स्रष्टा साँझ अमेरिका- २०७९ विमोचन

स्रष्टा साँझ अमेरिका- २०७९ विमोचन

लोकसंवाद संवाददाता  |  साहित्य  |  भदौ १, २०७९

काठमाडौं । उपन्यास समाज नेपाल र स्रष्टा साँझ अमेरिकाद्वारा संयुक्त रुपमा आयोजित एक कार्यक्रमा स्रष्टा साँझ अमेरिक-२०७९ विमोचन गरिएको छ । 

प्रमुख अतिथि तथा वरिष्ठ साहित्यकार साथै साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रराज शर्माले विमोचन गर्नुभएको कार्यक्रममा विभिन्न साहित्यकार, स्रष्टा तथा पत्रकारको पनि उपस्थिति रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि शर्माले संस्थाहरु धेरै खुलेर झगडा पर्ने स्थिति भएकोले हामीले विभिन्न संस्था मिलाउने काम नभै लेख्ने काम गर्नुपर्ने बताउनु भयो । 
कार्यक्रमका प्रमुख अतिथि तथा स्रष्टा साँझ अमेरिकाका अध्यक्ष प्रभात दीक्षितले अमेरिकामा रहेका नेपालीहरुको आफ्ना रचनाहरू यसो बेलुकी बसेर कालो चिया खाएर रचना सुनाउने सन्दर्भमा स्रष्टा साँझ अमेरिका जन्मिएको बताउनु भयो । 

उहाँले स्रष्टा साँझ कसैसँग प्रतिस्पर्धा नगर्ने भन्ने सिद्धान्तबाट अगाडि बढेकोले सफल भएको तथा सबैलाई समेट्ने ढंगले अघि बढेकोले कार्यक्रम सफल भएको बताउनु भयो । 

वरिष्ठ साहित्यकार तथा लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले एक वर्षमा झण्डै १ सय १७ वटा कार्यक्रम गरेर स्रष्टा साँझले अनुकरणीय काम गरेको बताउँदै संस्थाले विभाजित भएर रहेका स्रष्टालाई जोड्ने काम गरेको पनि बताउनु भयो । 

वरिष्ठ साहित्यकर राधेश्याम लेकालीले विमोचनका नाममा विकृति भित्रिएको भन्दै उपन्यास समाज र स्रष्टा साँझले विमोचनमा सहयोग गरेर विकृति हटाउन मद्दत गरेको बताउनु भयो ।

अनेसासका पूर्व अध्यक्ष एवम् वरिष्ठ साहित्यकार मोहन सिटौलाले स्रष्टा साँझ जस्तो छिटो संसारभरि फैलिएको कार्यक्रम नभएको बताउनु भयो । 

वरिष्ठ साहित्यकार विष्णुबहादुर सिंहले यसलाई अब सानो घेरबाट अझ ठूलो घेरामा लैजानुपर्ने बताउनु भयो । 

चेतनाथ धमलाले सञ्चालन गर्नु भएको कार्यक्रमका सभापति तथा नेपाल उपन्यास समाजका अध्यक्ष शंकर भारतीले समाज उपन्यास विकासको लागि गठित नेपालको पहिलो संस्था भएको र स्रष्टा साँझसँग मिलेर स्रष्टाहरूको उत्थानमा लागि पर्ने बताउनु भयो ।