भोलि पनि सूर्य उदाउँछ

भोलि पनि सूर्य उदाउँछ

ऋतु आशिक  |  साहित्य  |  भदौ ४, २०७९

 मन आज उद्वेलित भएको छ । 
तिमी आउने बाटो कुरिरहेको छु । 
एक टक लगाएर 
तिम्रो प्रतिक्षामा
आफूलाई ओछ्याएको छु । 
तिमी भन्ने गर्थेउ
तिमीलाई मनपर्ने रहरको दाल पकाएकी छु । 
ताइचिनको खीर पकाएकी छु । 
यस्तै – यस्तै भन्ने गर्थेउ त ? 
मैले बिर्सिएको छैन । 
हो तिमीले बिर्सिएका पनि 
मैले पटक्कै बिर्सिएको छैन है । 

तिम्रो अचेतन
तिम्रो अस्वस्थता 
भालेको डाक देखि
रात्रि आँगनमा चन्द्रमाको ओजस्विता 
मैले केही पनि बिर्सिएको छैन । 
जीवन भनेको उकाली–ओराली हो । 
सालौं साल पशुपति शिवरात्रि मेलामा 
तिम्रो स्नेह छताछुल्ल भएर पोखिएको थियो । 
मैले गर्वानुभूति महसुस गरेको थिए 
मैले तिम्रो ती स्नेहताको कोमलता 
धेरै–धेरै टाढा भए पनि 
न्यायो पन महसुस गरेको थिए त ? 
हो ! आजसम्मका ती अतीतहरू 
मैले पटक्कै बिर्सिएको छैन । 

मलाई थाहा छ । 
सूर्य भोलि पनि उदाउँछ । 
दिन सधैँ एकनास हुँदैन । 
ठक्कर, पीडा, असमझदारी यी क्षणिक छन् । 
प्रिय ! म आउँदैछु 
तिम्रो हाँसोको लाली छर्न 
हो ! तिम्रो निम्ति आउँदैछु । 
हो ! तिमीलाई भेट्न आउँदैछु ।