महासचिवमा परेको गाँठो: माओवादीमा पदाधिकारी चयनको ८ महिने सकस

महासचिवमा परेको गाँठो: माओवादीमा पदाधिकारी चयनको ८ महिने सकस

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २, २०७९

नेकपा (माओवादी केन्द्र) ले गत पुसमा आठौं महाधिवेशन सम्पन्न गर्‍यो । महाधिवेशन पार्टीको सर्वोच्च अंग हो । यसबाट पार्टीका पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय समिति चयन गरिनुपर्ने हो ।

तर माओवादी केन्द्रले महाधिवेशनबाट केन्द्रीय समिति मात्रै चयन गर्न सक्यो । पार्टीका पार्टी संरचनालाई पूर्णता दिन माओवादीलाई लामो समय लगायो ।  गत पुस ११ गतेदेखि १८ गतेसम्म चलेको महाधिवेशनले चयन गर्न नसकेको पदाधिकारी टुंगो बिहीबार लगाउने तयारी गरेको छ । बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका पदाधिकारीको प्रस्ताव गर्ने तयारी गरेका छन् । 

गत असार १९ गतेदेखि २३ गतेसम्म चलेको केन्द्रीय समिति बैठकमा नेताहरुले पदाधिकारीसहित सबै कमिटीलाई अन्तिम रुप दिन दबाब दिएका थिए । प्रचण्डले केन्द्रीय समितिलाई पूर्णता दिए । प्रचण्डले तीन पटक लिस्ट सच्याएर पढ्दा पनि पोलिटब्युरो टुंगो लागेन । त्यसपछि बैठकमा नेताहरुले पर्याप्त गृहकार्य नगरेको भन्दै आपत्ति जनाए । 

तीन पटकमा पनि नाम टुंगो नलागेपछि उनले तत्कालीन नेकपामा स्थायी कमिटीमा रहेकालाई समेटेको भन्दै पुराना नेताहरुको नाम पढे । त्यसपछि नेताहरुले पुनः स्थायी समिति र पोलिटब्युरो टुंगो लगाउन माग गरे । तर अध्यक्ष प्रचण्डले पदाधिकारी सहित सबै कमिटी फाइनल गर्न तत्कालै सक्ने तर सबैलाई चित्त बुझाएर लैजानुपर्ने भन्दै केही दिन गृहकार्य गर्ने समय मागेका थिए  ।

प्रचण्डलाई २–४ दिन समय दिँदै बैठक सकिएको एक महिनाभन्दा लामो समय भइसक्यो । तर अझै पदाधिकारीसहितका कमिटी टुंगो लागेको थिएन । जापान भ्रमणअघि नै पदाधिकारी टुंग्याउने बताइए पनि अन्तिम समयमा आएर बैठक स्थगित गरिएको थियो । 

पार्टी पदाधिकारीका विषयमा छलफल गर्न अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको बैठकमा पुनले महासचिवमा दाबी छाड्न सक्ने संकेत गरेका छन् । त्यस्तो भएमा उनी उपाध्यक्ष बन्ने सम्भावना रहेको स्रोत बताउँछ । पार्टीमा महासचिवका विषयमा त्यसपछि छलफल भएको छैन । अध्यक्ष प्रचण्डको प्रस्ताव पुनले स्वीकार गर्ने सम्भावना छ । त्यसैले अब प्रचण्डले एक जनालाई उपाध्यक्ष र एक जनालाई महासचिव बनाउने सम्भावना छ ।

प्रचण्डले झण्डै दुई महिनाको गृहकार्यपछि केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी समिति सदस्यहरुको सूची फाइनल गरेका छन् । जसअनुसार अब माओवादीको केन्द्रीय समिति ३४१ जनाको, पोलिटब्यूरो १२५ जनाको र स्थायी समिति ४३ जनाको हुने भएको छ । बिहीबार बस्ने स्थायी कमिटी बैठकले पदाधिकारी टुंगो लगाउने बुधबारको स्थायी समिति बैठकपछि नेता कृष्णबहादुर महराले बताए । 

