झापाको भद्रपुर नगरपालिका–८ मा तीन महिनादेखि लेदो मिसिएको पानी खान बाध्य उपभोक्ता

झापाको भद्रपुर नगरपालिका–८ मा तीन महिनादेखि लेदो मिसिएको पानी खान बाध्य उपभोक्ता

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ३, २०७९

झापा । झापाको भद्रपुर नगरपालिका–८ स्थित नेपाल खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीमा लेदो मिसिएको पाइएको छ । तीन महिनादेखि धाराबाट दूषित पानी आउँदा उपभोक्ता मारमा छन् । 

खानेपानी संस्थानले वितरण गर्दै आएको पानी दूषित भएको भन्दै पटक–पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको भद्रपुर–८ का तोया गड्तौलाले बताउनुभयो । 'लेदो मिसिएको पानी आयो भनेर धेरैपटक गुनासो गर्‍यौँ' , उहाँले भन्नुभयो, 'तर सुनुवाइ भएको छैन ।' 

कार्यालयको ध्यानाकर्षण गराउँदा समेत उपभोक्ताले शुद्ध पानी उपभोग गर्ने वातावरण नबनेको सामाजिक अभियन्ता शिवकुमार राजभण्डारीले बताउनुभयो । “फोहर पानी दिएर नागरिकको स्वास्थ्यमा खेलवाड गर्न पाइँदैन”, उहाँले भन्नुभयो । धारामा दूषित पानी आउन थालेको महिनौं बितेपछि सामाजिक अभियन्ताको टोलीले संस्थानका कार्यालय प्रमुख रामकुमार श्रेष्ठसँग छलफलसमेत गरेको छ । शुद्ध पानी दिन उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

दश दिनभित्र शुद्ध पानी वितरण गर्ने, धारा जडान र पाइप विस्तार गर्ने, दैनिक १४' १५ घण्टा शुद्ध पानी वितरण गर्ने, ट्रिटमेन्ट प्लान्ट जडान गर्ने, पुरानो पाइप हटाएर नयाँ पाइप लगाउने लगायत प्रतिबद्धता संस्थानले गरेको छ ।