कवि राजबाबु श्रेष्ठ 'सागर'का 'हराएका छोराहरू' मा विम्ब र प्रतीक विधान

कवि राजबाबु श्रेष्ठ 'सागर'का 'हराएका छोराहरू' मा विम्ब र प्रतीक विधान

नुरज भट्टराई 'नदी'  |  साहित्य  |  भदौ ४, २०७९

पूर्व प्रसङ्ग: 
कविता नेपाली साहित्यका विभिन्न विधाहरू मध्ये एक सशक्त र जेठो विधा हो । यसलाई कवि कर्म भनेर पनि चिनिन्छ । कवितालाई यसको रूप गत संरचनाका आधारमा लघुतम-मुक्तकदेखि बृहत् रूप (महाकाव्य) हुँदै बृहत्तर (आर्ष महाकाव्य ) पूर्वीयमा महाभारत  र रामायण तथा पाश्चात्यमा  इलियड र ओसिडीसम्म पर्दछन् ।

आजको सन्दर्भ लघुतम भन्दा  विस्तृत र मझौला भन्दा संक्षिप्त फुटकर रचना लघु रूप र प्रकारका हिसाबले छन्द मुक्त अर्थात् गद्यकविताको हो ।  जीवन जगत्का विभिन्न क्षणका घटनाक्रमलाई सीमित संरचनाभित्र मिठास पूर्ण तरिकाले व्यक्त गरिएको केन्द्रीय भाव मुख्य हुने रचनालाई लघु रूप वा फुटकर कविता भनिन्छ । पृथ्वीनारायण शाहको नेपाल एकीकरणसँगै नेपाली भाषाको अनुहार फेरिएको हो ।

वि.स. १०३८ को दामुपालको शिलापत्र र १३१२ को अशोक चल्लको हुम्लाको रेलिङ गुम्बामा भेटिएको ताम्रपत्र लेख्य रूपको नमूना मानिदै आएको छ । भक्तिदेखि लीला हुँदै वर्तमान समसामयिक धारासम्म आइपुगेको छ नेपाली साहित्यको विधागत संरचना र परिवर्तन । गद्य कविताले साहित्यिक स्थान प्राप्त गर्न सफल नमूनाको रूपमा पृथ्वीनारायण शाहको 'दिव्योपदेश'  हुँदै वर्तमानसम्म आइपुगेको छ । (ताना शर्मा) गद्य कविताका प्रवर्तक गोपालप्रसाद रिमाल (१९७५-२०३०) मानिन्छ र  गद्य कवितामा प्रयोगवादी धाराका प्रवर्तक भने  मोहन कोइराला (१९८३-२०६३) लाई मानिन्छ । 

स्रष्टा श्रेष्ठ सागरको परिचय र उनका कविताका स्रोतहरू
राजबाबु श्रेष्ठ सागर (वि.स. २०२८)  महोत्तरीको रामनगर, ईटाटार वडा नं. १, मा मातापिता द्वय तेजमाया श्रेष्ठ तथा पूर्णबहादुर श्रेष्ठको दोस्रो सुपुत्रको रूपमा जन्मी हाल नयाँ ठिमी भक्तपुरमा व्यवहारिक कर्मका साथ साहित्यमा कवि कर्म गर्दै जीवनलाई अमर्त्य बनाउने कोसिस गरिरहेका छन् । जीवनको पूर्वार्द्ध मा विविध कारणले वय कालको चेतन मन नछिप्पिँदै अरबको खाडीमा श्रम र पसिना बेच्न  पुग्छन् ।

त्यो बाध्यताको कर्मले उनलाई अनुशासनको कठघरामा साधना गर्न मात्र सिकाएन, त्यहाँको धार्मिक चेतनाभित्रको विद्रोह र सत्यता पनि चिन्ने अवसर दिलायो । सानै उमेरमा चेतनाको झरिलो ऊर्जाको स्तर ज्वलनशील भएकै कारण वि.स. २०४२ सालदेखि सृजनाको नक्सांकन गर्न थालेको देखिन्छ फलस्वरूप कलिलो चेतनाको परेलामा पनि फक्रिएको परिपक्व सुगन्ध कस्तूरी बनेर उपन्यास जन्मियो  ।

उपन्यास प्रकाशनको समयावधिलाई हेर्दा करिब तीन दशक हिउँद मात्र कटाएका स्रष्टाका वर्तमान रचनाहरू पढ्दा भने स्रष्टा त्यो बेलादेखि नै पूरै अन्तर्मुखी स्वभावका देखिन्छन् । भनिन्छ, संकटग्रस्त उमेरको आसपासमा घटेका घटनाक्रमहरू प्रायः बाल हठसँग जोडिएका हुन्छन् । सायद, यसैको प्रभाव हुनुपर्छ, स्रष्टाको  मानसपटलमा आफूले भोगेका प्रिय-अप्रिय घटनाक्रमहरूलाई समेटेर विसं २०५७ सालमा साउदी अरब बाटै 'बन्द फ्रेमभित्रको चिठ्ठी' नामको उपन्यास प्रकाशन गरेका रहेछन् । यो नै उनको प्रकाशनको हिसाबले पहिलो साहित्यिक कृति हो । करिब ७/८ वर्षको समय-श्रम र पसिना बेच्नमा खर्चनुपरेको बाध्यता एकातिर भएर पनि त्यही बाध्यात्मक कर्मको तीता मिठा अनुभवलाई साहित्यजस्तो सात्त्विक र संवेदनशील क्षेत्र प्रतिको अनुराग कवित्व चेतनाका कारण लिखित अभिव्यक्तिको माध्यम साहित्यका विभिन्न विधा भएर छताछुल्ल भएको हुनुपर्दछ । 

