, ‘उम्मेदवारी दिनुहोस् । नेतृत्व दावी गर्नुहोस् ।’ 

कार्यक्रममा जामिया सिराजुल उलूम अलसाल्फियाका प्रवक्ता मौलाना मशहूद खाँले मौलानाहरु र प्राथमिक देखि माध्यामिक तहका विद्यालयहरुलाई दिँदै आएको सरकारी रकम निकै कम भएकाले मदरसा सञ्चालन गर्न अत्यन्त मुस्किल परेको सुनाए । त्यसैगरि उनले होस्टेल, पर्खाल र भवन मर्मतका लागि सहरी मन्त्री समक्ष ध्यानाकर्षण गराएका थिए । 

मन्त्री चौधरीले मदरसाका विभिन्न भवन, होस्टेल, कार्यालय निरिक्षण गर्नुका साथै समस्या समाधानमा विशेष पहल समेत गर्ने बताए ।