प्रदेश सांसदले पनि मागे करोडौं

प्रदेश सांसदले पनि मागे करोडौं

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १३, २०७६

जनकपुर । प्रदेश ५ का सांसदले निर्वाचन क्षेत्र विकास कोषको माग गर्दै बजेट माग्न लबिइङ थालेका छन् । छुट्टाछुट्टै माग गर्दै आएका नेकपाका सांसदले शनिबार बुटवलमा भएको संसदीय दल बैठकमा सामूहिक रूपमा कोषको माग गरेका हुन् । सामूहिक रूपले मौखिक माग राखेका उनीहरूले रकम तोकेका छैनन् तर केन्द्रले उपलब्ध गराउने रकमको आधा हुनुपर्ने माग गरेका छन् ।

बैठकमा अधिकांश वक्ताले सांसदको अधिकार वडाध्यक्षको जति पनि नभएको भन्दै कोषको माग गरेको सहभागी एक सदस्यले बताए । ‘अहिले चाहेर पनि आवश्यक छैन भन्ने अवस्था छैन,’ उनले भने, ‘कोषका लागि लबिइङ गर्ने धेरै माननीय हुनुहुन्छ ।’ धेरै सांसदले मुख्यमन्त्रीलाई भेटेर पटक–पटक आग्रह गर्दै आएका छन् ।

संसदीय दलका नेता एवं मुख्यमन्त्री शंकर पोखरेलले बैठकमा माग सम्बोधनका लागि प्रयास गर्ने आश्वासन दिएका छन् । गत वर्षको बजेट ल्याउनुअघि पनि सांसदले कोषको व्यवस्था गर्न आग्रह गरेका थिए । उनले त्यो माग सम्बोधन नगरी सांसदको सिफारिसमा खर्च गर्ने गरी ५० लाखसम्मको योजना दिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।