त्यसको ठिक बीस वर्षपछि वि. स. २०७७ सालमा दुई कृति क्रमशः 'हराएका छोराहरू' कविता सङ्ग्रह र 'देशको चिना' मुक्तक सङ्ग्रह प्रकाशन गर्न सफल भए । त्यसैगरी  २०७८ सालमा 'यादका बस्तीहरू' गीति सङ्ग्रह प्रकाशन गरी हालसम्म प्रकाशनका हिसाबले जम्मा चारवटा कृतिहरूले चर्चाको बजार ओगटिरहेका छन्  । वहाँभित्र औपचारिक प्रमाण-पत्रलाई छोडेर हेर्दा अध्ययन क्षेत्र अत्यन्तै तीव्र देखिन्छ  । कुनै पनि क्षेत्रगत ग्रन्थ अध्ययन गर्नु भनेको उसको बाटो अँगाल्नु मात्रै नभएर त्यहाँ भित्रको जड कुरा पत्ता लगाई तर्क र सादृश्य कायम गर्नु पनि हो भने तेस्रो नेत्रद्वारा बुझेका स्रष्टाका व्यक्तिगत पुस्तकालयमा साहित्यिक पुस्तकसमेत गरी चार वेद, बाइबल, कुरान र हदिसहरूको समेत रेखाङ्कन गरि गरि अध्ययन गरिएका पुस्तकहरूको चाङ भेटिन्छन् । वहाँ पूजारी होइनन् तर पूर्वीय र पाश्चात्य धर्मग्रन्थहरूको अध्येता भने अवश्य रहेछन्  ।

मृत्यु, विछोड र हार्दिक प्रेमले आफूलाई विशेष छुने गरेको बताउने स्रष्टा सागर त्यति नै विकृति-विसङ्गतिमा चूप लागेर नबसेको देखिन्छ  । वैयक्तिक आत्मश्लाघा मन नपराउने कवि सागरका सृजना क्षेत्र कविताको लघुतम रूप मुक्तकदेखि फुटकर रचना गद्यकविता, गीत, गजल, कथा, नाटक र अभिनयसमेत पर्दछन् । सुगठित शरीर, मीठो बोली करिब साढे पाँच फूट चार इञ्च उचाइ र अरू कै निम्ति खटिरहने व्यक्ति (समालोचक द्वय डा. नवराज लम्साल/डा. रामप्रसाद ज्ञवालीका अनुसार) आदि विशेषताको रूपमा उनलाई चिनाउने थप आधारहरू हुन्  ।

केही सानो पर्दाका चलचित्रमा अभिनयमा समेत उनको उपस्थिति देखिन्छ भने हाल गद्य महाकाव्य लेखनको आरम्भ पनि गरेको जानकारीमा आएको छ ।  मूलतः कवि श्रेष्ठ सागर कवि कर्मले कवि नै  हुन् । जति रमाउँछन् कवित्वको भूतले छोएपछि कविताको शब्द शक्तिमा कवि कर्म गरेरै रमाउँछन् । घुमाउरो अभिव्यक्ति प्रस्तुत गर्न विम्ब र प्रतीकको पदचाप पछ्याउन मन पराउँछन् । उनको विदेशी भूमिमा करिब सात वर्षको बसाइ (सन २००१-००७) र भोगाइ तथा स्वदेशी माटोको निम्ति नेतृत्व वर्गबाट भएका विभिन्न समयका गैर जिम्मेवारपूर्ण आन्दोलनहरू (वि.स. २०४६-०४७/०६२-६३ आदि)  नै हालसम्मको  कविताका मुख्य  स्रोतहरू हुन्  ।

विद्रोही चेतना, विसङ्गति मूलक चेतना, हार्दिक प्रेमको चेतना, प्रणयमा हार्दिक चेतना, रागात्मक चेतना, राष्ट्रिय जागरणको चेतना, आध्यात्मिक दर्शनभित्रको भ्रम र सत्य निरुपण चेतना, मान्छे हुनुको गर्व बोध गर्ने मानवीय समानताका चेतना, अन्याय र अत्याचार प्रतिको चेतना, वैयक्तिक स्वाभिमान नै राष्ट्र र राष्ट्रिय स्वाभिमान हो भन्ने लाक्षणिक चेतनालगायतका चेतनाका बग्रेल्ती हरिया बस्तीहरू भेटिन्छन् उनका रचनामा । फुटकर कविता भनेको नै केन्द्रीय भाव प्रबल हुने रचना हुन् । कविहरूले विभिन्न अर्थ र भावको हिसाबले आफ्ना भावनाहरू कवितात्मक शैलीमा प्रस्तुत गर्ने गर्दछन् । कवि श्रेष्ठ सागरका रचनामा पनि अरू स्वभाविक कविहरूको झैँ अनेकन विषयवस्तु समावेश गरिएको पाइए तापनि शैली भने विल्कुल पुराना स्रष्टाहरूका झैँ पाइन्छ अथवा अझै भनूँ परम्परागत शैली ।

समयले अत्याएको बेला काम चलाउन कविहरू अभिधेय अर्थमा लेख्ने गर्छन् र वास्तविक जानकारी मात्र गराउँछन् तर साहित्यको परिभाषामा भावसहितको भनिएकाले यसमा विम्ब र प्रतीकको थप माग गरिएको हो । यस्तो किसिमको तत्वले रचनालाई ध्वन्यात्मक, आलङ्कारिक, रसात्मक र वक्रोक्तिमूलक बनाई रचनाको उच्चता हासिल गर्न सहयोग गर्दछ  । त्यसैले रिसको बेला बाहुनले वेद पढ्दैनन् भन्ने भनाइसँग श्रेष्ठ सागरका रचनाहरूसित कुनै अर्थमा मेल खाँदैनन् ।