‘आजको स्थायी समिति बैठकमा हामी एउटा एजेन्डामा केन्द्रित रह्यौं, संगठन सम्बन्धी । केन्द्रीय कमिटी, पोलिटब्युरोमा थप्नुपर्ने केही साथीहरु, स्थायी कमिटीमा थप्नुपर्ने साथीहरु र पदाधिकारीजस्ता सबै विषयमा विस्तृत छलफल भयो । करिब–करिब हामी टुंगोमा पुगेका छौं । भोलि बिहान ८ बजे अन्तिम टुंगोमा पुग्नेछौं’, उनले भने । 

माओवादीमा एक वरिष्ठ सहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष बनाउने तयारी छ । यद्यपि यसको अन्तिम खाका बिहीबारको बैठकमा अध्यक्ष प्रचण्डले पेश गर्नेछन् । 

पदाधिकारीको पूर्ण संख्या टुंगो लागेसँगै कुन पदमा को रहने भन्ने टुंगो लाग्ने एक नेताले जानकारी दिए । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ रहने लगभग निश्चित छ । कृष्णबहादुर महरा, गणेश शाह, मातृका यादवसहितका नेताहरु उपाध्यक्ष बन्ने सम्भावना छ । सबैभन्दा चर्को समस्या महासचिव चयनमा छ । सबैको ध्यान पनि महासचिवमै रहेको ती नेताहरुले  बताएका छन्  । 

महासचिवका लागि स्थायी समिति सदस्यहरु जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, देवेन्द्र पौडेल लगायतको दाबी रहँदै आएको छ । यद्यपि शर्मा र पुन नै प्रमुख दाबेदार हुन् । 

पार्टी पदाधिकारीका विषयमा छलफल गर्न अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको बैठकमा पुनले महासचिवमा दाबी छाड्न सक्ने संकेत गरेका छन् । त्यस्तो भएमा उनी उपाध्यक्ष बन्ने सम्भावना रहेको स्रोत बताउँछ । पार्टीमा महासचिवका विषयमा त्यसपछि छलफल भएको छैन । अध्यक्ष प्रचण्डको प्रस्ताव पुनले स्वीकार गर्ने सम्भावना छ । त्यसैले अब प्रचण्डले एक जनालाई उपाध्यक्ष र एक जनालाई महासचिव बनाउने सम्भावना छ । 

प्रचण्ड शर्मा र पुनमध्ये एक जनालाई महासचिव बनाउने मुडमा भए पनि दुई नेताबीच सोही विषयलाई लिएर संघर्षको अवस्था नहोस् भन्ने उनको चाहाना छ । प्रचण्डले अब प्रस्ताव गर्ने पदाधिकारीको विषयलाई लिएर माओवादीमा चासो बढेको छ ।

माओवादीले बुधबार मात्रै ४३ सदस्यीय स्थायी कमिटी सदस्यहरुको नाम तय गरेको छ । जसमा ११ जना महिला परेका छन् । स्थायी कमिटी सदस्यमा ओनसरी घर्ती, जयपुरी घर्ती, शशी श्रेष्ठ, पूर्णा कुमारी सुवेदी, अञ्जना विशंखे, यशोदा सुवेदी, अमृता थापा, कमला रोका, रेखा शर्मा, सीता पोखरेल र उर्मिला अर्याल पहिलो पटक स्थायी कमिटीमा पुगेका छन् । 

यस्तै हाल रहेका स्थायी कमिटी सदस्यहरु प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, गणेश शाह, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, मातृका यादव, लीलामणि पोखरेल, हितराज पाण्डे, डिलाराम आचार्य, महेश्वर गहतराज, हकिकुल्लाह खाँ, श्रीराम ढकाल, जोखबहादुर महरा र प्रह्लाद बुढाथोकी, राम कार्की, हितमान शाक्य, कालीबहादुर मल्ल, खगराज भट्ट, परशुराम तामाङ, रामेश्वर राय यादव, गणेशमान पुन, नारायण दाहाल, विश्वनाथ साह र कुल प्रसाद केसी पनि स्थायी कमिटीमा रहने छन् । उनीहरुको पनि औपचारिक नामावली बिहीबार नै घोषणा गरिने समेत जानकारी दिइएकाे छ ।