मकवानपुर २ मा एकीकृत समाजवादीबाट विरोध खतिवडा उम्मेदवारमा सिफारिस

मकवानपुर २ मा एकीकृत समाजवादीबाट विरोध खतिवडा उम्मेदवारमा सिफारिस

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ४, २०७९

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले मकवानपुरको क्षेत्र नम्बर दुईबाट विरोध खतिवडालाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । 

पार्टी क्षेत्र नम्बर २ को आज बसेको बैठकले एकीकृत समाजवादीका नेता खतिवडालाई प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उम्मेदवार बनाउँन पार्टी जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो । 

आगामी १० भदौमा बस्ने पार्टी जिल्ला कमिटीको बैठकले खतिवडाको नाम प्रदेश कमिटीमा सिफरिस गर्ने निर्णय गर्ने एकीकृत समाजवादी मकवानपुरका सचिव विष्णु दाहालले जानकारी दिए । 

आसन्न चुनावका लागि प्रतिनिधिसभा क्षेत्र नम्बर २ को एकीकृत समाजवादीले खतिवडाको एकल नाम सिफारिस गर्ने निर्णय लिएको हो । 

लगातार चार पटक चुनाव उठेर जितेका खतिवडालाई फेरि पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवार बनाउने निर्णय भएको हो । खतिवडा २०४८, २०५१, २०५६ र २०७४ सालमा भएको निर्वाचनमा विजयी भएका थिए । 

यस्तै, समानुपातिकमा केदार न्यौपाने, राजाराम स्याङतान र मुनु सिग्देलको नाम सिफारिस गर्ने निर्णय गरेको छ भने राष्ट्रियसभामा ललित बस्नेतको नाम सिफारिस गर्ने निर्णय भएको पार्टीले जनाएको छ । 

आजै बसेको प्रतिनिधिसभा २ को प्रदेश क र ख को लागि पनि उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको हो । 

प्रदेश क को अध्यक्ष किरण मान बलको अध्यक्षतामा बसेको बैठकले क मा रामचन्द्र बललाई प्रत्यक्ष र समानुपातिक मै उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै, समानुपातिकमा बेगम बरालको नाम सिफारिस गर्ने निर्णय गरिएको छ । क्षेत्र नम्बर २ को प्रदेशसभाको ख का अध्यक्ष टंक मोक्तानको अध्यक्षतामा बैठक बसेको हो । यस्तै, प्रदेशसभा ख मा प्रत्यक्षमा  भूमिनन्द अर्याल, समानुपातिकमा गोविन्दराम चेपाङ, कृष्णबहादुर चेपाङ, सूर्यमान चेपाङ (कर्ण) र मनिला विष्टलाई उम्मेदवार बनाउँन नाम सिफारिस गर्ने निर्णय गरेको हो ।  

चुनावमा पार्टीबाट उम्मेदवार हुनेको नाम यही १० भदौभित्र सिफारिस गर्नुपर्ने एकीकृत समाजवादीको केन्द्रीय सर्कुलर अनुसार मकवानपुरको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको हो । 

प्रतिनिधिसभाका लागि एक महिला सदस्यसहित पाँच र प्रदेशसभामा एक महिलासहित चारजनाको नाम सिफारिस गर्नुपर्ने सर्कुलर अनुसार पार्टीको बैठकले निर्णय गरेको हो । 
बैठकमा पार्टीका नेताहरु विरोध खतिवडा, बागमती प्रदेश सदस्य रामचन्द्र बल, ललित बस्नेत, सूर्यचन्द्र न्यौपाने लगातयको उपस्थिती थियो । 
यस्तै,बैठकले पार्टीको बागमती प्रदेश सदस्य कल्याणविक्रम घलानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।