 स्रष्टा भन्छन्, 'यै बेला हो गोपनीयताका साथ कविता जस्तो कवि'ता' लेख्ने समय । यसको मतलव सबैको अर्थ परिवर्तन गराउने नै हो सृजनाद्वारा तर कुनै पनि आक्रोशलाई गाली गरेर जडको  रूपमा प्रस्तुत गर्नु कविता होइन, त्यही आक्रोशलाई रुवोको रूपमा प्रस्तुत गर्नु चाहिँ कविता हो, साहित्य हो र विम्ब र प्रतीक हो । 'इन्द्रबहादुर राई, ईश्वर बल्लभ, भूपि शेरचन, गोपालप्रसाद रिमाल र मोहन कोइराला' आदि स्रष्टाहरूका पदचाप प्रशस्त भेटिन्छन् उनका मुक्तक र गद्यकवितामा । साहित्य प्रतीकात्मक र विम्बात्मक भएर अलङ्कार युक्त केन्द्रीय भावसहितको घुमाउरो अभिव्यक्तिको रचना हो भनेर बुझेका स्रष्टा  'सागर' मान्छे हिँड्ने बाटोसमेत सिधा नभएको र सिधा बाटो बनाउँदै मा सर्पहरू सिधा भएर नहिँड्ने निर्णयमा अडिग छन् । त्यसैले कविता झन् सिधा हुनै हुँदैन भन्ने कुराको दावीसमेत गर्छन् उनी । 

विम्ब र प्रतीकको शाब्दिक अर्थ, प्रसङ्ग र अवधारणा

विम्ब भन्नाले छाया र प्रतीक भन्नाले चिह्न भन्ने अर्थ बुझिन्छ । विम्ब वाद र प्रतीक वाद क्रमशः अङ्ग्रेजी शब्द imagism र symbolism को नेपाली रूपान्तर मानिन्छ  । खासमा विम्ब र प्रतीकको मात्रै आफ्नै विस्तृत चर्चा भने भेटिँदैन । कुनै पनि भावनात्मक अभिव्यक्तिलाई ठाडो भाषामा प्रस्तुत गर्नुभन्दा घुमाउरो तरिकाले प्रस्तुत गर्दा साहित्यको मर्म थप आलङ्कारिक र कलात्मक हुने हुँदा यसको आवश्यकता महशुस गरिएको हो । कवितामा प्रयुक्त प्राकृतिक वा भौतिक छायाँलाई विम्ब भनिन्छ अर्थात् कविता पढ्दा मस्तिष्कमा छाया बनेर आउने दृष्यहरू नै विम्ब हुन्  । त्यसैगरी सामाजिक, सांस्कृति वा पौराणिक जीवनसँग जोडिएका विशेष अर्थ बोकेका व्यक्ति वा घटनाहरू नै प्रतीक हुन् जसले युगीन व्यापकता र सीमितता दुवैको प्रतिनिधित्व गर्दछन्  । (डा.देवी नेपाल) 

प्रस्तुत कविता सङ्ग्रहमा कवि श्रेष्ठ सागरद्वारा लिखित 'हराएका छोराहरू' कविता सङ्ग्रहभित्र संग्रहित  कवितामा भेटिएका कलात्मक पक्ष  विम्ब र प्रतीक विधानलाई विश्लेषणको आधार  बनाउने  प्रयास गरिएको  छ  । हुन त यो सङ्ग्रहमा भएका कवितांशलाई अनेक कोणबाट विश्लेषण गर्न सकिन्छ यद्यपि यहाँ भने उक्त सन्दर्भलाई मात्रै केन्द्र बनाइएको हो  । जब परिवर्तनको नाममा हरेक क्षेत्रले आ-आफ्नो स्थानबाट योगदान दिन थाल्छन् त्यो बेला विश्व समाज पनि अछुतो रहेन । विभिन्न विकृति विसङ्गतिको विरुद्धमा बोलेर र लेखेर अभिव्यक्ति दिन सजिलो थिएन ।

शासकको विरुद्धमा बोलेर पीडितलाई न्याय दिलाउन र समाज परिवर्तन गर्न वा गराउन हरेक सज्जन वर्ग लागि रहेकै हुन्थे । यद्यपि सत्य कुरालाई सोझो अर्थमा भनिदिँदा शासकद्वारा साशितहरू माथि भौतिक दमन हुन सक्ने अवस्थालाई ध्यानमा राखी घुमाउरो पारामा अभिव्ञित अभिव्यक्ति दिँदा भाषा केही समयको लागि क्लिष्ट लागे पनि भन्न खोजेको कुरालाई आलङ्कारिक रूपमा प्रस्तुत गर्न सजिलो भएकाले यो विम्ब र प्रतीक वादको रूपमा अवधारणा बनेर आएको हो ।

पाश्चात्य साहित्यमा यसको आन्दोलन बढी सबल देखिएकाले विशेष गरी विम्ब वादका प्रवर्तकको रूपमा टीई ह्युम र एज्रा पाउण्डलाई लिइएको छ भने प्रतीक वादका प्रवर्तकको रूपमा भने फ्रान्सेली कवि बोदलेयरलाई मानिन्छ । नेपाली साहित्यमा भने यी दुई वादहरूका चर्चा उस्तो सशक्त रूपमा पाइएका छैनन् । नेपाली साहित्यमा विशेष गरी स्वच्छन्दता वादी साहित्यबाट सुरु भएको यो वाद प्रयोग वाद हुँदै वर्तमान समकालीन देखि समसामयिक सम्म आइपुग्दा यसको व्यापकता फैलिएको अनुभूति गर्न सकिन्छ   ।

प्रायः प्रजातन्त्र स्थापनाकालमा भएका राजनीतिक आन्दोलनको विरुद्धमा तत्कालीन राज्यसत्ताको कुकृत्यप्रति ठाडो विरोध गर्ने स्थिति नभएकाले देवकोटा, गोपालप्रसाद  रिमाल, केदारमान व्यथित, सिद्धिचरण श्रेष्ठ आदिका कवितामा आंशिक विम्ब र प्रतीकको प्रयोग भए पनि प्रजातन्त्र स्थापनापछिका विम्ब र प्रतीकवादी कविहरूमा मोहन कोइराला, मदन रेग्मी, वैरागी काइँला, ईश्वर बल्लभ, भूपि शेरचन, कृष्णभक्त श्रेष्ठ, द्वारिका श्रेष्ठ, उपेन्द्र श्रेष्ठ र तुलसी दिवस आदिका कवितामा प्रचुर मात्रामा विम्ब र प्रतीकको प्रयोग भएको पाइन्छ र उल्लेखनीय पनि छन् भने निबन्ध, कथा, नाटक र उपन्यासहरूमा रूप नारायण सिंह, इन्द्रबहादुर राई, दौलत विक्रम विष्ट, गोविन्दबहादुर मल्ल गोठाले, पारिजात, विश्वेश्वरप्रसाद कोइराला आदिका रचनामा प्रतीकको उच्च प्रयोग भेटिन्छन् । 

'हराएका छोराहरू' कविता सङ्ग्रहमा भएका कविताहरूमा प्रायः परम्परागत विम्ब वा प्रतीक भन्दा स्व निर्मित विम्ब प्रतीकको संयोजन बढी पाइन्छन् । विशेष गरी प्राकृतिक र भौतिक विम्ब तथा सामाजिक, राजनीतिक, पौराणिक र साँस्कृतिक भित्र पनि नौलो प्रतीकको माध्यमद्वारा भावनात्मक विचारहरू अभिव्यक्त गरिएका छन् । जस्तो-आवरणमा भएको कवितालाई नै लिन  सकिन्छ । 

यहाँ कुनै गाउँका सामान्य व्यक्ति अरुण,वरुण र छिमेकी विर्खे बा तथा बुढी आमाको कुरा गरिएका छैनन् । यहाँ त साँच्चै देश बदल्न भनेर हिँडेका प्रतिनिधि छोराहरू अमर शहीद  र सिङ्गो नेपाल आमालाई बुढी आमाको संज्ञा दिई जनयुद्धमा कायापलट भएका, देशलाई योगदान दिएर पनि न्याय नपाएका वीर शहीदहरूलाई हराएका छोराहरूको संज्ञा दिइएको छ जसमा विम्ब र प्रतीकको संयोजन केही पङ्क्ति यस्ता छन् । 

एक ढाकर खुसीहरू 
जब ढाकर नै प्वाल परेर बाटोमा खसेपछि
बुढी आमा एकोहोरिएकी छिन् पूर्वतिर हेर्दै 
विहान उठ्ने घामसँगै आफ्ना अरुण र वरुण 
जुरुक्क उठेर सिकुवामा 
टुप्लुक्कै आइपुग्छन् कि भनेर ।

रातको सिरानी लगाई
निदाएका घाम सधैँ विहानी व्युँझन्छ 
फेरि निदाउँछ थाकेका निन्द्राको सिरक ओढेर 
घाम उठ्नुभन्दा पहिला उठिन् बुढी आमा
बुढी आमासँगै निदाएका बिर्खे बा
तर उनी कहिल्यै उठेनन् घाम उठे जस्तै गरी 
बिर्के बा का लागि भाले कहिल्यै बासेनन् । 

जेठो छोरो जहिल्यै देश काँधमा बोक्छु भन्थ्यो
देश निक्कै भारी हुँदोरहेछ क्यारे
सकेन बोक्न र बिसायो देश ऊ आफैँ ढलेपछि 
कान्छो छोरो पनि निकै देश बदल्छु भन्थ्यो
देश बदल्ने कलिला सपनाहरू थुन्सेमा बोकी
छिर्‍यो जङ्गल जनयुद्धका लागि 
ऊ जनयुद्धबाट शहीदमा बदलियो ।

शान्ति  घोषणापछि 
बदलिए सारा नाराहरू
बदलिए सारा नारा लाउने सर्वहारा हरू
तर बदलिएन उसले बसल्न खोजेको देश । (पृष्ठ १९)

राष्ट्रियताको सवालमा राष्ट्रिय नेतृत्व र सौन्दर्य हुनु अग्लो स्थानमा रहनु र लेकमा फुल्ने गुराँस हुनु पनि हो तर अग्लो स्थानमा स्थान मान पाएपछि आफ्नै राष्ट्रिय तत्व जोगाउन चुनौती र अवसर दुवै छन् । यदि बाटो विराए मा आफ्नै राष्ट्रियताका निम्ति  हिलोका सौन्दर्य वा भुइँ मान्छेहरूले  डाली भाँच्नेछन् । त्यो बेला थाहा हुनेछ भुइँ मान्छेहरूको ताकत र आफ्नै दम्भ । आफूले टेकेको संसार कहिल्यै मिथ्या हुँदैन । झूटको करार बीज उत्पादन आफ्नै कारणबाट उत्पन्न हुन्छ  । संस्कार मात्रै सबै चिज होइनन्, आफैले निर्माण गरेको संस्कार मात्र आफ्नो  हो ।

त्यसैले प्राकृतिक कुञ्जमा फुल्ने गुराँस र हिलोमा फुल्ने कमल फूल आखिर फूल त फूलै हुन् । दुई फूललाई सादृश्य गराई राष्ट्रिय नेतृत्वको र अग्लो सौन्दर्यको प्रतिनिधि तथा हिलोमा फस्टाएको सौन्दर्य र भुइँ मान्छेको प्रतिनिधि क्रमशः गुराँस र कमल फूललाई लिइएको सो कवितांशमा फेद विना टुप्पा संभव छैन वा भुइँ मान्छे विना शिखर व्यक्तिको उदय संभव छैन आखिर निर्णायक उपस्थिति गराउन राष्ट्रिय व्यक्तित्वलाई हिलोको कमल फूल (भुइँ मान्छे) मा नै पुग्नुपर्ने हुन्छ वा उही कमल फूलप्रति झुक्नुपर्ने भएपछिको भएको ईर्ष्या पन केन्द्रीय भाव रहेको छ ।  कविताको दुई पङ्क्तिमा प्रतीक विधान यस्तो छ -

ए गुराँस !
लेकमा फुलेर केको फुर्ती लगाउँछौ तिमी ?
म हिलोमा फूले त के भो  ?
म हिलोमा नै आफ्नो संसार पाउँछु 
पानीमाथि फुल्छु र स्वर्गको चाहना भुल्छु  ।

तिमीलाई टिप्नु त 
उफ्रेर  तिम्रै डालीहरू भाँच्नुपर्छ
तर मलाई टिप्न त झुक्नुपर्छ मान्छेहरू 
अब तिमी मसँग जलेर भो त  ? (पृ.९६)

केन्द्रीय भावको हिसाबले, आन्तरिक र बाहिरी संरचनाका हिसाबले, विद्रोही चेतनाका हिसाबले, समसामयिक विषयवस्तुको हिसाबले, शब्द र वाक्यगठनलाई छोडेर भावको क्लिष्टताको हिसाबले, विम्ब र प्रतीकको हिसाबले र पूर्वीय तथा पाश्चात्य धर्मग्रन्थका पृथक चिन्तनका हिसाबले समेत प्रशस्तै  विश्लेषण गर्न सकिने देखियो ।

एउटा आञ्चलिक प्रतिनिधित्व गरेको कवितामा नेपाल स्वयम् जलश्रोतमा धनी भएर पनि नेपालको केन्द्र मानिएको काठमाडौँ र काठमाडौँ निवासी जनतालाई सहज तरिकाबाट पानी पिलाउने  वर्षौँ पुरानो योजना र पानीको श्रोत मेलम्चीलाई आधार बनाई जनताले भोग्नुपरेको कठिनाइ चातक (काकाकुल) को झैँ रहेको तितो यथार्थ अभिव्यक्त गरिएको छ  । यसमा पानी पहिलो प्राण हो र दोस्रो अमृत हो । यस्तो अति आवश्यकीय आवश्यकतालाई नेतृत्व पङ्क्तिको ढिला सुस्तीप्रति संकेत गर्दै पानीमै मान्छेको बस्ती भएर पनि प्राण बन्धकी राख्नुपरेको  खाल्डो बासीको 'चातक' को जीवनयापन व्यक्त गरिएको कवितामा विम्ब प्रतीक विधान यस्तो छ -

एक डाडु आगो पैँचो लिएर 
उमाल्नु छ मलाई एक भाँडो सिस्नु र पानी
कुलेखानी सुक्छ कि भनेर पिउनु छ मलाई
बचाई बचाई एक अम्खोरा पानी
यही सम्झेर निदाइरहेछ 
सधैँ मेलम्ची सिरानी लगाएर
व्युँझिए पछि मन दुखेर नै हो 
यस्तै छ हाम्रो खाल्डा बासीको जिन्दगानी
लेखूँ कि नलेखौँ भो 
ए कवि मित्रहरू हो  !
आफ्नै चातक जिन्दगीको कहानी  । (पृ.४३)

देशको सवालमा मुख्य रूपमा गधालाई मूर्खहरूको प्रतीक र हात्तीलाई आकार र शक्तिको प्रतीकको रूपमा स्थापित गरी कुवाको भ्यागुतो (सीमित ज्ञान र दम्भको पहाड) लाई देश जिम्मा दिई ऊ बाट आशा गर्नु वा अँध्यारोलाई घोटेर सात्त्विक बनाई चाँदो (निधार) मा जति नै टीका लगाएर गतिलो आशीर्वाद दिन खोजे पनि आखिर साझा र सत्य नेतृत्व संभव नहुने निर्णय कविको रहेको छ  । हात्ती, हात्ती हो र राजा राजा नै हो । मूर्खहरूले जति नै जानेको अभिनय गरे पनि वा अग्लिएको अनुभूति गरे पनि आखिर हात्ती बराबरको प्राकृतिक र सञ्चित शक्ति तथा क्षेत्रफल बन्न नसक्ने  सत्यको उद्धृत गरिएको उक्त कवितामा प्रतीक विधान यस्तो छ - 

औँसीको रातलाई घोटेर
चन्दनको टीकाझैँ चाँदोमा  नलाग्दो रहेछ
आशाको अक्षता मुछेर भ्यागुताको निधारमा 
टीका र कानमा आशीर्वादको जमरा लगाइ दिँदैमा 
ऊ कहिल्यै राजा नहुँदो रहेछ ।

यत्ति बुझ्नु सबैले,
गधा उठेर जत्ति नै आङ कुप्रो पारी तन्काए पनि
उठेको गधाभन्दा बसेको हात्ती नै अग्लो हुँदोरहेछ  । (पृ.२४)

कविको चेतना स्तर कुनै ठाउँमा लामो र तीव्र वेग मारेको देखिन्छ । आक्रोशलाई भावा वेशमा परिणत हुन नदिई व्यङ्गात्मक अभिव्यक्ति दिन सफल हुनु उनको नौलो विशेषता नै हुन् । देशको मुटुको सुरक्षार्थ खटिएका बर्दीहरू नै अरूको गुलामी बनेर देशको मुटु कुटुकुटु खाएको जोकोही राष्ट्र भक्तहरूले सहन सक्ने कुरै भएन । आफ्नै देश रित्याई गरिएको परतन्त्र स्वागत कदापि पाच्य हुँदैन । मलामी अन्तिम साथ हो तर सुरक्षाको सवालमा मुर्दालाई सलामी र मलामी दुवै स्वीकार्य छैनन् । देशको निम्ति मरि मेट्ने मलामीहरू त  ज्युँदो पो हुनुपर्छ  । सलामी जिउँदो, कालजयी, सत्य, स्वाभिमानी र स्वावलम्बी हुनुपर्छ । देश ढाकरमा बोकेर हिँड्ने सच्चा देशभक्तहरूमाथि अमूर्त देशभक्तहरूको दमन कविलाई स्वीकार्य छैन त्यसैले कवि हृदयमा देश बोकेर हिँड्छन् । देशको उचाइ तेस्रो नेत्रले चियाउँछन् अनि मात्र देश प्रतिको दृष्टि र दृष्टिकोण कर्णालीझैँ कञ्चन, स्वतन्त्र र अनवरत भएर बगाउन चाहन्छन् । यस्तो परिस्थितिमा ती सुरक्षाका खोल ओढेका अमूर्त बर्दी रूपी मलामीहरूप्रति व्यङ्ग गरिएको कविताको एक पङ्क्ति हेर्न सकिन्छ -

ठोक सलामी, अझै ठोक  !
पुच्छरबाट लुछ्दै आफ्नै देशका मुट-कलेजा
खान भ्याउने धारिला दाँत भएका व्वाँसाहरूलाई
जिउँदो हुँदा पनि ठोक सलामी 
मरेपछि पनि ठोक सलामी
पड्काऊ तोप सपनाको देहावसान हुने गरी
र चलाऊ बुल्डोजर भर्खर जन्मिएका
शिशु विचारहरूमाथि 
ठोक सलामी 
ए मलामीहरू हो ! (पृ.४५/४६)

कहिलेकाहीँ सर्वस्व मानिएको सार्वजनिक वस्तु वा व्यक्तिबाट पनि आशा गर्न सकिदैन भन्ने आशय रहेको कवितामा सरकारलाई तिमी रुखलाई हरियाली समृद्धि र शीतलताको तथा मेरो शब्दलाई जनताको प्रतिनिधि मानिएको छ ।  खोक्रा आश्वासन बाँडेर जनताका केन्द्रीय समस्या घरको धुरी खाँबो  अर्थात् ( देशको बलियो मीयो) बन्छु भन्दै कनीकुथी आफ्नै डम्फु बजाउन मात्र  सकेको सरकारलाई कविले जीवनमा एक पटक मात्र सन्तान उत्पादन गर्ने केराको रूखको संज्ञा दिएका छन् । आफ्नै गर्भबाट जन्मिएको बृहत् आकारको सन्तान केरालाई जनताकै करले टेका दिनुपर्ने अवस्था आएको स्मरण गराउदै यस्तो अवस्थामा सन्तान सुरक्षार्थ सङ्घर्षका साउने तुफान थामेर हेर अनि मात्र जनताका घरका धुरी खाँबो बन्ने इच्छा व्यक्त गर्न निर्देशनसमेत दिइएका  छन्  । यसमा समाविष्ट प्रतीक विधान यस्तो छ - 

तिमी आफूलाई रूख नै हौ भन्थ्यौ
तर तिमीलाई काटेर मेरो घरको धुरी खाँबो 
कहिल्यै तिमी हुनै सकेनौ
बरु सके मैले नै तिमीलाई टेका दिनुपर्छ
भो, पर्दैन देख्न सपना तिमीले 
मेरो घरको धुरीको खाँबो हुने 
पहिला तिमी आफ्नै धराबाट जन्मिएका 
हात्तीका जस्तै सुँडलाई 
साउनमा आउने पानी र हुरी थामेर देखाऊ ! (पृ.४७)

नारी सृष्टि र शक्तिको प्रतीक हुन् । नारी विना न सृष्टि संभव छ न त संरचना नै । वैवाहिक जीवन कानूनी हिसाबको वेश्यावृत्ति मानिन्छ । यौनलाई परिस्थितिअनुसार सह अस्तित्वको भोग विलासदेखि हेयको दृष्टिले समेत हेर्ने गरिन्छ  । यसै सन्दर्भलाई नारी हिँसा (यौन व्यभिचार) कानूनी हिसाबमा सृष्टि हो कि वाध्यता भन्ने कुराको नारी प्रतिको विश्वव्यापी प्रतिनिधि प्रश्न उब्जिएको एउटा कविता छ । भोक एउटा भावनात्मक नाम हो र यो भोकले तीन संज्ञालाई संकेत गरेका छन्  ।

आततायीहरू, दाउराहरू पछुताउँछन्, मद्य पिएपछि, मलाई टिप्न त झुक्नुपर्छ मान्छेहरू, इजलास, बीभत्स दुख्छ, पहिला पानी हुन सिक, टिपेर जूनकीरी अँजुलीमा थाप्नु, एउटा सर्प, तिमी एउटा रूख नै हुँ भन्थ्यौ, मृत्यु जीवनको पूर्णविराम हो, किन हरेक मृत्युले उही जीवन जन्माउँदैन ? र शहीदका घाइते पाइतालाहरूजस्ता कविताहरूले तिनका भावगत क्लिष्टता र नौलो प्रयोग वादको झण्डा  गाडेका छन् र उनलाई कवि श्रेष्ठ 'सागर'  हो भनेर चिनाउन अरू कृति गत सङ्ग्रहको आवश्यक नपर्ने देखियो

विभिन्न भोकहरू मध्ये दुई भोक (यौन भोक र भोक) हरुलाई विषयवस्तु बनाइएको छ भने अर्का तेस्रो भोक नारीको ईच्छा र आकांक्षालाई संकेत गरेको देखिन्छ । तर  पनि भोकमध्ये यौवनको भोकको लागि भोक ओछ्याइएको छैन  जीवनयापनका आधारशिला खडा गर्न मात्र यौन भोकको बाध्यता उभ्याइएको छ । यहाँ त जीवन वा जिन्दगीको प्राण रक्षार्थ भोकको कुरा गरिएको छ । देशको नागरिक भएर देशमा राष्ट्रिय सुरक्षा नहुनु, कम्तीमा पनि बाँच्ने आधार र नैसर्गिक अधिकारको संरक्षण नहुनु सँग कुन भूगोल जिम्मेवार रहला न् ? आखिर प्राणको भोकको आगोको ज्वाला शान्त पार्न नारीहरू लाक्षणिक सडक र गल्लीहरूमा यौनको भोकबाट जाग्राम बस्न बाध्य पारिएका आम उत्पीडन नारीहरूका कथा हुन् यो कविता ।  भोक मेटाउन भोकले नै विश्राम लिन नपाइने अर्थात् यौन वेच्नु पर्ने यो कस्तो विडम्बना ?  एक पङ्क्ति हेरौँ उपमासहितको प्रतीक संयोजन -

ए जिन्दगी ! 
भनन् तिमी किन मौन छौ  हँ ?
थाहा छैन मलाई 
फुटपाथमा आफ्ना  भोकहरू बिछ्याउँदा 
कतिले मलाई चपाएर अघाउने हुन् कुन्नी  !
फूलझैँ यौवन फुल्दै गर्दा कतिले मलाई ओछ्याउने हुन् कुन्नी !
यही सम्झेर म आतङ्कित हुँदै 
ब्यूँझन्छु झसङ्गै भई भोकको विछ्यौनाबाट  ।
फरक यत्ति हो 
म ब्युँझनु अघि जहिल्यै चोरिन्छन् मेरा सम्पूर्ण यौवनहरू 
तर कहिल्यै चोरिएनन् मेरा ती भोका भोकहरू (पृ.२२ )

कविहरू नितान्त चिन्तन र दर्शनमा पनि संलग्न हुने गर्छन् । मानवीय जीवनमा मानवजस्तै तर अमर्त्य भएर बाँच्न  पानीको स्वभाव ग्रहण गर्नुपर्दछ । जीवनको गति अभिधेय अस्थायी त छ नै तापनि कर्म र स्वभावले स्थायी भएर बाँच्न भने पहिले पानी बन्न सक्नुपर्छ मानौ जड र विनाशी भएर टिकि रहनसमेत पहिला त पानी नै बन्नुपर्ने दार्शनिक चेतना कविको रहेको कवितामा एउटाको सिङ्गो अस्तित्व बुझाउन अर्को त्यस्तै शब्दको प्रयोग गरिएको छ त्यो हो आगो । पानी अमृत, सफा र धैर्यको प्रतीक मानिन्छ भने आगो ताप, विनाश र कठोर को प्रतीक मानिन्छ तर पनि आगोलाई आगो जस्तै भएर जीवन्त बन्न त पहिला पानीकै स्वभाव धारण गर्नुपर्ने कुरा वकालत गरिएको छ । आगो हुनु शून्य हुनु हो भने पानी हुनु अनन्त हो । 

जस्तै -
आगो पहिला बल्छ
त्यसपछि ऊ विस्तारै जल्छ 
भेटेसम्म उसले सबै आफ्नै र आफैँ जस्तो बनाउँछ
नभेटे ऊ आफैँ जलेर खरानी हुन्छ
फेरि पनि ऊ फुर्ती लगाउँछ त्यही आगो र भन्छ 
'म आगो हुँ आगो !'
उसलाई के थाहा ?
ऊ आगो हुनुपूर्व पानी थियो 
पानी थियो र पो उसले जीवन पायो आगोको 
त्यसैले म भन्छु, ए आगो ! 
आगो हुनु पहिले तिमी पानी हुन सिक ! (पृ. ५६)

निष्कर्ष 

कवि श्रेष्ठ सागरका 'हराएका छोराहरू' कविता सङ्ग्रहभित्रका पुष्प गुच्छाहरूको सुगन्ध ग्रहण गरिसकेपछि मैले यसो भनेँ, सबै कविताहरू कविता नै छन्  । बुझ्न सक्ने क्षमता र इच्छा भएका पाठकहरू कम्ती छन् तर शालिग्राम त छन् तर शालिग्रामका पहाड छैनन् । साना भए पनि ढुङ्गा छन्  भुसको बोरा छैनन् । संरचनागत र हरफ सङ्ख्याको  हिसाबले कविताको उपविधाहरू मुक्तक,  हाइकु, रुबाई, छेस्का, छोक, पूरबी,  केस्रा र पञ्चाङ्गजस्ता मात्र हुनुले कम्तीमा फुटकर कविताको बाहिरी संरचना झण्डै पूरा नभएजस्तो अनुभूति हुनु स्वभाविक नै  हो । कम्तीमा तीन वा चार पङ्क्ति वा श्लोक सम्मको संरचनालाई फुटकर कविताले ग्रहण गरे तापनि यसमा त्यति धेरै विचलन आइहाल्छ भन्ने चाहिँ होइन । भाव अथाह भएपछि थोरैले धेरै अभिव्यक्त गर्न सक्नु पनि कलात्मक विशेषता हो । 

कविताहरूमा विम्ब र प्रतीक लाई माध्यम बनाउन सक्नु एउटा कला हो भने त्यो प्रयोगमा परम्परागत भन्दा बढी नयाँ विम्ब प्रतीकको प्रयोग र खोजी गर्न सक्नु अर्को प्रयोग मानिन्छन् । हुन त गद्य कविताको सन्दर्भमा क्रमश भाव भने नपाइने हुँदा समग्र भाव खोज्नुपर्ने हुन्छ नै । यद्यपि क्लिष्ट वा दुर्बोध पनि उत्तिकै जड हुन्छन् । अर्कातिर विम्ब प्रतीक हुनु भनेकै अभिधेय अर्थमा नहुने भएकाले थप विशेषता रहेको हो  ।  यसै सन्दर्भमा श्रेष्ठ सागरका कविताहरू पनि मैले टिपोट गरेको कविताहरू निकै क्लिष्ट वा दुर्बोध रहेका छन् । यी कविताहरू पढि सकेपछि यसलाई विश्लेषण गर्न सक्ने आधारहरू पनि उत्तिकै ऊर्जाशील प्रशस्त छन् जस्त - केन्द्रीय भावको हिसाबले, आन्तरिक र बाहिरी संरचनाका हिसाबले, विद्रोही चेतनाका हिसाबले, समसामयिक विषयवस्तुको हिसाबले, शब्द र वाक्यगठनलाई छोडेर भावको क्लिष्टताको हिसाबले, विम्ब र प्रतीकको हिसाबले र पूर्वीय तथा पाश्चात्य धर्मग्रन्थका पृथक चिन्तनका हिसाबले समेत प्रशस्तै  विश्लेषण गर्न सकिने देखियो ।

कविताहरू साझा र यूगीन चिन्तनका भावले लेखिएकाले अबको शैक्षिक समाजको नेतृत्व यी र यस्ता कविताहरूले लिन सक्ने कुरामा दुई मत छैन भन्छु म । हुन त उनका निजी विद्यालय अन्तर्गत समालोचक तथा लेखिका उषा आचार्यद्वारा लिखित कक्षा सातको 'बोधगम्य नेपाली भाषा संसार' नामक पुस्तकको पाठ १७ मा  'मेरो सपना' शीर्षकको कथा भने पढाइँदै आएको रहेछ । एउटा मोफसल स्रष्टाको लागि यो भन्दा ठूलो सम्पत्ति अरू के होलान् र ? जम्मा ५५ वटा कवितामध्ये एक पङ्क्तिदेखि बढीमा पाँच पङ्क्तिसम्मको क्षेत्रफल भने १०४ पृष्ठसम्म फैलिएका छन् ।

यसमा आततायीहरू, दाउराहरू पछुताउँछन्, मद्य पिएपछि, मलाई टिप्न त झुक्नुपर्छ मान्छेहरू, इजलास, बीभत्स दुख्छ, पहिला पानी हुन सिक, टिपेर जूनकीरी अँजुलीमा थाप्नु, एउटा सर्प, तिमी एउटा रूख नै हुँ भन्थ्यौ, मृत्यु जीवनको पूर्णविराम हो, किन हरेक मृत्युले उही जीवन जन्माउँदैन ? र शहीदका घाइते पाइतालाहरूजस्ता कविताहरूले तिनका भावगत क्लिष्टता र नौलो प्रयोग वादको झण्डा  गाडेका छन् र उनलाई कवि श्रेष्ठ 'सागर'  हो भनेर चिनाउन अरू कृति गत सङ्ग्रहको आवश्यक नपर्ने देखियो किनकि बैरागी काइला,  ईश्वर बल्लभ , भूपि शेरचन र गोपालप्रसाद रिमालहरू  पनि  कृति सङ्ख्याको हिसाबले हातका औँलामा सीमित छन्  । 

सन्दर्भसूची - 
● शर्मा,ताना, नेपाली साहित्यको इतिहास २०५६, पृ.सं.०३ र ०९ (अक्षर प्रकाशन, काठमाण्डौ)
● शर्मा मोहनराज र लुइँटेल खगेन्द्रप्रसाद २०७६, पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त, पृष्ठ सङ्ख्या ३१६, ३१७, ३२६ र ३२७ (विद्यार्थी पुस्तक भण्डार , काठमाण्डौ) 
● नेपाल, देवी, २०७४ छन्द पराग, पृष्ठ सं.३२०ऐरावत प्रकाशन प्रा.लि., प्रकाशक - विद्यार्थी पुस्तक भण्डार - काठमाण्डौ
● राजबाबु श्रेष्ठ 'सागर', हराएका छोराहरू २०७७, विएन पुस्तक संसार, प्रा.लि.

 

फिक्कल-इलाम
८९४२७२६१०१